दिनभरि स्वास्थ्य चौकीमा बिरामी हेर्दै, रिपोर्ट बनाउँदै, औषधि व्यवस्थापन लगायत प्रशासनिक काम गर्दागर्दै दिन बितिसकेको थियो। घर फर्केपछि अधुरो प्रतिवेदन र प्रशासनिक काम सक्न बेलुका ६ बजे खाजा खाएर ल्यापटपमा काम गरिरहेकी थिएँ, राति १० बजिसकेको रहेछ- थाहा नै भएन। परिवारले ‘खाना चिसो भयो’ भन्ने आवाज २–३ पटक सुनें तर वास्ता गर्न भ्याइनँ। पछि खाना खाएर फेसबुक स्क्रोल गरिरहेकी थिएँ। सम्माननीय संघीय स्वास्थ्य मन्त्रीज्यूको भाषणले फेसबुक रंगिएको देखियो।
‘स्वास्थ्य चौकीका कर्मचारीहरू गर्मीमा शीतलता ताप्ने र जाडोमा घाम ताप्ने मात्रै भए।’
यो अभिव्यक्ति सुन्दा लाग्यो- हामीले स्वास्थ्य सेवा होइन, घाम ताप्ने तालिम लिइरहेका रहेछौं।
मन्त्रीज्यू, तपाईं युवा नेता हो, हामीले आशा गरेर मन्त्रालय सुम्पिएको हो। तर तपाईंको शब्दमा तथ्यमाथि आँखा चिम्लेर गरिएको व्यङ्ग्य देखियो। अभिव्यक्ति तथ्यमा आधारित भएको भए स्वीकार्ने थियौं, तर कुनै अनुसन्धानमा आधारित थिएन। नीतिगत काम निर्णय गर्ने जिम्मेवारी पाएको व्यक्तिले यति हल्का टिप्पणी गर्नु भनेको हामी कहाँ पुग्ने भन्ने सोच्नुपर्ने बेला हो।
स्वास्थ्यकर्मीहरूको सेवा यत्तिमै सीमित छैन। आउनुहोस्, तपाईंको जानकारीका लागि केही तथ्यहरू राखौं:
स्वास्थ्यकर्मीहरूको दिनचर्या र योगदान
१. जनस्वास्थ्य प्रवर्द्धन
शहर तथा गाउँघरमा बिहान ५ बजे उठेर जनतालाई मोर्निङ वाक गराउन सिकाउने, योगा गराउने, पोषण र आहार-विहारका गतिविधि गराउने, स्वास्थ्य शिक्षा र सरसफाइ अभियान चलाउने, यी सबै काम मन्त्रीज्यूका नीति र भाषणले होइन, बुट चोइटिने गरीकाम गर्ने स्वास्थ्यकर्मीले गर्छन्।
२. रोग प्रतिरोधात्मक सेवा
घर–गाउँ पुगेर खोप सेवा, छुटेकाहरूको पुनः खोजी अभियान, खतरनाक रोगहरूको निगरानी, रिपोर्टिङ—यी सबै नियमित सेवाका साथै महामारीमा जोखिम लिएर अभियान चलाउने पनि स्वास्थ्यकर्मी नै हुन्। कोरोना र डेंगु नियन्त्रण अझै ताजा उदाहरण हुन्।
३. सुरक्षित मातृत्व सेवा
बिकट गाउँघरमा रातको १२ बजे न्यानो अछ्यान छोड्दै, बाढी, पहिरो, खोला, जङ्गली जनावरको पर्वाह नगरी पैदल यात्रा गर्दै सुत्केरी तथा गर्भवती आमालाई सुरक्षित प्रसूति सेवा दिन पुग्ने को होलान?
४. नसर्ने रोग कार्यक्रम
उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता रोगको स्क्रिनिङ, परामर्श, जीवनशैली सुधारका कार्यक्रमहरू चलाउने को हुन्?
५. आपतकालीन सेवा
भूकम्प, महामारी, डेंगु, बाढीपहिरोमा घाइतेको उद्धारमा अग्रपङ्क्तिमा काम गर्ने को हुन्?
भित्री कार्यालयमा बस्ने कर्मचारीलाई एसी र फर्निचर सज्जित कोठा मिल्छ,
तर स्वास्थ्यकर्मीलाई टिनको छानो, चर्को घाम र पसिनाले भिजेको कुर्सी मात्र हुन्छ।
गाउँका स्वास्थ्य चौकीमा बत्ती छैन, तर सेवा चाहिँ निरन्तर दिनुपर्छ। हातमा टर्च बालेर डेलिभरी गरिएका घटना अनगिन्ती छन्।
बाढीले पुल बगाउँछ, स्वास्थ्यकर्मी बाँस समातेर नदी तरेर सेवा दिन जान्छन्—सामाजिक सञ्जालमा अझै ती दृश्य ताजा छन्।
मलिन बस्तीमा सुत्केरीलाई चामल, दाल, अण्डा, पोषण झोला बाँड्ने, परिवार नियोजन शिक्षा दिने—यी सबै ‘घाम ताप्न जानु’ को परिणाम होइन त?
हामी तपाईंको राजनीतिक जिम्मेवारी बुझ्छौं,
तर लाखौं स्वास्थ्यकर्मीहरूलाई यत्तिको गैर-जिम्मेवार अभिव्यक्तिले गम्भीर चोट दिन्छ।
तथ्यले के भन्छ?
नेपालका स्वास्थ्य सूचकाङ्कहरूमा पछिल्ला वर्षहरूमा भएको सुधार स्वास्थ्यकर्मीहरूको निरन्तर सेवाको परिणाम हो:
मातृ मृत्युदर : २०६० मा प्रति १ लाख जीवित जन्ममा ५३९ थियो, अहिले घटेर १५१ (एनडीएचएस २०२२) मा झरेको छ।
शिशु मृत्युदर: २०६० मा प्रति १,००० जीवित जन्ममा ६४ थियो, अहिले घटेर २१ मा आएको छ।
५ वर्षमुनिका बालबालिकाको मृत्युदर: २०६० मा ९१ थियो, हाल घटेर २८ मा झरेको छ।
पूर्ण खोपको पहुँच: १२–२३ महिनासम्मका बालबालिकामध्ये ८०.८% पूर्ण रूपमा खोप प्राप्त गरिरहेका छन् (एनडीएचएस २०२२)। नेपाल पूर्ण खोप घोषणा नजिक छ।
परिवार नियोजन प्रयोग दर: विवाहित महिलाहरूमा आधुनिक परिवार नियोजनको प्रयोग दर ४३% पुगेको छ।
नसर्ने रोगहरूमा स्क्रिनिङमा वृद्धि: ३० वर्ष माथिका व्यक्तिहरूमा नियमित स्क्रिनिङ गरिँदैछ।
स्वास्थ्यकर्मीहरूको योगदानका क्षेत्रहरू: खोप कार्यक्रम – पोलियो, खसरा, रुबेला, कोभिड-१९
स्वास्थ्य शिक्षा – सरसफाइ, पोषण, मानसिक स्वास्थ्य
सुरक्षित मातृत्व – एनएनसी, पीएनएसी, संस्थाथत प्रसुति
परिवार नियोजन – स्थायी/अस्थायी साधन, परामर्श
नसर्ने रोग – स्क्रिनिङ, परामर्श, रेफरल
एफसीएचभी सशक्तिकरण – तालिम, बीमा, प्रोत्साहन
प्रतिवेदन – नीति निर्माणका लागि डेटा
आधारभूत स्वास्थ्य सेवाको यथार्थ
आधारभूत स्वास्थ्य सेवा अन्तर्गत परिवार नियोजन सेवामा हालसम्मको इतिहासमै पहिलो पटक पिल्स चक्की किनेर बाँड्न सकेको छैन। आइरन चक्की अभाव छ। ९८ प्रकारका औषधिको अभावका कारण जनताको गाली स्वास्थ्यकर्मीले झेलेका छन्।
कठोर सेवा, कहिल्यै उज्यालोमा नदेखिने
स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी बिहान १० बजे सेवा सुरु गर्छन्, तर साँझ ५ बजे फर्किँदैनन्। आपतकालीन अवस्थाले बोलायो भने, घरमै सेवा दिनुपर्ने अवस्थाले कहिल्यै समय हेर्दैन। यस्ता काम समाचारको शीर्षक बन्दैनन्।
एक अनुरोध: मन्त्रीज्यू, पुनर्विचार गरिदिनुहोस्
नेतृत्वमा रहेका व्यक्तिको बोली नै नीतिको दिशा निर्देशक हो। तथ्यभन्दा टाढा, भावनात्मक अपहेलनासम्म पुग्ने भाषाले सेवा प्रवाहमा मात्र होइन, मनोबलमा गहिरो असर पार्छ।
हामी ‘घाम ताप्ने’ मात्र होइनौं,
‘देशको स्वास्थ्य प्रणाली बोक्ने आधार’ हौं।
अन्त्यमा
‘शीतलता ताप्दा हामीले कसैको ज्यान जोगाएका छौं,
घाममा उभिँदा हामीले जीवन दिएर सेवा गरेका छौं,
हामीलाई शीतल र घाम होइन, तपाईंको सम्मान चाहिएको हो।’
यो पनि हेर्नुहोस् : के भनेका थिए स्वास्थ्य मन्त्री पौडेलले ?
सामाग्री श्रोत :
swasthyakhabar

