काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले विगतमा लगानी र रियल स्टेट केन्द्रित रहेको आफ्नो चर्चित ‘गोल्डेन भिसा’ नीतिलाई अब प्रविधि र नवप्रवर्तन क्षेत्रमा केन्द्रित गर्दै परिमार्जन गरेको छ । सन् २०१९ देखि लागु भएको यो कार्यक्रम अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), जलवायु प्रविधि, क्लाउड कम्प्युटिङ र डिजिटल क्षेत्रमा विशेषज्ञता भएका व्यक्ति आकर्षित गर्नतर्फ केन्द्रित भएको छ ।

दुबई सरकारले २०२३ मा मात्र एक लाख ५८ हजार गोल्डेन भिसा जारी गरेको थियो । तीमध्ये ठुलो संख्यामा एआई, क्लाइमेट टेक र अन्य उच्च प्रविधि क्षेत्रमा काम गर्ने विशेषज्ञहरू छन् ।
यूएई सरकारले अब सम्पत्ति वा पूँजी लगानीमात्र नभई देशको आर्थिक र नवप्रवर्तन लक्ष्यसँग मेल खाने जनशक्ति विकासमा ध्यान केन्द्रित गरेको हो । विशेषगरी महामारीपछिको समयदेखि सरकारको ध्यान लगानीभन्दा पनि दीर्घकालीन रूपमा दक्ष जनशक्ति भित्र्याउनतर्फ केन्द्रित छ । यसका लागि संस्कृति मन्त्रालय, खेलकुद मन्त्रालय र आबुधाबी रेसिडेन्ट्स अफिस जस्ता सरकारी निकायलाई जिम्मा दिइएको छ ।
दुबईस्थित कन्सल्टिङ कम्पनी जेएसबीका संस्थापक गौरोव केसवानीका अनुसार यूएईले अब प्रविधि र दिगोपनमा आधारित व्यवसाय र पेशामा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिन थालेको छ । स्थानीय मिडिया खलीज टाइम्ससँग कुरा गर्दै केसवानीले लगानीमात्रै नभई देशको अर्थतन्त्र र नवप्रवर्तनमा योगदान दिन सक्ने जनशक्तिलाई प्राथमिकता दिइएको उल्लेख गरे ।

२०२३ को तथ्यांकअनुसार गोल्डेन भिसा पाउनेमध्ये ४० प्रतिशत लगानीकर्ता, ६० प्रतिशत अन्य उच्चस्तरका श्रेणीबाट र २२ प्रतिशत बैंकिङ, नन-बैंकिङ, एआई र क्लाइमेट चेन्ज जस्ता क्षेत्रमा संलग्न पेशेवर छन् ।
यूएईमा हालैका वर्षहरूमा विश्वका शीर्ष २० हेज फन्डमध्ये ८ ओटा स्थापना भइसकेका छन्, जसले करिब ४८ अर्ब अमेरिकी डलरको कारोबार सम्हालिरहेका छन् । यस्तो पूँजीको आगमनसँगै सीईओ, सीटीओदेखि एआई कन्सल्टेन्ट र इन्फ्रास्ट्रक्चर आर्किटेक्टसम्मका कार्यकारी जनशक्तिको माग तीव्र रूपमा बढेको छ ।
योग्यता फराकिलो, माग उच्च
सुरुमा लगानीकर्ता र रियल स्टेट किन्नेहरूका लागि लक्षित यो भिसा योजना अहिले वैज्ञानिक, उत्कृष्ट विद्यार्थी, कोडर, निजी सम्पत्ति व्यवस्थापक र विश्वप्रसिद्ध विश्वविद्यालयका ग्राजुएटहरूसम्म फराकिलो बनाइएको छ ।
जेएसबीका अनुसार पछिल्ला ६ महिनामा २५० भन्दा बढी व्यक्तिले गोल्डेन भिसा प्राप्त गरेका छन्, जसमा एआई इथिक्स, ग्रिन फाइनान्स र क्लाइमेट इन्जिनियरिङ जस्ता क्षेत्रमा काम गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
“पछिल्लो पाँच महिनामा मात्रै क्लाउड स्पेसलिस्ट, प्राइभेट बैंकर र एआई डेभलपरको माग निकै बढेको छ,” केसवानीले भने, “यी व्यक्ति केवल रोजगारी खोज्ने हैनन्, अर्बौँ डलरका रणनीतिका प्रमुख योजनाकार हुन् ।”
दिगो र लचिलो प्रणाली
यूएईको गोल्डेन भिसा कार्यक्रम अन्तर्गत पेशेवरहरू कुनै एक रोजगारदातामा सीमित रहनु पर्दैन । उनीहरूले उद्यमशीलता वा स्वतन्त्र परामर्शको बाटो समात्न सक्छन् ।
ब्याजमुक्त र दीर्घकालीन निवास (१० वर्षसम्म) सुविधा भएको यस कार्यक्रमको अर्को विशेषता भनेको लगानी र निवास अधिकारलाई छुट्याइएको व्यवस्था हो । यसअनुसार प्रारम्भिक लगानीको वापसी गरे पनि भिसा मान्य रहन्छ । यूएईले एसिया-प्रशान्त क्षेत्रमा पनि दक्ष जनशक्ति भित्र्याउने रणनीति अघि बढाएको छ ।
टाइम्स अफ इन्डियाको सहयोगमा
पछिल्लो अध्यावधिक: असार १८, २०८२ ७:४३
सामाग्री श्रोत :
टेक पाना