२०८२ असार १८ बुधबार
LATEST NEWS
२०८२ असार १८ बुधबार

सामाजिक सञ्जालका कमेन्ट पढ्ने बानी छ ? सावधान !

काठमाडौँ ।  इन्टरनेटसँगै सामाजिक सञ्जालको सहज पहुँचले समाजमा सकारात्मक र नकारात्मक प्रभाव पारिरहेको छ । सबैका लागि साझा मञ्चका रूपमा काम गर्ने यी प्लेटफर्मका नकारात्मक पक्षबारे बढी चर्चा हुने गरेको छ । खासगरी नेपाल जस्तो विकासोन्मुख देश जहाँ डिजिटल साक्षरता कम छ त्यहाँ नकारात्मक प्रभाव बढी हाबी भएका छन् । 

पछिल्लो समय अन्य देश जस्तै नेपालमा पनि सामाजिक सञ्जाल तथा न्युज वेबसाइटका कमेन्ट सेक्सन सकारात्मक भन्दा नकारात्मक टिप्पणीले भरिने गरेका छन् । यी प्लेटफर्म अनलाइन दुर्व्यवहारको नयाँ मैदान बनेका छन् भन्दा फरक पर्दैन । फलस्वरुप धेरै समाचार संस्थाले वेबसाइटबाट कमेन्ट सेक्सन नै हटाउने गरेका छन् । त्यस्तै सामाजिक सञ्जालमा पनि कमेन्ट सीमित व्यक्तिले मात्र गर्न सक्ने बनाएका हुन्छन् । 

यदि तपाईंले पनि समयमै ध्यान दिनु भएन भने तपाईंको कमेन्ट सेक्सन गालीगलौज, धम्की, विवाद र उत्पीडनको थलो बन्न सक्छ । सन् २०१४ मा ‘प्यू रिसर्च सेन्टर’ले गरेको एक अध्ययनले २२ प्रतिशत (अर्थात् प्रत्येक पाँचमध्ये एक) इन्टरनेट प्रयोगकर्ता कुनै न कुनै वेबसाइटको कमेन्ट सेक्सनमा अनलाइन उत्पीडनको शिकार भएको देखाएको थियो ।

यस्ता नकारात्मक कमेन्ट पोस्ट गर्ने मानिस को हुन् र हामी किन उनीहरूका विषाक्त धारणा पढिरहेका छौँ ? हामी किन आफूलाई नकारात्मक कमेन्ट सेक्सनमा तानिन दिन्छौं वा अझ खराब, कमेन्ट सेक्सनको विवादमा फस्न दिन्छौं ? र यसले अन्ततः हाम्रो मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ ?

अनलाइनका नकारात्मक कमेन्टले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् तर यस समस्यालाई कम गर्न तपाईंले केही विशेष कदम चाल्न सक्नुहुन्छ । नराम्रो कमेन्टले तपाईंको मानसिक स्वास्थ्यमा कसरी असर गर्छन् र यसबाट जोगिन के गर्न सकिन्छ यहाँ चर्चा गरिएको छ ।

त्यसभन्दा अगाडि तपाईंले सामाजिक सञ्जालमा कोही किन नराम्रो, नकारात्मक, अस्वाभाविक, अपाच्य र अश्लील कमेन्ट गर्छन् भन्ने बुझ्नुपर्ने हुन्छ । यस विषयमा टेकपानाले यसअघि विस्तृतमा चर्चा गरेको छ । उक्त लेख पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । यो लेख पढेर यसभन्दा तलको सामग्री पढ्नुभयो भने तपाईंलाई यो विषय बुझ्न थप सहज हुन्छ ।

संक्षिप्तमा चर्चा गरिहालौँ । सामाजिक सञ्जालले दिएको गुमनामताको सुविधा, प्रयोगकर्ताको व्यक्तित्व, उसको सामाजिक परिवेश र समाज, प्लेटफर्मको प्राविधिक पक्ष आदिका कारण नकारात्मक कमेन्टले प्रश्रय पाउँछन् ।

सामाजिक सञ्जालमा अत्यधिक नकारात्मक कमेन्ट किन आउँछन् भन्ने बुझिसके पछि यस्ता कमेन्ट पढ्न हामी किन उत्साहित हुन्छौं भन्ने विषयमा चर्चा गरौँ । तपाईंले सामाजिक सञ्जाल त्यसमा पनि टिकटकका कमेन्ट हेर्न थाल्नुभयो भने कमेन्ट हेर्ने लत बस्छ । त्यसोभए आखिर आफूलाई नराम्रो महसुस गराउने कुरामा हामी किन समय खर्च गर्छौँ ? यदि हामीले कमेन्टले हाम्रो मानसिक स्वास्थ्यमा कसरी असर गर्छ भनेर बुझ्न सक्यौँ भने यसबाट जोगिने तरिकाबारे सरल तरिकाले बुझ्न सक्छौं ।

डोपामाइनको लत

तपाईंले द सोसल डिलेमा (The Social Dilemma) फिल्म हेर्नुभएको छ भने फेसबुकको एल्गोरिदमले प्रयोगकर्तालाई कसरी आकर्षित गर्न सक्छ भन्ने बुझ्नु भएकै होला । वास्तवमा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालाई सकेसम्म धेरै समयसम्म व्यस्त राख्न र लत लगाउन डिजाइन गरिएका हुन्छन् । यसका लागि शक्तिशाली एल्गोरिदम र एआई प्रयोग गरिएको हुन्छ । यी टुलले हामी प्रयोगकर्ताको बानी सूक्ष्म रूपमा निगरानी गर्छन् र हामीलाई के देखायो भने त्यसमा बढी समय बिताउँछौँ वा सन्तुष्ट हुन्छौं भन्ने पहिचान गरेर त्यही अनुसारका कन्टेन्ट देखाउँछन् । यस्ता कमेन्ट आउँदा हाम्रो मष्तिष्कमा डोपामाइन रसायन उत्पादन हुन्छ ।

डोपामाइन हाम्रो मस्तिष्कमा रहेको एक महत्त्वपूर्ण रसायन हो जसले स्नायु कोषिका बीच सन्देश पठाउने काम गर्छ । यसलाई सामान्यतया ‘खुसीको रसायन’ पनि भनिन्छ किनभने यसले हामीलाई आनन्द, सन्तुष्टि र प्रेरणाको महसुस गराउन मुख्य भूमिका खेल्छ ।

यही सिद्धान्तका कारण सामाजिक सञ्जालले प्रयोगकर्ताहरूलाई सन्तुष्टिका साना ‘हिट्स’ (डोपामाइन) को लत लगाएर हेरफेर गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो पोस्टमा लाइक, कमेन्ट वा शेयर पाए भने सन्तुष्ट हुन्छन् । त्यस्तै रुचि भएका सामग्री फिडमा देखिने बेलासम्म त्यसैमा झुन्डिरहन्छन् । 

नकारात्मक कमेन्टले पनि त्यस्तै काम गर्न सक्छन् । यदि तपाईंले काम गर्नुपर्ने बेलामा वा दिक्क लागेको बेलामा लगातार कमेन्ट पढिरहनु भएको छ भने तपाईंलाई कमेन्ट सेक्सनको लत लागेको हुन सक्छ । 

यसले तपाईंको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ किनभने तपाईंले अन्य काम गर्नुपर्ने बेलामा कमेन्ट पढ्न थाल्नुहुन्छ । यसले गर्दा तपाईंलाई उत्प्रेरित नभएको र केही पनि काम पूरा नगरेको जस्तो महसुस गराउँछ । ‘फेरि कमेन्ट हेर्न आउनु भयो हैन’ भन्ने टिकटकका कमेन्टले यसलाई पुष्टि गर्छन् । 

डिप्रेसन र नकारात्मकता

अनलाइनमा नकारात्मक कमेन्टले तपाईंलाई थप नकारात्मक महसुस गराउँछ । यदि तपाईं बिहान उठ्नेबित्तिकै नकारात्मक कमेन्ट पढ्न थाल्नुभयो भने तपाईंको दिन नै नकारात्मकताका साथ सुरु हुनेछ । र, यदि तपाईंलाई कमेन्ट पढ्ने लत लाग्यो भने तपाईँमा डिप्रेसनका केही लक्षण देखिन थाल्छन् । 

कुन पोस्टमा कस्ता कमेन्ट आएका छन् भन्ने थाहै हुँदैन । त्यसैले तपाईंले सकारात्मक नै ठानेको पोस्टमा पनि तपाईंलाई नराम्रो अनुभव गराउने कमेन्ट आएका हुन सक्छन् । त्यसैले बिना काममा आफूसँग सम्बन्धित नभएका पोस्टको कमेन्ट नपढ्दा नै उपयुक्त हुन्छ ।

चिन्ता (एन्जाइटी)

अनलाइनमा आउने कमेन्ट सबै सकारात्मक हुन्छन् भन्ने हुँदैन । आफ्ना पोस्टमा सकारात्मक कमेन्ट मात्र आउन् भन्ने चाहना सबैको हुन्छ । तर, त्यहाँ हुने अन्य प्रयोगकर्ताका कारण नकारात्मक कमेन्टको सामना गरिरहनु पर्ने अवस्था आइरहन्छ । 

ती नकारात्मक कमेन्ट पढ्दा तपाईं थप चिन्तित बन्न सक्नुहुन्छ । खासगरी तपाईंलाई डर पैदा गर्ने, तपाईंले रोजेको काममाथि शंका उब्जाउने वा तपाईंका विचार र धारणामाथि प्रश्न उठाउने कमेन्ट पढ्नुभयो भने नकारात्मक रूपमा तपाईं बढी प्रभावित हुन सक्नुहुन्छ । जो मानिस एन्जाइटीप्रति पहिलेदेखि नै संवेदनशील छन् (जस्तै आनुवंशिक कारणले) उनीहरूलाई यस्ता नकारात्मक कमेन्टले एन्जाइटीको जोखिम बढाउन सक्छ । 

ध्यान केन्द्रित गर्ने क्षमता

तपाईंले पछिल्लो पटक पूरै उपन्यास कहिले पढ्नुभएको थियो ? यदि तपाईं आफ्नो धेरैजसो समय अनलाइनमा नकारात्मक कमेन्ट पढेर बिताउनुहुन्छ भने तपाईंलाई लामो समयसम्म ध्यान दिनुपर्ने कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । कमेन्ट मात्र होइन सामाजिक सञ्जालका फिड लगातार स्क्रोल गर्ने बानीले पनि तपाईंको अटेन्सन क्षमता घटाउँछ । 

यदि तपाईं, तपाईंलाई लामो समयसम्म आबद्ध गराइरहने आफ्ना रुचीका काममा केन्द्रित हुनुभयो भने तपाईंको ध्यान केन्द्रित गर्ने क्षमतामा पक्कै सुधार आउँछ । त्यस्तै आफूलाई खास फाइदा नदिने कमेन्ट बेवास्ता गर्दा पनि सामाजिक सञ्जालको लत कम हुन्छ । र, तपाईंको ध्यान केन्द्रित गर्ने क्षमता सुध्रिन्छ । 

आत्म-सम्मान र आत्मविश्वास

यदि तपाईंले अनलाइनमा आफ्नो बारेमा नकारात्मक कमेन्ट पढ्नुभयो भने आत्मविश्वासमा कमी आएको महसुस हुन्छ । यस्तो हुँदा तपाईंको आत्मसम्मानमा पनि ह्रास आउन सक्छ । यदि कमेन्ट पढिसकेपछि आत्मविश्वासमा कमी आएको महसुस हुन्छ वा नराम्रो लागेको महसुस हुन्छ भने तपाईंले कमेन्ट पढ्न छोड्नुभए हुन्छ । 

कसरी सामना गर्ने नकारात्मक कमेन्ट ?

सामाजिक सञ्जालमा आउने नकारात्मक कमेन्ट पढ्दा त्यसले तपाईंको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ भने के गर्ने ? यहाँ त्यस्ता केही विधिको चर्चा गरिएको छ जसले तपाईंलाई नकारात्मक कमेन्टसँग सामना गर्न सघाउँछन् । 

आफूलाई उपयुक्त हुने प्लेटफर्म छान्नुहोस्

सामाजिक सञ्जालले फरक फरक विचार, बानी र व्यवहार भएका प्रयोगकर्तालाई आकर्षित गरेका हुन्छन् । व्यक्ति कुन सामाजिक सञ्जालतिर आकर्षित हुन्छ भन्ने विषय उसको व्यक्तित्व, पेसा वा व्यवसाय, उसको समाज र पारिवारिक अवस्थामा निर्भर हुन्छ । यदि तपाईं अनलाइनमा नकारात्मक कमेन्ट पढ्ने बारे चिन्तित हुनुहुन्छ भने गुमनाम रहन पाइने प्लेटफर्मबाट टाढा रहनुहोस् । 

गुमनाम रहन पाउने प्लेटफर्ममा नकारात्मक धारणा राख्ने, नकारात्मक टिप्पणी गर्ने प्रयोगकर्ता बढी हुन्छन् । ति प्लेटफर्ममा सक्रिय हुन थाल्नुभयो भने तपाईं नकारात्मक कमेन्टको मारमा पर्नुहुन्छ । 

नकारात्मक कमेन्ट नपढ्नुहोस

कमेन्ट पढ्न छोड्नुहोस् भन्दा यो त सजिलै सकिहालिन्छ नि भन्ने लाग्ला । तर, यसको लत लाग्यो भने निकै भयानक हुन्छ । तपाईंलाई पनि सामाजिक सञ्जालमा आएका कमेन्ट पढ्ने बानी छ र यसलाई छुटाउन चाहनु हुन्छ भने के गर्ने ? त्यसका लागि तपाईंले समय छुट्याउनु पर्ने हुन्छ । ‘म भरसक कमेन्ट पढ्दिन । यदि नपढ्दा छटपटी हुने अवस्था छ भने दिनमा यति समय यस्ता पोस्टमा आएका कमेन्ट मात्र पढ्छु’ भनेर आफूलाई आफ्नै आचारसंहितामा बाँध्नु पर्छ । 

आफ्नो दृष्टिकोण र मूल्यमान्यता बलियो बनाउनुहोस्

बलियो दृष्टिकोण र मूल्यमान्यता हुँदा तपाईं कमेन्ट सेक्सनमा पढेका कुराबाट प्रभावित हुने सम्भावना कम हुन्छ भन्ने अध्ययनले नै देखाएको छ । यसको अर्थ कमेन्टले तपाईंलाई कम असर गरोस् भन्नका लागि तपाईं केमा विश्वास गर्नुहुन्छ भन्ने कुरा जान्नु र अनलाइनमा जे पढे पनि आफ्नो सिद्धान्त र मूल्यमान्यतामा अडिग रहने साहस र दृढता हुनु महत्त्वपूर्ण छ ।

आफूलाई शिक्षित गर्नुहोस्

कुनै विषयमा ज्ञानको कमीले तपाईंलाई अरूको विचार (र कमेन्ट) मा विश्वास गर्न लगाउन सक्ने सम्भावना उच्च हुन्छ । यस कारणले पनि कुनै विषयप्रति आफ्नो धारणा राख्नुअघि त्यसबारे विस्तृतमा बुझ्नुहोस्, अध्ययन गर्नुहोस् । विश्वसनीय सूचनाका स्रोतलाई मात्र फलो गर्नुहोस् र समाचार साइट वा सामाजिक सञ्जाल पेजको कमेन्ट सेक्सनबाट सिकेका कुरामा भर पर्नुको सट्टा आफ्नै धारणा बनाउनुहोस् ।

सकारात्मक कमेन्टमा ध्यान दिनुहोस्

यदि तपाईं अनलाइन कमेन्ट पढ्दा हुने नकारात्मक असर कम गर्न चाहनुहुन्छ भने तपाईंले गर्न सक्ने सबैभन्दा राम्रो कुरामध्ये एक सकारात्मक कमेन्ट मात्र पढ्ने । आफ्ना सामाजिक सञ्जालका अकाउन्टमा सबैलाई कमेन्ट गर्न सक्ने सुविधा नदिनुहोस् । तपाईंलाई असान्दर्भिक वा नकारात्मक लाग्ने किसिमका कमेन्ट गर्ने व्यक्ति एड छ भने उसलाई ब्लक, अनफ्रेन्ड, अनफलो गर्नुहोस् । आफ्नो सर्कलमा आफूलाई समर्थन गर्ने, हौसला दिने र सकारात्मक ऊर्जा प्रवाह गराउने साथीलाई मात्र एड गर्नुहोस् । 

अरूका लागि सकारात्मक कमेन्ट छोड्नुहोस्

के तपाईं अरूका लागि पनि सकारात्मकताको लहर सुरु गर्न चाहनुहुन्छ ? ‘लाइक’ क्लिक गर्न छोडेर अरूको पोस्टमा सकारात्मक कमेन्ट लेख्न थाल्नुहोस् ।

सकारात्मक कमेन्टले थप सकारात्मक कमेन्टलाई प्रेरित गर्छ । कुनै पनि पोस्टको पहिलो कमेन्ट अन्य सबैले कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरालाई आकार दिन पहिलो कमेन्ट महत्त्वपूर्ण हुन्छ । त्यसैले मौका पर्दा सकारात्मक कमेन्ट गर्नुहोस् । 

स्क्रिन टाइम सीमित गर्नुहोस्

सामाजिक सञ्जालमा आएका कमेन्ट पढ्नमा बिताउने समय सीमित गर्नुहोस् । त्यति मात्र नभई अनलाइनमा नकारात्मक विषय पढ्ने बानी छ भने त्यसको पनि समय सीमा तोक्नुहोस् र कम गर्दै लैजानुहोस् । अत्यधिक स्क्रिन टाइमका निन्द्रा नलाग्ने, आँखाको दृष्टिमा समस्या आउने, थकान लाग्ने जस्ता समस्या देखिन्छन् । जति बढी तपाईं स्क्रिन टाइममा हुनुभयो त्यति नै तपाईं अन्य काममा ध्यान केन्द्रित गर्न सक्नुहुन्न । त्यसैले स्मार्टफोन तथा ल्यापटप जस्ता डिभाइसमा खर्च गर्ने अनावश्यक समय कम गर्नुहोस् । 

स्क्रिन टाइम घटाउनका लागि तपाईं आफ्नो लागि एउटा नियम बनाउन सक्नुहुन्छ । उदाहरणका लागि १० बजे निदाउनुहुन्छ भने ९ः१५ मै डिभाइसबाट टाढिनुहोस् । त्यस्तै अनावश्यक रूपमा डिभाइस प्रयोग गरेर समय खर्च गर्नुभन्दा त्यस्तो समय अन्य भौतिक काम गरेर बिताउनुहोस् । 

अन्य रुचीमा रमाउनुहोस्

अनलाइनका नकारात्मक कमेन्टले मानसिक स्वास्थ्यमा असर गरिरहेको छ भने तपाईं आफ्नो रुची फेर्न सक्नुहुन्छ । सामाजिक सञ्जालका विभिन्न पेजहरू अन्वेषण गर्नुभन्दा उपन्यास पढ्ने कुरामा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । त्यस्तै मानसिक र शारीरिक रूपमा स्वास्थ्यका लागि उपयोगी मानिने भौतिक खेल खेल्न वा त्यही अनुसारका व्यायाम अभ्यास गर्न सक्नुहुन्छ । 

सम्बन्ध विस्तार गर्नमा केन्द्रित हुनुहोस्

सामाजिक सञ्जालको मुख्य उद्देश्य नै सम्बन्ध जोड्नु हो भन्ने धेरैले बिर्सिसके । हुन त सम्बन्ध जोड्ने नाममा थुप्रै किसिमका अपराधका घटना पनि बाहिर आइरहेका छन् । 

यद्यपि अझै पनि मानिसहरू यसलाई सामाजिक सम्बन्ध स्थापित गर्नकै लागि प्रयोग गरिरहेका हुन्छन् । इन्टरनेटले तपाईंलाई एक्लो महसुस गराउन सक्छ । तर यही उपकरणले तपाईंलाई तमाम साथीमाझ पनि पुर्‍याउन सक्छ । तपाईंले यो टुल कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा तपाईंको सम्बन्ध कस्तो हुन्छ भन्ने विषय निर्धारण हुन्छ । 

यदि तपाईं कुनै पनि कारणले अरू मानिसबाट टाढा रहन बाध्य हुनुभयो भने सामाजिक सञ्जालले तपाईंलाई सम्पर्कमा रहन मद्दत गर्न सक्छ । त्यसका लागि तपाईंले सामाजिक सञ्जालमा कमेन्ट पढ्ने नभइ आफ्ना साथीभाइ वा आफन्तसँग सम्पर्क गरेर नजिकिनुपर्ने हुन्छ । 

तपाईंलाई खुसी र सकारात्मक महसुस गराउने साथीको सूची बनाउनुहोस् र उनीहरूसँग सकेसम्म धेरै सम्पर्कमा रहन प्रयास गर्नुहोस् । अहिलेको समयमा म इन्टरनेटको पहुँचमा हुँदैन भनेर साध्य नहोला । त्यसैले अनलाइन हुँदा आफू के गरिरहेको छु भन्नेबारे सचेत हुनुहोस् । र, त्यसका सकारात्मक पक्षलाई पछ्याउनुहोस् । 

आफू सक्रिय भएको क्षेत्रलाई प्रचार प्रसार गर्नुहोस्

के तपाईं कुनै सामाजिक उद्देश्य वा विशेष रुचिमा विश्वास गर्नुहुन्छ ? यदि हो भने इन्टरनेट प्रयोग गर्दा आफ्नो विश्वासको पक्षमा आवाज उठाउनुहोस् र त्यस्तै विचार वा रुचि भएका अन्य व्यक्तिहरूसँग जोडिनुहोस् ।

यदि कोही तपाईंको विचारमा सहमत छैन भने तिनीहरूको सोच बदल्ने प्रयास नगर्नुहोस् । बरु आफ्नो विश्वास वा रुचीलाई सकारात्मक ढङ्गले प्रस्तुत गर्नुहोस् । जस्तै शाकाहारी हुनुहुन्छ भने आफैं बनाएको स्वादिष्ठ परिकारको तस्वीर वा टिप्स शेयर गर्न सक्नुहुन्छ। 

यस्तो गर्ने उद्देश्य भनेको आफूले मन पराउने बिषयमा केन्द्रित हुनु र त्यस्तै सोच भएका व्यक्तिको समूहमा आबद्ध भएर आफ्नो समय अर्थपूर्ण बनाउनु हो ।

नकारात्मकताबाट बच्नुहोस्

नकारात्मकताबाट बच्ने काम सजिलो भएको भए कस्तो राम्रै हुन्थ्यो । तर, त्यति सजिलो छैन । सजिलो छैन भन्दैमा असम्भव नै छैन भन्ने बुझ्नु हुँदैन । यदि तपाईं इन्टरनेटमा भएका नकारात्मक कमेन्टबाट टाढा रहन चाहनुहुन्छ भने टाढिन सम्भव छ । 

(पत्रकार विजय कुमारले फेसबुकमा कमेन्ट लिमिट गरेका छन् ।)

यसको उपाय हो नकारात्मक कमेन्ट आउने साइटमा जानै छोड्ने । कतिपय साइटमा पक्कै नकारात्मक कमेन्ट आउँछन् भन्ने थाहा हुन्छ । त्यस्ता साइट भिजिट नगर्नु नै उपयुक्त हुन्छ । 

उदाहरणका लागि तपाईं कुनै एक समाचार साइटमा बारम्बार जानुहुन्छ र हरेक पटक ट्रोल कमेन्ट पढ्न पुग्नुहुन्छ भने त्यस्तो साइट छाडेर यस्तो समाचार स्रोत रोज्नुहोस् जहाँ कमेन्ट गर्न नै नदिइएको होस् । त्यस्तैगरी तपाईंले फलो गरेको कुनै फेसबुक पेजले आफ्ना फलोअर्सलाई आक्रोशपूर्ण वा उग्र टिप्पणी गर्न उक्साउँछ भने त्यस्तो पेजलाई अनफलो गर्नुहोस् ।

थप आलोचनात्मक बन्नुहोस्

नकारात्मक कमेन्टले तपाईंलाई कति असर गर्छन् भन्ने कुरालाई नियन्त्रणमा राख्ने अर्को उपाय भनेको आफूले पढ्ने सामग्रीप्रति आलोचनात्मक सोच राख्नु हो । त्यो कुरा कोबाट आएको हो, उसको उद्देश्य के हुन सक्छ भन्ने सोच्नुहोस् । 

उदाहरणका लागि यदि तपाईंको कुनै साथीले सधैं तपाईंका फेसबुक पोस्टमा नकारात्मक कुरा मात्र लेख्छ भने उसले किन यस्तो गर्छ भनेर बुझ्ने प्रयास गर्नुहोस् । सकेसम्म उसलाई इनबक्समा कुरा गर्न भन्नुहोस् ।

आफ्नो प्रवृत्ति जाँच्नुहोस्

इन्टरनेट प्रयोग गर्नुअघि तपाईंको मनस्थिति कस्तो छ ? के तपाईं दुःखी, तनावग्रस्त वा आफ्नो शरीरको रूपप्रति चिन्तित महसुस गरिरहनुभएको छ ? याद गर्नुहोस्, अधिकांश सामाजिक सञ्जालका एल्गोरिदम तपाईंले जुन विषयसँग बढी अन्तरक्रिया गर्नुहुन्छ, त्यही सामग्री बढी देखाउने गरी डिजाइन गरिएका हुन्छन् ।

त्यसैले जब तपाईं नकारात्मक भावनामा हुनुहुन्छ, त्यस्तो बेला इन्टरनेटमा जान नखोज्नुहोस् । यदि जानुभयो भने यसले तपाईंलाई झन् बढी नकारात्मकता र निराशातर्फ लैजान सक्छ ।

त्यसको सट्टा डायरीमा आफ्नो भावना लेख्नुहोस् वा कसै नजिकको साथीलाई भेटेर चिया पिउँदै मन हल्का बनाउनुहोस् । यस्तो सानो तर महत्वपूर्ण कदमले तपाईंलाई धेरै राहत दिन सक्छ ।

एल्गोरिदमबारे सचेत रहनुहोस्

माथि विभिन्न सन्दर्भमा सामाजिक सञ्जालका एल्गोरिदमको चर्चा भइसकेको छ । वास्तवमा सामाजिक सञ्जालको सिस्टम (एल्गोरिदम) तपाईंलाई मनपर्ने कुरा बढी देखाउनेगरी डिजाइन गरिएको हुन्छ । तर, तपाईंले चाहनु भयो भने यो प्रणालीलाई आफ्नै फाइदा हुने गरी प्रयोग गर्न सक्नुहुन्छ । 

त्यसका लागि जानाजान तपाईंले सकारात्मक र फरक विषयका पोस्टमा अन्तरक्रिया गर्नुहोस् । उदाहरणका लागि यदि तपाईं अनलाइन जाँदा दुःखी वा नकारात्मक महसुस गर्दै हुनुहुन्छ भने जानाजान सकारात्मक पोस्ट वा भिडिओ लाइक, कमेन्ट वा शेयर गर्नुहोस् । किनभने एल्गोरिदमले तपाईंको मनस्थिति बुझ्दैन । र, तपाईंलाई सकारात्मक पोस्ट हेर्न प्रेरित गर्छ । 

त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहनुहोस् । तपाईंले राम्रो सामग्री हेर्न थाल्नुभयो भने त्यसले तपाईंलाई फेरी पनि सकारात्मक कुरा नै देखाउनेछ ।

अनलाइनका नकारात्मक कमेन्ट पढ्दा तपाईंको मानसिक स्वास्थ्य कमजोर भइरहेको जस्तो लागेको छ भने तपाईं मानसिक स्वास्थ्यसँग जुधिरहनु भएको हुन सक्छ । यसमा तपाईंलाई डाक्टर वा विशेषज्ञको खाँचो हुन सक्छ । 

यसका अतिरिक्त यदि तपाईं इन्टरनेटमा दुर्व्यवहार, धम्की, उत्पीडन, आदिको शिकार हुनुहुन्छ भने आवश्यक अनुसार ब्लक गर्ने र प्रहरीमा उजुरी दिने काम गर्न सक्नुहुन्छ । टेक्स्ट मेसेज, च्याट विन्डोज, कमेन्ट सेक्सन, डीएम आदि जस्ता सबै कुराकानीको रेकर्ड राख्नुहोस् । जे भएको छ त्यसको रेकर्ड राख्दा तपाईंको मुद्दा प्रमाणित गर्न धेरै सजिलो हुनेछ ।

यदि तपाईं साँच्चै अनलाइनमा नकारात्मक कमेन्ट पढ्न रोक्न नसकेर सङ्घर्ष गरिरहनुभएको छ भने आफैलाई ‘म किन आफूलाई नराम्रो महसुस गराउने काम गरिरहनुभएको छु’ भनेर सोध्नुहोस् । 

  • के हालसालैको कुनै घटनाले यो तपाईंलाई नकारात्मक महसुस गराएको हो ?

  • के यो तपाईंले विकास गरेको नराम्रो बानी मात्र हो ?

  • के तपाईं आफ्नो जीवनको कुनै समस्याबाट भागिरहनुभएको छ ?

यदि त्यसो हो भने तपाईंले आफ्नो मानसिक स्वास्थ्य सुधार नगरेसम्म सामाजिक सञ्जाल र कमेन्ट सेक्सन पूर्ण रूपमा त्याग्नु तपाईंको लागि उत्तम हुन सक्छ । यदि तपाईं संघर्ष गरिरहनुभएको छ भने यी सेक्सनको लत लाग्ने प्रकृति र सामग्री सहयोगी हुँदैन ।

कमेन्ट सेक्सन र फिडमा बिताउने समयको लागि सीमा तोक्नु तपाईंले आफ्नो मानसिक स्वास्थ्यको लागि गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो । र, यदि कमेन्ट हेर्न वा सामाजिक सञ्जाल नचलाई बस्नै सक्दैन भन्ने लाग्छ भने यसलाई कम गर्न सघाउने साथी खोज्नुहोस् । यस्तो साथी जसले तपाईंले अनावश्यक रूपमा सामाजिक सञ्जाल प्रयोग गर्दा झकझकाओस्, तपाईंले कति समय अनलाइन बिताइरहनु भएको छ भनेर सोधोस् । बरु त्यो व्यक्तिसँग च्याटमा समय बिताउनुहोस् जसलाई तपाईं के कुरासँग सङ्घर्ष गरिरहनु भएको छ भन्ने थाहा होस् ।

-एजेन्सीको सहयोगमा /- 

पछिल्लो अध्यावधिक: असार १७, २०८२ २०:५२





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ