काठमाडौँ। नेपथ्यको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक भएको छ । शनिबार नेपथ्यको आधिकारिक वेबसाइटमा भिडिओ सहितको नयाँ गीत रिलिज भएको हो ।

यसअघि युट्युब सहित अन्य डिजिटल प्लेटफर्ममा गीत सार्वजनिक हुँदै आएकोमा यस पटक आधिकारिक वेबसाइटमै रिलिज भएको छ । नेपथ्यको वेबसाइट व्यवस्थापनको जिम्मा लिएको कम्पनी नेपालयका अनुसार पहिलो पटक यस्तो प्रयोग गरिएको हो ।
यस म्युजिक भिडिओका छोटा क्लिप युट्युब तथा टिकटकतिर उपलब्ध भए पनि पूरा भिडिओ हेर्न आधिकारिक वेबसाइटमै पुग्नुपर्ने हुन्छ । “हामीले लाखौं आम्दानी नै गर्छौं भन्नुभन्दा पनि यस्तो किसिमको प्रयास गरौं, वेबसाइट व्यवस्थापनको खर्च पनि धानिन्छ भनेर ल्याएका हौ,” नेपालयका अर्पण शर्माले भने, “दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको छ ।”
यसका लागि न्यूनतम शुल्क १० रुपैयाँ तोकिएको छ । शर्माका अनुसार डिजिटल वालेटबाट एपीआईमार्फत न्यूनतम कारोबार १० रुपैयाँको गर्नुपर्ने भएकाले उक्त रकम तोकिएको हो । नेपालबाहेकका देशबाट भने १ अमेरिकी डलर तिरेर खरिद गर्न सकिन्छ ।

कसरी खरिद गरेर सुन्ने ?
– सबैभन्दा पहिले यहाँ क्लिक गरेर नेपथ्यको वेबसाइटमा जानुहोस् ।
– त्यसपछि फेसबुक वा गुगल अकाउन्ट प्रयोग गरेर लगइन गर्नुपर्ने अप्सन देखिन्छ । त्यसबाट आफूलाई उपयुक्त हुने अप्सन छान्नुहोस् ।
-
हामी यहाँ गुगल अकाउन्ट प्रयोग गर्दैछौं । त्यसैले गुगल अप्सन छानिसकेपछि आफूले चाहेको गुगल अकाउन्ट छान्नुहोस् । (एउटा मात्र गुगल अकाउन्ट लगइन छ भने तपाईंले त्यही अकाउन्ट छाने पुग्छ ।)
-
यति गरेपछि तपाईंको अकाउन्ट खुल्छ ।
-
त्यसपछि ‘गेट एक्सेस टु दिस भिडिओ’ लेखको बक्समा आफूले चाहेको रकम छान्नुहोस् । (याद गर्नुहोस् न्यूनतम १० रुपैयाँ छान्नुपर्ने हुन्छ ।)
-
यति भएपछि ‘बाइ नाउ’को बटनमा ट्याप गर्नुहोस् ।
-
त्यसपछि फोनपे क्यूआर, ईसेवा, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र बैंकको अप्सन देखिन्छ ।
-
आफूलाई पायक पर्ने अप्सन छानेर तपाईं शुल्क तिर्न सक्नुहुन्छ ।
-
यदि तपाईं कुनै अर्को व्यक्तिलाई रकम तिर्न लगाउँदै हुनुहुन्छ भने तलपट्टि रहेको ‘क्लिक टु कपी’ भन्ने बटनमा क्लिक गरी लिङ्क कपी गरेर साथीलाई पठाउन सक्नुहुन्छ ।
तपाईंको साथीले उक्त लिङ्क खोलेर माथि उल्लेख भएका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् । सबै प्रक्रिया पूरा गरेर भुक्तानी गरियो भने उक्त भिडिओ स्क्रिनमा देखिन्छ । र, तपाईंले भिडिओ हेर्न र गीत सुन्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १७:१९
सामाग्री श्रोत :
टेक पाना