जनताले कस्तो पानी खान्छन् भन्ने चासोसम्म कुनै राष्ट्रध्यक्ष वा सरकार प्रमुखले राख्दैन भने ऊ उल्लेखित पदका लागि योग्य पदाधिकारी हुन सक्तैन। जनता शारीरिक तथा मानसिक रुपले बलियो हुुनुपर्छ भने ऊ राम्रो स्वास्थ्यको हुनुपर्छ।

राम्रो स्वास्थ्यलाई सुनिश्चित गर्नको लागि अन्य कुराको अलावा शुद्ध पानी पिउनु अनिवार्य शर्त हो। शुद्ध पानी नपिउने हो भने जतिसुकै राम्रो र पोसिलो खाना खाए पनि उ रोगी- विरामी भएरै छोड्छ। शुद्ध पिउने पानीको लागि विश्वभरका सरकार तथा अनेक संस्थाहरुले लगानी तथा खर्च गर्नुको कारण पनि यही नै हो। भनिरहनु पर्दैन पानीको प्राणी र वनस्पतिसंग कस्तो सम्बन्ध छ भनेर।
कहाँको कस्तो पानी शुद्ध र पिउनयोग्य छ र कस्तो र कहाँको पानी अशुद्ध दूषित र पिउन अयोग्य छ भनेर वैज्ञानिक परिक्षणपछि मात्र थाहा हुने विषय हो। सामान्यतया जमेको भन्दा बगेको पानी नै पिउन लायक हुन्छ भन्ने आमजनधारणा रहेको पाइन्छ।
‘धाराको पानी धरर गर्छ कुवाको कुहिरहन्छ’ भनेर गाइने लोकगीतले पनि यही अर्थ राख्दछ। धाराको बग्ने पानी पिउने र कुवाको जमेको पानी पिउने मान्छेहरुको स्वास्थ्य, विचार-बुद्धि, क्षमता वा साहसमा फरक पर्छ होला र?

वैज्ञानिक किसिमको कुनै अध्यायन, अनुसन्धानले मात्र यसको सही उत्तर दिन सक्ला। व्यापक परीक्षण वैज्ञानिक अध्यायन अनुसन्धान बेगर कुवाको पानी पिउनेमा कम बुद्धि र साहस हुन्छ भनेर ठोकुवा गर्न त सकिँदैन। तर के कुरा ठोकुवा गरेर भन्न सकिन्छ भने तुलनात्मकरुपमा जमेको कुवाको पानी स्वच्छ र स्वस्थ पानी चाहि होइन।
खानेपानीको कारणले पनि मान्छेको बुद्धि बढी र घटी हुन्छ कि हुँदैन? खानेपानीको कारणले मान्छे साहसी वा कातर हुन्छ कि हुँदैन? यो जटिल सवाल हो। खानेपानीले पनि मान्छेमा बुद्धि घटी र बढी हुने, सूरो र काँतर हुने आधारतत्वमा प्रभाव पार्छ भन्ने विचार पृथ्वीनारायण शाहले ‘कुपको पानी खान्या छेउ बुद्धि पनि हुँदैन सूरो पनि हुँदैन’ भनेर अघि सारेको पाइन्छ।
अर्थात् कुपको पानी खानेहरुमा धाराको बग्ने पानी खानेको तुलनामा बुद्धि र साहस कम हुन्छ भन्ने मत पृथ्वीनारायणको रहेछ। उनले के आधारमा वा के अनुभवमा यो निष्कर्ष निकाले यसको वैज्ञानिक किसिमले सत्य तथ्य पत्ता लगाउने जिम्मा सम्बन्धित विज्ञ तथा अनुसन्धानकर्तालाई नै छोड्दा राम्रो होला।
कुवाको पानी खाने मान्छे कम सूरो वा कम बुद्धि भएको हुन्छ भनेर पृथ्वीनारायण शाहले संसार भरका अध्यायन अनुसन्धान गर्नेलाई नयाँ विषय चाहिँ दिएका रहेछन्। हेरौं विज्ञान जगतले यसको वैज्ञानिक किसिमले कसरी सदर व वदर गर्ला।
जमेको कुवाको पानी खाने कम सूरो र कम बुद्धि भएको हुन्छ बगेको पानी खानेको तुलनामा भन्ने पृथ्वीनाराण शाहको विचारमा वैज्ञानिक आधार भने जरुर देखिन्छ। यो शुद्धतासँग गाँसिएका सवाल हो। यो शुद्ध आहारा र खानपीनसँग गासिएको सवाल हो।
जनतालाई जमेको सडेको फोहर खाने पानी होइन बगिरहने निर्मल स्वच्छ खानेपानी खुवाउने वकालत हो पृथ्वीनारायण शाहको। गहिरिएर विचार गर्दा पृथ्वीनारायण शाहले ठिकै भनेको देखिन्छ। किनभने जमेको, सडेको दुषित फोहर पानी खायो भने मानिसमा अनेक रोग विराम लाग्ने संभावना प्रवल हुन्छ।
रोगी मान्छे शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छ। ऊ प्राय निरास देखिन्छ झोक्राएर बस्छ। उसको शारीरिक र मानसिक विकास ठिक ढंगले बढ्दैन। अर्थात् रोगले गर्दा उसको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा प्रतिकूल प्रभाव पार्दछ।
जसको कारणले उ सबै किसिमले शिथिल, निराश र कमजोर हुन्छ। यसले उसको साहस र बुद्धिलाई क्षय गराएर लान्छ। यसैलाई पृथ्वीनारायणले बुद्धि नहुने र सूरो नहुने रहेछ भनेको देखिन्छ।
शुद्ध खानेपानीको महत्व कति छ भनेर पृथ्वीविचारले दर्शाएको छ। शुद्ध खानेपानीको शक्ति बुझेर जनतालाई सफा खानेपानी को सुनिश्चित गर सरकार भनेको हो यो। शुद्ध पानी खुवाउ सबै किसिमले जनतालाई बलियो बनाउ पृथ्वीविचारले यही भन्छ हरेक सरकारलाई।
जनतालाई शुद्ध पानी खुवाउन नसक्नु जनतालाई साहस र बुद्धिमा कमजोर पारेर लानु हो भन्ने पृथ्वीविचारको मर्म बुझ्न कन्जुस्याइँ गर्नु हुँदैन। जनताले शुद्ध खाना र पाना अघाउने गरि खान पाउनु पर्दछ। कुन स्थानका जनताले शुद्ध पानी खान पाएका छन् छैनन् राज्यले हेर्नु र केलाउनु पर्छ।
कुन स्थानका जनता अर्थात् जनसमुदायमा पानीको कारणले के कस्तो रोग लागेको छ सबै जानकारी राज्य वा राज्यका निकायसंग हुनुपर्दछ। राज्यले जति सक्दो छिटोभन्दा छिटो जनतालाई शुद्ध खानेपानी खुवाउने परिस्थिति सुनिश्चित गरिनु पर्दछ।
जमेको र सडेको फोहर पानी खानुपर्ने बाध्यताबाट जनतालाई सदाको लागि मुक्त गरिनु पर्दछ। हाम्रा पूर्खाहरुले पानीका मूल छेउछाउ खोला नदी किनारमा, मुहानमा फोहर गर्न हुँदैन भनेर मान्छेलाई देउताको डर देखाएको पनि सफा जलकै लागि हो भन्ने सजिलै बुझ्न सकिन्छ। नदी खोलानालालाई पूजा गराउने चलन पनि यही पानी सफाईसँग नै जोडिएको सवाल हो। पानी सभ्यतासँग जोडिएको सवाल हो।
पृथ्वीविचारले मान्छेलाई मानसिक रुपले पनि अथवा मनोवैज्ञानिक किसिमले पनि झड्का दिएको रहेछ। जमेको सडेको फोहर पानी पिउने मान्छे साहसी पनि र बुद्धिमानी पनि हुँदैन भन्ने कुरा सुनेपछि या बुझेपछि उनीहरु झस्कन्छन्। र आफैं शुद्ध सफा खानेपानीको लागि सचेत हुन्छन्।
अनि उनीहरु आफैं सकृय र गम्भीर भएर शुद्ध सफा खानेपानीको लागि अभियान चलाउन लाग्दछन्। मान्छेले बढ्ता बुद्धिको लागि पनि शुद्ध पानी खानु पर्यो बढ्दा शक्ति र साहसको लागि पनि शुद्ध पानी खानु पर्यो। सधैं शुद्ध पानी खाउँ तनलाई बलियो बनाऔं मनलाई तिखो बनाऔं।
पृथ्वीविचारले सबैलाई यही भन्छ। जमेको अशुद्ध पानी नखाऔं बग्ने सफा पानी र पानीका मुहानलाई फोहर नबनाऔं। के हामी पानीका मुहान, खोला, नदी आदिलाई सफा राख्ने बनाउने अभियानलाई राष्ट्रिय अभियान बनाएर आम जनतालाई यो अभियानमा जोडेर यसलाई जनताको निरन्तर अभियान बनाउन सक्तैनौं र?
पृथ्वीनारायण शाह कुवाको पानी जस्तै जमेर बस्ने निष्कृय चरित्र र प्रवृतिका मान्छे होइनन्। बग्ने पानी जस्तै गतिशिल र सकृय जीवन जिउने धार र सार उनको चा्रीत्रिक व्याक्तित्व हो। उनले जीवन धारलाई पानीसँग मिलाउन र तुलना गर्न चाहेको देखिन्छ।
त्यसैले गतिशील व्याक्तित्वका धनी पृथ्वीनारायण शाहले जमेको कुवाको पानी र त्यो पानी प्रवृतिका गतिहीन लोसेलाई मन पराएनन्। अनि निष्कर्ष निकाले कुपको पानी खानेको बुद्धि पनि हुँदैन सूरो पनि हुँदैन। यो मनोविज्ञानसम्वध्द विश्लेषण पनि हो।
जे होस् शुद्ध पानी खान पाउनु पनि जनताको मौलिक अधिकार अथवा मानव अधिकार हो। अथवा यो मानव अधिकार अझ बढेर भन्दा जीवन अधिकारको सवाल पनि हो। यो पृथ्वीविचारको जनस्वास्थ्यसंग जोडिएका महत्वपूर्ण तर गम्भीर सवाल पनि हो।
जनतालाई कसरी बुद्धिमान र बलवान् याने शक्तिमान् बनाउने चिन्ताको सवाल पनि हो हाम्रा राष्ट्रनिर्माताको। जताबाट पनि जुनै कोणबाट पनि पृथ्वीविचारले बलियो जनता खोजेको छ। बग्ने पानी जस्तै स्वच्छ, सकृय र गतिशील जनता खोजेको छ। गतिशील जीवन धार खोजेको छ।
सामाग्री श्रोत :