२०८२ श्रावण ७ मंगलवार
२०८२ श्रावण ७ मंगलवार

एनभिडियाका सीईओ भन्छन्- अहिले म २२ वर्षे हुन्थें भने सफ्टवेयर होइन, भौतिक विज्ञान रोज्थें

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माणमा विश्वमै प्रभुत्व जमाएको एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन ह्वाङले अहिलेको समयमा युवाहरूले सफ्टवेयरभन्दा फरक क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । यदि आफू आजको दिनमा २२ वर्षको युवा भएको भए सफ्टवेयर साइन्सभन्दा फिजिकल साइन्स (भौतिक विज्ञान) मा बढी ध्यान दिने उनको भनाइ छ । 

हालै बेइजिङको एक कार्यक्रममा सहभागी भएका ह्वाङलाई सञ्चारकर्मीहरुले सोधेका थिए, “यदि तपाईं सन् २०२५ मा २० वर्षीय युवा हुनुभएको भए, कुन क्षेत्रमा ध्यान केन्द्रित गर्नुहुन्थ्यो ?“ जवाफमा उनले आफ्नो रोजाइ सफ्टवेयर नभएर फरक हुने स्पष्ट पारे । उनले कुनै एक विशेष विषयको नाम नलिए पनि भौतिक विज्ञानतर्फ आफ्नो झुकाव रहने बताएका हुन् ।

ह्वाङले सफ्टवेयरभन्दा भौतिक विज्ञानलाई प्राथमिकता दिनुले भविष्यको अवसरलाई कसरी हेरिरहेका छन् भन्ने संकेत गर्छ । उनले एआईको भविष्य ‘रिजनिङ एआई’ र ‘फिजिकल एआई’ तर्फ मोडिएको देखेका छन् । उनका अनुसार भविष्यका एआई प्रणालीहरूले भौतिक संसारका नियमहरू बुझ्न सक्नेछन्, जसले रोबोटिक्सको क्षेत्रमा ठूलो प्रगति ल्याउनेछ । यसले विश्वव्यापी रूपमा देखिएको जनशक्तिको अभावलाई सम्बोधन गर्न मद्दत पुग्ने उनको विश्वास छ । 

ह्वाङ आफैँले सन् १९८४ मा ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र सन् १९९२ मा स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका थिए । त्यसको एक वर्षपछि नै उनले एनभिडियाको सह–स्थापना गरेका थिए । आज उनको नेतृत्वमा एनभिडिया विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ र हालै यसको बजार पुँजीकरण ४ ट्रिलियन डलर नाघेको छ । 

उनले भौतिक विज्ञान अध्ययन गर्नुको पछाडि ‘फिजिकल एआई’ को भविष्य रहेको बताएका छन् । उनका अनुसार एआईको अर्को लहर भनेकै ‘फिजिकल एआई’ हो जसलाई भौतिक विज्ञानका नियमहरु बुझ्न आवश्यक पर्छ । भविष्यमा भौतिक विज्ञानका अवधारणाहरू बुझ्ने क्षमता एआईको लागि महत्त्वपूर्ण हुने उनको बुझाई छ । 

ह्वाङले पहिले पनि एआईले कोडिङको कामलाई धेरै हदसम्म विस्थापित गर्ने बताउँदै आएका छन् । गत महिना लन्डन टेक विकमा उनले भनेका थिए, “अब एउटा नयाँ प्रोग्रामिङ भाषा छ, जसलाई ’ह्युमन’ (मानव) भनिन्छ ।“ अब मानिसले सामान्य भाषामा निर्देशन दिएरै एआईबाट कोडिङ गराउन सक्ने उनको भविष्यवाणी छ ।

इकोनोमिक टाइम्सको सहयोगमा

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १०:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट