नेपालमा फार्मेसी क्षेत्र एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण स्वास्थ्य सेवा क्षेत्र हो। तर, दुर्भाग्यवश, आजको मितिमा नेपालमा फार्मेसी सञ्चालनको अवस्था निकै चिन्ताजनक देखिन्छ। नेपालमा अधिकांश फार्मेसीहरू स्वास्थ्य सम्बन्धी नभइकन अन्य क्षेत्रका व्यक्तिहरूद्वारा सञ्चालन भइरहेको छ। जुनसुकै ठाउँमा जाँदा पनि फार्मेसी सञ्चालनकर्ताहरू सीएमए (सर्टिफाइड मेडिकल असिस्टेन्ट), एचए (हेल्थ असिस्टेन्ट) वा अन्य स्वास्थ्य सहायकहरू देखिन्छन्, तर ती मध्ये धेरैसँग औषधि सम्बन्धी आवश्यक ज्ञान, अनुभव र दक्षता छैन।
गलत औषधि वितरणको मुख्य कारणहरू
१. प्राविधिक जनशक्तिको कमी
नेपाल फार्मेसी परिषद्को तथ्यांकअनुसार हालसम्म ७,४३० जना फार्मासिस्ट र १४,५०७ जना सहायक फार्मासिस्ट दर्ता भएका छन्। कुल २१,९३७ प्राविधिक जनशक्ति भए पनि नेपाल सरकारको औषधि व्यवस्था विभाग (डीडीए) अनुसार नेपालमा ३०,००० भन्दा बढी फार्मेसी दर्ता छन्। यसले करिब १०, ००० फार्मेसीहरू अवैध रूपमा सञ्चालन भइरहेको स्पष्ट देखाउँछ।
२. अनुपयुक्त औषधि भण्डारण र वितरण
फार्मेसीमा राखिएका औषधिहरू उचित तापक्रम र आर्द्रतामा भण्डारण हुनुपर्ने हुन्छ। तर, प्राविधिक ज्ञान नभएका व्यक्तिहरूले फार्मेसी चलाउँदा औषधिहरू गलत रूपमा भण्डारण गरिन्छ, जसले औषधिको गुणस्तरमा असर पार्छ। त्यसैगरी, ट्याब्लेट वा क्याप्सुल वितरण गर्दा बिरामीलाई पर्याप्त परामर्श नदिइ दिने प्रवृत्तिले पनि गलत औषधि सेवन गराउने सम्भावना अत्यधिक हुन्छ।
३. डाक्टरहरूको ब्रान्ड नाममा औषधि लेख्ने प्रवृत्ति
नेपालमा अधिकांश डाक्टरहरू औषधि ब्रान्ड नाममा लेख्छन्, जुन फार्मासिस्टको अध्ययनक्रममा समावेश हुँदैन। फार्मासिस्टहरूले औषधिको जेनेरिक नाम (molecule name) मात्र अध्ययन गर्छन्। ब्रान्ड नाम मिल्दो-जुल्दो हुने भए पनि तिनीहरूको संरचना फरक हुन सक्छ जसले मेडिकेसन एरर (औषधि सम्बन्धी त्रुटि) निम्त्याउँछ। साथै, डाक्टरहरूले हातले लेख्दा अस्पष्ट अक्षरहरू प्रयोग गर्दा फार्मासिस्टहरूले गलत औषधि बुझ्न सक्ने सम्भावना पनि रहन्छ। यदि डाक्टरहरूले जेनेरिक नाममा औषधि लेख्ने अभ्यास बढाएमा यस्तो त्रुटि न्यूनीकरण गर्न सकिन्छ।
४. अध्ययनद्वारा पुष्टि भएको समस्या
जर्नल अफ लुम्बिनी मेडिकल कलेजमा प्रकाशित अध्ययनअनुसार, नेपालका तेस्रो तहका अस्पतालको आन्तरिक चिकित्सा विभागमा ३९.५% बिरामीहरूले औषधि सम्बन्धी त्रुटिको अनुभव गरेका छन्। यस्तो त्रुटि प्राविधिक ज्ञान नभएका व्यक्तिको औषधि वितरण र औषधिको नाम बुझ्न नसक्ने कारणले हुने गरेको छ।
समाधान के हुन सक्छ?
फार्मेसी सञ्चालनमा दर्तित तथा योग्य फार्मासिस्ट मात्रलाई जिम्मा दिने।
औषधि वितरण गर्दा स्पष्ट परामर्श दिने र बिरामी शिक्षाको व्यवस्था मिलाउने।
औषधि भण्डारणको लागि निश्चित तापक्रम, आर्द्रता र लट ट्र्याकिङ सिस्टमको प्रयोग सुनिश्चित गर्ने।
डाक्टरहरूलाई जेनेरिक नाममा औषधि लेख्न प्रोत्साहन गर्ने।
अवैध फार्मेसीहरूमा औषधि व्यवस्था विभाग (डीडिए) द्वारा कडाइका साथ निगरानी गर्ने।
फार्मेसी केवल व्यवसाय नभइ एक जिम्मेवार सेवा हो। यो केवल औषधि बेच्ने ठाउँ होइन, औषधि वितरण गर्ने “कला” हो, जसका “कलाकार” फार्मासिस्टहरू हुन्। नेपालमा आज पनि थुप्रै फार्मेसीहरू अनुभवहीन र गैरपेशागत व्यक्तिहरूद्वारा चलाइँदैछ, जसले स्वास्थ्य प्रणालीमै संकट निम्त्याउने खतरा छ। समयमै सुधार नगरेमा यसको दीर्घकालीन असर गम्भीर हुन सक्छ।
अतः, सम्बन्धित निकाय, स्वास्थ्य मन्त्रालय, डाक्टर, र आम जनताले पनि यो विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ।
सामाग्री श्रोत :
swasthyakhabar

