काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुक र समर्थकहरूको अराजक गतिविधि रोक्न कडाइका साथ आचारसंहिता पालना गराउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्जालमा अराजक उपस्थिति अनियन्त्रित भए पार्टीकै लागि घातक हुने भन्दै सचेत गराएका थिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कार्यवाहक सभापति अर्यालले शुभेच्छुक तथा समर्थकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता मिचेर टिप्पणी नगर्न र सभ्य रूपमा प्रस्तुत हुन आह्वान गरेको जानकारी दिए ।
“कार्यवाहक सभापति अर्यालज्यूले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको शुभेच्छुक तथा समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको र यो हाम्रो लागि नै घातक हुने, हामीले यसलाई अनियन्त्रित छोड्यौं भने कुनै दिन हाम्रो लागि नै घातक हुने र यसमा सबै सदस्यहरूलाई पार्टीले बनाएको सामाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत रहन र अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन उहाँले अनुरोध गर्नुभएको छ,” कार्यवाहक प्रवक्ता झाले भने ।
पार्टीले तयार पारेको सामाजिक सञ्जाल प्रयोग आचारसंहिताअनुसार नै सबै सदस्य, शुभेच्छुक र समर्थकले आ-आफ्नो व्यवहार व्यवस्थित बनाउनुपर्ने र अनावश्यक, भ्रामक तथा भड्काउने किसिमका सामग्रीहरू पोस्ट नगर्न आग्रह गरिएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १५:३८
सामाग्री श्रोत :
टेक पाना