काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूमा रहेको नवीन सोच र उद्यमशीलतालाई प्रवर्द्धन गर्न एक विशेष कार्यक्रम सुरु गरेको छ । त्रिविअन्तर्गतको बिजनेस इन्क्युबेसन सेन्टर (TUBIC)ले विद्यार्थीका स्टार्टअप आइडियालाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने उद्देश्यले आवेदन खुलाएको हो ।

हालै एक सूचना जारी गर्दै त्रिविले विभिन्न संकाय, विभाग तथा अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीलाई आफ्ना स्टार्टअप आइडिया र व्यावसायिक योजनासहित आवेदन दिन आह्वान गरेको छ ।
‘ट्युबिक उद्यमशीलता विकास कार्यक्रम’ नाम दिइएको यस पहलको मुख्य उद्देश्य विद्यार्थीहरूमा अन्तर्निहित नवप्रवर्तनशील सोचलाई प्रस्फुट गरी उनीहरूलाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न आवश्यक आत्मविश्वास, अवसर र स्रोत प्रदान गर्नु रहेको विश्वविद्यालयले जनाएको छ ।
प्राप्त आवेदनहरूमध्येबाट सम्भावना बोकेका स्टार्टअप आइडिया छनोट गरिने सूचनामा उल्लेख छ ।

छनोटमा परेका आइडियालाई बजारसम्म पुर्याउन आवश्यक पर्ने तालिम, प्राविधिक सहयोग र आर्थिक लगानीसमेत उपलब्ध गराइने केन्द्रले जनाएको छ । स्टार्टअपको प्रकृति र आवश्यकताअनुसार कस्तो प्रकारको सहयोग उपलब्ध गराउने भन्ने निर्णय गरिने बताइएको छ ।
आफ्नो स्टार्टअप आइडियालाई व्यवसायमा रूपान्तरण गर्न इच्छुक विद्यार्थीहरूले आगामी २५ साउनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथमा विस्तृत व्यावसायिक योजना, अध्ययनरत क्याम्पसको सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।
आवेदन पत्र र विस्तृत जानकारी ट्युबिकको आधिकारिक वेबसाइटमा उपलब्ध छ भने आवश्यक कागजातसहित [email protected] मा ईमेलमार्फत आवेदन पठाउनु पर्नेछ ।
हेर्नुहोस् सूचना
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १८:५२
सामाग्री श्रोत :
टेक पाना