अनलाइन पोर्टल ‘स्वास्थ्य खबर’ मा साउन २ गते, २०८२ मा प्रकाशित “जनस्वास्थ्य विभागका चौलागाईंमाथि १६ बुँदे आरोप र कारबाहीको विवरण पत्र डिन कार्यालयमा (https://swasthyakhabar.com/story/60419)” शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
मैले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (चि. सा. अ. सं) बाट जनस्वास्थ्यमा स्नातकोत्तर (MPH) र स्वीडेनको गोथेनबर्ग विश्वविद्यालयबाट विध्वावारिधि (PhD) उपाधि प्राप्त गरी विगत १८ बर्ष देखि त्रि वि चिकित्साशास्त्र अध्ययन संस्थानमा रही अध्यापन, अनुसन्धान कार्य गर्दै आएको छु। २०७३ श्रावण देखि सह प्राध्यापक पदमा सेवारत रहेको छु। समाचारमा उल्लेख गरिएका विषयवस्तुमा मेरो नाम, पद, र विगतका घटनाहरूलाई एकपक्षीय ढंगले प्रस्तुत गरिएको छ, जुन मेरो पेशागत छवि, सामाजिक प्रतिष्ठा, र भावी नेतृत्वको सम्भावनामा प्रत्यक्ष असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ।
वर्तमानमा कार्यरत जनस्वास्थ्य केन्द्रीय विभागका प्रमुख श्री आमोद कुमार पौड्याल आगामी केही दिनमै त्रि.वि. नियम अनुसार ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशको अवस्थामा पुग्दै हुनुहुन्छ। तत्पस्चात केन्द्रीय विभागको वरिष्ठतम (senior most) शिक्षकको हैसियतमा मैले प्रचलित त्रिवि नियमानुसार विभागीय प्रमुखको भूमिकामा रहनुपर्ने अवस्थामा तथ्यहीन, कपोलकल्पित, आन्तरिक पत्राचारमा आधारित र न्यायिक रूपमा पुष्टि नभएका कुराहरु लेखेर चिकित्साशास्त्र अध्ययन संस्थानका डीनज्यु लगायतलाई पत्राचार गर्ने कार्य संस्थागत मर्यादा र निष्पक्षता विरुद्धको अभ्यास हो ।
पत्रमा उल्लेख गरिएअनुसार वि.सं. २०७५ देखि हालसम्म ममाथि कारबाही भएको भनिएको छ। तर, वास्तविकता के हो भने २०६४ भाद्रदेखि हालसम्मको सेवा अवधिभर ममाथि त्रि.वि. अन्तर्गत कुनै विभागीय कारबाही भएको छैन। पौड्याल द्वारा मेरो सम्बन्धमा प्रेषित पत्रहरु पूर्वाग्रही र संस्थागत मर्यादा विपरित देखिन्छन। पौड्याल सह-प्राध्यापक (तथ्याँकशास्त्र) पदमा कार्यरत रहदा वि. सं २०७५ फागुनमा जनस्वास्थ्य केन्द्रीय विभागको विभागीय प्रमुखको तीन महिने जिम्मेवारी पाएका समयदेखि नै मेरो वृत्ति विकासमा नकारात्मक प्रभाव पार्ने खालका पत्राचार गर्दै आउनु भएको छ। विशेषतः विभागमा प्राध्यापक पदका दुई रिक्त दरबन्दीमध्ये एकमा आफ्नै विषय मात्रको आन्तरिक विज्ञापन सिफारिस गरी पठाउने र अर्को दरबन्दीलाई सह-प्राध्यापकमा रूपान्तरण गराउने सिफारिस गर्नुले वहाको मनसाय स्पष्ट गर्छ। जनस्वास्थ्य केन्द्रीय विभागको वि. सं. २०७५ मा स्थापना भएदेखि नै पटक पटक विभागीय प्रमुखको भूमिकामा रहनुभएका पौड्यालको सम्पूर्ण कार्यकालमा वहा आफ्नो बाहेक अन्य कोहि शिक्षकको पनि पदोन्नति भएन।
पौड्यालको पहिलो नियुक्तिको ३ महिने विभागीय प्रमुखको जिम्मेवारी र दोस्रो नियुक्तिको ४ बर्षे विभागीय प्रमुखको कार्यकाल समाप्त भए पश्चात २०८०-०३-२७ देखि लागु हुने गरि मलाइ त्रि.वि. कार्यकारी परिषदले विभागीय प्रमुखको पदमा नियुक्त गरेको निर्णय विरुद्ध नीजले मुद्दा मामिला गर्नुभएको, विभागीय प्रमुखको कार्यकाल समाप्त भइ नया विभागीय प्रमुखको नियुक्ति भएपश्चात समेत विभागीय प्रमुखको कार्यकक्षमा पौड्यालले महिनौसम्म तालाबन्दी गरेको हुदा मुचुल्का गरि ताला खोल्न चि. सा. अ. सं डीनको कार्यालयबाट निर्देशन भए बमोजिम विभागीय प्रमुखको कार्यकक्षको ताला खोलिएको थियो। २०८१ बैशाख १ गते देखि पुनः विभाग प्रमुखको जिम्मेवारी प्राप्त भएपछि उहाँद्वारा विभागको लेटरप्याड प्रयोग गरी, प्रचलित नियमको परिधिभन्दा बाहिर शिक्षकमाथि कारबाही सम्बन्धी विवरण पठाउनु पदीय सीमाको उल्लङ्घन हो। प्रचलित त्रिवि ऐन, नियम अन्तर्गत केन्द्रीय विभाग प्रमुखको काम, कर्तव्य र अधिकार स्पष्ट उल्लेख गरिएको छ, जसमा शिक्षकलाई कारवाही गर्ने विषय उल्लेख छैन।
समाचारमा उल्लेख गरिएका आरोपहरू विभागीय प्रमुखबाट त्रिवि नियमानुसारको अधिकार क्षेत्रबाहिर लेखिएका आन्तरिक पत्रहरूमा आधारित छन्, जसको न त निष्पक्ष छानबिन भएको छ, न त कुनै विधिसम्मत कारबाही। त्यस्ता आधारहीन र न्यायिक पुष्टि नभएका दाबीहरूलाई सार्वजनिक पत्रिकामा जस्ताको तस्तै प्रकाशन गर्नुले स्वास्थ्य क्षेत्रको मर्यादा र व्यक्तिको प्रतिष्ठामाथि गम्भीर प्रश्न खडा गर्छ।
विभागीय प्रमुखबाट निरन्तर रूपमा मनगढन्ते आरोपसहितका पत्राचार गरिनु, नियमित कक्षाबाट हटाउने, परीक्षा कार्य तथा अनुसन्धान–सुपरिवेक्षणमा बाधा पुर्याउने, र एकपक्षीय निर्णय एवं त्रासमूलक भाषाको प्रयोगमार्फत नसीहत दिने प्रयास, यी सबै कार्यहरू व्यक्ति केन्द्रित पूर्वाग्रहबाट प्रेरित देखिन्छन्। यस्तो व्यवहारले शिक्षण सेवा, शैक्षिक वातावरण र संस्थागत मर्यादामा नै आँच पुर्याएको देखिन्छ।
मेरो नाम, पद, र व्यक्तित्वसँग सम्बन्धित आरोपहरू पूर्वाग्रही ढंगले प्रस्तुत गरिएको ‘स्वास्थ्य खबर’ मा साउन २ गते, २०८२ मा प्रकाशित उक्त समाचारको स्रोत जनस्वास्थ्य केन्द्रीय विभागका प्रमुख पौड्यालको पत्र हो, जुन व्यक्तिगत स्वार्थ र पूर्वाग्रहबाट लेखिएको स्पष्ट छ। समाचारमा मेरो पक्ष राख्ने कुनै प्रयास गरिएको छैन। तसर्थ उक्त समाचारमा उल्लेख भए वमोजिम विभागीय प्रमुखबाट म उपर लगाइएका आरोप र थप विबरणहरुको सम्बन्धमा निम्न बमोजिम बुँदागत रुपमा स्पष्ट पारेको छु।
१. नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटिको पत्र सम्बन्धमा: मैले आफ्नो सेवाको शुरुवात देखि नै नियमित रूपमा शिक्षण प्रशिक्षण कार्यमा संलग्न रही विद्यार्थीको हितमा कार्य गरिरहेको छु। नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटिको कार्यसमितिका अध्यक्ष वा कार्यसमितिबाट मेरो विरुद्ध त्यस्तो पत्राचार भएको छैन। साथै MPH /MPHN /MHPE का सम्पूर्ण विद्यार्थीको हस्ताक्षर भनेर दाबी गरिएको कुरालाई प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु। यस विषयमा कुनै छानबिन समेत नभएको हुदा कारबाही स्वरुप मलाइ MPH Coordinator बाट राजीनामा दिन लगाइएको भन्ने कुरामा सत्यता हुने कुरै भएन।
२. छानबिन समिति तथा अनिवार्य बिदा (Force Leave) – यस्तो कुनै समिति गठन गरिएको जानकारी मलाइ मौखिक वा लिखित रूपमा प्राप्त भएको छैन, न त मसँग कुनै छलफल गरिएको छ। यदि समितिको दाबी गरिन्छ भने त्यो मनगढन्ते र भ्रम सिर्जना गर्ने प्रयत्न मात्र हो। मलाइ कुनै किसिमको विदा वा force leave बस्न भनि मौखिक वा लिखित रुपमा जानकारी गराइएको थिएन।
३. परीक्षा कार्यमा संलग्नता: चि. शा. अ. सं. को परिक्षा नियन्त्रण महाशाखा बाट परिक्षा संचालन, प्रश्नपत्र निर्माण र कापी जाच गराइने र ती कार्यहरुको अनुगमन हुने व्यवस्था छ। सो सम्बन्धमा मलाइ उक्त महाशाखाबाट रोक लगाइएको अवस्था छैन। यस सम्बन्धमा कुनै उजुरी परि मेरो विरुद्ध छानबिन भएको अवस्था पनि छैन। चिकित्साशास्त्र अध्ययन संस्थान र चिकित्सा शिक्षा आयोगको मानक विपरित हुने गरि म लगायतका सम्बन्धित विषयका शिक्षकहरुलाई सम्बन्धित विषय र शैक्षिक कार्यक्रमको शैक्षिक र परिक्षा सम्बन्धी कार्यहरुमा संलग्न हुनबाट रोक लगाउन विभागीय प्रमुख पौड्यालले भरमग्दूर प्रयास गर्नुभएता पनि मलाइ त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले आवश्यकता बमोजिम नियमित रुपमा प्रश्नपत्र निर्माण, परिष्करण, आन्तरिक र बाह्य परीक्षक, विद्यावारिधि कार्यक्रमका शोधार्थीहरुको सुपरिवेक्षण, सम्बन्धन प्राप्त क्याम्पसहरुको शैक्षिक कार्यक्रमको अनुगमन, सम्बन्धन प्राप्त क्याम्पसहरुको विभिन्न तहका शिक्षकहरुको पद प्रमाणीकरण परिक्षा लगायतका शैक्षिक, प्राज्ञिक जिम्मेवारीहरु प्रदान गर्दै आएको छ। यसमा हाल सम्म पनि कहिल्यै कुनै रोक लगाएको अवस्था छैन।
४. फोटो/भिडियो खिच्ने विवाद: यस सम्बन्धमा मैले कुनै कक्षा अवरुद्ध नगरेको र आफ्नो फाइदाको लागि फोटो वा भिडियो खिचेको छैन। शिक्षक र विद्यार्थीहरुले स्वेच्छाले सामुहिक फोटो वा भिडियो खिच्नको लागि कुनै लिखित मंजुरिनामा चाहिदैन। यस सम्बन्धमा कुनै विद्यार्थी वा शिक्षकबाट आपत्ति जनाउने वा उजुरी गर्ने कार्य भएको थिएन तर विभागीय प्रमुखबाट पदीय हैसियतको दुरुपयोग गर्दै मलाइ अनुचित दबाब दिई उक्त फोटो र भिडियो मेटाउन भनिएकोमा विवाद समाधान गर्ने उद्देश्यले मैले उक्त फोटो, भिडियो मेटाएको थिए। यद्यपी मलाइ यसरि अनुचित दिइनु कार्यस्थलमा भएको दुर्व्यवहारको उदाहरण हो।
५. कक्षा सञ्चालन तथा तालिकाबारे पूर्वाग्रही व्यवहार: मैले शिक्षण सेवामा प्रवेश गरेका मिति देखि नै नियमित रुपमा कक्षा तालिका बमोजिम कक्षा लिने र अन्य शैक्षिक, प्राज्ञिक कामहरु नियमित गर्ने गरिरहेको छु। यद्यपि पौड्याल विभागीय प्रमुख नियुक्त भएपछि मलाइ शैक्षिक र परिक्षा सम्बन्धि कामहरुबाट बन्चित गर्ने, कक्षा तालिका बाट मेरो कक्षाहरु हटाउने कार्य गरियो, जसले मेरो मनोबलमा प्रभाव पार्न खोजिएको बुझिन्छ। अतः यदि मेरो विरुद्ध तथ्यहीन आरोपसहित पत्राचार गरिएको भए पनि, सो कार्य पूर्वाग्रहबाट प्रेरित र निष्पक्षता विरोधी हुन जान्छ।
६. आरोप स्पष्ट उल्लेख नगरिएको प्रसंग: ममाथि क्याम्पस कार्यालय, डीन कार्यालय वा अन्य सम्बन्धित निकायबाट कुनै प्रकारको सोधपुछ वा छानबिन गरिएको छैन। यस्तो अवस्थामै मेरो विरुद्ध पत्राचारमा आधारित कपोलकल्पित र अस्पष्ट आरोपहरू प्रस्तुत गरिनु, भ्रान्ति फैलाउने प्रयासका रूपमा स्पष्ट देखिन्छ ।
७ र ८. सहलेखक सम्बन्धी विवाद: विश्वविद्यालय अनुदान आयोग (UGC) को अनुसन्धान २ जनालाइ co -investigator को भूमिकामा संलग्न गरेको र प्रतिवेदनमा समेत दुवै जना co -investigator को नाम सह लेखकको रुपमा राखि UGC मा प्रतिवेदन बुझाएको र नियमानुसारको पारिश्रमिक समेत उपलब्ध गराएको। तर दुवै जना co -investigator ले नीजहरु समेत सह लेखक भएको सो प्रतिवेदन UGC मा बुझाइ परियोजना टुंगो लागे पश्चात प्रकाशन प्रक्रियामा समय दिन नसक्ने भन्दै सहलेखकले सहभागिता नजनाएका कारण मैले नै manuscript तयार गरी प्रकाशन प्रक्रिया अघि बढाउनु पर्यो। अनुसन्धान गरिसकेपछि प्रकाशित गर्नु एक अनुसन्धानकर्ताको नैतिक दायित्व समेत भएको हुदा म मुख्य अनुसन्धानकर्ता रहेको उक्त अनुसन्धान परियोजनाको मैले manuscript तयार गर्ने, समीक्षा पश्चात परिमार्जन गर्ने लगायत प्रकाशनका सम्पूर्ण कार्यको जिम्मा लिई नीजहरुलाई उचित acknowledgement गरि सो अनुसन्धानका परिणाम प्रकाशन गर्ने कार्य गरेको थिए। सम्बन्धित निकायहरूले यस विषयमा निष्कर्ष दिइसकेका छन्, जसमा ममाथि कुनै दोष देखाइएको छैन।
९. असहज घटनाको संयमपूर्ण व्यवस्थापन: मिति २०८०-०८-२६ मा म आफ्नो कार्यकक्षमा कार्यालय समयमा नियमित पठन-पाठनका विषयमा सहकर्मीहरूसँग छलफलमा संलग्न थिएँ। सोही क्रममा समुदाय चिकित्सा विभागका प्रमुख डा. खेम बहादुर कार्की शिष्टाचार नअपनाई र कुनै पूर्व जानकारी नदिई मेरो कार्यकक्षमा जबर्जस्ती प्रवेश गर्नुभयो। यद्यपि परिस्थिति असहज हुँदाहुँदै पनि मैले संयमपूर्वक प्रतिक्रिया दिई वातावरण शान्त राख्ने प्रयास गरेको थिएँ।
१०. दर्ता-चलानी पुस्तिका र छापसम्बन्धी आरोप: विभागमा रहेका तहगत कर्मचारीहरू जिम्मेवार हुने दर्ता-चलानी प्रक्रिया सम्बन्धमा मलाई दर्ता पुस्तिका वा छाप कब्जामा लिएको भन्ने आरोप पूर्णतः असत्य हो।
मैले डीन कार्यालयसँग समन्वयविना कुनै सिफारिस गरेको छैन। कनिष्ठ शिक्षकको पदोन्नति सम्बन्धी मेरो भूमिकालाई पनि गलत ढंगबाट प्रस्तुत गरिएको छ — जबकि मैले प्रमुख पदमा रहँदा मात्र होइन, अन्य समयमा पनि वृत्ति विकासका प्रयासलाई सधैं सकारात्मक रूपमा सहयोग गर्दै आएको छु। मैले कुनै शिक्षकको गोपनीयता उल्लङ्घन गर्ने वा जबर्जस्ती फाइल लिने कार्य गरेको छैन।
११. पत्र हराएको विषयमा आरोप: दर्ता वा चलानी प्रक्रिया कार्यालयका सम्बद्ध कर्मचारीबाट सञ्चालन हुने परिपाटी अनुसार नै हुने गर्दछ। २०८१ बैशाख १ गतेदेखि विभागीय प्रमुखका रूपमा कार्यरत श्री पौड्यालले सात महिनापछि कार्तिक महिनाको अन्त्यतिर चिट्ठीपत्र र कागजात हराएको भनी मलाइ दोष दिइएको कार्य उहाँकै व्यवस्थापकीय कमजोरी लुकाउने प्रयत्न देखिन्छ। झुटा दाबी र त्यसको आधारमा स्पष्टिकरणको माग गर्न गरिएको पत्राचार प्रतिशोधात्मक र पदीय दुरुपयोगको उदाहरण हो।
१२. थेसिस प्रपोजल प्रस्तुतीकरण: २०६१ बाट २०८१ सम्म थेसिस प्रपोजलका प्रस्तुतीकरणहरूको तालिका केवल एउटा सूचनाको आधारमा तयार गरिएको भन्ने दाबी यथार्थपरक छैन। विशेषतः, म वि.सं. २०६१ मा त्रि.वि. मा शिक्षकको हैसियतमा कार्यरत नै थिइनँ। मिति २०८१/०५/२४ र २०८१/०५/२५ का लागि प्रस्तुतीकरण कार्यक्रम तय गरि छोटो समय दिइ इमेल बाट जानकारी दिएको भए पनि, वास्तवमा सो कार्यक्रम तीन दिनसम्म सञ्चालन गरिएको थियो। उक्त अवधिभर विभागीय प्रमुख स्वयं विभागमा अनुपस्थित रहेकाले, कार्यक्रम सकिएको दुई महिनापछि मेरो अनुपस्थितिको विषयमा स्पष्टीकरण माग्ने कार्य प्रक्रियागत दृष्टिले असंगत र हास्यास्पद देखिन्छ। साथै, प्रारम्भिक पत्रमा मैले कुनै कक्षा नलिएको भनी आरोप लगाइएपनि पछि त्यस विपरीत प्रमाणहरू देखाएपछि दाबी फिर्ता लिइ यौटै आरोपमा फरक फरक स्पष्टिकरण सोध्ने कार्य भएको छ। यसपछि नयाँ आशयको पत्र तयार गरी जस्तोसुकै विधिबाट नसीहत दिने उद्देश्यले पत्र तयार गरिनु नियतमाथि प्रश्न उठाउने विषय हो। साथै, त्रि.वि.को प्रचलित नियम अनुसार विभागीय प्रमुखलाई शिक्षकमाथि विभागीय कारवाही वा नसीहत दिने अधिकार छैन। यस सम्बन्धमा उल्लिखित सम्पूर्ण यथार्थ विवरण खुलाएर जनस्वास्थ्य केन्द्रीय विभाग तथा विश्वविद्यालयका सम्बन्धित निकायहरूमा मैले औपचारिक पत्राचार गरिसकेको छु। तसर्थ, ममाथि नसीहत दिइएको भनी उल्लेख गरिएको पत्रको कुनै विधिसम्मत औचित्य नरहेको विषय अब स्पष्ट भइसकेको छ।
१३. माइन्युट पुस्तिकासम्बन्धी आरोप: मेरो कार्यकालमा विभागीय माइन्युट लेखन तथा माइन्युट पुस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित कर्मचारीहरूमार्फत नियमित रूपमा सम्पन्न हुने परिपाटी थियो। विभागीय प्रमुखका रूपमा श्री पौड्यालले नियुक्ति लिएपछि करिब सात महिनापछि मसँग माइन्युट पुस्तिका मागिनु, र त्यसको अभावमा मलाई आरोपित गर्दै “बढुवा रोक्का गरिएको” भन्ने पत्राचार गरिनु बदनियतपूर्ण प्रयास बाहेक केही होइन भन्ने देखिन्छ।
यसअघि उल्लेख गरिएअनुसार, त्रिवि ऐन तथा नियममा विभागीय कारवाहीसम्बन्धी अधिकारका विषयमा स्पष्ट व्यवस्था रहेको हुँदा आफूसँग सो अधिकार नै नरहेको प्रसङ्गमा निर्णय गर्नु नियम विपरीत कार्य ठहर्छ। साथै, त्रिवि सेवा आयोगबाट प्राध्यापक पदको विज्ञापन सार्वजनिक भइसकेपछि, पुरानो मिति राखी बढुवा रोक्का गरिएको भनी पत्राचार गर्नुले उहाँको मेरो वृत्ति विकासमा अवरोध पुर्याउने मनसाय प्रकट गर्दछ। यसबाट प्रष्ट हुन्छ कि सो कार्य व्यक्तिगत प्रतिशोधका आधारमा प्रेरित भएर गरिएको छ।
१४. आरोप नै उल्लेख नभएको बुँदा: यो बुँदामा मलाइ लक्षित आरोपसमेत उल्लेख नगरिएको हुँदा खण्डन आवश्यक छैन। साथै, यससम्बन्धमा कुनै मौखिक वा लिखित सोधपुछ पनि प्राप्त भएको छैन।
१५ र १६. PhD सिफारिससम्बन्धी आरोप: ममाथि अनुचित लाभ लिई PhD defense सिफारिस गराएको भन्ने दाबी पूर्णतः निराधार छ। यस सम्बन्धमा कुनै प्रमाण छैन। मलाइ कुनै पनि सम्बन्धित निकायबाट प्रश्न वा जानकारी माग गरिएको अवस्था छैन। यस्ता दाबीहरू प्रमाणित गरेर देखाउन चुनौती दिन चाहन्छु।
१७. समग्र संस्थागत व्यवहार:
मेरो विरुद्ध विभागीय प्रमुखद्वारा बारम्बार गरिएको आरोपसहितको पत्राचार, व्यवस्थापकीय बहिष्कारका प्रयास, शैक्षिक तथा अनुसन्धान गतिविधिमा अवरोध सिर्जना गर्ने कार्य, र त्रास सिर्जना गर्ने शैलीका पत्रहरूले समग्र रूपमा कार्यस्थलमा प्रतिकूल वातावरण निर्माण गरेको छ। यी कार्यहरू निष्पक्ष प्रशासनिक प्रक्रिया तथा विश्वविद्यालयको संस्थागत आचरणसँग मेल नखाने प्रकृतिका हुन्
PhD शोधार्थीप्रति विभागीय नेतृत्वको दायित्व:
वि.सं. २०७५ देखि हालसम्म विभागीय प्रमुखको जिम्मेवारी पटक पटक सम्हाल्नुभएका श्री पौड्यालले जनस्वास्थ्य विभागअन्तर्गत अध्ययनरत PhD शोधार्थीहरूको पठन–पाठन तथा अनुसन्धानमा उत्पन्न जटिलता समाधान तथा समन्वय प्रक्रियामा के कस्तो सहजीकरण गर्नुभयो भन्ने विषयमा उहाँ स्वयंले आत्मसमीक्षा गर्न अनुरोध गर्दछु।
पटक–पटक मौखिक तथा लिखित रूपमा प्रस्तुत भएका शोधार्थीहरूको अनुरोधहरूप्रति उहाँको प्रतिक्रिया, सहकार्य, र व्यवस्थापकीय मार्गदर्शन विश्वविद्यालयको शैक्षिक उत्तरदायित्वसँग सिधा जोडिएको विषय हो।
मैले PhD शोधार्थीको सुपरिवेक्षकको रूपमा काम गर्दै केही अवधिका लागि विभागीय प्रमुखको भूमिका पनि सम्हालेको हुँदा, उनीहरूको अध्ययन कार्यलाई निष्कर्षमा पु¥याउन आवश्यक सहजीकरण गर्नु मेरो स्वाभाविक कर्तव्य हो। उल्लेखित सन्दर्भहरूमा मेरा सबै कार्यहरू चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयसँगको नियमित समन्वय तथा परामर्शमा आधारित रहेका थिए।
मुद्दा नं ०७८-WO-१४४३ को प्रसङ्ग:
उक्त मुद्दा ‘त्रि वि केन्द्रीय विभाग प्रमुख तथा विभागीय प्रमुख सम्बन्धी विनियम २०७८’ खारेजीसम्बन्धी होइन, र २०८१-०९-०७ को अवस्था अनुसार निवेदन फिर्ता भएको देखिन्छ। त्यसका आधारमा विनियमको औचित्यता समाप्त भएको भनी गरिएको दाबी भ्रामक र त्रुटिपूर्ण हो।
समापन:
विभागीय प्रमुखद्वारा पटक–पटक गरिएका पत्राचार, कार्यबाट बञ्चित गराउने प्रयास, अनुसन्धान तथा बढुवा प्रक्रियामा उत्पन्न व्यवधान, तथा त्रास सिर्जना गर्ने अभिव्यक्तिहरूले कार्यस्थलमा व्यावसायिक सम्मान, समन्वय र निष्पक्षताको मर्मविपरीत असर पुर्याएका छन्। यस्तो निरन्तर व्यवहार नीतिगत मात्र नभई कार्यसंस्कृति विरुद्धको दृष्टान्त हो।
आजसम्म विश्वविद्यालय वा राज्यका कुनै पनि निकायबाट ममाथि गैरकानूनी कार्यको आरोप प्रमाणित भएको छैन। श्री पौड्यालद्वारा लगाएका आरोपहरू व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित देखिन्छन्, जसले मेरो सामाजिक प्रतिष्ठा, पेशागत छवि, र नेतृत्व क्षमतामाथि अनावश्यक आघात पुर्याउने उद्देश्य समेटेको स्पष्ट छ। उल्लिखित विषयहरूमा सम्बन्धित संस्थागत निकायहरूले विधिसम्मत प्रक्रियाबाट निष्पक्ष निर्णय गर्नेछन्, र नागरिक समाज स्वयंले तथ्य र नियमनको प्रकाशमा यथोचित मूल्याङ्कन गर्नेछ भन्ने विषयमा म पूर्णतः आश्वस्त छु।
डा. विष्णु प्रसाद चौलागाईं, सह प्राध्यापक
त्रि.वि., चिकित्साशास्त्र अध्ययन संस्थान जनस्वास्थ्य केन्द्रीय विभाग
यो पनि:
जनस्वास्थ्य विभागका चौलागाईंमाथि १६ बुँदे आरोप र कारबाहीको विवरण पत्र डिन कार्यालयमा
सामाग्री श्रोत :
swasthyakhabar

