२०८२ जेष्ठ २ बिहीबार
२०८२ जेष्ठ २ बिहीबार

सीटीईभीटी कोर्स पढ्न निर्णय अब प्रवेश परीक्षा दिनु नपर्ने, एसईईको जीपीएका आधारमा भर्ना

काठमाडौँ । अबदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका डिप्लोमा, प्रि-डिप्लोमा तथा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रममा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा दिनु नपर्ने भएको छ । परिषद्ले यसै शैक्षिक सत्रदेखि प्रवेश परीक्षा खारेज गरी एसईईमा प्राप्त ग्रेडिङ प्रणाली (जीपीए) को आधारमा विद्यार्थी भर्ना गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतामा हालै बसेको बैठकले ‘प्रवेश परीक्षा नीतिगत रूपमा समस्याग्रस्त रहेको’ निष्कर्ष निकाल्दै नयाँ भर्ना निर्देशिका २०८२ पारित गरेको हो । परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार अब विद्यार्थीले आफूले रोजेको विषय र शिक्षालय छनोट गरी अनलाइन आवेदन दिनुपर्नेछ भने एसईईको प्राप्ताङ्कका आधारमा योग्यताक्रम तयार गरी भर्ना प्रक्रिया अघि बढाइनेछ ।

सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई एक अतिरिक्त अङ्क र संस्थागत विद्यालयका विद्यार्थीलाई ०.८५ अङ्कको अतिरिक्त भार दिइने निर्देशिकामा उल्लेख छ । प्रवेश परीक्षा नहुँदा शिक्षालयहरूले स्वीकृत कोटाअनुसार नै विद्यार्थी भर्न सक्ने र अघोषित शुल्क तथा प्रश्नपत्र लिकजस्ता समस्या अन्त्य हुने सीटीईभीटीको विश्वास छ ।

यसअघि कक्षा १० मा पढाइने गणित, विज्ञान, अङ्ग्रेजी जस्ता विषयमा आधारित परीक्षा लिइन्थ्यो । तर यस्तो अभ्यासमा परीक्षा सञ्चालन हुनु पहिले नै प्रश्नपत्र बाहिरिने समस्या देखिएको थियो । साथै कतिपय तयारी कक्षाहरूले प्रवेश परीक्षा पास गराउने भन्दै शुल्क असुल्ने गरेका थिए ।

सीटीईभीटी अन्तर्गत हाल नर्सिङ, फार्मेसी, इन्जिनियरिङलगायतका डिप्लोमा तथा प्रि डिप्लोमा कार्यक्रम सञ्चालनमा छन् । 

सम्बन्धित समाचार:

बीचमै पढाइ छोडेका विद्यार्थीलाई पुन: पढ्ने मौका दिँदै सीटीईभीटी, यस्तो छ प्रक्रिया

एसईई फेल भएकाले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

एसईईपछि सीटीईभीटी कोर्स गर्न चाहुनुहुन्छ ? यस्ता छन् विकल्प

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ ७:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट