काठमाडौँ । पद्म ज्योति ग्रुपका अध्यक्ष रहेका सौरभ ज्योति अहिले ‘शार्क ट्याङ्क नेपाल’ का ‘शार्क’का रूपमा अघि बढेको छ । पारिवारिक व्यापारिक विरासतलाई अगाडि बढाउँदै आएका उनी नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत पनि बनिरहेका छन् ।

उनको व्यस्त दैनिकी, व्यापारप्रतिको दृष्टिकोण, लगानीको दर्शन र व्यक्तिगत जीवनका केही रोचक पक्षलाई यहाँ प्रस्तुत गरिएको छ ।
शार्क ट्याङ्क: उद्यमशीलताको नयाँ आन्दोलन
नेपालमा ‘शार्क ट्याङ्क’ जस्तो व्यावसायिक रियालिटी शोको आगमनलाई सौरभ ज्योति एउटा ‘आन्दोलन’ को सुरुवातका रूपमा हेर्छन् । उनी भन्छन्, “नेपालमा मनोरञ्जन, गायन, नृत्य र कमेडीका रियालिटी शोहरू धेरै आए । तर व्यवसाय, लगानी र उद्यमशीलतालाई राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्ने यो पहिलो प्रयास हो ।”

उनको विचारमा यस शोले नेपाली समाजमा हुने राजनीतिक र मनोरञ्जनका गफलाई व्यवसाय, उद्योग र उद्यमशीलताको बहसतर्फ मोड्न मद्दत गर्नेछ । “यो शोले नेपाली उद्यमशीलतालाई नेपालमा मात्र नभई विश्वभर छरिएर रहेका नेपाली डायस्पोरा र अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन ठुलो भूमिका खेल्नेछ,” उनी थप्छन् । शार्क ट्याङ्कमा आएका उद्यमीको सोच र आफ्नो व्यवसायलाई विश्वव्यापी रूपमा विस्तार गर्ने योजना देखेर उनी निकै प्रभावित र उत्साहित भएको बताउँछन् ।
के हो लगानीको आधार ?
शार्कको कुर्सीमा बसेर लगानी गर्दा उनी कुनै पनि आइडियाभन्दा पहिले त्यो आइडिया बोक्ने व्यक्तिलाई महत्त्व दिन्छन् । “पहिला व्यक्ति अनि उसको काम,” लगानी गर्दा हेर्ने महत्त्वपूर्ण पक्षको चर्चा गर्दै उनी भन्छन् । उद्यमीमा हुनुपर्ने मेहनत, लगनशीलता, इमानदारी र सकारात्मक सोच उनी प्राथमिकतामा पर्छ । “जतिसुकै राम्रो आइडिया भए पनि उद्यमीसँग सकारात्मक सम्बन्ध स्थापित हुन सकेन भने मलाई काम गर्न मजा आउँदैन,” उनी भन्छन् ।
नेपालबाट युवा पलायनको विषयमा पनि उनको दृष्टिकोण फरक छ । उनको विचारमा युवा बाहिर जानु एउटा यथार्थ हो । तर फर्किनेहरूको संख्या र उनीहरूले भित्र्याएको सीप, ज्ञान र लगानीलाई पनि नजरअन्दाज गर्न मिल्दैन । “गत वर्ष ६ लाख युवा बाहिरिँदा ५ लाख २० हजार फर्केका पनि छन् । उनीहरूले विदेशबाट सीप र मेहनत सिकेर नेपालमै व्यवसाय गरिरहेका छन्,” उनी भन्छन्, “चुनौतीले नै अवसर सिर्जना गर्छन् ।”
अटोमोबाइलको भविष्य र ज्योतिको रणनीति
पद्म ज्योति ग्रुपले अटोमोबाइल क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेलिरहेको छ । अहिले बजार विद्युतीय सवारी (ईभी) र क्लिन एनर्जीतिर मोडिरहेको छ । नेपालमा फोर-ह्विलर बजारको लगभग ७१ प्रतिशत हिस्सा क्लिन एनर्जी भेहिकलले ओगटेको तथ्यले उनी उत्साहित छन् तर पूर्वाधारको अभाव अझै चुनौती रहेको स्वीकार्छन् ।
टु-ह्विलरमा भने ईभीको बजार दुई प्रतिशतभन्दा कम रहेकोले अहिले पनि बीएस-६ मापदण्डका न्यून प्रदूषण गर्ने पेट्रोल इन्जिनयुक्त सवारीको सान्दर्भिकता रहेको उनको तर्क छ । ज्योति ग्रुपले ईभीलाई आत्मसात गर्नका लागि बजारलाई सूक्ष्म रूपमा नियालिरहेको देखिन्छ । उनी भन्छन्, “उत्पादन मात्रै ठुलो कुरा होइन । उत्कृष्ट उत्पादनसँगै बिक्रीपछिको बलियो सेवा र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सकेपछि मात्र हामी नयाँ प्रविधिका सवारी साधन बजारमा ल्याउनेछौँ ।”
अनुशासन र रुचिबिचको स्वर्णिम पुल
सौरभ ज्योतिको दिन बिहान करिब पौने ७ बजे सुरु हुन्छ । साढे सात बजेसम्ममा उनी जिम पुगिसक्छन् । ढाडको समस्याका कारण व्यक्तिगत प्रशिक्षकको निगरानीमा व्यायाम गर्ने उनी कार्डियो, स्ट्रेचिङ, वेट ट्रेनिङ र बक्सिङलाई आफ्नो दैनिकीमा समेट्छन् । उनी भन्छन्, “उमेर बढ्दै गएपछि स्वास्थ्यप्रति अलि बढी सचेत हुनैपर्छ ।”
उनको व्यक्तिगत रुचिको अर्को पाटो हो, मोटरसाइकल र गाडी । उनको एसजे मोटो ग्यारेज मोटरसाइकल प्रेमीका लागि एउटा एउटा लाइब्रेरी जस्तै हो । त्यहाँ दुर्लभ सुपरबाइक नजिकबाट हेर्न पाइन्छ । यो उनको ‘प्यासन प्रोजेक्ट’ हो । उनी भन्छन्, “आर्थिक रूपमा सम्भव छ र आफ्नो रुचि अरूसँग बाँड्न सकिन्छ भने त्यसो गर्नुपर्छ । यसले मानिसको अनुहारमा मुस्कान ल्याउँछ ।”
उनको हातमा दुई ओटा घडी देख्दा धेरैलाई कौतुहलता लाग्न सक्छ । शार्कको कुर्सीमा बसिरहँदा पनि उनका हातमा दुई ओटा घडी देखिन्छन् ।
यसको कारणबारे उनी भन्छन्, “बायाँ हातमा मलाई मन पर्ने एनालग घडी लगाउँछु, जुन घडीप्रतिको मेरो प्रेम हो । दायाँ हातको स्मार्टवाच भने मेरो स्वास्थ्य ट्र्याक गर्ने र यात्रामा समय मिलाउने एउटा प्रोडक्टिभिटी टुल हो ।”
प्रतिस्पर्धा आफैँसँग
व्यापारिक दुनियाँमा प्रतिस्पर्धा स्वाभाविक भए पनि सौरभ ज्योतिको दर्शन फरक छ । “म अरूसँग प्रतिस्पर्धा गर्दिनँ । म सधैँ आफैँसँग प्रतिस्पर्धा गर्छु । हिजोभन्दा आज र आजभन्दा भोलि कसरी राम्रो गर्ने भन्नेमा मेरो ध्यान हुन्छ,” उनी भन्छन् । यद्यपि शार्क ट्याङ्कमा राम्रो आइडियाका लागि अन्य शार्कहरूसँग स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको उनी स्वीकार्छन् ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ १५:२
सामाग्री श्रोत :
टेक पाना