२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

मिडवाइफ : प्रजनन् स्वास्थ्यका सारथी, गर्भवतीको आत्मबल र भरोसा

मे ५, अर्थात अन्तर्राष्ट्रीय मिडवाइफ दिवस। आज विश्वभर मिडवाइफ पेशालाई प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइदैछ। यस दिवसलाई सन् १९९२ मा अन्तर्राष्ट्रिय मिडवाइफ संघ (आइसीएम)द्वारा स्थापित गरिएको हो र त्यसपछि प्रत्येक वर्ष ५ मे लाई विश्वका कैयौं देशहरूमा मिडवाइफ दिवस मनाइन्छ। 

यो वर्ष ३३ औं मिडवाइफ दिवसको मूल नारा “हरेक संटमा मिडवाइफ” भन्ने रहेको छ। जसले प्राकृतिक प्रकोप वा महामारीजस्ता कठिन परिस्थितिमा समेत मिडवाइफ पेशाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई दर्शाउछ। विश्वभरि ३३ औं मिडवाइफ्री दिवस मनाइ रहँदा हाम्रो देशमा भने मिडवाइफ को हुन् र मिडवाइफ्री पेशा के सँग सम्बन्धित छ भन्ने कुरा समेत अधिकांश मान्छेहरूको  जानकारीमा  छैन। यति सम्म कि कयौं पढेलेखेका शिक्षित माहानुभावहरु, ठुलाठुला पदमा बसेका व्यक्तिहरु र स्वयं कतिपय  स्वास्थ्यकर्मीहरू पनि यो शब्दसँग अपरिचित हुनुहुन्छ।

विकसित मुलुकहरुमा महिला तथा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो रोजाइमा परेता पनि हाम्रो देशमा भने यसको महत्व अधिकांशलाई बुझाउन सकिएको छैन जुन बिडम्बनाको कुरा हो।

मिडवाइफ शब्दको शाब्दिक अर्थ ‘महिलासँग भएको व्यक्ति’ हुन्छ। साधारण भाषामा भन्नु पर्दा मिडवाइफलाई गर्भवती, प्रसूति र सुत्केरी महिलाहरूका लागी महिला मैत्री स्वास्थ्यकर्मीका रूपमा बुझिन्छ।अर्थात् महिला र नवजात शिशुको आवश्यक सेवा गर्नका लागि निरन्तर महिलाको नजिकै रहि सहयोग गर्ने व्यक्ति भन्ने बुझ्नुपर्दछ। 

यसले केवल प्रसवको क्षणमा सघाउने मात्र होइन, महिलाको जीवनचक्रका हरेक संवेदनशील अवस्थामा साथ दिने स्वास्थ्यकर्मीलाई जनाउँछ। जसले किशोरावस्थादेखि गर्भावस्था, प्रसूति र सुत्केरी अवधिसम्म सुरक्षित, सम्मानजनक र महिलामैत्री सेवा प्रदान गर्छिन्। 

अन्तर्राष्ट्रिय मिडवाइफ संघ, आइसीएमका अनुसार मिडवाइफ त्यो व्यक्ति हो जसले आइसीएमका आवश्यक दक्षता अनुसारको पाठ्यक्रम पूरा गरी कानुनी रूपमा ‘मिडवाइफ’ उपाधि प्रयोग गर्ने योग्यता हासिल गरेको हुन्छ। यसरी प्रशिक्षित मिडवाइफ गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थामा महिलाहरूसँग सहकार्य गरी आवश्यक सल्लाह, सेवा र हेरचाह प्रदान गर्छन्। आजको विश्वमा मिडवाइफ मात्र स्वास्थ्यकर्मी नभएर उनि महिला अधिकारका संरक्षक, र सुरक्षित प्रसूति सेवाको मेरुदण्ड हुन्।

नेपालमा मिडवाइफ पेशा नयाँ भएतापनि यसले मातृ तथा नवजात स्वास्थ्यमा महत्वपूर्ण योगदान दिएको छ।नेपालमा औपचारिक रूपमा मिडवाइफ तालिम २०७३ सालमा मात्र सुरु भएकोले हाल जनशक्ति निकै कम छ। 

नेपाल मिडवाइफ्री सोसाइटीका अनुसार देशभर हाल केवल ९१ जना मात्र रजिष्टर मिडवाइफ छन्, र लगभग ४९० को हाराहारीमा(१२० डिप्लोमा तहका र ३६९ स्नातक तहका) मिडवाइफ्री अध्यनरत छन्| जबकि २०३० सम्ममा ६४१० मिडवाइफ उत्पादन गर्ने जसमा ६००० जति प्रमाण पत्र तहको चाहिने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको रहेको छ। यसैगरी त्यतिन्जेल  ९१०२ जना मिडवाइफ उत्पादन गर्ने प्रक्षेपण चिकित्सा शिक्षा आयोगको रहेको छ।

मातृ मृत्युदर घटाउन मिडवाइफको  प्रमुख भूमिका रहने सत्यलाई  संसारभर मानिएको छ। विश्वका विकसित मुलुकहरू जस्तै नर्वे, आइसल्याण, स्वीडेन, न्यूजरल्याणड जस्ता देशहरूमा मिडवाइफ्री प्रणाली विगत २५० वर्षदेखि स्थापित छ। संयुत्त राष्ट्र संघ  २०२५ को तथ्यांक अनुसार त्यहाँ (नर्वे, आइसल्याण्ड, स्वीडेन, न्यूजरल्याण्ड) को मातृ मृत्युदर क्रमश १, ३, ४ र ७ प्रति लाख जिवित  जन्ममा रहेको छ। त्यस्तै गरि दक्षिण एसियाका राष्ट्रहरू जहा मिडवाइफ्रि प्रणाली बलियो हुदै गएको छ जस्तै जापान, श्रीलंका, मलेसिया, थाइल्याण हरूको पनि मातृ मृत्युदर क्रमश ३, १८, २६, र ३४ रहेको छ। नेपालको हाल मातृ मृत्युदर भने १४२ प्रति लाख रहेको जानकारी विश्व स्वास्थ्य सङ्गठन २०२५  को तथ्यांकमा उल्लेख छ। त्यसैगरि युनिसेफ को २०२५ को सर्वेक्षण अनुसार नवजात शिशुको मृत्युदर नर्वे, आइसल्याण, स्वीडेन, न्यूजरल्याणड जस्ता राष्ट्रमा क्रमश १,१, १ र ३ प्रति १००० रहेको तर हाम्रो देशमा भने १७ प्रति १००० रहेको देखाएको छ।

हाम्रै देशको दिगो विकासको लागि रणनीतिक अध्ययनले  २०२२ मा नेपालको मातृ मृत्युदर १५१ र नवजात शिशु मृत्युदर २१ रहेको देखाएको छ। जुन एकदमै ठुलो संख्या हो। मृत्यु चाहे जति नै सानो संख्यामा होस्, एक परिवारका लागि लाखौँ करौडौं बराबरको क्षति हुन सक्छ।तसर्थ अहिलेको  मातृ तथा शिशु मृत्युदरले धेरै परिवारलाई जीवनभर नबिर्सिने पीडा दिएको छ।

हाम्रो देशको उच्च मातृ तथा नवजात शिशु मृत्युदर हुनुको एक प्रमुख कारण दक्ष मिडवाइफ र प्रसूतिकर्मीको अभाव हो। र यो  तथ्यांक हाम्रो देशको स्वास्थ्य प्रणालीको लागी ठूलो चुनौती हो। जब सम्म हाम्रो देशमा पनि मिडवाइफ प्रणाली बलियो बनाइदैन तबसम्म यो संख्या खासै नघट्ने कुरा निश्चित रहेको संसार भरिका अनुभवहरुले प्रमाणित गरिसकेका छन्। त्यसैले मातृ तथा शिशु मृत्युदर घटाउन मिडवाइफ प्रणालीलाई बलियो बनाउन पर्छ र मिडवाइफद्वारा संचालित बर्थिंङ सेन्टर र गर्भवती महिलाको जाँच गर्ने क्लिनिकहरू  देशका धेरै अस्पतालहरूमा खोलिनु पर्छ। 

हुन त केही नेपालका केहि ठुला केन्द्रीय स्तरका अस्पतालहरूमा यो सेवा सुरू भैसकेको छ।जसमा भरतपुर अस्पताल २०८० मंसिर महिनाबाट ५ शय्या र परोकार प्रसुति अस्पतालमा भरखरै ४ शय्याको बर्थिंङ सेन्टरहरू र गर्भवती ओपिडी मिडवाइफद्वारा सन्चालनमा छन्। त्यस्तै गरि धुलिखेल अस्पतालले पनि यो सेवाहरू दिदै आएको छ।यसलाई अझ धेरै भन्दा धेरै अस्पतालहरूमा विस्तार गर्ने योजना बनिरहेको हल्ला धेरै नै सुनिएको छ तर कार्वनयन मा ढिलासुस्ति भएको देखिन्छ। यो सेवालाई जति सक्दो चाडो धेरै भन्दा धेरै अस्पतालहरुमा बिस्तार गरिनु अत्यन्तै जरूरी छ।

मिडवाइफको भूमिका: सेवा भन्दा माथि
एक मिडवाइफको भूमिका अनेकौँ तहमा फैलिएको हुन्छ।किशोरावस्थाका सेवाग्राहीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा परामर्श, सचेतना र आत्मबल अभिवृद्धिमा केन्द्रित रहन्छ। गर्भावस्थाका आमाहरुको लागि मिडवाइफले पोषण, मानसिक अवस्था, सामान्य चेकअप, सुरक्षित गर्भको सुनिश्चिततामा केन्द्रित रहेर काम गर्छन्।प्रसूति गराउदा  सुरक्षित, सम्मानजनक, सहनुभूतिपूर्ण प्रसव सेवा दिनमै तल्लिन रहन्छन् मिडवाइफ।सुत्केरी अवस्थामा  शिशुको स्तनपान, आमाको पुनःस्वास्थ्य, परिवार नियोजन जस्ता पक्षमा सहयोग गर्दछन्।

मिडवाइफ केवल स्वास्थ्य सेवा दिने मात्र हैनन,  उनी गर्भवती महिलालाई भरोसा, आत्मबल र जीवनको सुरक्षा दिने व्यक्ति हुन्। उनी प्रसवको वेदनामा आशा देखाउने हात हुन्। मिडवाइफ महिला र परिवारसँग उनीहरूको सबैभन्दा संवेदनशील क्षणहरूमा हुन्छन्।जहाँ उनिहरूको  सीप मात्र होइन, उनका शब्द, स्पर्श र साथको महत्त्व हुन्छ। उनले सुरक्षित प्रसूति सुनिश्चित गर्दै, गर्भ र शिशुको स्वास्थ्य अनुगमन गर्छिन, परिवार नियोजन र प्रजनन स्वास्थ्यको शिक्षा दिन्छिन्। जहाँ मिडवाइफ हुन्छन्, त्यहाँ महिलाले सम्मानित, मर्यादित र गुणस्तरीय प्रजनन सेवा पाउँछन् फलस्वरूप एउटा महिलाले जीवनको अत्यन्त संवेदनशील क्षणहरूलाई सकारात्मक अनुभवको रूपमा महसुस गर्न पाउछन्।

जन्म भनेको एउटा प्राकृतीक प्रक्रिया हो। जसका लागि सबै महिलालाई (जटिलता नभएको र सामान्य अवस्थामा) सर्जरी, औषधि वा जटिल हस्तक्षेप आवश्यक पर्दैन। धेरै जसो महिला अझ भनौ अधिकांश महिलाहरूले सामान्य तरिकाले प्राकृतिक जन्म दिन सक्छन्। र त्यहि प्राकृतिक तर संवेदनशील अवस्थामा सही ज्ञान, राम्रो स्याहार-सुसार, सुझाव अनि महिला र उनको बच्चाको सहि निगरानी गर्दै उनलाई आवश्यक साथ, हौसला तथा भरोसा दिने गर्छन मिडवाइफहरू। साथै कुनै जटिलता नआओस भनि नजिकबाट निरिक्षण गर्छिन्| आमा त उनि आफै हुन्छिन उनको त्यो बिशेष पलको साक्षि बनि उनलाई सहायता दिन्छन्  मिडवाइफ।

नेपालमा २०७३ सालदेखि मात्रै औपचारिक रूपमा मिडवाइफ उत्पादन गर्न थालिएको हो। हाल देशभर केवल थोरै संख्यामा रजिष्टर मिडवाइफहरू मात्र कार्यरत छन्, र उनीहरुलाई स्वास्थ्य प्रणालीभित्र अझै ठाउँ दिइएको छैन। सरकारले मिडवाइफ उत्पादन गर्न थालेको पनि लगभग एक दशक हुन लाग्यो , यो समयमा थैरे मिडवाइफहरू उत्पादन भएका छन् र तिनै थोरै मिडवाइफ जनशक्तिलाई पनि सही स्थानमा परिचालन गर्न सकेको छैन, नीति कार्यान्वयनमा गर्न ढिलासुस्ति र हेलचेक्र्याइँ भइ रहेका छन्। जसले गर्दा देशका हजारौँ महिलाहरूले अझै पनि सम्माजनक र सुरक्षित सेवा पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ।

दिगो विकास लक्ष्य अन्तर्गत, सन् २०३० सम्म मातृ मृत्युदर ७० प्रति लाखमा र नवजात शिशु मृत्युदर १२ प्रति हजारमा घटाउने लक्ष्य नेपाल सरकारले लिएको छ।साथै नेपाल सरकारको १६ औं योजनाले अबको २० बर्षमा मातृ मृत्युदर २० मा झार्ने लक्ष्य राखेको छ। तर यो लक्ष्य तबमात्र सम्भव छ, जब सरकारले मिडवाइफ उत्पादनमा लगानी गर्नेछ, उनीहरूलाई देशका सबै भूभागमा परिचालन गर्नेछ र नीतिहरूलाई कार्यान्वयनको तहमा पुर्‍याउनेछ।

मिडवाइफ किन अत्यन्त महत्त्वपूर्ण ?

१)मातृ तथा नवजात मृत्युदर घटाउन।
२)महिला अधिकारको प्रवर्द्धन गर्न।
३)सस्तो, सहज, पहुँचयोग्य सेवा प्रदान गर्न।
४)सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्न।
५)एउटा महिला र उनको परिवारको लागी अत्यन्त संवेदनशिल क्षणलाई जिवनप्रयत्न सकरात्मक अनुभवमा रुपान्तरण गर्न।
६)प्राकृतिक संकट, महामारीमा समेत निरन्तर सेवा दिन।

विश्व स्वास्थ्य संगठनका अनुसार, यदि
मिडवाइफहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सहयोग दिइयो भने, ८०% भन्दा बढी मातृ मृत्युदर, मृत शिशु र नवजात मृत्युदर घटाउन सकिन्छ। मिडवाइफहरूको आवश्यकता र योगदान नेपाली समाजमा अझ प्रस्ट हुनुपर्छ। दक्ष र समर्पित मिडवाइफहरू मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा केन्द्रीक भूमिका निभाउनेछन्। यी तथ्य र भावना संगै मिडवाइफ पेशाको महत्व र योगदान उजागर गर्न सकिन्छ।

स्वयं आफु मिडवाइफ भएको नाताले यो पेशा एउटा गहिरो जिम्मेवारी र समर्पणको प्रतीक हो भन्ने महसुस हुन्छ। हरेक सास, हरेक रोदन र हरेक आमाको मुस्कानले सम्झाउँछ हामी नया जीवनको  साक्षी हौ। हामी सुरक्षित मातृत्व सुनिश्चित गर्न खटिन्छौ। र एक-एक जन्मलाई सुरक्षित बनाउने प्रयास गर्छौं।

यो पढिरहँदा कतिलाई लाग्न सक्ला स्वयं मिडवाइफ यति त भन्ने भइ हाल्यो नि भनेर तर एकचोटी मिडवाइफसंगै रहेर बच्चा जन्माउने आमा र उहाको परिवारलाई सोधि हेर्नुस् त उहा कति सन्तुष्ट हुनु भयो भनेर तब तपाईहरूले नि बुझ्नु हुनेछ यस पेशाको महत्व। यस पेशाले मलाई केवल सीप होइन, मानवीयता सिकायो, धैर्य, समर्पण र प्रेम बुझायो। 

मिडवाइफले परिवारको सदस्यसंगै (विशेष गरि श्रीमान् अथवा उनले रूचाउने व्यक्ति) राखेर अनि स्वयंम एउटा महिलाको लागी परिवारको सदस्य भएर सेवा दिने भएकाले पनि मिडवाइफ संग प्रसुति सेवा लिने महिलाहरूले मिडवाइफलाई रूचाउने गर्छन्। भन्छन्- ‘तपाईहरू अरू भन्दा भिन्न लाग्यो! यस्तो असह्य पिडामा हुदा पनि तपाईले दिनु भएको हौसला र सल्लाह नै मेरा साहस बन्यो।’

यि शब्द सुनिरहँदा आफ्नो पेशा प्रति गौरव लाग्छ र अझ सम्मान बढेर आउछ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट