
काठमाडौँ । विश्वभरका कार निर्माता कम्पनीहरू सेल्फ–ड्राइभिङ प्रविधिको दौडमा सामेल भइरहँदा अधिकांशले एकातिर चालकलाई सहयोग गर्ने नयाँ फिचर दिइरहेका छन् भने अर्कोतिर कानुनी झमेलाबाट बच्न अनेकौँ शर्तनामामा हस्ताक्षर गराइरहेका छन् । तर, चिनियाँ ईभी निर्माता कम्पनीले बीवाइडीले यो दौडमा यस्तो नयाँ उपाय अपनाएको छ जसले अन्य कार निर्माता कम्पनीलाई पनि सोचमग्न बनाइदिएको छ ।
बीवाइडीले आफ्नो अटोनोमस पार्किङ सिस्टम (गाडी आफैँ पार्किङ हुने प्रविधि) को लागि सार्वजनिक रूपमै आर्थिक ग्यारेन्टी दिने घोषणा गरेको छ । यदि यो सिस्टमले काम गरेन वा यसको सफ्टवेयर (एल्गोरिदम) मा आएको गडबडीका कारण कुनै दुर्घटना भयो भने त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मा कम्पनी आफैँले लिनेछ । यसमा गाडी मर्मतको खर्च, तेस्रो पक्षको सम्पत्तिमा भएको नोक्सानी र व्यक्तिगत चोटपटकको क्षतिपूर्ति समेत समावेश छ । जबकी अन्य कम्पनीहरुले यस्ता दुर्घटना हुँदा सवारी धनी आफैँ जिम्मेवार हुने शर्तनामा गराउँदै आएका छन् ।
कम्पनीले चिनियाँ सामाजिक सञ्जाल विबोमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अटोनोमस पार्किङका लागि ग्यारेन्टी प्रस्ताव गर्ने हामी विश्वमै पहिलो हौं । हाम्रो यो कदमले एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) माथिको हाम्रो पूर्ण विश्वासलाई झल्काउँछ ।“

बीवाइडीले गरेको यो वाचाले अटोनोमस प्रविधिमा कुनै गडबडी भएमा यसको जिम्मेवारी निर्माता कम्पनीहरूले लिने वा उपभोगकर्तामाझ नै पन्छाउने भन्ने विषयमा विश्वव्यापी रूपमै नयाँ मापदण्ड स्थापित गर्न सक्छ ।
टेस्ला चेतावनी दिन्छ, बीवाइडी जिम्मा लिन्छ
बीवाइडीको यो घोषणा टेस्लाको भन्दा ठीक उल्टो छ । टेस्लाको ’फूल सेल्फ–ड्राइभिङ’ सिस्टम अझै पनि ’बिटा’ (परीक्षणको चरणमा रहेको) फिचरको रूपमा बजारमा उपलब्ध छ । नाम ’फूल सेल्फ–ड्राइभिङ’ भए तापनि यसलाई चलाउँदा चालक पूर्णरूपमा चनाखो रहनुपर्छ र टेस्लाले बारम्बार आफ्ना प्रयोगकर्ताहरूलाई सडकमा जेसुकै भए पनि त्यसको कानुनी जिम्मेवारी कम्पनीको नभई स्वय चालककै हुने कुरा सम्झाइरहन्छ ।
तर, बीवाइडीले यो तर्कलाई उल्टाइदिएको छ । उसले केवल एउटा स्मार्ट सिस्टमको वाचा मात्र गरिरहेको छैन उसले कर्पोरेट जवाफदेहिताको वाचा गरिरहेको छ । यस्ता वाचाहरु उपभोक्ताले प्रयोग गर्ने अटोनोमस प्रविधिको बहसबाट लगभग हराइसकेको थियो ।
यस्ता प्रविधि निर्माताले प्रविधि निर्माण गर्ने र कुनै कमजोरी भए प्रयोग गर्ने उपभोक्ताले नै जिम्मा लिने यो अभ्यासबाट बीवाइइडीले आफूलाई अलग राख्ने प्रयास गरेको छ ।
यो ग्यारेन्टी कुनै नयाँ कन्सेप्ट कारमा नभएर इन्टरनेटमार्फत गरिने सफ्टवेयर अपडेट (Over-the-air update ) बाटै उपलब्ध गराइँदैछ । आउँदो ’गड’स आई बी’ अपडेटमार्फत बीवाइडीले हरेक अवस्थामा सिन रिकग्निसन, प्राथमिक सुरक्षा (Active Safety) र पार्किङको क्षमतालाई अझै सुधार गर्नेछ ।
वर्षौंदेखि नियामक र सुरक्षा विज्ञहरूले कार निर्माताहरूले केही गल्ती भएमा दोष कसको हो भनेर स्पष्ट नपारी अटोनोमस फिचरहरू हतारमा ल्याइरहेको भन्दै चेतावनी दिँदै आएका थिए । बीवाइडीको यो घोषणाले पहिलो पटक यस्ता जिम्मेवारी प्रयोगकर्ताबाट निर्मातामा सार्ने छ । यस्तै, यो घोषणाले प्रयोगकर्तामा आर्थिक तथा प्राविधिक विश्वास समेत बढाउन सहयोग गर्नेछ ।
बीवाइडीको यो कदमले अटोमेसन बजारमा ठूलो तरंग ल्याउन सक्छ । यदि एउटा कम्पनी आफ्नो लेभल ४–स्तरको (उच्च स्वचालित प्रविधि) अटोनोमस पार्किङको लागि पैसाकै बाजी लगाउन तयार छ भने अन्य प्रतिस्पर्धीहरूलाई पनि यस्तै वाचा गर्न दबाब पर्दैन र ? अन्य प्रविधि कम्पनी वा कार निर्माताले पनि यस्तो अभ्यास सुरु नगर्ने हो भने उपभोक्ता र ग्राहकले त्यस्ता कम्पनीलाई गैर–जिम्मेवारको रूपमा हेर्न सक्नेछन् ।
चीनबाट सुरु, तर कहिलेसम्म ?
अहिलेको लागि, बीवाइडीको यो ग्यारेन्टी चीनमा मात्र सीमित छ । तर युरोप र ल्याटिन अमेरिकामा कम्पनीको बढ्दो उपस्थितिले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ, बीवाइडीले यो यस्तो घोषणा पश्चिमी बजारहरूको लागि पनि गर्ला ?
यदि बीवाइडीले यस्तो घोषणा पश्चिमा बजारको लागि पनि गरेमा यसले अमेरिका र युरोपका नियामकहरूलाई सेल्फ–ड्राइभिङ प्रविधिलाई हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्न बाध्य पार्न सक्छ । यसले टेस्ला, मर्सिडिज–बेन्ज, र जीएम जस्ता कम्पनीहरूलाई पनि उपभोक्तालाई यस्तै ग्यारेन्टीहरू प्रस्ताव गर्न ठूलो दबाब दिनेछ ।
महत्वपूर्ण प्रश्न त यो छ कि यदि एक चिनियाँ अटोमेकरले आफ्नो एआईको जोखिम उठाउन सक्छ भने सिलिकन भ्यालीको सबैभन्दा धनी कार कम्पनीलाई केले रोकिरहेको छ ?
गिजमोडोमा प्रकाशित सामग्रीमा आधारित :
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २०:२९
सामाग्री श्रोत :
टेक पाना