जलवायु परिवर्तन कुनै टाढाको वैज्ञानिक समाचार होइन, न त बेवास्ता गर्न मिल्ने पुरानो फेसन। म अहिले पब्लिक हेल्थ अध्ययन गर्दैछु। दिनदिनै रोग, अस्पताल र प्रणालीबारे पढिरहेको छु। तर जति पढ्दै जान्छु, उति नै एउटा कुरा मनमा गहिरिँदै जान्छ,जलवायु परिवर्तन। यसले हाम्रो स्वास्थ्यमा यति चुपचाप असर गरिरहेको छ कि धेरैलाई थाहा पनि छैन।
वातावरण टाढाको कुरा होइन,यो त हामीसँगै छ। हामीले सास फेर्ने हावा, पिउने पानी, खाने अन्न,सबैमा यसको असर देखिन थालिसकेको छ। मौसम अनिश्चित बन्दै गएको छ, बाली नष्ट हुँदैछन्, र यसको असर हाम्रो शरीरमा पनि देखिन थालेको छ।
स्वास्थ्यसम्बन्धी समस्या जसबारे धेरैले कुरा नै गर्दैनन्
प्रायः जब कसैले ‘जलवायु परिवर्तन’ भन्छ, तब मानिसको दिमागमा हिमाल पग्लिरहेको छ वा समुद्री सतह बढ्दैछ भन्ने चित्र आउँछ। तर यो यती टाढाको कुरा मात्र होइन,नेपालमै देखिन थालेको जल्दोबल्दो समस्या हो।
विश्व स्वास्थ्य संगठनको भनाइ छ,जलवायु परिवर्तनका कारण हरेक वर्ष थप २,५०,००० मानिसको मृत्यु हुन सक्छ, गर्मी, कुपोषण, मलेरिया, झाडापखाला लगायतका रोगका कारण। यी रोगहरु पनि जलवायु परिवर्तनकै परिणाम हुन् भनेर धेरै जना अज्ञात नै छन्।
नेपालमै हेर्ने हो भने,मलेरिया र डेङ्गु जस्ता रोगहरू पहिलेको तुलनामा, अहिले धेरै देखिन थालेका छन्, कारण के हो भन्दा,बढ्दो तापक्रम र बदलिंदो वर्षा प्रणाली। बाढीपहिरोले खानेपानी फोहर बनाउँछ, जसले झाडापखालाको प्रकोप फैलाउँछ। सबैभन्दा धेरै असर त गरिब, बच्चा, वृद्ध र पहिले नै बिरामी भएका व्यक्तिलाई पर्छ। किनभने उनीहरूसँग निको हुने स्रोत र समय कम हुन्छ।
मैले आफैँ बाढीपछि सफा पानी खोज्दै घण्टौँ हिँडेका परिवारहरू देखेकी छु। भीडभाडमा बस्नुपर्छ, जहाँ रोग छिट्टै फैलिन्छ। यी कुनै तथ्यांक होइनन्,यथार्थ मानिसहरू हुन्।
यदि हामीले प्रकृतिलाई हानि पुर्याउँछौं भने, यसले हामीलाई उल्टै हानि पुर्याउँछ
जब हामी वन फडानी गर्छौं, खोला प्रदूषित पाछौँ, माटोको उर्वराशक्ति घटाउँछौँ ,त्यसको असर अन्ततः हामीमै फर्किन्छ। वनहरूले मौसम सन्तुलनमा राख्न र रोग फैलिन नदिन मद्दत गर्छन्। रुख काट्दा जनावरहरू मानिसको नजिक आउँछन्, जसले गर्दा रोग मानिसमा सर्न सजिलो हुन्छ।
फोहर पानीले हैजा जस्ता रोग ल्याउँछ। वर्षा ढाँचामा आएको परिवर्तनले बाली नष्ट गर्छ, खाद्यान्न अभाव हुन्छ। मैले किसानहरूसँग कुराकानी गर्दा उनीहरूले खेती गर्ने समय छोटिंदै गएको, मल महँगो भएको, र आफ्ना बच्चाहरूको पोषणबारे चिन्ता बढ्दै गएको बताएका छन्।
मानसिक स्वास्थ्यमा पनि असर
जलवायु परिवर्तनले केवल शरीरमा होइन, मानसिक अवस्थामा पनि गहिरो असर पार्छ। घर डुब्नु, बाली गुमाउनु, वा भविष्यप्रति डर रहिरहनु,यी सबै तनाव, चिन्ता र निराशाको कारण बन्छन्।
नेपालमा त सहरी क्षेत्रमा नै मानसिक स्वास्थ्य सेवा सीमित छ। ग्रामीण क्षेत्रमा त यो विषय अझै बोल्नै नसकिने विषयजस्तै लाग्छ।
सानो प्रयासले पनि फरक पार्न सक्छ
हामी कहिलेकाहीँ सोच्छौं,‘म एक्लैले के नै गर्न सक्छु र?’ तर सानो प्रयास पनि जोडिँदै जाँदा ठूलो प्रभाव पार्छ। म आफन्त र साथीहरूसँग जलवायु र स्वास्थ्यबारे कुरा गर्छु, प्लास्टिकको प्रयोग घटाउने कोशिश गर्छु, रुख रोप्छु, सकेसम्म हिड्छु, साइकल चढ्छु, र नीतिगत सुधारको पक्षमा बोल्छु। मौका पाउँदा स्वयंसेवकका रूपमा पनि काम गर्छु।
जो सबैभन्दा बढी असरमा परेका छन्,उनीहरूले त सबैभन्दा कम प्रदूषण गरेका हुन्। त्यसैले हामी बोल्नुपर्छ,उनीहरूका लागि, सबैका लागि।
एक्लैले सम्भव छैन, हामी सबैको हात चाहिन्छ
जलवायु संकट कसैले एक्लै समाधान गर्न सक्दैन। सरकार, समुदाय, स्वास्थ्यकर्मी, युवाहरू,सबै मिलेर मात्र सम्भव हुन्छ। ठूला देशहरूको तुलनामा नेपालले धेरै प्रदूषण गर्दैन, तर असर भने कडा भोग्दैछ। त्यसैले अब हामीलाई साहसी नेतृत्व, व्यवहारिक समाधानहरू, र सबैभन्दा आवश्यक कुरा,एकआपसमा एकता र सहयोगको भावना चाहिन्छ।
स्वास्थ्यकर्मीहरू पहिलेदेखि नै लागिपरेका छन्,प्रणाली सुदृढ बनाउने, विपद्को तयारी गर्ने, रोगको निगरानी गर्ने, र मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने कार्यमा। तर उनीहरू मात्रले पुग्दैन।
हामी सबै मिलेर अघि बढ्नुपर्छ। पर्खेर केही हुँदैन। साना प्रयासहरूले नै फरक पार्न सक्छन्।
प्रकृतिको विनाश भनेको हाम्रो नै विनाश हो। यो केवल हिमचुचुरो वा वनजंगलको कुरा होइन। यो हाम्रो स्वास्थ्य, हाम्रो परिवार र हाम्रो भविष्यको कुरा हो। जलवायु परिवर्तनले ढोका ढकढक्याइसकेको छ। तर अझै ढिलो भइसकेको छैन।
यदि हामी सबै मिलेर, जिम्मेवारीपूर्वक र संवेदनाका साथ अघि बढ्यौं भने, हामी स्वस्थ समुदाय बनाउन, पीडितलाई सहयोग गर्न, र भविष्य सुरक्षित राख्न सक्छौँ।
पृथ्वीलाई जोगाउनु भनेको हामीलाई नै जोगाउनु हो। यी दुई कुरा छुट्टै होइनन्, सधैँ एक अर्कासँग गहिरो रूपमा जोडिएका छन्।
(निर्मला ओझा हाल पब्लिक हेल्थ विषयमा अध्ययनरत छिन्।)
सामाग्री श्रोत :
swasthyakhabar

