२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

स्कुलहरूमा फोनमाथि प्रतिबन्ध लगाउँदा विद्यार्थीको ध्यान र पढाईमा सुधार आयोः अध्ययन

काठमाडौँ । नेदरल्यान्डका विद्यालयहरूमा मोबाइल फोन प्रतिबन्धले विद्यार्थीको ध्यान (एकाग्रता) बढाउनुका साथै उनीहरूको सामाजिक अन्तर्क्रियामा समेत उल्लेख्य सुधार ल्याएको पाइएको छ । त्यहाँको सरकारी अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

विद्यालयहरूमा मोबाइल प्रतिबन्ध गर्ने कदमले शैक्षिक वातावरणलाई शान्त र अधिक उत्पादक बनाउन मद्दत गरेको बताइएको छ । डच सरकारले यसै शैक्षिक सत्र (२०२४/२५) देखि शिक्षण सङ्घ संस्था, शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिहरूसँगको सहमतिमा सबै विद्यालय स्तरका कक्षा कोठाहरूमा मोबाइल फोन र अन्य विद्युतीय उपकरणहरूमाथि प्रतिबन्ध लगाएको छ ।

विचलन (डिस्ट्राक्सन) कम गर्ने, विद्यार्थीको ध्यान सुधार गर्ने र सिकाइका क्रममा फोनमाथिको निर्भरता घटाउने उद्देश्यका साथ यस्तो निर्णय लिइएको थियो । यस अघिको अनुसन्धानले कक्षा कोठामा मोबाइल फोनको प्रयोगले एकाग्रता, सिकाइ प्रक्रिया, उपलब्धि र साथीहरूसँगको सामाजिक अन्तर्क्रियामा नकारात्मक प्रभाव पार्ने देखाएको थियो ।

मोबाइल फोनमाथिको प्रतिबन्ध जनवरी २०२४ देखि माध्यमिक शिक्षामा लागु गरिएको थियो । र २०२४/२०२५ शैक्षिक वर्षदेखि प्राथमिक शिक्षामा पनि विस्तार गरिएको छ । यो सरकारले प्रोत्साहन दिएको उपाय भए पनि यसका लागि ठोस नियमहरू बनाउने र व्यवहारिक नीति अपनाउने जिम्मेवारी भने सम्बन्धित शैक्षिक संस्थाहरूलाई नै दिइएको छ ।

यद्यपि, शैक्षिक प्रयोगका लागि आवश्यक मोबाइल उपकरणहरू र विशेष (चिकित्सा) आवश्यकता भएका विद्यार्थीहरूका लागि भने अपवादमा राखिएको छ । केही विद्यालयहरूले त विद्यालय समयभर नै मोबाइल फोन प्रतिबन्ध लगाउने निर्णय गरेका छन्, जसमा खाजा खाने समय पनि समावेश छ । यस्तो अवस्थामा केही विद्यालयहरूले विद्यार्थीहरूको बोरिङ वा विरक्ती हटाउन बोर्ड गेमहरू राख्ने र कन्भर्सेसन कार्डमार्फत विद्यार्थीहरू बीच अन्तर्क्रियालाई प्रोत्साहित गर्ने गरेका छन् ।

सरकारले गरेको अध्ययनले प्रतिबन्धको परिणाम उत्साहजनक रहेको देखाएको छ । अध्ययनमा समावेश गरिएका ३१७ माध्यमिक विद्यालयमध्ये तीन चौथाइ (७५%) ले प्रतिबन्धका कारण विद्यार्थीहरूको एकाग्रतामा सकारात्मक प्रभाव देखिएको प्रतिक्रिया दिएका छन् ।

करिब दुई तिहाइ (लगभग ६६%) ले विद्यालय भित्रको सामाजिक वातावरणमा सुधार आएको उल्लेख गरेका छन्, जसमा साथीहरूसँगको राम्रो अन्तर्क्रिया समावेश छ । त्यस्तै एक तिहाइले विद्यार्थीहरूको शैक्षिक प्रदर्शन सुधार भएको पनि पाइएको छ ।

फोन विद्यार्थीको दैनिकीको अभिन्न अङ्ग बनिसकेको अवस्थामा उनीहरूबाट सुरुमा प्रतिबन्ध लगाउने नियमको विरोध भएको थियो । तर, नयाँ नियममा अभ्यस्त भएपछि अधिकांश विद्यार्थीहरूले यसलाई सकारात्मक रूपमा लिएको बताइएको छ ।

शिक्षा मन्त्री मारियल पलले यसलाई ‘अद्‍भुत सकारात्मक प्रभाव’ भनेर चर्चा गरेकी छन् । वर्तमान शैक्षिक वर्ष (२०२४/२०२५) यो प्रतिबन्ध पूर्ण रूपमा लागु भएको पहिलो वर्ष हो । शिक्षा, संस्कृति तथा विज्ञान मन्त्रालयले यस राष्ट्रिय सहमतिको प्रभावको अनुगमन गरिरहेको छ । २०२५ को गर्मी याममा मन्त्रालयले प्राथमिक, माध्यमिक र विशेष शिक्षाका सबै सरोकारवालाहरूसँग थप उपायहरू, जस्तै कानुनी प्रतिबन्ध आवश्यक छ वा वर्तमान सहमति नै पर्याप्त छ भनेर समीक्षा गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १५:१८





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट