काठमाडौँ । पछिल्ला केही दिनयता टिकटकमा चर्चित व्यक्तिहरूको बालरूप भाइरल भइरहेका छन् । यस्ता भिडिओमा बच्चा स्वरूपमा देखाइएका पात्रले उनीहरूकै जस्तो स्वर, शैली, हाउभाउ र लवजमा बोल्छन् । झट्ट हेर्दा वास्तविक जस्तै लाग्ने अनुहार, कपडा र आवाज मिल्दो भएपनि यी भिडिओ पूर्ण रूपमा एआई प्रविधिबाट तयार पारिएका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मका बालरूप भिडिओ अहिले टिकटकमा व्यापक रूपमा देखिन्छन् । बालरूपका पात्रहरूलाई गीत गाइरहेको, पडकास्टमा बोलिरहेको, कुनै सिद्धान्तमा धारणा राखिरहेको जस्ता स्वरूपमा प्रस्तुत गरिएको छ ।
यस्ता भिडिओ बनाउन विभिन्न एआई टुल प्रयोग गरिन्छ । च्याटजीपीटी, हेर्डा एआई (Hedra AI) लगायतका टुल प्रयोग गरेर अनुहार रुपान्तरणदेखि भिडिओ उत्पादनसम्म गर्न सकिन्छ ।
च्याटजीपीटीमा गएर फोटोमा आधारित बच्चा स्वरूपको अनुहार बनाइदिन अनुरोध गर्दा उसले कपडा, कपाल र मुहार मिल्दोजुल्दो फोटो तयार पारिदिन्छ । अनि यस्तो फोटोबाट भिडिओ बनाउन अहिले लोकप्रिय टुलहरूमध्ये ‘हेर्डा एआई’ प्रयोग भइरहेको छ । अधिकांश भाइरल बच्चा स्वरूपका भिडिओ यही टुलमार्फत बनाएको पाइन्छ ।

यो टुलमा प्रयोगकर्ताले फोटो अपलोड गरी अडियो स्क्रिप्ट राखेर भिडिओ बनाउन सक्छन् । अडियो मिक्स गर्न मिल्ने, कुन भाग राख्ने वा हटाउने भन्ने एडिट अप्सनसमेत यसमा उपलब्ध छ । निःशुल्क प्रयोगकर्ताका लागि हाल २० सेकेन्डसम्मको अडियो सीमित गरिएको छ ।
भिडिओ बनाउने अन्य सजिलो उपाय पनि छन् । सुरुमा जसको बालस्वरूप बनाउन चाहेको हो, उसको स्पष्ट र उच्च गुणस्तरको फोटो आवश्यक हुन्छ । त्यसपछि ‘FaceApp’, ‘Reface’, ‘AI Baby Generator’ जस्ता एपहरू प्रयोग गरेर बाल अनुहार तयार गर्न सकिन्छ ।
त्यसपछि उक्त अनुहार प्रयोग गरेर ‘D-ID’, ‘HeyGen’, वा ‘Pika Labs’ जस्ता टुलहरूको माध्यमबाट स्वर मिलाइएको भिडिओ बनाउन सकिन्छ । यसरी भिडिओमा बच्चा स्वरूपका पात्र बोलिरहेको देखाउन सकिन्छ ।
यस्ता एआई भिडिओहरू केही टिकटक प्रयोगकर्ताले मनोरञ्जनका लागि त केहीले फलोअर आकर्षित गर्न बनाइरहेका छन् । तर, एआई सिर्जित सामग्रीले चुनौती पनि खडा गरेको छ ।
केही प्रयोगकर्ताले यिनै प्रविधि दुरुपयोग गरेर व्यक्तिलाई लक्षित गर्ने, अपमानजनक तथा भ्रामक सामग्री बनाउने प्रवृत्ति देखापरेको छ । बालस्वरूप वा अन्य डिजिटल रुपान्तरणमार्फत कसैको छवि बिगार्न एआई टुल प्रयोग हुने जोखिम बढेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १९:३३
सामाग्री श्रोत :
टेक पाना