काठमाडौँ । नेपालको डिजिटल भुक्तानी बजारमा एउटा महत्त्वपूर्ण परिवर्तन हुँदैछ । दुई ठुला डिजिटल वालेट खल्ती र आइएमई पे एकआपसमा गाभिएर शक्तिशाली भुक्तानी सेवा प्रदायक बन्ने तयारीमा छन् ।

यो मर्जर आगामी साउन १ गतेदेखि एकीकृत कारोबारका रूपमा सुरु हुनेछ । त्यसपछि ‘आइएमई पे’ नाम औपचारिक रूपमा हट्नेछ र संयुक्त कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को नाममा सञ्चालन हुनेछ ।
किन हुँदैछ मर्जर, अनि यसको प्रभाव के ?
नियामक नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल नेपालमा २४ ओटा डिजिटल वालेटहरू सञ्चालनमा छन् । तीमध्ये इसेवा, खल्ती र आइएमई पे सबैभन्दा बढी प्रयोग हुने वालेट हुन् । यो मर्जरपछि इसेवा र खल्तीबिच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

ग्राहक संख्या: मर्जरपछि खल्तीको कुल ग्राहक संख्या एक करोड २७ लाख पुग्नेछ, जसमा भेरिफाइड प्रयोगकर्ता मात्रै ५० लाख हुनेछन् ।
चुक्ता पुँजी: एकीकृत कम्पनीको चुक्ता पुँजी रु. ५४.५ करोड पुग्नेछ ।
स्वामित्व: नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’मा आइएमई ग्रुपको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत शेयर स्वामित्व रहने चर्चा छ ।
खल्तीका सीईओ विनय खड्का नै एकीकृत कम्पनीको पनि सीईओ रहने बताइएको छ । यो मर्जरले बजारमा प्रतिस्पर्धा बढाउने र अन्य वालेटहरूलाई आफ्ना सेवा सुधार गर्न दबाब दिने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउनेछन् ।
प्रयोगकर्ताले के गर्ने ?
खल्ती प्रयोगकर्ता: हाल खल्ती मात्रै चलाइरहेका प्रयोगकर्ताले केही पनि गर्नुपर्दैन । उनीहरूले नयाँ र परिष्कृत सुविधा स्वतः पाउनेछन् ।
आइएमई पे प्रयोगकर्ता: आइएमई पे मात्रै प्रयोग गर्नेहरूले आफ्नो एपभित्रै खल्तीमा मर्ज हुने विकल्प देख्नेछन् । त्यहाँ ट्याप गरेपछि खल्ती एप डाउनलोड हुनेछ र आइएमई पेको युजरनेम र पासवर्डले नै खल्तीमा लगइन गर्न सकिनेछ ।
दुवै वालेट प्रयोगकर्ता: दुवै वालेट चलाउने ग्राहकले पनि एकअर्कामा मर्ज गर्ने विकल्प पाउनेछन् । आइएमई पेमा भएको रकम, ब्याज र रिवार्ड पोइन्टहरू स्वतः खल्तीमा सर्नेछन् ।
आगामी १ असोजसम्म आइएमई पेको सेवा सञ्चालनमा रहनेछ, तर त्यसपछि भने पूर्ण रूपमा बन्द हुनेछ । त्यसैले, १ असोजअघि नै आइएमई पेका प्रयोगकर्ताले आफ्नो खाता खल्तीमा सार्नुपर्नेछ ।
मर्जरपछि केके सुविधा आउलान् ?
यो मर्जरले दुवै कम्पनीका विशिष्ट सेवाहरूलाई एउटै प्लेटफर्ममा ल्याउनेछ, जसले प्रयोगकर्तालाई थप फाइदा पुग्नेछ ।
-
आइएमई पेको प्रमुख विशेषता रहेको रेमिटेन्स पठाउने र पाउने सुविधा तथा वालेटमा ब्याज पाइने व्यवस्था अब खल्तीमा पनि उपलब्ध हुनेछ ।
-
खल्तीको बलियो पक्ष मानिएको टिकेटिङ पार्टनरसिप, हवाई टिकट बुकिङ र विभिन्न रियालिटी शोको अनलाइन भोटिङजस्ता सेवाहरू थप प्रभावकारी बन्नेछन् ।
-
मर्जरपछि खल्तीले बचत गर्ने सुविधाका साथै ऋण दिने, बैंक खाता खोल्ने र भिजा कार्ड जारी गर्ने जस्ता वित्तीय सेवाहरू पनि थप गर्ने योजना बनाएको छ ।
*समाचारको शीर्षक परिमार्जन गरिएको छ । स.
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १०:५४
सामाग्री श्रोत :
टेक पाना