काठमाडौँ । हालै सार्वजनिक भएको एक अध्ययनले कलिलो उमेरमा स्मार्टफोनको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर र दीर्घकालीन क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

यदि तपाईंको घरमा १३ वर्षभन्दा कम उमेरका बालबालिका छन् भने उनीहरूलाई स्मार्टफोन र सामाजिक सञ्जालबाट टाढा राख्नु नै उत्तम हुने यो अनुसन्धानको निष्कर्ष छ ।
‘जर्नल अफ द ह्युमन डेभलपमेन्ट एन्ड क्यापाबिलिटिज’ मा प्रकाशित उक्त अध्ययनका अनुसार १३ वर्ष नपुग्दै स्मार्टफोन चलाउने बालबालिकाहरू विशेषगरी किशोरीहरूमा आत्महत्याको च आउने, आफ्नो भावना नियन्त्रण गर्न नसक्ने, आत्मसम्मानमा कमी हुने र वास्तविकताबाट टाढा हुने जस्ता समस्याहरू देखिने गरेको छ ।
जति सानो उमेरमा फोन चलाउन दियो, उति धेरै असर

विश्वका १६३ देशका करिब २० लाख मानिसहरूमा गरिएको सर्वेक्षणले कुनै पनि व्यक्तिले १३ वर्षको उमेरभन्दा जति अघि स्मार्टफोन पाएको छ, उसको मानसिक स्वास्थ्य र जीवनस्तर त्यति नै कमजोर हुने सम्भावना रहने देखाएको छ ।
सानै उमेरमा स्मार्टफोन पाएका बालबालिकाहरू सामाजिक सञ्जालमा बढी समय बिताउने र यसले गर्दा उनीहरूको निद्रामा गडबडी हुने साथै उनीहरू साइबरबुलिङ (अनलाइन दुर्व्यहार) को शिकार हुने कारणले यस्तो समस्या आउने अध्ययनको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरूले विश्वव्यापी रूपमै १३ वर्षमुनिका बालबालिकालाई स्मार्टफोन र सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।
विज्ञको सुझावः १६ वर्षसम्म सामाजिक सञ्जालबाट टाढै राखौं
यो अध्ययनले मात्र होइन विश्वका चर्चित सामाजिक मनोवैज्ञानिक जोनाथन हाइडले आफ्नो पुस्तक ’द एन्सियस जेनेरेसन’ (चिन्तित पुस्ता) मा पनि बालबालिकालाई १६ वर्ष नपुगी सामाजिक सञ्जाल प्रयोग गर्न दिन नहुने सुझाव दिएका छन् । उनका अनुसार किशोरावस्थामा एक वर्ष सामाजिक सञ्जालको गर्दा पनि उनीहरूको जीवनप्रतिको सन्तुष्टि घट्छ ।
अभिभावकले के गर्ने ?
यदि तपाईंले आफ्नो बच्चालाई पहिले नै स्मार्टफोन दिइसक्नुभएको छ वा भविष्यमा दिने सोच्दै हुनुहुन्छ भने विज्ञहरूले निम्न कुरामा ध्यान दिन सुझाएका छन् :
१. फोन दिइसकेको भए नआत्तिनुहोस्: यदि तपाईंले बच्चालाई फोन दिइसक्नुभएको छ र उसमा कुनै नकारात्मक लक्षण देख्नुभएको छैन भने आत्तिनु पर्दैन । तर, बच्चासँग बसेर यस्ता प्रविधिका जोखिमबारे कुरा गर्नुहोस् र कुनै समस्या परेमा आफूलाई भन्न प्रोत्साहन गर्नुहोस् ।
२. निर्णय लिन नडराउनुहोस्: “मैले त फोन दिइसकें, अब फिर्ता लिन मिल्दैन“ भनेर नसोच्नुहोस् । यदि तपाईंलाई बच्चाको हितमा छैन भन्ने लाग्छ भने निर्णय परिवर्तन गर्न सकिन्छ । तपाईंले बच्चालाई यसरी सम्झाउन सक्नुहुन्छः “बाबु/नानी, हामीले तिमीलाई फोन दिँदा यसले तिमीमा पार्न सक्ने असरबारे यति धेरै थाहा थिएन । अहिले वैज्ञानिकहरूले यसका जोखिमहरु पत्ता लगाइरहेका छन् । त्यसैले, तिम्रो स्वास्थ्यका लागि हामीले यस्तो निर्णय गर्नुपर्ने भयो ।“
३. विकल्पहरू सोच्नुहोस्: स्मार्टफोन पूरै खोस्नुको सट्टा ’प्यारेन्टल कन्ट्रोल’ (Parental Control) प्रयोग गर्ने, सामाजिक सञ्जालका एपहरू हटाइदिने, वा साधारण फिचर फोन (किप्याड भएको फोन) दिने जस्ता विकल्पहरू अपनाउन सकिन्छ ।
४. समुदायमा छलफल गर्नुहोस्: यो समस्या कुनै एक घरको मात्र होइन । आफ्ना बालबालिकाका साथीहरूका अभिभावकसँग मिलेर एउटा साझा सहमति पनि गर्न सकिन्छ । जस्तैः ’हामी सबैले आफ्ना छोराछोरीलाई ८ कक्षा नसकी स्मार्टफोन नदिऔं ।’
५. विद्यालयसँग सहकार्य गर्नुहोस्: आफ्नो बच्चा पढ्ने विद्यालयमा स्मार्टफोन प्रयोगबारे कडा नीति बनाउनका लागि अन्य अभिभावकसँग मिलेर सुझाव र दबाब दिनुहोस् वा छलफल गर्नुहोस् ।
अहिलेको समयमा बालबालिकालाई स्मार्टफोनको आकर्षणबाट टाढा राख्नु चुनौतीपूर्ण छ तर असम्भव छैन । उनीहरूको स्वस्थ मानसिक र सामाजिक विकासका लागि यो एक आवश्यक कदम हो । आफ्ना बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नु सायद अभिभावकले लिने सबैभन्दा बुद्धिमानी निर्णयहरूमध्ये एक हुन सक्छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १५:५८
सामाग्री श्रोत :
टेक पाना