२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

केयूका विद्यार्थीले बनाएको ‘डा. फिश’, जसले जोगाउन सक्छ माछा कृषकको लाखौँको घाटा

 

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ विषयमा अध्ययनरत सन्तोष यादव साथीहरूसँग मिलेर विभिन्न ह्याकाथनमा सहभागी भइरहन्थे । थुप्रै प्रतिस्पर्धामा पुगे पनि उनीहरूका परियोजना सधैँ उस्तै उस्तै किसिमका भइरहेका थिए । त्यसैले अबको प्रतिस्पर्धामा केही फरक र सिर्जनात्मक परियोजना ल्याउनुपर्छ भनेर उनीहरूले सोच्न थाले । तर के गर्ने, सोच्न सकिरहेका थिएनन् ।  

त्यसपछि उनीहरू फरक उद्योगमा नयाँ किसिमको प्रविधिलाई भित्र्याउन सकिन्छ की भनेर खोजी गर्न थाले । यसरी विभिन्न आइडियाहरू खोजी रहँदा उनीहरूले माछा पालनसँग सम्बन्धित प्रविधिको विकास हालसम्म नभएको कुरा थाहा पाए । 

त्यसपछि एक पटक माछा पालनका लागि नै केही काम गर्न सकिन्छ की भनेर अनुसन्धान सुरु भयो । अनुसन्धानका लागि यादव साथीहरूसँग काभ्रेको कुशादेवीमा रहेको एक माछा फार्ममा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरूले पोखरी पूरै खाली भएको देखे । राति अक्सिजनको मात्रा नमिल्दा पोखरीका माछा एकै पटक मरेर २० लाख भन्दा बढी घाटा लागेको उक्त फार्मका मालिकले उनीहरूलाई सुनाए । 

उनी भन्छन्, “नेपालमा त माछा पालन अन्दाजकै भरमा हुँदो रहेछ । माछा पालनमा कृषकलाई १० देखी ५० लाखसम्मको घाटा  हुने रहेछ । अन्दाजकै भरमा फार्म चलाउँदा यति धेरै नोक्सानी भएको देखेपछि केही गर्न सकिन्छ की भनेर खोजी गर्न थाल्यौँ । ” यसका लागि विदेशमा के कस्ता अभ्यासहरू हुने गरेका छन् भनेर समेत बुझेको उनले सुनाए । 

विभिन्न अनुसन्धानपछि डा. फिशका नाममा परियोजना सुरु भयो । जसमा उनको साथमा थिए,  दिवस पराजुली, सुशान्त अधिकारी, अभियान ढकाल र आशिष न्यौपाने । पछि उनीहरूको समूहमा अभ्युदित अधिकारी पनि थपिए ।   उनीहरूले यस परियोजना मार्फत माछामा लाग्ने रोगहरू सुरुवाती समयमै थाहा पाउन सघाउने प्रविधि तयार पारे । यादव अहिले सोही परियोजनाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।  

उनी सहित प्रमुख प्राविधिक अधिकृत (सीटीओ) दिवस र प्रमुख व्यापार अधिकृत (सीबीओ) अभ्युदित गरी तीनै जना साथीहरू मिलेर तयार पारिरहेको डा. फिशलाई आवश्यक अनुसन्धानका लागि विश्वविद्यालयका प्राडा गजेन्द्र शर्माले मेन्टरशिप दिइरहेका छन् । 

यस्तै कम्पनकीको अनुसन्धान तथा अन्य काम गर्न काठमाडौँ विश्वविद्यालयकै रिसर्च ल्याब प्रयोग गरिएको छ । डा. फिशका लागि थप प्राविधिक सहयोगको आवश्यकता परेमा विश्वविद्यालयका अन्य साथीहरूबाट अस्थायी स्वयंसेवक समेत लिने गरेको यादव बताउँछन् । 

स्टार्टअपको रूपमा सुरु गरिएको भएपनि हालसम्म कम्पनी दर्ता भने भइसकेको छैन । कम्पनीको सुरु गर्न लगानी खोजी रहेको यादवले सुनाए । कम्पनीको नाममा पेटेन्ट लिने प्रक्रिया भने अघि बढाइएको र साउनमा कम्पनी दर्ता गर्ने  तयारी रहेको  उनले सुनाए । 

सिड फन्डिङ पाएमा तत्कालै कम्पनी सञ्चालन गर्न सकिने, तर लगानी नपाएमा भने स्नातक पूरा भएपछि तीनै जना मिलेर डा. फिशलाई एक दुई/वर्षमा कम्पनीको रूपमा आकार दिने योजना उनीहरूले बताएका छन् । 

डा. फिशले माछा फार्मलाई कसरी सघाउँछ ?

डा. फिशले माछाको अवस्था हेरेर भविष्यमा देखिन सकिने रोगको बारेमा पूर्व जानकारी गराउने उनीहरूको दाबी छ । उनका अनुसार डा. फिशमा मुख्य तीन किसिमका विशेषता छन् । 

पहिलो, यसले माछा फार्मको निगरानी गर्छ । माछाका लागि चाहिने तापक्रमको अवस्था तल-माथि भएको छ वा पानीमा अक्सिजनको मात्रा कस्तो छ भनेर निगरानी गर्छ र जानकारी दिन्छ । पानीमा पीएच (पानी अम्लीय, क्षारीय वा तटस्थ अवस्था कत्तिको छ भनेर गरिने मापन)को मात्रा कस्तो छ भनेर हेर्छ । 

यस्तै, माछामा कुनै रोग लाग्ने प्रारम्भिक लक्षणहरू छन् वा माछामा कुन रोग लाग्दैछ भनेर पहिले नै अनुमान गर्ने क्षमतासहित एआई मोडेललाई तालिम दिइएको छ । यसका लागि माछाको निगरानी गर्न क्यामेरा मोडेल समेत फार्ममा जडान गरिन्छ । 

तेस्रोमा माछा फार्म हाल कस्तो अवस्था छ वा त्यसको तत्कालको वातावरणले भविष्यमा फार्ममा सकारात्मक वा नकारात्मक कस्तो असर पर्न सक्छ भनेर जानकारी गराइदिन्छ । हाल यो डिभाइसले माछामा लाग्ने रोगहरूमा इयर, टेल रुट, फिन रोट लगायत नेपालमा देखिने अधिकांश रोगहरूको बारेमा रोग फैलिई सक्नुभन्दा अगावै थाहा पाउन सक्ने दाबी गरिएको छ । 

माछा कस्तो अवस्थामा छन्, उपचारका लागि के-कस्ता काम गर्दा ठिक हुन्छ, माछाहरूमा कुनै रोग लागेको छ की छैन र पुरै फार्मको अवस्था कस्तो छ भनेर एपबाट नै हेर्न सकिने गरी तयार पारिएको उनले सुनाए । 

नेपालका माछामा लाग्ने रोगहरूको बारेमा जानकारी लिनका लागि केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रले सार्वजनिक गरेको डेटा अनुसार एआई मोडललाई तालिम दिएको उनले सुनाए । उनले भने, “नेपालका माछामा लाग्ने सबै किसिमका रोगको डेटा हामीले पाइसकेका छैनौँ । हालसम्म नेपालका माछामा सबैभन्दा धेरै देखिने रोगहरूको डेटा छ, त्यही अनुसार डिजिज डिटेक्सन मोडेलमा काम गरिरहेका छौँ ।”

डा. फिशको मोडेल तयार पारेर बजारसम्म जाँदा डिभाइसको मूल्य ८० देखि ९० हजारसम्म पर्न सक्ने अनुमान गरिएको उनले सुनाए । उनले थपे, “यो डिभाइस बनाउन निकै महँगो छ । हामीलाई बनाउनकै लागि ६० हजार रुपैयाँभन्दा धेरै पर्न सक्छ ।”

यता माछा पालन व्यवसायमा लाखौँको घाटा ब्यहोर्नु पर्दा किसानहरू हैरानीमा रहेको उनले सुनाए । किसानले बर्सेनि भोग्नसक्ने क्षतिभन्दा डिभाइस निकै कम खर्चमा लिन सकिने उनी बताउँछन् । “धेरै किसानहरूसँग हामीले कुरा गर्दा माछामा हुनसक्ने घाटालाई रोक्न सक्छ भने यो डिभाइस किन्न ठुलो समस्या नहुने प्रतिक्रिया दिनुभएको थियो । त्यही भएर पनि हामी अनुमान गरिएको मूल्यमा पनि डिभाइस बनाउनका लागि तयार भएका हौँ ।” विशेषगरी नेपालमा कत्ले माछा, ट्राउट माछामा धेरै नोक्सानी ब्यहोर्ने  गरिएको देखिएको उनले सुनाए । यिनै माछा पालन गर्ने किसानहरूलाई लक्षित गरेर आफ्नो डिभाइसहरू तयार भइरहेको उनले बताए । 

उनका अनुसार डिभाइसको खर्च र यसको व्यवस्थापनमा लाग्ने खर्चका कारण सबैभन्दा पहिला उपत्यका आसपासका किसानलाई लक्षित गरिएको छ ।

लगानी खोज्दै पुरस्कार राशिबाट चल्दै आएको डा. फिश 

ह्याकाथनमा सहभागी भइरहेको बेला तयार पारिएको परियोजना स्टार्टअप कम्पनीको रूपमा सुरु हुन्छ भनेर कहिल्यै नसोचेको उनी बताउँछन् । तर, विभिन्न प्रतियोगितामा सहभागी हुने क्रममा परियोजनालाई थप सुधार गर्दै लैजाँदा अहिलेको अवस्थामा आइपुगेको यादवले सुनाए । 

सन् २०२४ को सुरुवातमा ह्याकाथनका लागि डा. फिश बनाइरहँदा माइक्रोसफ्टको ‘इम्याजिन कप’को आयोजना हुन आँटिरहेको थियो । त्यही प्रतिस्पर्धामा सहभागी हुने उद्देश्यसहित उनीहरूले काम अघि बढाएका थिए । विस्तारै विभिन्न प्रतिस्पर्धामा जाँदै गर्दा आफ्नो आइडियालाई धेरैले मन पराएर सकारात्मक प्रतिक्रिया दिने गरेको उनी बताउँछन् । 

तर प्रतिस्पर्धामा सहभागी हुनुभन्दा पहिले नै तेस्रो वर्षको बोर्ड परीक्षा आयो । त्यसपछि उनीहरूले केही समयका लागि डा. फिशको काम रोके । तर विश्वविद्यालयमा हल्ट प्राइजको आयोजना हुने भएपछि उनीहरूले तयारी अवस्थामा रहेको डा. फिशको प्रोजेक्ट प्रस्तुत गरे । उनीहरूको प्रोजेक्ट उत्कृष्ट बन्दै बिजेता बन्यो ।

उनले भने “केयू हल्टमा जितेपछि हल्टको पुरस्कार रकम भन्दा धेरै स्पोन्सर पाएका थियौँ ।  हामीलाई चाहिने डिभाइसहरू विदेशबाट आयात गर्नेदेखि यसको सबै व्यवस्थापन विश्वविद्यालयले नै गरिदिएको छ ।” 

डा. फिशको परियोजना हालसम्म विभिन्न प्रतियोगितामा जितेको रकमबाट सञ्चालनमा भइरहेको उनी बताउँछन् । उनले भने, “हामीले आफ्नै गोजीबाट धेरै खर्च गरेका छैनौँ । विभिन्न प्रतियोगितामा जितेको रकमले चलीरहेका छौँ । 

नेपाललाई प्रतिनिधित्व गर्दै उनीहरू सन् २०२४ मै थाइल्यान्डको ब्याङ्कक समिटमा समेत पुगेका थिए । त्यहाँ माछा व्यवसायसँग सम्बन्धित विभिन्न कामहरू भएको देखेको यादव सुनाउँछन् । उनी भन्छन्, “नेपालमा माछा व्यवसायका लागि प्राविधिक विकासको काम हामीले गरेनौँ भनेपनि अरू कसैले कुनै न कुनै दिन त गर्नै पर्छ भन्ने लागेको थियो ।”

२०२४ कै अन्त्यमा भएको आईसीटी अवार्डमा पनि सहभागी भएकोमा डा. फिश शीर्ष ५ मा पर्न सफल भएको थियो । आईसीटी अवार्डपछि भने डा. फिशलाई स्टार्टअपको रूपमा सुरु गर्ने निर्णयसहित काम अघि बढाइरहेको उनी बताउँछन् । 

हाल उनीहरू आद्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको ‘एक्सिलेरेटर’ कार्यक्रम अन्तर्गत रहेर आफ्नो उत्पादनलाई थप परिष्कृत गर्ने काममा जुटेका छन् । उक्त ‘एक्सिलेरेटर’ कार्यक्रममा उत्कृष्ट रहने एक कम्पनीले स्विस सरकार विकास सहयोग (एसडीसी)बाट आर्थिक सहयोग पनि पाउनेछ । हाल उक्त रकम पाउने अपेक्षा समेत आफूहरूले गरिरहेको यादवले सुनाए । 

उनले भने, “डिभाइसहरू बनाउन महँगो पर्ने भएकाले फन्डिङ खोजीरहेका छौँ । अहिले प्रविधिलाई अझै राम्रो बनाउने काम भइरहेको छ । डिभाइसमा सेन्सरहरू अझै राम्रो राखेर पाइलटिङको काम पुरा गरेपछि बजारमा लानको लागि तयार हुन्छ ।” आफ्नो प्रविधिलाई थप गुणस्तरीय बनाएर बजारमा जाने तयारीमा रहेको उनले बताए । 

यता विश्वविद्यालयको कम्प्युटर इन्जिनियरिङ विभागका प्राडा तथा डा. फिशका मेन्टर गजेन्द्र शर्मा नेपालमा बढ्दो माछा पालन व्यवसायका लागि एआईमा आधारित यो प्रविधि निकै उपयोगी हुने अपेक्षा राख्छन् । तर राम्रो सेवा दिने प्रविधि तयार गरेपनि उचित लगानी पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाए । 

प्राडा शर्मा भन्छन्, “हाम्रा विद्यार्थीहरू धेरै ट्यालेन्टेड छन् । राम्रा राम्रा प्रोजेक्ट तयार गर्न सक्छन्  । तर राम्रो प्रोडक्ट बनाएपछि यसलाई बजारसम्म लैजान त्यसै अनुरूप लगानी र नीतिको आवश्यकता पर्छ । तर हाम्रो देशमा न तत्काल लगानी पाउन सकिन्छ न त नीति नै बन्छ ।” जसले गर्दा विद्यार्थीले तयार पार्ने परियोजनाहरूलाई व्यवसायीकरण गर्न समस्या हुने गरेको उनले बताए । 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १२:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट