जोमसोम- मुस्ताङ प्रादेशिक अस्पतालका चिकित्सकको टोलीले गम्भीर अवस्थामा अस्पताल पुर्याइएका आमा र शिशुको ज्यान जोगाउन सफल भएका छन्। जिल्लाको लोमाङथाङबाट १९ घण्टा लामो जोखिमपूर्ण यात्रा गर्दै साँझ ६ बजे अस्पतालमा आइपुगेका आमा र शिशुको रातभरी उपचार सेवा दिएर ज्यान जोगाउन सफल भएका हुन्। ‘ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,’ अस्पतालका डा विशाल सापकोटाले भने।हाइपोभोलिमिक शकमा अर्धचेत अवस्थामा ती महिला अस्पताल आइपुगेकी थिइन्। जाँच गर्दा गर्भाशयमा चिप्किएको साल र गर्भाशयको मुखमा चिरा पाइएको थियो। डा सापकोटाको नेतृत्वमा डा. समिक्षा कँडेल, डा. विसर्जन नेपाली, डा. अशोक चपाई, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, संगिता थापा तथा स्वास्थ्य सहायक कुशल नेपाली सम्मिलित टोलीले तुरुन्तै उपचार सुरु गरेका थिए। तत्काल हातले साल निकाल्ने प्रक्रिया सुरु गरिएको थियो। ‘स्लाइड र स्वाइप’ म्यानुभर अपनाउँदै सावधानीपूर्वक गर्भाशयबाट साल निकालिएको डा सापकोटा बताउँछन्। ‘त्यसपछि गर्भाशयको चिरा सिउने कार्य पनि सफलतापूर्वक सम्पन्न गरियो। सम्पूर्ण प्रक्रिया रातको ९ बजेसम्म सम्पन्न गरिएको थियो। प्रारम्भिक रक्त परीक्षणमा रगतको मात्रा मात्र ५ जीएम/डीएल देखिएपछि तुरुन्तै २ पोका ए पोजिटिभ रगतको आवश्यकता भयो,’ उनले भने। राति १२ बजे रक्तदान सुरु भई ३ बजेसम्म रगत चढाइएको उनले बताए। हालको अवस्था स्थिर अवस्थामा रहेको उनले बताएका छन्। त्यस्तै बच्चाको पनि याकको रौँबाट बनाइएको धागो र घरेलु चक्कुको प्रयोग गरी नवजात शिशुको गर्भनाल काटिएको पाइएको थियो। जुन चिकित्सकीय दृष्टिले जोखिमपूर्ण भएपनि तत्कालका लागि विकल्पहीन उपाय अपनाइएको थियो। आमाले स्तनपान गराउन नसकेपछि स्थानीय महिलाहरूले तताएको घिउ खुवाएएर शिशुलाई अलमल्याएका थिए। भोलिपल्ट अस्पताल आउने क्रममा पनि ओटको पिठोमा घिउ मिसाएर खुवाइएको थियो। ‘त्यसपछि आश्चर्यजनक रूपमा शिशुमा न त डिहाइड्रेशन (शरीरमा पानीको कमी) देखियो, न त हाइपोग्लाइसेमिया (रगतमा चिनीको अत्यधिक कमी), जुन यस्तो अवस्थामा असामान्य मानिन्छ,’ उनले भने। त्यसपछि चिकित्सकले गरेको उपचारका कारण नवजात शिशु र आमा दुवैको अवस्था सामान्य रहेको छ। डा. सापकोटा भन्छन्, ‘रातको अत्यन्त संवेदनशील समयमा सही निर्णय र समन्वयले दुईवटा जीवन बचाउन सक्यौं। त्यो रात हामी कहिल्यै बिर्सन सक्दैनौं।’साल ननिस्किने समस्या ग्रामीण क्षेत्रमा आमाको मृत्युको प्रमुख कारण हो। हातले साल निकाल्ने प्रक्रिया अत्यन्त संवेदनशील प्रक्रिया हो, जसका लागि दक्ष चिकित्सकको आवश्यक पर्छ। रक्त परीक्षण, क्रस म्याचिङ तथा आपतकालीन रक्तदानमा ल्याब टेक्निसियन अनिता थापाले गरिन्। रक्तदाता पनि अस्पताल फार्मेसी सहायक दीपक कुमार खत्री र अस्पताल नेत्र सहायक विज्ञान श्रेष्ठ रहेका छन्। उनीहरुको योगदानका लागि सापकोटा धन्यवाद दिन्छन्।‘तत्काल रगत दिने व्यक्ति सधैं उपलब्ध हुँदैन,’ डा. सापकोटा भन्छन्, ‘मुस्ताङमा दीर्घकालीन समाधानका लागि ब्लड बैंकको आवश्यकता छ।’हाल जोमसोम अस्पतालमा हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया सेवा पनि उपलब्ध छन्। तर भवन निर्माण अधुरो, जनशक्ति र पूर्वाधारको अभाव जस्ता चुनौतीबीच अस्पतालले सेवा दिइरहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

