काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गुगलले इन्स्टाग्राम किन्न सक्ने डर व्यक्त गरेको गोप्य ईमेल सार्वजनिक भएको छ । अमेरिकी अदालतमा प्रतिस्पर्धा ऐन उल्लङ्घनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेका क्रममा संघीय व्यापार आयोग (एफटीसी) ले अदालतमा ती ईमेल प्रस्तुत गरेको हो ।

सन् २०११ र २०१२ मा पठाइएका ती आन्तरिक ईमेलमा जुकरबर्गले इन्स्टाग्राम मोबाइल एपको बजारमा तीव्र रूपमा बढिरहेको र यदि गुगलले यसलाई किन्यो भने आउने केही वर्षमा फेसबुकले प्रदान गरिरहेका जस्तै सेवाहरू सजिलै थप्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
सार्वजनिक ईमेलहरूमा जुकरबर्गले इन्स्टाग्रामको प्रयोगकर्ता संख्या र फोटो शेयरिङ सुविधामा भइरहेको तीव्र वृद्धिलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन् ।
जुकरबर्गले २०११ को सेप्टेम्बरमा पठाएको ईमेलमा लेखेका छन्, “यदि इन्स्टाग्रामले मोबाइलमा यस्तै राम्रो गरिरह्यो वा गुगलले उनीहरूलाई किन्यो भने आउँदो केही वर्षमा उनीहरूले सजिलैसँग हाम्रो जस्तै सेवा थप्न सक्छन् । अनि यदि उनीहरूसँग धेरै मानिसहरूको फोटो जम्मा हुँदै गयो भने त्यो हाम्रो लागि ठूलो समस्या बन्छ । अहिले उनीहरू अत्यन्तै छिटो बढिरहेका छन् । जस्तो लाग्छ, हरेक दुई–तीन महिनामा उनीहरूको प्रयोगकर्ता संख्या दोब्बर भइरहेको छ र अहिले नै उनीहरूसँग झण्डै ५० देखि १० लाख प्रयोगकर्ता छन् । जब हामीले राम्रो उत्पादन ल्याउँछौं, धेरै मानिसहरूले हाम्रो सेवा प्रयोग गर्नेछन् र भविष्यका इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई त्यहाँ जान कुनै कारण नै रहने छैन । तर, अहिलेको गतिमा, हरेक केही महिनाको ढिलाइले उनीहरूको संख्या दोब्बर गराइरहेको छ र हाम्रो लागि स्थिति झन् अप्ठ्यारो बनाइरहेको छ ।”

त्यसअघि सोही वर्षको फेब्रुअरीमा जुकरबर्गले पठाएको ईमेलमा इन्स्टाग्रामको वृद्धिलाई नजिकबाट नियाल्नुपर्ने उल्लेख गरेका थिए । उनले लेखका छन्, “इन्स्टाग्राम छिट्टै बढिरहेको जस्तो देखिन्छ । चार महिनामा उनीहरूका २० लाख प्रयोगकर्ता र दैनिक ३० हजार फोटो अपलोड भएका छन् । यो धेरै हो । हामीले यसलाई नजिकबाट नियाल्नुपर्छ । साथै, स्पष्ट रूपमा ड्रपबक्सको अर्को ठुलो योजना फोटो शेयरिङमा हुनेछ ।”
एफटीसीले अदालतमा पेश गरेको कागजातअनुसार फेसबुकले इन्स्टाग्रामलाई प्रतिस्पर्धीको रूपमा हेर्दै सन् २०१२ मा एक अर्ब अमेरिकी डलरमा किनेको थियो । जुकरबर्गले प्रतिस्पर्धी एपहरू किन्दा कम्तीमा एक-दुई वर्ष समयभित्रै किन्ने र त्यसबिचमा अरू प्रतिस्पर्धीलाई ठुलो स्तरमा पुग्न नदिने योजना बनाएको एफटीसीको आरोप छ ।
अमेरिकी सरकारले मेटामाथि प्रतिस्पर्धा कानुन उल्लङ्घन गर्दै सम्भावित प्रतिस्पर्धीहरूलाई किनेर बजार कब्जा गर्ने रणनीति अपनाएको दाबी गरेको छ । यसपछि एफटीसीले मेटालाई इन्स्टाग्राम र ह्वाट्सएप जस्ता एपहरू बिक्री गर्न लगाउनुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो ।
यदि एफटीसीका वकिलहरू सफल भएमा अमेरिकी सरकारले मेटालाई इन्स्टाग्राम र ह्वाट्सएप बेचेर उसको व्यवसाय टुक्र्याउन बाध्य पार्न सक्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ ११:१६
सामाग्री श्रोत :
टेक पाना