२०८२ श्रावण ८ बुधबार
२०८२ श्रावण ८ बुधबार

ग्रोक एआईले अब बालबालिकालाई पढाउने, मस्कको घोषणाले मच्चियो तहल्का

काठमाडौँ । विवाद र प्रचार सँगसँगै हिँड्ने पात्र हुन्, अर्बपति एलन मस्क । यस्तैमा उनको एआई च्याटबट ‘ग्रोक’ यहुदी विरोधी सामग्री र नाजीहरूको प्रशंसा गरेर विवादमा तानिएको केही दिनमै मस्कले त्यही एआईलाई बालबालिका हुर्काउन मद्दत गर्नेगरी विकास गर्ने घोषणा गरेका छन् । 

‘बेबी ग्रोक’ नाम दिइएको यो नयाँ एप मस्कको एआई असिस्टेन्टको पारिवारिक संस्करण हुने बताइएको छ । यसलाई बालबालिकाको लागि सिकाइ र मनोरञ्जनको साधनको रूपमा अघि सारिएको छ । तर ग्रोकको विवादित विगत र कन्टेन्ट मोडरेसनप्रतिको मस्कको आफ्नै दृष्टिकोण हेर्दा कति अभिभावकले आफ्नो बच्चाको जिम्मा यो एआईलाई देलान् ? 

मस्कको पछिल्लो घोषणा कुनै शक्तिशाली र सर्वज्ञानी एआई बनाउनेबारे थिएन, बरु एउटा सानो र सुरक्षित एआई बनाउनेबारे थियो । जुलाई २० मा सामाजिक सञ्जाल एक्समा उनले लेखे, “हामी ’बेबी ग्रोक’ बनाउँदैछौं । जुन बालबालिकाका लागि उपयुक्त सामग्रीमा समर्पित एप हुनेछ ।” 

मस्कको घोषणाप्रति एक्समा अधिकांश प्रतिक्रियाहरू नकारात्मक आएका छन् । एक प्रयोगकर्ताले सिधै “यो काम रोक” भनेर लेखेका छन् । अर्का एक प्रयोगकर्ताले प्रतिक्रिया दिए, “यो एकदमै नराम्रो विचार हो । बालबालिकाहरू बाहिर खेल्ने र सपना देख्ने गर्नुपर्छ, एआईको फोहोर उपभोग गर्ने होइन ।” 

त्यस्तै अर्का प्रयोगकर्ताले टिप्पणी गरे, “यो एउटा भयानक विचार जस्तो सुनिन्छ । यो गलत हुन सक्छ ।” 

विवाद ढाक्ने प्रयास ? 

‘बेबी ग्रोक’ को घोषणाको समयलाई संयोग मात्र मानिएको छैन । यसअघि ग्रोक शृंखलाबद्ध विवादमा फसेको थियो । जुलाईको सुरुमा ग्रोक च्याटबटले हिटलरको प्रशंसा गर्दै यहुदी विरोधी अभिव्यक्ति दिएपछि ठुलो आक्रोश पैदा भएको थियो । त्यसको केही दिनपछि मस्कको कम्पनी एक्सएआईले ‘सुपरग्रोक’ नामक नयाँ संस्करण ल्यायो । यो नयाँ संस्करणमा ‘कम्प्यानियन्स’ (सहयात्री) भन्ने फिचर थियो । तर प्रयोगकर्ताहरूले ती सहयात्रीका अवतारहरू अत्यधिक यौनिक भएको टिप्प्णी गरे ।  

धेरैले ‘बेबी ग्रोक’ को घोषणा आफ्नो विवादित एआईलाई सफा देखाउने र आलोचकहरूबाट ध्यान अन्यत्र मोड्ने मस्कको रणनीतिक योजनाको रुपमा हेरेका छन् । 

मस्कले ग्रोकलाई अन्य च्याटबटभन्दा फरक, रमाइलो र ‘एन्टी–इस्ट्याब्लिसमेन्ट’ (स्थापित मान्यता विरोधी) बनाउन चाहेका थिए । तर, यसको अप्रत्याशित स्वभाव, पक्षपाती वा तथ्यगत रूपमा गलत जानकारी दिने प्रवृत्ति र कहिलेकाहीँ अनुपयुक्त व्यवहार गर्ने स्वभावका कारण यो आलोचित हुँदै आएको छ । धेरैका लागि ग्रोक ज्ञानको भरपर्दो स्रोतभन्दा पनि मस्कको ‘अराजक’ अनलाइन व्यक्तित्वको डिजिटल प्रतिबिम्ब बनेको छ । 

बालबालिकालाई लक्षित गरेर मस्कले आफूलाई एआई विकासको सबैभन्दा बढी निगरानी गरिने क्षेत्रमा उभ्याएका छन् । यसले डिजिटल सुरक्षा, डेटा गोपनीयता र आउँदो पुस्ताको विकासमा एआईको गहिरो प्रभावबारे गम्भीर प्रश्नहरू खडा गरेको छ । के निगरानी बिनाको वाक स्वतन्त्रताको वकालत गर्ने कम्पनीले साना बालबालिकाको मनोवैज्ञानिक सुरक्षा गर्न आवश्यक फिल्टर र सुरक्षा उपायहरू अबलम्बन गर्न सक्छ ?  

गत मेमा गुगलले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि आफ्नो एआई च्याटबट ‘जेमिनाई’ ल्याउने घोषणा गरेको थियो । यसलगत्तै फेयरप्ले र सेन्टर फर अनलाइन सेफ्टी लगायतका उपभोक्ता अधिकारकर्मी र बाल सुरक्षा विशेषज्ञहरूको गठबन्धनले यसको विरोध गर्दै यो कदम रोक्न माग गरेका थिए । 

बालबालिकाले एआई च्याटबट र मानिसबिचको भिन्नता बुझ्न नसक्ने र एआईले उनीहरूलाई सजिलै झुक्याउन सक्ने जोखिम भएको भन्दै उनीहरुले यसको विरोध गरेका थिए ।

गिजमोडो सहयोगमा

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १७:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट