काठमाडौँ । युवतीहरूको सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले एक दिने कोडिङ च्यालेन्ज कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रूपमा बुटवल र धनगढीमा ‘एक-दिने कोडिङ च्यालेन्ज’ कार्यक्रम गर्ने भएका हुन् ।

आयोजकका अनुसार यो च्यालेन्ज २ जुलाईमा बुटवलको मिलनचोकस्थित पाम इन्टरनेसनल र ३ जुलाईमा धनगढीको उत्तर-मुखी मार्गस्थित सौनराई स्क्वायरमा सञ्चालन हुनेछ । १८ देखि २४ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउने उक्त कार्यक्रममा छनोट भएका युवती मात्र सहभागी हुन पाउनेछन् ।
सहभागीले समूहमा रहेर कोडिङसम्बन्धी समस्या समाधान गरी निर्णायक समक्ष प्रस्तुत गर्नुपर्नेछ ।
यो च्यालेन्ज ‘गर्ल्स इन आईसीटी डे नेपाल २०२५’ अन्तर्गतको एक कार्यक्रम हो । ‘समावेशी डिजिटल रूपान्तरणका लागि आईसीटीमा युवती’ भन्ने नाराका साथ सञ्चालित यस अभियानले नेपालमा डिजिटल लैङ्गिक असमानता घटाउने र युवतीलाई प्रविधि क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहभागीलाई अनुभवी मेन्टरले सहजीकरण गर्नेछन् । यसबाट उनीहरूको कोडिङ सीपमा सुधार, समूहमा गरिने कामको अनुभव व्यावसायिक नेटवर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अन्त्यमा उत्कृष्ट समूहलाई पुरस्कृत गरिनुका साथै सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
यहाँ क्लिक गरेर इच्छुक नेपाली युवतीले सहभागिता जनाउन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १९:२०
सामाग्री श्रोत :
टेक पाना