काठमाडौँ । सैनिक आवासीय महाविद्यालय पढ्दा सक्रिय पाण्डेको प्रायः ध्यान विद्यालय नजिकै रहेको वायु प्रदूषणको स्टेसनमा जान्थ्यो । जहाँ वायु प्रदूषण मापनका लागि ठुलो डिभाइस राखिएको थियो । त्यसलाई अपरेट गर्न पनि गाह्रो हुन्थ्यो ।

उक्त डिभाइसलाई हेरेर आफैँले भविष्यमा सानो त्यस्तै खालको डिभाइस बनाउने बारे सोच्थे उनी । १९ वर्षीय पाण्डेले अहिले भने वायु प्रदूषण मापन गर्ने सस्तो र सहजै बोक्न सकिने सानो मोनिटरिङ डिभाइस तयार गरिसकेका छन् । उनले अन्य तीन जनासँग मिलेर ‘वायुदृष्टि’ नामक स्टार्टअप नै सुरु गरेर वायु गुणस्तर मापन डिभाइस बनाएका हुन् ।
वायुदृष्टिमा सक्रियकै दिदी श्रीशा पाण्डे (२३), मञ्जिला पाण्डे (२१) र विक्रम थापा (२५) संलग्न छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सक्रियले सम्हालेका छन् भने श्रीशाले फाइनान्स र मार्केटिङ, मञ्जिलाले टेक्नोलोजी र विक्रमले रिसर्चको जिम्मा लिएका छन् ।
उनीहरू चार जना मिलेर करिब डेढ वर्ष पहिले ‘वायुदृष्टि एयर मोनिटरिङ डिभाइस’ तयार पारेका हुन् । यो डिभाइस हत्केलामा नै अट्ने आकारको छ । यसको डिस्प्लेबाट रियल टाइममा वायु प्रदूषणको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

डिभाइसमा कपिराइट एल्गोरिदम प्रयोग गरिएको छ । स्याटलाइटको डेटालाई ग्राउन्ड डेटा (जमिनमा राखिएका डिभाइसबाट प्राप्त डेटा)सँग मर्ज गरेर एउटा डिभाइसबाट १० वर्ग किलोमिटर क्षेत्रफलको प्रदूषण सम्बन्धी डेटा दिन सक्ने सक्रियको दाबी छ ।
उनका अनुसार हाल नेपालमा प्रदूषण र मौसम सम्बन्धी जानकारीका लागि प्रयोग गरिँदै आएका डिभाइसले एक वर्ग किलोमिटरसम्मको डेटामात्र प्रदान गर्न सक्छन् । यी डिभाइसहरू ३० हजार अमेरिकी डलर (४१ लाख रुपैयाँ) सम्म पर्ने भएकाले निकै महँगो समेत हुने गरेका छन् ।
वायुदृष्टि एयर मोनिटरिङ डिभाइस अन्यभन्दा निकै सस्तो पनि पर्छ । यस डिभाइसको शुल्क २५० अमेरिकी डलर (लगभग ३५ हजार रुपैयाँ) बाट सुरु हुन्छ । उक्त डिभाइसले पानी पर्ने सम्भावना, हावाको बहाव दिशा र गतिको मापन तथा पूर्वानुमान गर्न सक्छ । डिभाइसले दिने डेटाको प्यारामिटर अनुसार शुल्क महँगो हुँदै जाने उनले बताए ।
यस्तै, एक हप्तासम्मको मौसम सम्बन्धी पूर्वानुमान र वायु प्रदूषणको अनुमान गर्न सक्छ । जङ्गलमा आगो लाग्ने सम्भावनाका बारेमा समेत जानकारी दिने गरेको छ ।
सातै प्रदेशको वायु प्रदूषण सम्बन्धी लाइभ डेटा वेबसाइटमा
वायुदृष्टिको वेबसाइटबाट नै नेपालका सातै प्रदेशको प्रदूषणसँग सम्बन्धित डेटा निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको छ । नेपालबाहेक भारत र पाकिस्तानका शहरहरूको पनि डेटा देखाउँदै आएको उनले बताए । भारतको दिल्ली, मुम्बई, अमृतसर, बैङ्गलोर, कानपुर र लखनउ तथा पाकिस्तानमा लाहोर, कराँची, फैसलाबाद अन्तर्राष्ट्रिय विमानस्थल, इस्लामाबाद र पेशावरमा पनि वायु प्रदूषणको अवस्था वेबसाइटबाट हेर्न मिल्छ ।
प्रदूषण सम्बन्धी जानकारी हेर्न वेबसाइट भिजिट गर्नेको सङ्ख्या पनि राम्रो रहेको उनी सुनाउँछन् । उनले भने, “मासिक ९८ हजार भिजिटर सम्म पुगेको रेकर्ड छ ।” दैनिक एक हजारको हाराहारीमा वेबसाइट भिजिटर रहेका छन् । आफ्नो वेबसाइटमा नेपालमा भन्दा पनि भारतबाट धेरै भिजिटर रहेको उनले बताए ।
यस्तै, कुन स्तरको वायु प्रदूषणले कस्तो स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने जानकारी पनि वेबसाइटमार्फत दिइन्छ । आफ्नो स्थानको वायु प्रदूषणको अवस्था हेरेर मास्क प्रयोग गर्ने/नगर्ने, आउटडोर क्रियाकलाप गर्न उपयुक्त हुन्छ कि हुँदैन, प्युरिफायर प्रयोग गर्ने, व्यायाम गर्ने/नगर्ने र बालबालिका तथा ज्येष्ठ नागरिकलाई कसरी बचाउने भन्ने जानकारी वेबसाइटबाट दिइन्छ ।
स्थानीय तहले पनि मौसमसम्बन्धी जानकारीका लागि आफ्नो डिभाइस राख्न चासो देखाएको उनले बताए । यस्तै, जल तथा मौसम विभाग र वातावरण विभाग लगायतका अन्य सरकारी निकायहरूसँग मिलेर काम भइरहेको छ । विश्व बैंकले पनि आफ्नो डिभाइस राखेको उनले सुनाए ।
यूएस ईपीएबाट डिभाइस प्रमाणीकरण
वायुदृष्टिको प्रणालीलाई यूएस ईपीएबाट अनुमोदन प्रदान गरिएको छ । पाण्डेका अनुसार मोनिटरिङ डिभाइस तयार पारेपछि नेपाल सरकारबाट प्रमाणीकरणको प्रयास गरिएको थियो । तर नेपालमा यस्ता डिभाइसहरूको लागि प्रमाणीकरणको स्पष्ट फ्रेमवर्क नभएपछि समस्या भएको थियो । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा यूएस ईपीएबाट प्रणालीको मापदण्ड पूरा गर्ने प्रमाणीकरण गरिएको हो । उक्त प्रमाणीकरणलाई नेपाल सरकारले पनि स्वीकार गरेको छ ।
वायुदृष्टि टोलीले वायु प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रभावको बारेमा विश्लेषण गर्न एआई प्रणाली पनि तयार पारेको छ । यसले फोक्सोको एक्स-रे फोटो विश्लेषण गरी प्रदूषणले पारेको असर देखाउने मेडिकल चार्ट र विश्लेषण गर्छ । महाराजगञ्जस्थित मेडिकल कलेजका विद्यार्थीलाई यसको बारेमा जानकारी गराउँदै तालिमसमेत प्रदान गरिएको थियो ।
वायु प्रदूषणबारे सचेतना दिन ‘वायु सेना’
वायु प्रदूषणको अवस्था नेपालमा गम्भीर रहेको पाण्डे बताउँछन् । “नेपालमा प्रत्येक हप्ता करिब ९०० देखि १००० व्यक्तिको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको तथ्याङ्क छ । यसलाई सरकार र नागरिक दुवैले गम्भीरतापूर्वक लिनुपर्छ ।” वायु प्रदूषणका बारेमा जानकारी दिनका लागि ‘वायु सेना’ तयार पार्ने काम पनि गरिरहेको उनले बताए ।
यसका लागि विभिन्न विद्यालयमा निःशुल्क सचेतना कक्षाहरू सञ्चालन गर्दै आएको छ । सचेतना कक्षामा वायुको गुणस्तरको बारेमा जानकारी दिनुका साथै गुणस्तरीय वायुसहितको वातावरण सिर्जनाका लागि युवालाई अग्रसर बनाउने गरिएको छ । सचेतना कक्षामा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई मेडल प्रदान गरेर प्रोत्साहनसमेत गरिन्छ ।
क्राउडफन्डिङमार्फत लगानी जुटाउने योजना
वायुदृष्टि एयर मोनिटरिङ डिभाइस नेपालमै तयार पारिएको पाण्डेले बताए । डिभाइसका लागि आवश्यक पर्ने सेन्सरहरू भने चीनबाट आयात गरिन्छ । अन्य कच्चा पदार्थहरू पनि आयात गरिन्छ र नेपालमा एसेम्बल गरेर डिभाइस तयार पारिएको उनले बताए ।
यो डिभाइसलाई धेरैले रुचाएकाले अन्य डिभाइस पनि ल्याउने तयारीमा कम्पनी रहेको उनले सुनाए । कम्पनीले एयर प्युरिफायर र एआईमा आधारित प्रदूषण पूर्वानुमान गर्ने प्रणाली तयार गरिरहेको छ ।
हाल कम्पनी बुटस्ट्र्याप गर्दै चलिरहेको उनले बताए । उनले भने, “अब भने कम्पनीले अलि अलि मुनाफा गर्न थालेको छ ।” अब क्राउडफन्डिङमार्फत लगानी जुटाउने योजना रहेको उनले सुनाए ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ ८:९
सामाग्री श्रोत :
टेक पाना