२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

मोड एपीके चलाउँदा छोराको फोन ह्याक, अपहरण गरेको भन्दै आमासँग मागे १० लाख फिरौती (नालीबेली)

काठमाडौँ । १६ वर्षीय रोहन घिमिरे (नाम परिवर्तन) को एसईईको परीक्षा १९ चैत २०८१ मा सकियो । जाँच सकिनासाथ उनले स्मार्टफोन किनिदिन भन्दै घरमा जिद्दी गरे । “पहिले एसईईको परीक्षा देऊ, त्यतिबेलासम्म मेरै फोन चलाऊ,” आमाले सम्झाउँदै रोहनलाई भनेकी थिइन्, “परीक्षा सकिएपछि फोन किनौँला ।”

आमाको यही कुरा रोहनले मनमा साँचेर राखेका थिए । त्यसैले एसईई सकिनासाथ स्मार्टफोन हात पर्ने आशामा थिए । त्यही आश बोकेर रोहनले आमा ममता घिमिरे (नाम परिवर्तन) लाई फोन खरिद गर्न ढिपी कसे । केही दिन ममताले उनको कुरा वास्ता गरिनन् । तर, रोहन फोनकै लागि रुन थाले । खाना पनि नखाने भन्दै सताउन थाले । भएको एउटा छोरो, आफैँले किनिदिने भनेर वचनसमेत दिइसकेकी ममतालाई फोन खरिद गर्न कर लाग्यो । र, वैशाख पहिलो साता उनले छोराका लागि नयाँ फोन किनिदिइन् ।

प्रायः साथी पनि नबनाउने, खासै बाहिर पनि नजाने रोहनलाई फोन गज्जबको साथी बन्यो । धादिङको एक विद्यालयमा प्रधानाध्यापक रहेका उनका बुबा घरमा हुँदैनथे । उनीहरूको घर चन्द्रागिरि-८ मातातीर्थमा छ । यता ममता भने एक स्टिल उद्योगमा स्टोरकिपरको काम गर्छिन् । 

एसईईपछिको खाली समय भएकाले रोहनलाई घर कुर्ने जिम्मेवारी थियो । उनी फोनमा भुल्न थाले । फेसबुक, इन्स्टाग्राम अकाउन्ट पहिले नै खोलिसकेका रोहनले यी अकाउन्ट आफ्नो नयाँ फोनमा लगइन गरे । साथीहरूसँग जोडिन फेसबुक चलाउने उनी आफूलाई मन पर्ने पेजहरू फलो गर्न इन्स्टाग्रामको भर पर्थे । इन्स्टाग्रामका पनि रिल्सहरूमा देखिने विभिन्न किसिमका मनोरञ्जनात्मक र ज्ञानवर्धक रिल्सले उनको ध्यान खिच्थ्यो ।

“खाली भएकाले र अनलाइनमै रहिरहने भएकाले म त्यहीँबाट पैसा कमाउने तरिका खोज्थेँ,” रिल्स हेर्नुका पछाडिको कारणबारे रोहन भन्छन्, “त्यहीँ कहिले प्रिमियम एप फ्रिमा चलाउन सकिने टिप्स देखिन्थ्यो । कहिले फिल्म हेर्ने लिङ्क दिने भिडिओ आउँथे ।”

आफूलाई रुचि लागेका यस्ता सामग्री देख्नासाथ रोहन कमेन्ट गर्थे र इनबक्समा मेसेज पठाइहाल्थे । त्यहीँबाट उनलाई भिडिओ बनाउने कन्टेन्ट क्रियटरले लिङ्क पनि उपलब्ध गराइदिन्थे । 

यही सिलसिलामा रोहनले एक पटक इन्स्टाग्राममा स्पोटिफाई (म्युजिक स्ट्रिमिङ प्लेटफर्म) को प्रिमियम सेवा निःशुल्क प्रयोग गर्न सकिने विषयमा तयार पारिएको एउटा रिल देखे । नयाँ पुस्तामाझ चर्चित यो एप चलाउन रोहनलाई पनि इच्छा जाग्यो र उनले त्यो टिप्स दिने कन्टेन्ट क्रिएटरको पोस्टमा कमेन्ट गरे । तत्कालै उनको इनबक्समा एउटा लिङ्क आयो । रोहनले त्यही लिङ्कबाट स्पोटिफाई डाउनलोड गरी आफ्नो अकाउन्ट लग-इन गरेर चलाउन थाले । यसरी उनले आफ्नो डिभाइसमा मोडिफाई गरिएको एप (मोडेड एपीके) इन्स्टल गरे ।

५ साउन २०८२, सोमबार बेलुका रोहनले टिकटकमा ‘कमेडी दरबार’को एउटा विज्ञापन देखे । भिडिओमा मङ्गलबार पुतलीसडकस्थित स्टार मलको तेस्रो तलामा उक्त कार्यक्रमको शुटिङ हुने र त्यहाँ प्रवेश निःशुल्क रहेको बताइएको थियो ।

कक्षा ११ मा भर्ना भइनसकेको बेला उपयुक्त कलेजको खोजीमा रहेका रोहनलाई फोनमा समय बिताउनुभन्दा शुटिङ हेर्न जानु ठीक लाग्यो । त्यसैले बहिनीलाई भोलिपल्ट ‘कमेडी दरबार’को शुटिङ हेर्न जान लागेको कुरा सुनाए । युट्युब र टिकटकमा ‘कमेडी दरबार’का छोटा क्लिपहरू हेरेर रोहन निकै उत्साहित थिए । त्यसमाथि निःशुल्क शुटिङ नै हेर्न पाइने भएपछि उनी झनै दङ्ग परे ।

यही उत्साहको कुरा रोहनले आमालाई पनि सुनाए । घरमा एक्लै बस्नुभन्दा छोरालाई समय बिताउन र रमाइलो गर्न सहज हुन्छ भन्ने सोचेर ममताले पनि ‘हुन्छ, जाऊ न त’ भन्दै अनुमति दिइन् ।

 

६ साउन २०८२, मङ्गलबार बिहान ८ः०५ बजे खाना खाइसकेपछि कालो जिन्सको पाइन्ट, ओभरसाइज्ड सेतो टिसर्ट र खैरो ज्याकेट लगाएर रोहन आमा ममतासम्म पुगे । र, जाने भाडा मागे । आमाले उनलाई पैसा दिइन् । अनि रोहन ‘गएँ है, ममी’ भन्दै घरबाट निस्किए । घरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको बसपार्कमा गए । र, ८ः३० बजे पसलबाट सेन्टरफ्रुट किनेर बस चढे अनि नागपोखरीतर्फ लागे ।

एक घण्टा १० मिनेट लगाएर नागपोखरी पुगेका उनी पुतलीसडकतर्फ लागे र ९ः५७ मिनेटमा स्टारमलमा पुगे । “म पग्ने बेला अरू मान्छेहरू पनि आइरहेका थिए,” रोहनले भने, “गेस्ट नआएकाले समय लाग्छ भन्नुभयो । लगभग ११ः३० बजे कार्यक्रम सुरु भयो ।”

झन्डै डेढ घण्टा पर्खिएपछि कार्यक्रम सुरु भयो । कार्यक्रम सुरु हुनासाथ आयोजकले फोन अफ गर्न अनुरोध गरे । शुटिङ हेर्न दर्शकदीर्घामा बसेका सबै फोन निकालेर अफ गर्न तथा फ्लाइट मोडमा राख्न थाले । रोहनले पनि आफ्नो फोन स्विच अफ गरे । र, कार्यक्रमको आनन्द लिन थाले ।  

ठिक १२ बजे ममतालाई ‌+९२ ३१४ ३३६५१३१ बाट ह्वाट्सएपमा भिडिओ कल आयो । स्टोर किपरको काम भएकाले ममताले प्रायः अपरिचित व्यक्ति (ग्राहक) सँग ह्वाट्सएपमा सम्पर्क गरिरहनु पर्थ्यो । उनको ध्यान नम्बरमा गएन । बरु सहजै फोन उठाइन् । कलमा नेपाल प्रहरीको जस्तै निलो शर्ट लगाएका व्यक्ति देखिए । हिन्दी मिसिएको लर्बरिएको नेपालीमा ती व्यक्तिले सुरुमै ममताको मुटु छेड्ने शब्दवाण हाने । “तिमी ममता (वास्तविक नाम भन्दै) हौ हैन,” ती व्यक्तिले ममतालाई सोधे । ममताले ‘हो’ भन्ने जवाफ फर्काइन् । “तिम्रो छोरा ‘रोहन’ हाम्रो कब्जामा छ ! उसले अरू केटाहरूसँग मिलेर यो नानीको बलात्कार गरेको छ । तिम्रो छोरा सोझो होला, तर अब उसलाई बचाउन पैसा दिनुपर्छ,” धम्कीको शैलीमा ती व्यक्तिले भने । 

शुटिङ हेर्न जान्छु भनेको छोरो एक्कासि अरूकै कब्जामा पुगेको खबर पाएपछि ममता आत्तिइन् । र, ‘खै मेरो छोरा कता छ ?’ भन्दै सोधीखोजी गरिन् । ती व्यक्तिले चार जना केटाहरूलाई एक जनाले लाठीले हिर्काईरहेको दृश्य देखाए । ‘तिम्रो छोरा यही होइन’ भन्दै रोहनले बिहान घरबाट लगाएर गएको ज्याकेटको पछाडिपट्टिको भाग देखाए । 

ममतालाई थप विश्वस्त बनाउन अस्पतालमा बिरामीलाई राखिने बेडमा एक युवतीले अक्सिजन मास्क लगाइरहेको देखाइयो । “यही केटी हो तिम्रो छोरा र अन्य केटाहरूले रेप गरेको,” अस्पतालको बेडमा अक्सिजन मास्क लगाएर छिटोछिटो स्वास फेरिरहेकी युवती तर्फ देखाउँदै ती व्यक्तिले भने । यति गर्दा पनि ममतालाई विश्वास लागेको थिएन । तर, उनी डराएकी थिइन् । 

“तिम्रो छोरो सोझो होला तर यसमा फसिसकेपछि बचाउन पैसा नै दिनुपर्छ भन्यो उसले,” भिडिओ कल गर्ने अपरिचित व्यक्तिको कुरा उद्धृत गर्दै ममताले भनिन्, “उसले केटी छटपटाइरहेको भिडिओ देखायो, एक जनाले चार जनालाई पछाडिबाट लाठीले हिर्काइरहेको पनि देखायो । मेरो छोराको अनुहार भने देखाएन ।” 

ममतालाई विश्वास नलागेपछि रोहनले रुँदै ‘ममी, ममी’ भनेको सुनाइयो । छोराकै आवाज ममताले ठम्याइहालिन् । यतिन्जेल सम्हालिएकी ममताको अब भने होस् हवास उड्यो, आफूलाई सम्हाल्न सकिनन् । र, ‘के गर्नु पर्‍यो ?’ भनेर सोधिन् । ती व्यक्तिले ह्वाट्सएपमै स्क्रिन शेयर गर्न सिकाए । ममताले स्क्रिन शेयर गर्न थालिन् । त्यसपछि उक्त व्यक्तिले मोबाइलमा भएको बैँकिङ एप खोल्न लगायो । ममताले लगइन विवरण राखेर एप खोलिन् । तर, खातामा जम्मा ३४ रुपैयाँ देखियो ।

खातामा अपेक्षा गरे अनुसारको पैसा नभेटिएपछि अपहरण गरेको दाबी गर्ने व्यक्तिले अर्को बैँकिङ एप खोल्न भन्यो । ममताले आफूसँगै एउटा बाहेक अर्को कुनै बैँकिङ एप नभएको सुनाइन् । “मलाई अरू थाहा छैन । तत्काल १० लाख रुपैयाँ जम्मा गर ! कतै फोन गरिस् वा कसैलाई भनिस् भने तेरो छोरो जिउँदो रहँदैन । तँसँग जम्मा आठ मिनेट छ,” पहिले बहिनी, तिमी भन्दै बोलेको अपहरणकारी एक्कासि धम्कीको शैलीमा बोल्न थाल्यो । 

“मसँग खातामा पैसा छैन । पैसा हाल्दिनु भन्नलाई कसैलाई त फोन गर्नु पर्‍यो । कसैलाई नभनेर, कसैलाई फोन नै नगरेर म कसरी जम्मा गर्न सक्छु त्यत्रो पैसा ?,” ममताले आँट गरेर जवाफ फर्काइन् । “कसरी हुन्छ थाहा छैन । तर, जम्मा गर् । तसँग आठ मिनेट मात्र बाँकी छ,” अपहरणकारीले त्रास देखायो, “एकान्तमा गएर फोन गर् । जति सक्दो छिटो जम्मा गर् । नत्र राष्ट्रिय टेलिभिजनमा तेरो छोरा कुन अवस्थामा छ, आधा घण्टामा देख्छेस् ।” तोकिएको रकम खातामा राखेर आफूले भने अनुसारको काम गर्न अपहरणकारीले उर्दी दिइरहेको थियो ।

‘म एकछिनमै फोन गर्छु’ भन्दै ममताले फोन काटिन् । यतिबेलासम्म उक्त कलमा २४ मिनेट बितिसकेको थियो । फोन काट्नासाथ ममताले आफू काम गर्ने ठाउँको टेलिफोनबाट १२ः२६ मा श्रीमानको नम्बर डायल गरिन् । लगत्तै अपहरणकारीले भ्वाइस कल गर्‍यो । र, ‘समय घट्दैछ’ भन्दै पैसाको बन्दोबस्त छिटोभन्दा छिटो गर्न चेतावनी दियो । र, कल गरेको ७ सेकेन्डमै काट्यो । यो कल ममताका श्रीमानले पनि सुने । १२ः२६ मा अपहरणकारीले फेरि अडियो कल गर्‍यो । तर, ममता यतिबेला छोरालाई फोन गरिरहेकी थिइन् । फोन अफ भएको जानकारी आएपछि ममतको मस्तिष्कमा छोरा मात्र देखिन थाल्यो । 

‘पैसाको व्यवस्थापन कसरी गर्ने’ ममता तनाबले झनै छटपटाउन थालिन् । र, छिमेकी समेत रहेका आफन्तलाई उनले घटनाको बेलीविस्तार लगाइन् । छिमेकीले नजिकैको प्रहरी कार्यालय जान सुझाए । तर, ममताको मनमा डर पसिसकेको थियो । 

अपहरणकारीले कसैलाई भनेको थाहा पाए ‘छोराको चिनिनै नसकिने अनुहार राष्ट्रिय टेलिभिजनमा हेर्नुपर्ला’ भन्दै चेतावनी दिएका थिए । त्यसैले कसैलाई भन्नुभन्दा बरु रकम दिएरै भए पनि छोरालाई छुटाउँछु भन्ने ममताले ठानेकी थिइन् । तर, छिमेकीले ढाडस दिएपछि उनी प्रहरी वृत्त थानकोट जान तयार भइन् । छिमेकी पनि साथमै प्रहरी कार्यालय पुगे । यतिबेला दिउसो १ः१७ मिनेट गइसकेको थियो । 

उनै छिमेकीले कोटेश्वरमा रहेका ममताका एक आफन्तलाई घटनाको बेलीविस्तार सुनाएका थिए । उनै अर्का आफन्त प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका युवकको छिटोभन्दा छिटो उद्धार गर्न सक्छ भन्ने विश्वासले खबर गरी हिँडे । र, दिउँसो १:२० बजे उनीहरू टेकुस्थित प्रहरी कार्यालयमा पुगे । 

ममता र एक आफन्तले थानकोट प्रहरीलाई घटनाको बेलीविस्तार लगाए । यता अर्का आफन्तले टेकु प्रहरीलाई त्यसरी नै घटना विवरण सुनाए । टेकु प्रहरीमा इन्स्पेक्टर विदुर शिवाकोटीको नेतृत्वमा तत्काल अनुसन्धान र खोजी कार्य अघि बढ्यो ।

थानकोट प्रहरी अपहरणकारीको फोनको प्रतीक्षा गरिरहेको थियो । ममताको ह्वाट्सएपबाट अपहरणकारीलाई फोन गर्दा उठिरहेको थिएन । तर, मेसेज पठाउँदा सिन भइरहेको थियो । उताबाट कुनै जवाफ आएन । अन्तिम पटक १ः२२ मिनेटमा भ्वाइस कल उठ्यो । तर, ममताले फोन गरेको बिर्सिइन् । यो कल झन्डै २० सेकेन्डसम्म चल्यो र, काटियो ।

यता टेकु प्रहरी भने रोहनको नम्बर ट्रेस गर्न, कल डिटेल रेकर्ड (सीडीआर) निकाल्नतर्फ लाग्यो । सबै काम टेकु प्रहरीबाट हुने भएकाले थानकोटमै ममता अल्झिँदा अपहरणकारीले कुनै गलत कदम चाल्ने डर थियो । त्यसैले मोबाइलमा ह्वाट्सएप कल पर्खेर बाँकी विवरण निकाल्नु थानकोट प्रहरीका लागि पनि चुनौती थियो । अपहरणकारीले जसरी ‘टर्चर’ दिएको देखाएर ‘टेलिभिजनमा छोराको नचिनिने अनुहार देख्नुपर्ला’ भन्दै धम्की दिएको थियो, त्यसका अघि थानकोट प्रहरीलाई समय खर्चेर जोखिम लिनु उपयुक्त लागेन । र, जतिसक्दो चाँडो टेकु प्रहरीमै जान सुझाव दियो । यता टेकु प्रहरीले ममताबाट अन्य सूक्ष्म विवरण निकाल्ने प्रयास गर्‍यो । तर, ममता फोनमा आत्तिई रहेकी थिइन् । आफन्तहरूले हरेक पटक फरक फरक विवरण दिन थालेपछि प्रहरीलाई सही विवरण के हो भन्ने पहिल्याउनै सकस परिरहेको थियो । त्यसैले ममता नै भौतिक रूपमा उपस्थित भएर थप विवरण दिए प्रहरीलाई अनुसन्धान गर्न सहज हुने देखियो । र, उनलाई जतिसक्दो चाँडो टेकु प्रहरी आउन भनियो । 

अपहरणकारीले जुन ह्वाट्सएप नम्बरबाट सम्पर्क गरेको थियो, त्यसको विवरण निकाल्न इन्स्पेक्टर शिवाकोटीले पाकिस्तानको प्रहरीलाई सम्पर्क गरे । “हामी मिसनमा गएको बेला सँगै थियौँ,” घटनाबारे जानकारी दिँदै इन्स्पेक्टर शिवाकोटीले भने, “उता सम्पर्क गर्नासाथ उक्त नम्बर कसको नाममा छ भन्ने विवरण आयो ।”

इन्स्पेक्टर शिवाकोटीले अहिले उक्त नम्बरको अवस्था के छ अनि कुन आईएमईआई नम्बर भएको मोबाइलमा सिम राखिएको छ भन्ने विवरण मागे । तर, यो विवरण उपलब्ध गराउन २४ घण्टासम्म लाग्ने जानकारी आयो । उक्त नम्बरबाट खोलिएको ह्वाट्सएप कुन आईपी एड्रेसबाट चलिरहेको छ भन्ने विवरण निकाल्न झनै सकस थियो । 

यता रोहनको नम्बर १०ः३४ पछि कुन अवस्थामा छ भन्ने विवरण फेला परेन । अन्तिम लोकेसन घर नजिककै देखियो । घर नजिकैबाट अपहरणमा परेको आशङ्कासहित ममता टेकु प्रहरी आउनुभन्दा अगाडि नै २ः०० बजे तिर प्रहरीको एक टोकी उनका आफन्तसहित चन्द्रागिरि-८ तिर लागिसकेको थियो । 

२ः१२ बजे ममता टेकु प्रहरीमा आइपुगिन् । इन्स्पेक्टर शिवाकोटीले अपहरणकारीसँग भएको ह्वाट्सएप च्याट हेरे । र, केही विवरण सोधे । 

“बाबुको कुनै कुरामा जिद्दी गर्ने बानी थियो ?,” शिवाकोटीले ममतालाई सोधे । 

“त्यस्तो थिएन सर । मोबाइल किन्दिनु भनेर रोएको चाहिँ थियो । अरू त्यस्तो कुनै कुरामा जिद्दी गरेको थिएन,” ममताले जवाफ फर्काइन् ।

“बाबुको साथीबारे केही थाहा छ ? तपाईँले चिनेको नजिकको साथी कोही छ ? वा घर आउजाउ गर्ने कुनै साथी छन् ?,” शिवाकोटी । 

“छैन, सर” ममता ।

“बाबुको प्रेमिका भएको वा त्यस्तै केही बानी भएको थाहा छ कि ?” शिवाकोटी । 

“छैन, सर ।” ममता ।

“बाबु के गर्थ्यो प्रायः ? शुटिङमा जाने भनेको रहेछ । कुनै फिल्म लाइन तिर रुचि थियो कि ? एक्टिङ गर्ने, भिडिओ बनाउने गरेको थियो ?” शिवाकोटी ।

“छैन, सर” ममता । 

प्रहरीले सोधेका प्रायः हरेक प्रश्नमा ममताको जवाफ ‘छैन, सर’ नै हुन्थ्यो । उनीहरू न त कुनै प्रतिष्ठित घरानाका थिए, न उनीहरूसँग महिनामा लाखौँ कमाउने जागिर नै थियो । न त आर्थिक रूपमा प्रभाव पार्न सक्ने कुनै ओहोदामा थिए ।

‘काठमाडौँमा दिनदहाडै, फिल्मी शैलीमा भ्यानमा राखेर अपहरण गरियो’ भन्ने अड्कलमा प्रहरीलाई रत्तिभर विश्वास लागेको थिएन । कतै साथीहरूसँगको मिलेमतोमा रोहन आफैँ पो यो घटनामा संलग्न छन् कि भन्ने आशङ्का बढ्दै गयो । अपहरणकारीले ह्वाट्सएपमा कल गर्ने तरिका र रकम माग गर्ने शैली हेर्दा यो घटना अन्य अपहरणभन्दा फरक र अस्वाभाविक देखिन्थ्यो । सुरुमा १० लाख मागेको अपहरणकारीले पछि ‘एक लाख भए पनि हुन्छ । छिटो गर’ भन्नुले प्रहरीलाई यो वास्तविक अपहरण होइन कि भनेर शङ्का गर्ने बलियो आधार दियो । यद्यपि घटनालाई हल्का रूपमा नलिएर प्रहरीले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्यो ।

ममतालाई रोहनले शुटिङ हेर्न जान्छु भनेको मात्र याद थियो । शुटिङ, त्यो पनि पुतलीसडकमा भन्ने बुझेपछि उनका एक आफन्तले कमेडी दरबारको शुटिङ सम्झिए । र, टिकटकमा आफूले हेरेको भिडिओ देखाए । भिडिओमा कमेडियन उत्सव सापकोटा र मिस पबीले स्टारमलमा मङ्गलबार बिहान १० बजे र २ बजे शुटिङ हुने तथा निःशुल्क प्रवेश पाइने भन्दै प्रचार गरेको देखियो । तर, त्यहीँ नै गएका हुन् भन्नेमा शत प्रतिशत कोही पनि ढुक्क थिएनन् । रोहनले बहिनीलाई शुटिङको बारेमा भनेकाले उनैलाई थाहा हुन सक्ने अड्कल ममताले काटिन् । कक्षा ५ मा पढ्दै गरेकी उनलाई रोहनले भनेको ठाउँ याद छ भन्नेमा विश्वास थियो । र, स्कुलको नम्बरमा सम्पर्क गरी कुरा गराइदिन अनुरोध गरिन् । स्कुल प्रशासनले तत्कालै रोहनकी बहिनीलाई बोलायो । र, कुरा गरायो । रोहनकी बहिनीले दाइले ‘कमेडी दरबार’ हेर्न जाने भनेको कुरा स्मरण गरिन् । रोहन कमेडी दरबार नै हेर्न निस्किएका हुन् भन्ने पुष्टि भइसकेपछि प्रहरीको अर्को टोली २ः२० मा पुतलीसडकस्थित स्टार मलतर्फ लाग्यो, जहाँ कमेडी दरबारको शुटिङ चलिरहेको थियो ।

२ः५५ मा कमेडी दरबारको पहिलो शुटिङ सकियो । निस्किने चाहनेहरू निस्किँदै थिए । तर, रोहनलाई पहिलो शुटिङ राम्रो लागेकाले दोस्रो शुटिङ पनि हेर्ने चाह भयो । ब्रेक भएको समयमा मोबाइल अन गरे । ठ्याक्कै त्यही बेला अर्थात् २ः५७ मा रोहनलाई आमा ममताको फोन गयो । 

“बाबु, कता छस् ?” ममता ।

“म यहीँ पुतलीसडक,” रोहन ।

“के गर्दैछस् ?,” ममता ।

“कमेडी दरबारको शुटिङ हेर्दैछु,” रोहन ।

“दुई जना सरहरू त्यहाँ जानु भएको छ, पुलिस सरहरू हो । उहाँहरूसँगै आइज है,” ममता । 

“हस्,” रोहन । 

ठीक त्यही बेला, प्रहरीको एक टोली कमेडी दरबारको शुटिङ स्थल पुग्यो । आफ्नो परिचयपत्र देखाएर भित्र प्रवेश गर्नै लाग्दा उनीहरूले रोहनलाई भेटे र बाइकमा राखेर ३ः३० बजे टेकुस्थित कार्यालय ल्याइपुर्‍याए । 

रोहन सम्पर्कमा आउनासाथ अपहरण गरेको भन्ने व्यक्ति नै नक्कली हो र उसले डर देखाएर रकम लुट्न खोजेको थियो भन्ने प्रस्ट भइसकेको थियो । तर, रोहन र उनकी आमाको बारेमा उसले कसरी थाहा पायो ? नम्बर र नाम मिलाउन कसरी सम्भव भयो ? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा रोहनले फोन अफ गरेको थाहा पाएर कसरी त्यही बेला फोन गर्‍यो ? भन्ने प्रश्नले थुप्रै आशङ्का उब्जिए । 

सुरुमा प्रहरीले अनुमानको भरमा नम्बर डायल गर्दा संयोगवश कल लागेको र त्यसैको आधारमा झुक्याइएको हुनसक्ने अड्कल काट्यो । तर, अपहरणकारीले रोहनको आवाज र उनले लगाएको ज्याकेटको विवरण सही बताएकाले ममता विश्वस्त भएकी थिइन् । यसले गर्दा अपहरणकारीलाई रोहनको आवाज, ज्याकेटको विवरण र आमा-छोराको नाम जस्ता व्यक्तिगत जानकारी कसरी थाहा भयो भन्ने गम्भीर प्रश्न खडा भयो ।

त्यसपछि प्रहरीले रोहनको फोनमा रहेका ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जर च्याट विश्लेषण गर्न थाल्यो । विश्लेषणका क्रममा एउटा भारतीय नम्बरमा ह्वाट्सएप मेसेज पठाइएको भेटियो । रोहनले उक्त नम्बरमा “अनलाइनबाट कसरी पैसा कमाउन सकिन्छ ?” भनेर सोधेका थिए ।

जब प्रहरीले रोहनलाई दिनभरको घटनाक्रम लेख्न लगायो, उनको लेखाइको शैली फरक देखियो । त्यो उनको आफ्नै जस्तो लाग्दैनथ्यो । रोहनलाई पनि उक्त भारतीय नम्बरमा आफूले कुराकानी गरेको याद थिएन, तर उनी यसबारे पूर्ण रूपमा निश्चित पनि थिएनन् ।

उनको फेसबुक कतै लगइन थियो कि भन्दै खोज्ने क्रममा बायोमा ‘I am Gay’ लेखेको देखियो । उनले जुन तरिकाको प्रोफाइल फोटो राखेका थिए, त्यसबाट उनले कसैको लहलहैमा लागेर अर्थ नबुझेर वा जानाजान लेखेका होलान् भन्ने अनुमान गरियो । तर, पछि एकान्तमा उनलाई यस विषयमा सोध्दा यो पनि उनले केही थाहा नपाएको बताए । उनको फेसबुक ह्याक भएको र कसैले एक्सेस गरेर हेर्‍यो कि भन्ने अनुमानका आधारमा लगइन हिस्ट्री हेरियो । तर, त्यसमा पनि फरक डिभाइसमा लगइन भएको देखिएन । 

त्यस्तै उनले आफ्नो फोटो कहिल्यै फेसबुक वा इन्स्टाग्राममा अपलोड गरेका पनि थिएनन् । यतिसम्म कि उनको ग्यालरीमै पनि उनका दुई ओटा मात्र फोटो थिए । ती दुबै फोटोमा उनले त्यस दिन निस्किँदा जुन खैरो ज्याकेट लगाएका थिए, त्यही नै थियो । अर्थात् उक्त लुगा बाहेक अर्को लुगा लगाएको फोटो रोहनको ग्यालरीमा थिएन । 

त्यसपछि प्रहरीले उनको फेसबुक गतिविधि विश्लेषण गर्‍यो । विश्लेषणबाट उनी फेसबुकमा त्यति सक्रिय नभएको देखियो । उनको सर्च हिस्ट्रीमा एसईईको नतिजा, छात्रवृत्तिसम्बन्धी जानकारी र कलेजको नामजस्ता शैक्षिक विषय मात्रै थिए । उनले फेसबुकमा विरलै मात्र कमेन्ट वा लाइक गर्ने गरेको देखिन्थ्यो ।

यस विपरीत उनी इन्स्टाग्राममा भने निकै सक्रिय थिए । त्यहाँ उनले विभिन्न टिप्स दिने अकाउन्टलाई फलो गरेका थिए । विशेषगरी, पैसा तिरेर प्रयोग गर्नुपर्ने एप, भिडिओ वा अन्य सामग्रीहरू निःशुल्क चलाउने तरिका सिकाउँदै लिङ्क उपलब्ध गराइएका भिडिओमा उनले बढी अन्तर्क्रिया गरेको पाइयो । स्पोटीफाईको प्रिमियम सब्स्क्रिप्सन लिएर प्रयोग गरेको जस्तो एप देखिएपछि उनलाई यसको वास्तविकता सुनाउन भनियो । यही क्रममा उनले महिना दिन अघि मात्र इन्स्टाग्रामका एक कन्टेन्ट क्रियटरले सिकाएको टिप्स पछ्याएर ‘मोडिफाइड एप’ (मोड/मोडेड एपीके) लिङ्क मार्फत इन्स्टल गरेको खुलाए । उक्त एपले कन्ट्याक्ट, एक्सेसिबिलिटी, एसएमएस, कल लग, माइक्रोफोन, लोकेसन लगायतका अनुमति लिएको भेटियो । स्पोटीफाईलाई न कन्ट्याक्टको अनुमति चाहिन्छ, न त लोकेसनको । एसएमएस र कल लगको अनुमति पनि भेरिफिकेसनको समयमा मात्र आवश्यक पर्छ । तर, लगइन गर्दा कुनै पनि कोड नआइ सजिलै लगइन भएको रोहनले बताएका थिए । 

फोन नियन्त्रण गर्न प्रयोग हुने एक्सेसिबिलिटीको अनुमति लिएको पाइएपछि फोन नै ह्याक भएको आशङ्का गरिएको छ । धेरै नबोल्ने, फेसबुक पनि खासै प्रयोग नगर्ने, फेसबुकमा साथी पनि जम्मा ५७ जना मात्र भएको र च्याटमा पनि नभिज्ने रोहनले बायोमा ‘I am Gay’ लेखे भन्ने कुरालाई विश्वास गर्ने आधार छैनन् । ३४ पटक फेसबुक लगइन भएको देखिएको छ । तर, सबै उनकै मोबाइलमा मात्र छन् । यदि अर्को कसैले फेसबुक ह्याक गरेको हो भने फरक डिभाइसमा लगइन भएको देखिनुपर्ने  थियो । कि त उनको फोनमा भौतिक रूपमा पहुँच पाउनु पर्‍यो नभए भर्चुअल रूपमा । रोहनले भौतिक रूपमा फोन आफ्नै साथमा राखेका छन् । एसईईपछिको समय खाली भएकाले न उनले कुनै साथी भेटेका छन् । झन्डै १३ किलोमिटर दूरीमा पर्ने पुतलीसडक एक्लै शुटिङ हेर्न गएका छन् । यसबाट साथीहरूसँग त्यति घुलमिल नहुने उनको स्वभाव रहेको बुझिन्छ । उनी आफैँ पनि साथीहरूलाई नभेटेको दाबी गर्छन् । यहाँ पनि भौतिक रूपमा रोहनको फोनमा कसैले पहुँच पाएको देखिँदैन । त्यस्तै ह्वाट्सएपबाट भारतीय नम्बरमा च्याट गरेको देखिएको थियो, जुन रोहनले आफूले गरेको होइन भनेर अस्वीकार समेत गरे । यसबाट पनि फोन नै ह्याक भएको भन्ने आशङ्कालाई थप जोड पुग्ने देखिन्छ । 

  • स्मार्टफोनका सेटिङबारे कमै थाहा पाएकी ममताले भिडिओ कल आएको समयमा स्क्रिनशट गर्न जानिनन् । यसबाट अपहरण गरेको छु भन्ने व्यक्ति कस्तो थियो भन्नेमा ममताको भनाई बाहेक अरू विवरण थाहा हुन सकेन ।

  • बैँकको क्यूआरकोड देखाएर स्क्रिनशट गरेर रकम पठाउन धम्की दिइएको थियो । तर, स्क्रिनशट नै गर्न नजानेपछि त्यो प्रमाण पनि हरायो । 

  • अपहरण गरेको दाबी गर्ने व्यक्तिले ब्याक क्यामेराबाट टर्चर दिएको देखाइएको ममताको भनाइ छ । तर, क्यामेरा फर्काइएको थियो वा रेकर्डेड भिडिओ ब्याकग्राउन्डमा प्ले गरेर ममतालाई झुक्याइएको थियो, त्यो पनि स्पष्ट हुन सकेन । 

  • रोहनकै आवाज सुनाएको र उनको ज्याकेट पछाडिबाट देखाएको भन्ने ममताको दाबी छ । यसमा पनि प्रमाण नभएपछि कसरी कुन देखाएको थियो, ममतालाई विश्वस्त बनाउने आवाज कस्तो थियो, कसरी तयार पारियो भन्ने पनि रहस्य नै रह्‍यो । 

  • पारिवारिक आर्थिक अवस्था थाहा नपाएको उक्त व्यक्तिले सोझै १० लाख रुपैयाँ माग गर्नु र अन्तिममा केही नपाउनुभन्दा एक लाख नै भए पनि हुन्छ भन्नुले उसले डिभाइसमै पहुँच पाएर सबै काम गरेको, तर अन्तिममा उपलब्धि केही नहुने देखेपछि जति सकिन्छ असुली गरेर चित्त बुझाउन खोजेको देखिन्छ ।

  • रोहन र ममताको फोनमा कुरा भइसकेपछि ‘अपहरण गरेको छु’ भन्ने व्यक्तिकोमा ममताको नम्बरबाट मेसेज गएको देखिन्छ । तर, डेलिभर  हुँदैन । अर्थात् सम्पर्क भएको थाहा पाउनासाथ ब्लक गरेको हुनसक्ने देखिन्छ ।

  • रोहनलाई उनका अन्य गतिविधि सोध्दा ‘पोर्न भिडिओ’ हेर्ने गरेको खुल्यो । त्यसबाट पनि ‘लाइभ क्याम’, ‘लाइभ च्याट’ वा अन्य यस्तै कुनै प्रलोभनमा परेर कुनै लिङ्क खोलेको आशङ्का गर्ने ठाउँ पनि छ । तर, उनले थर्ड पार्टीबाट डाउनलोड गरेको मोडेड स्पोटीफाईले अनावश्यक पर्मिसन लिएको र ब्याकग्राउन्डमा बढी चल्ने गरेको देखिएपछि प्रहरीको प्राविधिक तथा अनुसन्धान टोली फोन ह्याक भएकोमा विश्वस्त देखिन्छ । 

यसरी घटनाको अपहरणमा परेको भन्दै झन्डै चार घण्टा प्रहरी, आफन्त र आमा ममतालाई हैरान पारेको घटना अन्तिममा एउटा स्क्यामका रूपमा सतहमा आयो । रोहनको मोबाइल नै ह्याक भएको भन्ने औँल्याएपछि उनलाई ४ः३० मा सबै प्रक्रिया पूरा गराएर प्रहरीले ममताको जिम्मा लगायो । र, यसबारे थप अनुसन्धान अगाडि बढाउने प्रतिबद्धता जनायो ।

“यसअघि विदेशमा रहेका नेपालीलाई टार्गेटमा राखेर अपहरण गरेको भन्दै रकम मागेको घटना थियो,” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, “डिभाइस नै ह्याक गरेर छोटो समयमा अर्जेन्सी निर्माण गर्न खोजेको यो नौलो प्रवृत्ति देखियो ।”

शैली र प्रवृत्ति जे भए पनि अपरिचित नम्बरबाट सन्तान अपहरणमा पर्‍यो भन्दै धम्की दिएर रकम पठाउन लगाए सजग रहन आचार्यले सुझाएका छन् । “हुन्छ, म म्यानेज गर्दैछु भन्ने अनि नजिकैको प्रहरी कार्यालयमा सुटुक्क बुझाउन सकियो भने वास्तवमै अपहरण भएको हो भने पनि जोगाउन सकिन्छ, आफैँले सिन क्रियटर गरेर अपहरण भएको जस्तो देखाउँदा पनि रकम ठगिनबाट जोगाउन सकिन्छ ।” 

छोराको मायाले ममताले स्क्यामरले भनेकै जस्तो गरी स्क्रिन शेयर गरेर मोबाइल बैंकिङ एप खोलिन् । धन्न उनको खातामा ३४ रुपैयाँ मात्र थियो । छोराको ज्यान बचाउने नाममा उनी खातामा नभए पनि खोजखाज गरेरै भए पनि सकेजति रकम उपलब्ध गराउने मनस्थितिमा पुगिसकेकी थिइन् । तर, समयमै आफन्तले प्रहरी कार्यालयमा पुर्‍याएपछि उनले कतैबाट सापटी लिएर बुझाउन सक्ने रकम पनि जोगियो । “अपरिचित नम्बरबाट फोन गरेको छ र ओटीपी मागेको छ वा स्क्रिन शेयर गर्न भनेको छ भने गर्नु नै हुँदैन,” प्रहरी उपरीक्षक आचार्य अगाडि भन्छन्, “अपरिचित नम्बरबाट आउने कल नै उठाउन हुँदैन भनिन्छ । तर, त्यसरी ह्वाट्सएपबाटै सम्पर्क गरेर कारोबार गर्नेहरूका लागि यो अलि व्यवहारिक सुनिँदैन । तर, ओटीपी मागेको छ, विदेशी नम्बरबाट कल आएको छ भने वा कुनै आपत् सिर्जना गरेर तु यस्तो गर्नु, उस्तो गर्नु भनेर अत्याउन खोजेको छ भने सजग हुनुपर्छ । जान्नेबुझ्ने व्यक्तिलाई सबै कुरा थाहा दिनुपर्छ ।”

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ २१:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट