काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न मेटा र ओपनएआईबिच तीव्र प्रतिस्पर्धा र वाकयुद्ध सुरु भएको छ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले मेटाले आफ्ना अनुसन्धानकर्ताहरूलाई १०० मिलियन डलर (साढे १३ अर्ब रुपैयाँ बढी) सम्मको ‘साइनिङ बोनस’ दिएर चोर्न खोजेको आरोप लगाएका छन् । यता, मेटाले भने यो दाबीलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ ।

यो विवादलाई ओपनएआई छोडेर चाँडै मेटामा सामेल हुन लागेका अनुसन्धानकर्ता लुकास बेयरको एक पोस्टले थप बल दिएको छ । उनले सामाजिक सञ्जाल एक्समा १०० मिलियन डलरको साइन-अप बोनसको खबरलाई फेक न्युज भनेका छन् ।
बेयरले आफूसँगै ओपनएआईका अन्य दुई सहकर्मी अलेक्जेन्डर कोलेस्निकोभ र सियाओहुआ झाई पनि मेटामा जान लागेको पुष्टि गरेका छन् ।
गत हप्ता ओपनएआईले आयोजना गरेको एक पडकास्टमा सीईओ अल्टम्यानले मेटाले आफ्ना कर्मचारीहरूलाई ठुलो रकमको प्रस्ताव गरिरहेको दाबी गरेका थिए । “मेटाले हाम्रो टोलीका धेरै मानिसहरूलाई ठुला अफरहरू दिन थालेको छ,” उनले भनेका थिए, “तर अहिलेसम्म हाम्रा कुनै पनि उत्कृष्ट व्यक्तिले ती अफर स्वीकार गरेका छैनन् ।”

अल्टम्यानको यो आरोपको जवाफमा मेटाका प्रमुख प्रविधि अधिकृत (सीटीओ) एन्ड्रयु बोसवर्थले द भर्जसँगको कुराकानीमा अल्टम्यानमाथि नै बेइमानीको आरोप लगाएका छन् । “साम यहाँ बेइमान भइरहेका छन् । उनले यो सबैका लागि भइरहेको छ भन्ने देखाउन खोजिरहेका छन्,” बोसवर्थले भने, “हो, बजार तातेको छ, तर त्यति धेरै पनि होइन ।” उनले अल्टम्यानले यस्ता अफरहरूलाई रोक्न खोजिरहेको समेत आरोप लगाए ।
यसैबिच, मेटाले आफ्नो एआई रणनीति ओपनएआईको भन्दा फरक रहेको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख उत्पादन अधिकृत (सीपीओ) क्रिस कक्सका अनुसार, मेटाको लक्ष्य च्याटजीपीटी जस्तो काममा सघाउने एआई च्याटबट बनाउनु मात्र नभई मनोरञ्जन, साथीभाइसँगको सम्बन्ध र मानिसहरूको जीवनशैलीमा केन्द्रित भएर आफ्नो एआईलाई फरक बनाउनु हो ।
गुगल र ओपनएआईको तुलनामा मेटा एआई दौडमा प्रतिस्पर्धा गर्न संघर्षरत देखिन्छ । यद्यपि, मार्क जुकरबर्गको कम्पनीले हालै आफ्नो ‘सुपरइन्टेलिजेन्स’ टोली गठन गरी ठुलो संख्यामा कर्मचारी भर्ना गरिरहेको छ । हालै, मेटाले स्केल एआई (Scale AI) मा ४९ प्रतिशतको हिस्सेदारी खरिद गरी त्यसका २८ वर्षीय सीईओ अलेक्जेन्डर वाङलाई आफ्नो नयाँ टोलीको नेतृत्व गर्न नियुक्त गरेको छ । यो प्रकरणले एआई प्रतिभा भित्र्याउन मेटा आक्रामक रणनीतिका साथ लागिपरेको संकेत दिएको छ ।
पछिल्लो अध्यावधिक: असार १४, २०८२ १६:१२
सामाग्री श्रोत :
टेक पाना