काठमाडौँ– हास्य कलाकार दीपकराज गिरीले गायिका एलिना चौहान र समीक्षा अधिकारी लगायतले सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध सुरु गरेको ‘एक्सपोज’ अभियानको प्रशंसा गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्।
गाली सम्राटहरुको हर्कत सामाजिक सञ्जालमै उदांगो पार्ने काम प्रशंसनीय भएको बताएका छन्।
कलाकार गिरीले गायिका अधिकारीको कलाको मात्रै नभई साहसको समेत प्रशंसा गरेका छन्। उनले भनेका छन्- ‘यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ! त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशंसक हुँ ! सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठाउँमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन्। त्यसकै फलस्वरूप आज यहाँ आइपुगिन्।’

उनीहरूले यस्तो जटिल परिस्थितिमा सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई उदाङ्गो पार्ने अभियान चलाएको भन्दै भनेका छन् : ‘यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दुवै जनालाई शुभकामना ! जय नेपाल !
दुई दिन अघि चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो। अब पालैपालो पोस्ट गर्छु।’
साथै एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन्। थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन्।
अधिकारी र चौहानको यो हिम्मतको चौतर्फी प्रशंसा भइरहेको छ। यही क्रममा गिरीले पनि दुवै गायिकालाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ