काठमाडौँ । बजारमा मिस्ट्रल एआई (Mistral AI) नामक एउटा फ्रान्सेली कम्पनीको प्रवेश भएको छ, जसलाई ओपन एआई (OpenAI) को सम्भावित प्रतिस्पर्धी को रूपमा हेरिन्छ । यो कम्पनी फ्रान्सको सबैभन्दा आशालाग्दो प्रविधि स्टार्टअपहरूमध्ये एक हो । यद्यपि यसको विश्वव्यापी बजार हिस्सा तुलनात्मक रूपमा कम छ ।

त्यसो त मिस्ट्रल एआईको सुरुवात सन् २०२३ मा भएको हो । ‘फ्रन्टियर एआई (frontier AI) लाई सबैको हातमा पुर्याउनु’लाई यसले आफ्नो मुख्य लक्ष्य बताउने गरेको छ । यो कम्पनीले एआई क्षेत्रमा खुलापन (openness) को वकालत गर्छ ।
कम्पनीले ले च्याट (Le Chat) नामक एउटा एआई असिस्टेन्ट (सहायक) ल्याएको छ, जुन च्याटजीपीटीको विकल्प हो । ले च्याट आईओएस (iOS) र एन्ड्रोइड (Android) मोबाइल एप स्टोरमा उपलब्ध छ । मोबाइलमा सार्वजनिक भएको दुई हप्तामै यो एपको डाउनलोड १० लाख नाघेको थियो । फ्रान्समा आईओएस एप स्टोरको नि:शुल्क डाउनलोडतर्फ शीर्ष स्थानमा पुगेको यो एपलाई त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोनले डाउनलोड गर्न प्रोत्साहन समेत गरेका थिए ।
मिस्ट्रल एआईसँग अन्य एआई मोडेलहरू पनि छन् । जसमा मुख्य लार्ज ल्याङ्ग्वेज मोडल- मिस्ट्रल लार्ज २ (Mistral Large 2), मल्टिमोडल मोडेल – पिक्स्ट्रल लार्ज (Pixtral Large), कोडका लागि जेनेरेटिभ एआई – कोडस्ट्रल (Codestral), फोन जस्ता साना डिभाइसका लागि अप्टिमाइज गरिएको – ले मिनिस्ट्रो (Les Ministraux), र अरबी भाषामा केन्द्रित मिस्ट्रल साबा (Mistral Saba) रहेका छन् । मार्च २०२५ मा कम्पनीले मिस्ट्रल ओसीआर (Mistral OCR) नामक एपीआई (API) ल्यायो, जसले पीडीएफ फाइललाई टेक्स्टमा बदल्न मद्दत गर्छ ।

मिस्ट्रल एआईका तीन जना संस्थापक छन्, सीईओ आर्थर मेन्स्च, सीटीओ टिमोथी लाक्रोइक्स र प्रमुख वैज्ञानिक अधिकारी गिलौम लाम्पल । आर्थर गुगलको डिपमाइन्ड (Google DeepMind) मा काम गर्थे भने टिमोथी र गिलौम मेटा (Meta) मेटाका पूर्व कर्मचारी हुन् ।
कम्पनीका सबै मोडेलहरू ओपन सोर्स होइनन् । यसका केही प्रमुख मोडेलहरूको प्रयोग व्यावसायिक कामका लागि खुला गरिएको छैन । तर निःशुल्क मोडेलहरूको लागि अपाचे २.० लाइसेन्स (Apache 2.0 license) अन्तर्गत एक्सेस दिइएको छ । यसले सन् २०२४ जुलाईमा एनभिडिया (Nvidia) सँगको सहकार्यमा मिस्ट्रल निमो (Mistral NeMo) नामक एउटा रिसर्च मोडेललाई ओपन सोर्स गरेको थियो ।
मिस्ट्रल एआईलेले च्याटको सशुल्क योजनाहरू (paid tiers) बाट आम्दानी गर्ने योजना बनाएको छ । फेब्रुअरी २०२५ मा ल्याइएको ले च्याटको प्रो (Pro) को मासिक शुल्क १४.९९ डलर छ । यसका प्रिमियर मोडेलहरूलाई एपीआई (API) को रूपमा बिक्री गरिन्छ, जहाँ प्रयोगको आधारमा शुल्क लाग्छ । कम्पनीले आफ्ना रणनीतिक साझेदारबाट पनि आम्दानी गर्छ । हाल कम्पनीको आम्दानी आठ अङ्क अर्थात करोड डलरमा रहेको बताइएको छ ।
कम्पनीले कतिपय महत्वपूर्ण साझेदारीहरू गरेको छ । फेब्रुअरी २०२४ मा माइक्रोसफ्ट भएको सम्झौतामा एजुर (Azure) प्लेटफर्ममार्फत मिस्ट्रलका मोडेलहरू वितरण गर्ने र १ करोड ५० लाख युरो (करिब एक करोड ६३ लाख डलर) लगानी गर्ने योजना समावेश थियो । अन्य साझेदारहरूमा समाचार एजेन्सी एजेन्स फ्रान्स-प्रेस (AFP), फ्रान्सको सेना र रोजगार एजेन्सी, सिपिङ कम्पनी – सीएमए (CMA), जर्मन रक्षा प्रविधि स्टार्टअप – हेल्सिङ (Helsing), आईबीएम (IBM), ओरेन्ज (Orange) र स्टेलान्टिस (Stellantis) रहेका छन् ।
मिस्ट्रल एआईले छोटो समयमा नै ठुलो पुँजी जुटाएको छ । सन् २०२५ को फेब्रुअरीसम्ममा यसले करिब १ अर्ब युरो (लगभग १ अर्ब ४ करोड अमेरिकी डलर) पुँजी जुटाएको छ । सन् २०२४ जुनमा ६० करोड युरो (करिब ६४ करोड डलर) को लगानी सङ्कलनबाट यो कम्पनीको मूल्याङ्कन ६ अर्ब डलर पुर्याएको थियो ।
गत जनवरीमा सीईओ आर्थर मेन्स्चले कम्पनीको आईपीओ ल्याउने योजना रहेको बताएका थिए । मिस्ट्रल एआईले ठुलो लगानी जुटाएको र महत्त्वपूर्ण उत्पादन तथा साझेदारी गरेको देखिए तापनि ओपन एआई जस्ता स्थापित कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने चुनौतीको सामना गरिरहेको छ । साथै, उसले आफूलाई ‘विश्वको सबैभन्दा हरित र अग्रणी स्वतन्त्र एआई ल्याब’ को रूपमा परिभाषित समेत गरेको छ । त्यसलाई पनि कायम राख्नुपर्ने चुनौती कम्पनीसँग छ ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ २०:१५
सामाग्री श्रोत :
टेक पाना