काठमाडौँ । विश्वकै चर्चित विद्युतीय कार निर्माता कम्पनी टेस्लाले यसै सातादेखि भारतमा आफ्नो आधिकारिक शोरुम सुरुवात गरेको छ । तर, कुनै समय भारतमा टेस्लाको प्रवेशका लागि सामाजिक सञ्जालमा अभियान नै चलाउने उनका कट्टर समर्थकहरूमाझ अहिले पहिलेको जस्तो उत्साह र आकर्षण देखिँदैन ।

वर्षौँदेखिको अनिश्चितता, पटक–पटकको ढिलाइ र भारतीय बजारमा विद्युतीय सवारी (ईभी) का अनगिन्ती नयाँ विकल्पहरूले गर्दा टेस्ला र यसका संस्थापक एलन मस्कप्रतिको विश्वास र मोह कमजोर हुँदै गएको छ । तत्कालको लागि भारतमा टेस्लाले उत्पादन सुरु गर्ने कुनै योजना सार्वजनिक गरेको छैन । भारतमा टेस्लाको उत्पादन सुरु भएमा नेपाली बजारमा पनि यी कारहरू सहज र सम्भवतः सस्तो मूल्यमा उपलब्ध हुन सक्ने ढोका खुल्ने विश्वास छ ।
कस्तो थियो टेस्लाप्रतिको क्रेज ?
आजभन्दा केही वर्षअघि भारतमा टेस्लाको एक किसिमको क्रेज नै थियो । हजारौँ भारतीयहरूले टेस्लाका कार बुक गर्न नपाए पनि आफूलाई ’टेस्ला फ्यान’ वा ’मस्कको समर्थक’ भन्न रुचाउथे । उनीहरूले सामाजिक सञ्जालमा ‘#IndiaWantsTesla’ जस्ता अभियान चलाएर सरकारलाई आयात कर घटाउन र टेस्लालाई स्वागत गर्न दबाब दिएका थिए । मस्कको हरेक ट्विटलाई भारत प्रवेशको संकेतका रूपमा हेरिन्थ्यो र त्यसले तरङ्ग पैदा गर्थ्यो। तर, लामो प्रतिक्षाले भारतमा भएका टेस्लाका सम्भावित प्रयोगकर्तालाई निराश बनाएको छ ।

किन भयो ढिलाइ र कसले उठायो फाइदा ?
टेस्लाको भारत प्रवेशमा ढिलाइ हुनुको मुख्य कारण कर विवाद थियो । एलन मस्क सुरुमा विदेशमा बनेका कारहरूलाई कम भन्सार दरमा भारतमा बेच्न चाहन्थे, ताकि बजारको परीक्षण गर्न सकियोस् । तर, भारत सरकारले ‘मेक इन इन्डिया’ नीतिअन्तर्गत देशमै कारखाना स्थापना गर्न दबाब दियो । यही अडानका कारण वर्षौँसम्म कुरा अघि बढ्न सकेन ।
टेस्लाको यही ढिलाइको फाइदा अन्य प्रतिस्पर्धी कम्पनीहरूले उठाए । किया, हुन्डाई, टाटा मोटर्स र महिन्द्रा जस्ता भारतमा स्थापित कम्पनीहरूले भारतीय बजारमा विभिन्न मूल्य र रेन्जका विद्युतीय कारहरू ल्याएर ग्राहकको मन जिते । अझ, भियतनामको भीनफास्ट र चीनको बीवाईडी जस्ता आक्रामक नयाँ कम्पनीहरूले भारतमा आफ्नो बलियो उपस्थिति मात्र बनाएनन्, टेस्लाका सम्भावित ग्राहकहरूलाई समेत आफ्नो पक्षमा पारे । विशेषगरी, बीवाईडीले विश्व बजारमा टेस्लालाई उछिनेर भारतमा समेत राम्रो प्रभाव जमाएको छ ।
अहिले नेपालमा केही टेस्ला कारहरू गुडिरहेका देखिन्छन्, तर ती व्यक्तिगत प्रयासमा महँगो मूल्य तिरेर ल्याइएका हुन् । नेपालमा टेस्लाको आधिकारिक बिक्रेता छैन । यदि टेस्लाले भारतमा वार्षिक ५ लाख कार उत्पादन क्षमताको कारखाना खोल्ने आफ्नो योजनालाई साकार पा¥यो भने त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिनेछ ।
भारतमा बनेका गाडीहरू नेपालमा आयात गर्दा लागत सस्तो हुन सक्छ । यसले गर्दा टेस्लाका कारहरू अहिलेको तुलनामा निकै सस्तो मूल्यमा नेपाली बजारमा आधिकारिक रूपमै भित्रिन सक्छन् । यसले नेपालको विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा बढाउनेछ र उपभोक्ताले गुणस्तरीय विकल्प रोज्न पाउनेछन् ।
अबको चुनौती
एलन मस्कको विवादास्पद छवि र सामाजिक सञ्जाल ‘एक्स’ मा उनका राजनीतिक टिप्पणीहरूले पनि टेस्लाको ब्रान्डलाई असर गरेको छ । कुनै समय प्रविधिको पर्याय मानिने मस्क अब एक राजनीतिक व्यक्तित्व बनेका छन्, जसको असर उनको कम्पनीको व्यापारमा पनि देखिन थालेको छ ।
लामो ढिलाइपछि टेस्ला भारत प्रवेश गर्न तयार हुने भए पनि यो बजार उसको लागि यो बजार त्यति सहज हुने छैन ।
(विभिन्न अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित सामग्रीमा आधारित ।)
पछिल्लो अध्यावधिक: साउन ५, २०८२ २०:५३
सामाग्री श्रोत :
टेक पाना