डा बच्चु कैलाश कैनीले अस्पताल व्यवस्थापकका रुपमा नेपालमा १६ र बेलायतमा १६ वर्ष गरी ३२ वर्षदेखि काम गरिरहेका छन्। बेलायतमा अस्पताल व्यवस्थापक अनिवार्य जस्तै भएपनि नेपालमा अझै पूर्ण अभ्यास छैन। तर सुरुवात भएको छ। नेपालमा अस्पताल व्यवस्थापकको भूमिकालाई पूर्ण रूपमा स्वीकार नगर्नुका कारण के हुन सक्छन्? भन्ने विययमा केन्द्रीत भएर डा कैनीसँग गरिएको संवादपछिका निष्कर्ष यसप्रकार छन् :१ नीति निर्माण तहमा न्युन प्राथमिकता
अस्पताल व्यवस्थापनको अवधारणालाई नीति निर्माण तहमा जुन रूपमा लिनुपर्थ्यो, त्यो रूपमा लिइएको छैन। भर्खरै जारी गरिएको वा प्रस्तावित ओएन्डएममा समेत अस्पताल व्यवस्थापकको पद समावेश गरिएको छैन।
२ चिकित्सकहरूको प्रभुत्व र शक्ति संघर्ष
नेपाली समाजमा चिकित्सकहरूलाई असाध्यै सम्मानित र उच्च पेशाका रूपमा हेरिन्छ। मेरो पीएचडी शोधको निष्कर्षले पनि स्वास्थ्य सेवा क्षेत्रमा चिकित्सकहरूको डोमिनेसन (प्रभुत्व) क्लिनिकल क्षेत्रमा मात्र नभई व्यवस्थापनको क्षेत्रमा पनि रहेको देखाउँछ। गैर-चिकित्सकलाई नेतृत्वदायी भूमिकामा स्वीकार गर्न चिकित्सकहरूलाई असहज भएको सुनिन्छ, उहाँहरूलाई आफ्नो ‘हाकिम हैकम’ र शक्ति घट्ने त्रास हुन्छ।
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र नेपाल क्यान्सर अस्पतालमा काम गर्दा गैर-चिकित्सक सिइओलाई चिकित्सकहरूले स्वीकार नगरेको शक्ति संघर्ष अनुभव गरेको थिएँ। चिकित्सकहरूलाई गैर-चिकित्सक व्यवस्थापकहरूको योग्यता वा उनीहरूको अध्ययनको महत्त्वबारे सही बुझाइ नभएको हुन सक्छ, वा उनीहरूले यसलाई कम महत्त्वको विषयका रूपमा हेर्ने चलन छ।
३ अस्पताल व्यवस्थापनको अवधारणाको अभाप
सन् २००० मा इन्डियाबाट अस्पताल व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्कँदा यो विषयबारे कसैले सुनेका पनि थिएनन्। यो पेशा र अवधारणा तुलनात्मक रूपमा नयाँ भएकोले यसको महत्त्वबारे पर्याप्त चेतना र स्वीकार्यता हुन समय लागेको हो।
४ व्यवस्थापकीय ज्ञानको अभाव
चिकित्सकहरू क्लिनिकल विज्ञानमा विज्ञ भए पनि उहाँहरूले अस्पतालको नीति निर्माण, दैनिक सञ्चालन, गुणस्तर सुधार, रणनीतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन र योजनाजस्ता व्यवस्थापकीय विषयहरू पढ्नुभएको हुँदैन।नेतृत्वमा व्यवस्थापकीय ज्ञानको अभावले निजी अस्पतालहरू घाटामा जाने, ऋण तिर्न संघर्ष गर्ने, कर्मचारीको मनोबल घट्ने र सरकारी अस्पतालहरूमा गुणस्तरहीन सेवा प्रवाह हुनेजस्ता समस्याहरू देखिएका छन्।
५ अस्पताल व्यवस्थापकले काम देखाउने अवसर नपाउनुव्यवस्थापकहरूलाई उचित भूमिका र अवसर नदिइएकाले उनीहरूले आफूलाई प्रमाणित गर्ने पर्याप्त मौका पाएका छैनन्। यद्यपि, निक साइमन इन्स्टिट्युटको एक प्रतिवेदनले अस्पताल व्यवस्थापक भएका अस्पतालहरूमा न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन उच्च रहेको देखाएको छ, जसले व्यवस्थापकको आवश्यकतालाई प्रमाणित गर्छ।६ नीति कार्यान्वयनमा कमजोरी
डा. उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री हुँदा सन् २००४/०५ तिर बनेको स्वास्थ्य संस्था सञ्चालन मापदण्डमा ५० वा सोभन्दा बढी शय्याका अस्पतालहरूमा स्वास्थ्य व्यवस्थापक राख्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो। तर, २० वर्ष बितिसक्दा पनि सरकारले यो मापदण्ड लागु गर्न सकेको छैन, जसले समग्र स्वास्थ्य क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ। नेपालमा नीतिहरू कागजमा उत्कृष्ट बने पनि व्यवहारमा लागू नहुने र आवधिक रूपमा मूल्याङ्कन तथा सुधार नहुने समस्या छ।७ मालप्राक्टिस लुकाउने सम्भावनाअस्पतालमा हुने मालप्राक्टिस (दुराचार) वा अन्य आर्थिक अनियमितताहरू लुकाउन पनि अस्पताल व्यवस्थापकहरूलाई काम नदिएको हुन सक्ने सम्भावना छ।८ देखासिकी र आफन्तवाद
निजी अस्पतालहरूमा लगानीकर्ता चिकित्सकहरूले वा व्यवसायीले आफ्नै परिवारका सदस्यहरूलाई व्यवस्थापनमा राख्ने चलन छ, जसले दक्ष र योग्य अस्पताल व्यवस्थापकहरूको भूमिकालाई ओझेलमा पारेको छ।
यी सबै कारणहरूले गर्दा नेपालमा अस्पताल व्यवस्थापकको भूमिकालाई पूर्ण रूपमा स्वीकार गर्न कठिनाइ भइरहेको छ, जसले समग्र स्वास्थ्य प्रणालीको गुणस्तर र दक्षतामा नकारात्मक असर पारेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

