वैदेशिक रोजगारी हाम्रो समाजको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। सस्तो श्रमको खोजीमा लाखौं नेपाली युवाहरू विदेश जान्छन्। यसले परिवारलाई आर्थिक सहयोग पुर्याउँछ भने, तिनको जीवनस्तरमा सुधार ल्याउँछ। तर, वैदेशिक रोजगारीका सकारात्मक पक्षहरूसँगै, केही गम्भीर समस्या पनि उत्पन्न भएका छन्, जसमा पेटको समस्या एक प्रमुख चुनौतीको रूपमा देखा परेको छ।
पेटको समस्या वैदेशिक रोजगारीका क्रममा प्रमुख चिन्ता बनेको छ। नेपाली कामदारहरूको जीवनशैलीमा विशेष गरी विदेशमा काम गर्दा खानपानको अनियमितता र पोषणको कमीले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। नेपालमा रहेको स्वादिलो र स्वास्थ्यप्रद खाना भन्दा विदेशमा फास्ट फुड र हतार हतार खाना खाने प्रवृत्ति प्रचलित छ। यसले पेटमाएसिडिटी, गडबडी र अन्य जटिल स्वास्थ्य समस्याहरू निम्त्याउँछ। पेटको दिर्घकालिन समस्याले गर्दा कतिपय नेपाली दाजुभाई तथा दिदिबहिनि काम नै छोडेर फर्कनुपर्ने अवस्थासमेत आएको हुन्छ।
पेटको स्वास्थ्य समस्याका प्रमुख कारणहरू
१. जीवनशैलीमा परिवर्तन : नेपालमा जुन समयमा खाने , कम गर्ने, रहनसहन, संस्कृति र मौसम हुन्छ त्यो त्यहाँ हुन्न जसले गर्दा जीवनशैलीमा ठूलो परिवर्तन आउँछ जसको पेटको स्वास्थ्यमा प्रतक्ष प्रभाव हुन्छ।
२. खानपानको असावधानी: विदेशमा कामदारहरूले अस्वच्छ खाना वा पानी सेवन गर्ने गरेको पाइन्छ, जसले गर्दा पेट दुखाइ, डायरिया, फूड पोइजनिङ जस्ता समस्या उत्पन्न हुन्छन्।
३. तनाव: विदेशमा कामको दबाब, घरपरिवारको चिन्ता, र अनौठो वातावरणले तनाव बढाउँछ, जसले गर्दा पेटको समस्या जस्तै अल्सर वा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस)हुन सक्छ।
४. पानीको कमी (डिहाइड्रेसन): गर्मी मौसम वा विदेशको वातावरणमा काम गर्दा पानीको कमी पनि पेटसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ। शरीरमा पानीको कमी हुँदा कब्जियत, ग्यास्ट्रिक, र पेटको अन्य समस्याहरू बढ्न सक्छ।
५. पेटका संक्रमण : नयाँ स्थानमा खानपान र पानीको स्रोत परिवर्तनका कारण पेटका संक्रमणहरूको जोखिम पनि बढ्न सक्छ। ब्याक्टेरियल वा भाइरल संक्रमणले पेट दुख्नु, दाहो, र मिचमिच हुने समस्याहरू ल्याउन सक्छ।
६. स्वास्थ्य सेवाको अभाव: धेरै कामदारहरूले स्वास्थ्य बीमा वा चिकित्सा सुविधा पाउँदैनन्, जसले गर्दा समयमै उपचार हुन सक्दैन।
पेटको प्रमुख स्वास्थ्य समस्याहरू
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।
यो स्थिति अत्यधिक गाह्रो र पीडादायक हुन सक्छ, जसले कामदारहरूको जीवनस्तरलाई प्रभावित पार्दछ।अत्याधिक फास्ट फुड, बेकरीका परिकार वा भनौ मैदा तथा चिनीका परिकारले कब्जियतपनि धेरैको समस्या भएको छ। शारीरिक व्यायामको कमीले पनि कब्जियतलाई निम्ताउँछ। तनाव, खानपानमा परिवर्तन, र अनियमित खानपानको कारणलेइरिटेबल बाउल सिन्ड्रोम (आईबीएस)पनि हुने गर्छन्। यसका साथै परस्पर विरुद्ध आहारहरूको सेवनले फुड पोइजनिंग गराउंछ। साथै महिनावारीको गडबडी, पित्ताशयको सम स्या, हेपाटाइटिस , एपेनडीसाईटिस जस्ता अत्यायिक समस्याहरूले पनि पेटको दुखाई गराउंछ। यस्ता समस्याको समयमै निदान तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ।
समाधानका उपायहरू
• जीवनशैली व्यवस्थित गर्नुपर्छ।
• स्वच्छ,अर्गानिक र फाइबरयुक्त खानपान रशुद्ध पानीको प्रयोग गर्नुपर्छ।
• आयुर्वेदशास्त्र अनुसारको दिनचर्या, रात्रीचर्या, ऋतुचर्या तथा सद्वृतका नियमहरूको पालना गर्नु पर्छ।
• नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ।
• तनाव व्यवस्थापनका लागि योग, ध्यान, र नियमित व्यायाम गर्नुपर्छ।
• सरकार र रोजगार दाताहरूले स्वास्थ्य बीमा र चिकित्सा सुविधा उपलब्ध गराउनुपर्छ।
(डा क्षेत्री केन्द्रिय आयुर्वेद विध्यापीठ (ने. सं. वि.), दाङका उपप्राध्यापक हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

