२०८२ असार ६ शुक्रबार
२०८२ असार ६ शुक्रबार

दूरशिक्षा एजुकेसनः जसले विद्यालयस्तरबाटै बालबालिकालाई दिँदैछ कोडिङ र रोबोटिक्सको ज्ञान

काठमाडौँ । ललितपुरको गोदावरीमा रहेको किटिनी माविका विद्यार्थीहरू बिहीबार अरू दिन भन्दा चाँडै विद्यालय पुग्छन् । विद्यालयमा भएको ल्याबमा जान्छन् र रोबोटिक्स तथा कोडिङ सम्बन्धी नयाँ नयाँ कुराहरू सिक्छन् । 

सहायक प्रधानाध्यापक दिनेशकुमार थापाका अनुसार विद्यालयले विगत साढे दुई वर्षदेखि विद्यार्थीहरूलाई नवीनतम प्रविधिका बारेमा पढाउन थालेको हो । उक्त कोर्स कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू मध्येबाट ६० जनालाई प्रदान गर्दै आएको उनले बताए । 

यस कक्षामा विद्यार्थीहरूले सैद्धान्तिक भन्दापनि प्रयोगात्मक विधिबाट रोबोटिक्स र कोडिङका कक्षाहरू लिने गर्छन् । उनले भने, “यो कक्षा कुनै कोर्सको रूपमा सञ्चालन गरिन्छ । जसमा सहभागी हुन २०० भन्दा धेरै विद्यार्थीले आवेदन दिएका थिए । तर, हाम्रो क्षमता सीमित भएकाले ६० जनालाई मात्र सहभागी गराउन सक्यौँ ।” 

कक्षामा विद्यार्थीहरूले ससाना ड्रोन, स्काभेटर र पानी तान्ने मसिनहरू तथा विभिन्न सेन्सर प्रविधिका कामहरू कसरी हुन्छन् भन्ने कुरा सिकीरहेका हुन्छन् ।  बालबालिकाहरूले प्रविधिका बारेमा सिकीरहेको देख्दा आफू पनि दङ्ग पर्ने गरेको उनले सुनाए । 

सामुदायिक विद्यालय भएपनि उक्त रोबोटिक्स सम्बन्धी कक्षा दिन दूरशिक्षा एजुकेसनका कारण सम्भव भएको थापाले सुनाए । उनका अनुसार विद्यालयले दूरशिक्षा एजुकेसनबाट वार्षिक प्याकेज लिएर विद्यार्थीहरूलाई हरेक हप्ता रोबोटिक्स तथा कोडिङ पढाउँदै आएको छ । 

सामुदायिक विद्यालय भएकाले दूरशिक्षाले आफ्नो सेवामा छुट समेत दिएको उनी बताउँछन् । उनले भने, “सरकारी विद्यालय भएकाले हामी विद्यार्थीहरूबाट शुल्क लिँदैनौँ । यो कुरा बुझेर उहाँहरूले पनि आफ्नो सेवा बापत लिने शुल्कमा झन्डै ५०% छुट दिनु भएको छ ।”

विद्यालयले सुरुमा परीक्षणको रूपमा ३ महिनाका लागि मात्र उक्त कोर्स लिएको थियो । तर विद्यार्थीहरूमा निकै सकारात्मक प्रभाव परेको पाएपछि निरन्तरता दिने निर्णयमा पुगेको उनले सुनाए । विद्यालयले कम्पनीसँग सहकार्य सुरु गरेको यो लगातार तेस्रो वर्ष हो । 

तालिम दिनका लागि हरेक हप्ता दूरशिक्षाबाट चार जना शिक्षकहरू आउँछन् । विद्यार्थीलाई सिकाउन आवश्यक पर्ने सबै खाले सामग्री आफैँ बोकेर ल्याएका हुन्छन् । 

दूरशिक्षासहित अन्य संस्थाहरूसँग मिलेर विद्यालयले आफ्नै ल्याब समेत बनाएको छ । आधारभूत तहमा पढ्दै गर्दा पनि विद्यार्थीले सूचना प्रविधिको बारेमा जानकारी लिन पाएकाले यस्तो कार्यक्रम अन्य विद्यालयमा पनि सञ्चालन हुनुपर्ने सहायक प्रधानाध्यापक थापाको बुझाई छ । अझ यसलाई स्थानीय पाठ्यक्रममा नै समावेश गरेर स्थानीय तह अन्तर्गतका सबै विद्यालयमा रोबोटिक्स र कोडिङ पढाउन आवश्यक रहेको उनले बताए ।

दूरशिक्षाको सुरुवात 

सन् २०२० मा विश्वव्यापी रूपमा कोरोना महामारी फैलियो । त्यसबाट नेपाल पनि अछुत रहेन । विश्वभरका मानिसहरू नै आफ्नो घरभित्रै थुनिनु परेको त्यो अवस्थामा मानिसहरू नयाँ प्रविधि एक्सप्लोर गर्न थाले । त्यही बेला कोडिङका इन्स्ट्रक्टर कृष्ण पाण्डे बालबालिकालाई विद्यालय स्तरबाट नै नवीनतम प्रविधिको बारेमा सिकाउनुपर्छ भनेर कस्सिए । 

सुरुमा उनले अनलाइनमार्फत कोडिङ पढाउन थाले । तर विद्यार्थीहरू भने खासै थिएनन् । त्यसैले उनले आफ्नो छिमेक  र आफन्तमा रहेका ५/६ जना विद्यार्थी खोजेर पढाए । तर उनी उक्त शिक्षालाई अनलाइनमा मात्र सीमित गर्न चाहँदैनथे । त्यसपछि २०७७ भदौमा उनले ‘दूरशिक्षा एजुकेसन’ नामक कम्पनी दर्ता गराए । काठमाडौँको जमलमा कार्यालय खोलेर पढाउन सुरु गरे । 

कोभिडभन्दा पहिला पनि उनमा विश्वविद्यालयभन्दा तल्लो स्तरबाटै विद्यार्थीहरूलाई प्रविधि सिकाउन दूरशिक्षा एजुकेसन खोल्ने बारेमा नसोचेका होइनन् । तर तत्कालीन समयमा नेपाली समाज बालबालिकालाई आईटी पढाउन त्यति इच्छुक नभएको महसुस उनले गरेका थिए । तर कोरोनाले भने मानिसलाई प्रविधिसँग नजिक बनायो । अभिभावकहरूले पनि बालबालिकालाई सानै उमेरबाट प्रविधि सिकाउनु पर्छ भन्ने महसुस गरे । 

अहिले भने साना साना बालबालिकाहरूलाई पनि नयाँ नयाँ प्रविधि सिकाउन अभिभावकले चासो देखाउन थालेका छन् । दूरशिक्षाको प्रमुख कार्यकारी अधिकारी (सीईओ) समेत रहेका पाण्डे भन्छन्, “अहिलेसम्म दूरशिक्षामार्फत १५ हजारभन्दा धेरै विद्यार्थी हामीसँग कनेक्ट भइसकेका छन् ।”

उपलब्ध कोर्स तथा कार्यक्रम

दूरशिक्षा एजुकेसनले किन्डरगार्टेन (शिशु कक्षा) पढ्ने बालबालिकादेखि स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीसम्मलाई आईटी शिक्षा उपलब्ध गराउँदै आएको छ । यसमा ‘योङ साइन्टिस्ट’, ‘फ्युचर्स’, ‘कलेज कनेक्ट’ ‘आफ्टर स्कुल’ लगायतका कोर्सहरू उपलब्ध छन् । 

१. योङ साइन्टिस्टः यो कार्यक्रम विद्यालयसँगको सहकार्यमा कक्षा १० सम्मका विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स र एआई पढाउन डिजाइन गरिएको हो । यसमा दूरशिक्षाकै शिक्षकहरू विद्यालयमै गएर पढाउँछन् । जसमा केही महिना वा एक वर्षको कोर्स पढाउने भनेर विद्यालयहरूले आफू अनुकूल निर्णय लिन सक्छन् । सोही अनुसार दूरशिक्षाले पाठ्यक्रम समेत तयार पारेको छ । 

२. फ्युचर्स र कलेज कनेक्टः फ्युचर्स कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा तथा ‘कलेज कनेक्ट’मार्फत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई पढाउने गरिएको छ । यसअन्तर्गत जाभा, डेटा साइन्स, फुल स्ट्याक डेभलपमेन्ट जस्ता विषयहरू पढाइन्छ । दूरशिक्षाका पाठ्यक्रमलाई  स्टिमले मान्यता दिएको उनको भनाई छ । 

३. आफ्टर स्कुल कोर्सः दूरशिक्षा एजुकेसनको कोर्स नभएका विद्यालयका विद्यार्थीहरूले व्यक्तिगत रूपमा पनि आईटीका कक्षाहरू लिन सक्छन् । यसका लागि आफ्टर स्कुल कोर्स सञ्चालनमा छ । जहाँ विद्यालयबाट फर्किएपछि विद्यार्थीहरूले अनलाइनमार्फत  कोडिङ, रोबोटिक्स र एआईका बारेमा सिक्न सक्छन् । शनिबार भने अफिसमै आएर रोबोटिक्स सिक्न सकिन्छ ।

४. स्टिम सर्टिफाइड एजुकेटरः ‘स्टिम सर्टिफाइड एजुकेटर’ कार्यक्रममार्फत विद्यालयका शिक्षकहरूलाई आईटी शिक्षा दिन सक्ने गरी तयार पार्ने गरिएको पाण्डेले बताए । 

५. सेन्टर फर एक्सिलेन्स प्रोग्रामः दूरशिक्षाले भारतीय आईटी कम्पनी एचसीएल टेकसँग मिलेर नेपालका विभिन्न क्याम्पसहरूलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने काम समेत गरिरहेको छ । यस परियोजना मार्फत पढाइ पूरा भएपछि विद्यार्थीहरूलाई एचसीएल टेकमार्फत इन्टर्नशिपको व्यवस्था समेत मिलाउने काम भइरहेको छ । 

विद्यालयलाई विश्वास दिलाउनु चुनौती

सुरुवाति दिनमा विद्यालयहरूलाई आईटीको कोर्सहरू पनि विद्यार्थीका लागि आवश्यक छ भनेर बुझाउनै समस्या भएको सीईओ पाण्डे बताउँछन् । उनी भन्छन्, “कोडिङ सिकाउन निकै गाह्रो हुन्छ । त्यही भनेर विद्यार्थीलाई किन बेकारमा प्रेसर दिने भन्ने जस्तो प्रतिक्रिया दिनु हुन्थ्यो ।” 

यसै क्रममा आफूलाई विश्वास गरेर बुढानीलकण्ठ स्कुल दूरशिक्षा एजुकेसनको पहिलो ग्राहक बनेको सम्झन्छन्, पाण्डे । त्यस यता हालसम्म ११ ओटा कलेज र २० ओटा स्कुल दूरशिक्षामा जोडिएका छन् । जसअन्तर्गत विद्यालयमा एआई, रोबोटिक्स जस्ता कोर्स पढाउन इनोभेसन ल्याब बनाउनेदेखि हरेक हप्ता शिक्षकसहित गएर पढाइन्छ ।

निजी विद्यालयका बालबालिकाले मात्र आईटीका विषय पढ्न सक्ने धारणा गलत रहेको समेत उनको बुझाइ छ । किटिनी विद्यालय जस्ता अन्य सामुदायिक विद्यालयले पनि कोर्सहरू पढाउनुपर्छ भनेर स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने प्रयास गरिरहेको उनले सुनाए ।

सीईओ पाण्डे भन्छन्, “बालबालिका जन्मिँदै सबै कुरा जान्ने हुँदैनन् । तर, सानै उमेरदेखि सिकाइयो भने धेरै राम्रो हुन्छ । १६ वर्षसम्म विद्यालयमा आईटीको बारेमा सुन्दै नसुनी एकै पल्ट कलेजमा ४ वर्ष पढाएर धेरै कुरा सिकाउन सकिँदैन ।” त्यसैले आधारभूत कुराहरू विद्यालय तहदेखि नै बालबालिकालाई सिकाउनुपर्ने उनको भनाई छ । 

“अब सबैले आईटीबारे जान्नै पर्ने समय आयो”

पछिल्लो समय स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयमा सबैभन्दा राम्रो भविष्य रहेको पाण्डे बताउँछन् । उनी थप्छन्, “अहिले संसारमा ८० प्रतिशत रोजगारी नै स्टिम क्षेत्रमा छ ।” 

भविष्यमा आईटी क्षेत्रमा नलाग्नेका लागि पनि यस्ता तालिम आवश्यक रहेको उनले सुनाए । उनी भन्छन्, “ यस्ता कोर्सहरू गरिरहँदा समूहमा काम गर्न सक्ने, जिज्ञासु हुने र गहन रूपमा सोच्ने बानी विकास हुन्छ । स्कुलदेखि नै पढिरहँदा एसईईपछि कुन विषयमा अघि बढ्ने भनेर विद्यार्थीहरू आफैँले थाहा पाइसकेका हुन्छन् ।” 

दूरशिक्षाबाट तालिम दिएका विद्यार्थीहरूले पनि क्रमशः आईटी क्षेत्रमा राम्रो नाम कमाउन थालेको पाण्ड‍े सुनाउँछन् । उनी भन्छन्, “केही समय अघि कक्षा ८ मा पढ्ने अंशुकृष्ण रिजाल डिस्कभरी एजुकेसन यूकेको कोडिङ प्रतिस्पर्धामा ग्लोबल बिजेता बनेका थिए ।” विद्यालयस्तरबाट नै आफूहरूले पढाइरहेकाले सबै विद्यार्थीको सफलता हेर्न भने अलि समय पर्खिनुपर्ने उनको भनाई छ । 

क्लाउड क्याम्पस बनाउने लक्ष्य 

अनलाइनमा केही विद्यार्थीलाई कोडिङ सिकाएर सुरु भएको दूरशिक्षा एजुकेसनले हाल २५ जनालाई रोजगारी प्रदान गरिरहेको छ । दूरशिक्षाले अबको तीन वर्षमा ५० हजार विद्यार्थीलाई तालिममा सहभागी गराउने लक्ष्य राखेको छ । 

यस्तै पाँच वर्षभित्र सातै प्रदेशमा ‘लर्निङ हब’ बनाउने र देशका मुख्य सहरहरूमा ‘योङ साइन्टिस्ट’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि कम्पनीले अघि सारेको छ । 

यस्तै विद्यालयदेखि विश्वविद्यालयसम्म दिइने तालिमका सबै विषयलाई एकै ठाउँमा पढाउन मिल्ने गरी अनलाइन लर्निङ प्लेटफर्म तयार पार्ने काम समेत भइरहेको सीईओ पाण्डेले बताए ।  उनले भने, “यसलाई हामीले क्लाउड क्याम्पस भनेका छौँ । यसको डिजाइन गरेर निर्माणको काम अघि बढिसकेको छ ।”

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १४:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट