काठमाडौँ । अब गुगलको नोटबुकएलएम (NotebookLM) मार्फत आफ्नो अध्ययन वा रिसर्चलाई पोडकास्टको रूपमा नेपाली भाषामा समेत सुन्न सकिने भएको छ । गुगलको नोटबुकएलएममा रहेको ‘अडियो ओभरभ्युज’ (Audio Overviews) नामक यो टुलले तपाईँले उपलब्ध गराएका स्रोतहरूमा रहेका मुख्य विषयहरूको सारांशलाई दुई ओटा एआई होस्टहरूबिचको कुराकानीको रूपमा प्रस्तुत गर्दछ। यो कुनै व्यक्तिपरक विचारको रूपमा नभई तपाईँले अपलोड गरेका स्रोत सामग्रीमा रहेर तयार हुन्छ।

यसअघि अङ्ग्रेजीमा मात्रै उपलब्ध यो सुविधा अहिले भने ५० भन्दा बढी भाषाहरूमा विस्तार गरिएको छ । यसमा नेपाली भाषाका साथै स्पेनिस, पोर्चुगिज, फ्रेन्च, हिन्दी लगायतका छन् ।
यहाँ क्लिक गरेर एआई पोडकास्टमा उपलब्ध भाषा बारे थाहा पाउन सक्नु हुनेछ । यदि तपाईँ नेपालीमा अडियो सुन्न चाहनुहुन्छ भने, नोटबुकएलएमको माथिल्लो दायाँ कुनामा रहेको सेटिङ्समा गएर ‘आउटपुट ल्याङ्ग्वेज’ (Output Language) छनौट गरी नेपाली भाषा सेट गर्न सक्नुहुन्छ । यही समाचार लेखमा आधारित एआई पोडकास्ट तपाईँले माथिको अडियोमा सुन्न सक्नु हुनेछ ।

डिफल्ट अर्थात् पूर्व निर्धारित रूपमा यसको आउटपुट भाषा तपाईँको गुगल अकाउन्टको भाषामा सेट भएको हुन्छ । अडियो ओभरभ्युज तयार गर्नका लागि तपाईँले नोटबुक खोलेर दाहिनेपट्टिको ‘स्टुडियो’ (Studio) प्यानलमा रहेको ‘अडियो ओभरभ्यु’ खण्डमा गएर ‘जेनरेट’ (Generate) बटनमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईँले ५०० क्यारेक्टरसम्मको ‘स्टियरिङ प्रम्प्ट’ (steering prompt) थपेर अडियोलाई कुनै खास विषयमा केन्द्रित गराउन पनि सक्नुहुन्छ । अडियो तयार हुन केही मिनेटसम्म लाग्न सक्छ ।
यद्यपि, गुगलले गैर-अङ्ग्रेजी भाषाको सपोर्ट अझै ‘बिटा’ (Beta) चरणमा रहेको र सहि आउटपुट नआउन सक्ने बताएको छ । गैर-अङ्ग्रेजी अडियो चेकजाँच गर्नुपर्ने हुन्छ । यसको गुणस्तर सुधारका लागि गुगलले काम गरिरहेको र प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा यसलाई परिष्कृत गर्दै जाने बताएको छ । अडियो ओभरभ्युज (आवाज सहित) एआईबाट तयार पारिने भएकाले गलत जानकारी वा अडियोमा केही गडबडी हुन सक्ने सम्भावना रहन्छ ।
यो फिचर विश्वका २०० भन्दा बढी देशहरूमा विस्तार भइसकेको छ । यसले एआई होस्टहरूलाई गाइड गर्ने र उनीहरूसँग अन्तर्क्रिया गर्ने सुविधा पनि दिन्छ । अन्तरक्रियात्मक मोड (Interactive mode) पनि हाल बिटामा रहेको छ र अङ्ग्रेजीमा मात्र उपलब्ध छ । यो फिचर नयाँ तयार गरिएका अडियो ओभरभ्युजका लागि मात्र उपलब्ध छ । अन्तरर्क्रियात्मक मोड प्रयोग गर्दा तपाईँको आवाज र संवाद स्टोर नगरिने गुगलले बताएको छ ।
तयार भएको अडियो ओभरभ्युजलाई शेयर गर्ने विभिन्न तरिकाहरू छन् । तपाईँ यूआरएल बनाएर सार्वजनिक रूपमा शेयर गर्न सक्नुहुन्छ। यो सुविधा ग्राहक अकाउन्टहरूका लागि मात्र उपलब्ध छ, इन्टरप्राइज वा ईडीयू अकाउन्टबाट भने यो सुविधा प्रयोग गर्न सकिन्न । तपाईँ सम्पूर्ण नोटबुक शेयर गर्न पनि सक्नुहुन्छ । वा, अडियोलाई डाउनलोड गरेर पनि पठाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १०:४०
सामाग्री श्रोत :
टेक पाना