२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

‘बेड रेस्ट’ सदुपयोग गर्दै एमालेसँग छलफलमा प्रचण्ड, कांग्रेस-एमाले किचलोले सरकार ढल्ने जोखिम

काठमाडौं। लडेर चोटग्रस्त भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकले दिएको ‘आराम गर्ने’ सल्लाहलाई सदुपयोग गर्दै नेकपा एमालेसँग घनीभूत छलफल थालेका छन्।

नयाँ गठबन्धनको विषयमा केन्द्रित यो छलफलले सत्ताधारी गठबन्धन र अहिलेको सरकारलाई नै जोखिममा पारेको छ।

राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका लागि कांग्रेसको चर्को दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दबाबमुक्त हुन र राष्ट्र बैंकको नेतृत्व आफैंसँग राख्न खोजिरहेका बेला प्रचण्डको ‘लचकता’ले प्रधानमन्त्रीलाई समेत उनीतिर ढल्काउन सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

यसबाहेक अरु केही फरक विषयमा पनि एमाले र कांग्रेसबीच असमझदारी बढेको छ जसले यी दुई दलको सहकार्य भत्काउन उत्प्रेरकको भूमिका खेल्न सक्छन्।

राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकेर बैंकिङ क्षेत्रको नियमनकारी निकाय कायममुकायमको भरमा चलिरहेको दुई महिना हुन लाग्यो।

संसदमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल भइरहेको र सरकारले नयाँ बजेटको तयारी गरिरहेका बेला आर्थिक क्षेत्रको नियन र नियन्त्रण गर्ने निकाय नै नेतृत्वविहीन हुँदा देशको अर्थतन्त्र नै जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको छ।

गभर्नर नियुक्तिका विषयमा सोमबार समेत प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुँदा समेत कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुनै सहमति हुन सकेन। बरु यो छलफलमा दुई दलबीचको दरार झन् बढेको स्रोत बताउँछ। स्रोतका अनुसार यो छलफलमा प्रधानमन्त्रीले गभर्नर आफैंले नियुक्त गर्ने चाहना दर्शाएका थिए।

ओलीले २०८४ को निर्वाचनमा पनि एमाले ठूलो दल बन्ने अपेक्षा गरेका छन्। ठूलो दल बन्ने तयारीस्वरुप उनले बाम एकतालाई पनि प्राथमिकतामा राखेका छन्। तर, भारतसँगको सम्बन्ध अहिल्यै सुधार हुन नसके ८४ मा ठूलो दल भए पनि भारतले आफूलाई प्रधानमन्त्री बन्न दिने छैन भन्ने ओलीको बुझाइ छ।

‘सरकारको नेतृत्व हामीले गरिरहेको र अहिले बजेटको तयारीको समय समेत भएकोले गभर्नर हामीले पाउनुपर्छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। छलफलमा प्रधानमन्त्रीले कडा अडान राखेका त थिएनन् तर गभर्नर छोड्ने इच्छा पनि देखाएका थिएनन्।

ओलीको कुरापछि कांग्रेस सभापति देउवा पनि केही हच्किएका छन्। यो छलफलपछि देउवाले सार्वजनिक रुपमा गभर्नर नियुक्ति सरकारका कारणले नभइ हामीले (कांग्रेसले) सिफारिस गर्न नसक्दा नभएको बताएका थिए। देउवाको यो भनाइलाई ओलीलाई फकाउने रणनीतिका रुपमा हेरिएको छ।

स्रोतका अनुसार ओलीले आफैं गभर्नर नियुक्त गर्छन् कि भन्ने कुरामा देउवा सशंकित छन्। ‘प्रधानमन्त्रीले त्यति धेरै अगाडि बढेर एक्लै नियुक्तिको निर्णय गर्नुहुन्छ जस्तो त मलाई लाग्दैन तर यदि यस्तो भयो भने यो धेरै ठूलो राजनैतिक निर्णय हुनेछ’ प्रधानमन्त्रीको आन्तरिक सर्कलसम्म पहुँच राख्ने एक नेताले भने ‘यदि त्यस्तो अवस्था आयो भने गठबन्धन भत्किन्छ।’

प्रधानमन्त्री भारतसँग सम्बन्ध सुधार गर्न नसकेको कुराले पनि कांग्रेससँग बिच्किएका छन्। ती नेताका अनुसार भारतसँग सम्बन्ध सुधार नहुनुमा कांग्रेसको र विशेष गरी परराष्ट्रमन्त्री आरजू राणा देउवाको भूमिका रहेको प्रधानमन्त्रीको बुझाइ छ।

ओली प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर उनले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन्। परराष्ट्रमन्त्री पटक पटक भारत गएर भ्रमणको चाँजोपाँचो मिलाउन खोजेको भनिए पनि भारतले निम्तो दिएको छैन। प्रधानमन्त्रीले यस्तो हुनुमा परराष्ट्रमन्त्रीको पहल प्रभावकारी नभएको रुपमा बुझेका छन्।

स्रोतका अनुसार भारतीय पक्ष अझै पनि ओलीलाई प्रधानमन्त्रीको रुपमा भारत भ्रमणका लागि बोलाउने तयार भएको छैन तर देउवा प्रधानमन्त्री भएपछि एक महिनामै भारत भ्रमणको निम्तो आउने सन्देश भारतीय पक्षले पठाएको छ। आफूलाई निम्तो नदिने भारतले देउवालाई तुरुन्तै निम्तो दिने सन्देश पठाएपछि प्रधानमन्त्री झनै बिच्किएका छन्।

ओलीले २०८४ को निर्वाचनमा पनि एमाले ठूलो दल बन्ने अपेक्षा गरेका छन्। ठूलो दल बन्ने तयारीस्वरुप उनले बाम एकतालाई पनि प्राथमिकतामा राखेका छन्। तर, भारतसँगको सम्बन्ध अहिल्यै सुधार हुन नसके ८४ मा ठूलो दल भए पनि भारतले आफूलाई प्रधानमन्त्री बन्न दिने छैन भन्ने ओलीको बुझाइ छ।

शेष घले पक्षधर एनआरएनएको एकता महाधिवेशनमा परराष्ट्रमन्त्री आरजू राणा देउवाको उपस्थिति पनि ओलीलाई खट्केको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई त्यो कार्यक्रममा नजान भनेका थिए तर परराष्ट्रमन्त्री उनलाई अटेर गर्दै गएकी थिइन्। यसबाट रुष्ट प्रधानमन्त्री बद्री पाण्डे नेतृत्वको एनआरएनएको काठमाडौंमा हुन लागेको सम्मेलन उद्घाटन गर्न जाने तयारी गरेका छन्।

कांग्रेससँग असन्तुष्ट प्रधानमन्त्री ओलीलाई फकाउन अहिले प्रचण्डले एमालेका नेताहरुसँग छलफल थालेपछि अहिले राजनैतिक वृत्त तरंगित छ। स्रोतका अनुसार कांग्रेसले अब फेरि आफूलाई प्रधानमन्त्री बनाउँदैन भन्ने बुझेका प्रचण्ड ओलीलाई ‘धेरैथोक’ दिएर प्रधानमन्त्री बन्ने प्रयासमा छन्। यो प्रस्तावमा ओली पनि सकारात्मक भएको स्रोत बताउँछ।

प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई त्यो कार्यक्रममा नजान भनेका थिए तर परराष्ट्रमन्त्री उनलाई अटेर गर्दै गएकी थिइन्। यसबाट रुष्ट प्रधानमन्त्री बद्री पाण्डे नेतृत्वको एनआरएनएको काठमाडौंमा हुन लागेको सम्मेलन उद्घाटन गर्न जाने तयारी गरेका छन्।

ओलीनिकट एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डसँग सहकार्य मात्रै नभइ एकता नै गर्ने मनसायमा छन्। त्यही अनुरुप अहिले भइरहेको छलफलमा सत्ता साझेदारी मात्र नभइ पार्टी एकताको विषयमा पनि छलफल भइरहेको छ। र, यो एकतामा नेकपा एकीकृत समाजवादीलाई पनि जोड्ने प्रयास भइरहेको छ। यो प्रयासमा माधवकुमार नेताल भने एउटा अड्चनको रुपमा छन्।

ती नेताका अनुसार ओली प्रचण्ड र माधव नेपाललाई एकसाथ पार्टीमा माथिल्लो हैसियतमा ल्याउन चाहँदैनन्। विगतमा नेकपामा छँदा आफूलाई अल्पमतमा पार्नेगरी नेपाल र प्रचण्डले गुटबन्दी गरेका कारण ओली अहिले पनि त्यस्तै हुन सक्छ भन्ने कुराले सशंकित छन्।

त्यसैले उनी माधव नेपाललाई सकेसम्म गलाएर सामान्य नेताका रुपमा मात्रै पार्टीमा ल्याउने वा उनको पार्टीका सांसदहरु मात्रैलाई ल्याउने रणनीतिमा छन्।

माधव नेपाललाई गलाउन ओलीले पतञ्जली जग्गा प्रकरणलाई हतियारको रुपमा प्रयोग गर्ने तयारी गरेको स्रोत बताउँछ। पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालसहितलाई मुद्दा चलाउने निर्णय गरिसकेकोमा अहिले त्यो प्रक्रिया रोकिएको छ।

नेपाललाई जुनसुकै समयमा मुद्दा अगाडि बढ्न सक्छ भन्ने देखाएर दबाबमा राखिराख्न ओलीले नै तत्काललाई त्यो मुद्दा ‘होल्ड’मा राख्न अख्तियार नेतृत्वलाई दबाब दिएको स्रोत बताउँछ।

यो पनि पढ्नुस्

मोदीको प्राथमिकतामा परिनन् परराष्ट्रमन्त्री आरजु


सामाग्री श्रोत :

‘बेड रेस्ट’ सदुपयोग गर्दै एमालेसँग छलफलमा प्रचण्ड, कांग्रेस-एमाले किचलोले सरकार ढल्ने जोखिम

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट