२०८२ श्रावण ४ शनिबार
२०८२ श्रावण ४ शनिबार

अपमान हुने सार्वजनिक मञ्च बन्दै इन्टरनेट, अब निजी गल्ती गोप्य रहँदैनन् बरु भाइरल बन्छन्

काठमाडौँ । नेपालको परिप्रेक्ष्यमा सन् २०१२ देखि २०१७ को अवधिमा इन्टरनेटको पहुँच व्यापक रूपमा विस्तार भयो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, इन्टरनेटमा सहज पहुँच र फिचर फोनसँगै स्मार्टफोन पनि किफायती हुँदै जानु जस्ता कारणले इन्टरनेटको विस्तारमा ठुलो मद्दत पुग्यो । 

यदि तपाईं त्योभन्दा अघिल्लो पुस्ताको हुनुहुन्छ भने तपाईंले अरू कसैको प्रेम सम्बन्धबारे बिरलै थाहा पाउनुहुन्थ्यो । भौतिक रूपमा पनि यस्ता छिटपुट घटना देख्ने मौका बिरलै देख्नुभयो । तर, त्यसभन्दा पछाडिको पुस्ता हुनुहुन्छ भने त्यो पल गुमाउनु भयो ।

अब जमाना त्यस्तो रहेन, जहाँ व्यक्तिगत वा पारिवारिक कुराहरू आफैँमा वा नजिकका व्यक्तिमा सीमित हुन्छन् । अधिकांशले त जान अञ्जानमा आफ्नो प्रेम सम्बन्ध सामाजिक सञ्जालमा राख्छन् । पछि कुनै समयमा त्यसैले अनावश्यक हैरानी दिन्छ । केहीले यस्ता विषय सामाजिक सञ्जालमा नराखे पनि अस्वाभाविक रूपमा भाइरल बन्छन् । घरमै सीमित हुनुपर्ने पारिवारिक कलह समाजमा बहसका विषय बन्छन् । भाइरल हुने मोहमा मान्छे आफ्नो सर्वस्व दाउमा राख्न तयार हुन्छ

भारइल हुँदिनँ, कतै देखिदिनँ, आफ्ना निजी कुरा गोप्य नै राख्छु भन्ने मानिस पनि छन् । तर, उनीहरूका लागि पनि समय सजिलो छैन । कुनै दिन उनीहरू नै भाइरल नहोलान् र कसैका लागि मजाकका पात्र नबन्लान् भन्न सकिँदैन । 

अब विश्व परिवेशको कुरा गरौं । नेपाल जस्तो विकासोन्मुख देशदेखि विकसित देशमा पनि इन्टरनेटका नकारात्मक पक्षहरू हाबी बन्दै गएका छन् । विश्व परिवेशको कुरा गर्दा आज इन्टरनेटको युगमा क्यामेरा जताततै छन् र मानिसका साना ठुला गल्तीहरू लाखौं-करोडौं मानिसका लागि मनोरञ्जनको विषय बन्छन् । त्यहीं अनलाइन दर्शक आफ्नो विचार र फैसला सुनाउन ओइरिन्छन् । यही बहसलाई हालैको एक घटनाले थप चर्चामा ल्याएको छ । 

तपाईंले थाहा पाउनु भयो होला । प्रविधि कम्पनी ‘एस्ट्रोनोमर’का सीईओ एन्डी बायरन त्यही कम्पनीकी एचआर प्रमुख क्रिस्टिन क्याबोट अङ्गालोमा बाँधिएको घटना भाइरल भइरहेको छ ।

तपाईंको जानकारीका लागि भनौं- ‘कोल्डप्ले’ नामको एउटा बेलायती रक ब्यान्ड छ ।

१६ जुलाईमा अमेरिकाको मासाचुसेट्स सहरमा रहेको फक्सबोरोमा उक्त ब्यान्डको कन्सर्ट थियो । त्यस्ता ठुला कन्सर्टमा ‘किस क्याम’ भन्ने सेग्मेन्ट हुन्छ । त्यो समयमा क्यामेराहरू जोडी भएको ठाउँतिर केन्द्रित हुन्छन् । कुनै रमाइलो जोडी भेटिएको खण्डमा क्यामेराले निरन्तर उनीहरूलाई खिच्छन् र उक्त दृश्य स्टेडियममा राखिएको ठुलो स्क्रिनमा देखिन्छ । हजारौं दर्शक हुने स्टेडियममा क्यामेरामा को कतिबेला कैद हुन्छ भन्न सकिँदैन । यो आकस्मिक हुने भएकाले क्यामेरामा देखिने जोडीहरू आफूलाई ठुलो स्क्रिनमा देखेपछि ‘सरप्राइज’ हुन्छन् । र, रमाउँछन् । केही असहज महसुस गर्छन् । त्यसैलाई थप रोमाञ्चक र यादगार बनाउन केही जोडी रमाइला गतिविधि गर्छन् ।

त्यसरी जोडीको रमाइलो पल कैद गर्ने क्रममा क्यामेराको फ्रेममा सीईओ एन्डी त्यही कम्पनीकी एचआर प्रमुख क्रिस्टिनको अङ्गालोमा बाँधिएको देखिए । क्यामेरामा आफूहरूलाई देखेपछि दुवै जना अप्ठ्यारो माने । तत्कालै एन्डी आफूलाई लुकाउन भुइँमा बसे र क्रिस्टिन पछाडि फर्किइन् । यसरी उनीहरू दुवै आत्तिएको दृश्य ठुलो स्क्रिनमा देखिएपछि कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले ठट्टा गर्दै भने, “कतै यिनीहरूको अफेयर त चलिरहेको छैन ?”

@instaagraace trouble in paradise?? 👀 #coldplay #boston #coldplayconcert #kisscam #fyp ♬ original sound – grace

कन्सर्टमा उपस्थित अर्का एक व्यक्तिले यो क्लिपलाई टिकटकमा पोस्ट गरिदिए, जुन भिडिओ आठ करोड ८३ लाखभन्दा बढी पटक हेरिएको छ । लाइक ८१ लाख बढी आएका छन् । हजारौंले कमेन्ट गरेका छन् ।

भिडिओका क्लिप सामाजिक सञ्जालमा भाइरल हुन थाले । पछि उनीहरू एकै कम्पनीमा काम गर्ने व्यक्ति भएको र दुवै विवाहित भएको विषय बाहिर आएपछि त्यसले थप चर्चा पायो । 

अनलाइन प्रयोगकर्ताले तुरुन्तै एन्डी र क्रिस्टिन क्याबोटको पहिचान पत्ता लगाए । उनीहरूले एन्डीको परिवारका सदस्यको नाम र उनको व्यक्तिगत फेसबुक पेजबाट समेत जानकारी सार्वजनिक गरे ।

एक प्रयोगकर्ताले लेखेका थिए, “उनीहरूले धोका दिएका मानिस (श्रीमान् श्रीमती)लाई भगवान रक्षा गरेको उदाहरण हो ।” त्यसमा एक लाखभन्दा बढी रियाक्सन आयो । उनीहरू डेटासम्बन्धी काम गर्ने चर्चित कम्पनीका सीईओ र एचआर प्रमुख भएकाले लिङ्क्डइन अकाउन्ट पनि तत्कालै फेला पर्‍यो । र, मानिसहरू कमेन्ट गर्न थाले । अत्यधिक कमेन्ट आउन थालेपछि उनीहरू अकाउन्ट नै बन्द गर्न बाध्य भए ।

यो घटना बाहिर आएपछि मिम र ट्रोलको बाढी आयो । ‘कोल्डप्ले चिटिङ’, ‘कोल्डप्ले स्क्यान्डल’, ‘कोल्डप्ले अफेयर’ जस्ता शब्दहरू गुगल र अन्य सामाजिक सञ्जालमा ट्रेन्डिङमा परे । यतिसम्म कि एडल्ट साइटमा पनि यी किवर्डको सर्च ह्वात्तै बढेको छ ।

जागिरका लागि उपलब्ध छु भन्न प्रयोग हुने लिङ्क्डइनको सङ्केत ।

एचआर जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी कर्मचारी र कम्पनी नै हाँकिरहेका सीईओको यो हर्कत बाहिरिएपछि कम्पनी र त्यहाँ हुने वर्क कल्चरका विषयमा पनि विभिन्न किसिमका भनाइ आउन थाले । त्यसपछि कम्पनी ‘एस्ट्रोनोमर’ले एक विज्ञप्ति जारी गर्दै भन्यो, “हामी हाम्रा मूल्य र संस्कृतिप्रति प्रतिबद्ध छौं । हामी अनुसन्धान गर्दैछौं ।” 

कम्पनीको बोर्डले यस घटनाको छानबिन गर्ने बताएको छ । पछि, कम्पनीले एन्डीलाई पदबाट निलम्बन गरी बिदामा पठाइएको र सह-संस्थापक पेटे डिजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको जानकारी दियो ।

अर्बौं डलरको यो कम्पनी यही विवादका कारण धराशायी बन्ने अवस्थामा आएको छ । एन्डी र क्रिस्टिनले सामाजिक सञ्जालमा राखेका अन्य फोटोहरू पनि भाइरल भइरहेका छन् ।

दुई जना बाहेक उनीहरूका परिवारलाई पनि यस घटनाले नकारात्मक रूपमा प्रभाव पारेको छ । यसै सन्दर्भमा उनीहरूको गोपनीयताको सुरक्षाको प्रश्न उठिरहेको छ । साथै सामाजिक सञ्जालमा राखिने सामग्री (फोटो, भिडिओ) कुन बेला कसरी, कसले, कुन प्रयोजनका लागि प्रयोग गर्न सक्छ भन्ने उदाहरणका रूपमा देखिएका छन् ।

भाइरल एन्डी बायरन आफू नभएको भन्दै लिङ्क्डइन प्रयोगकर्ताले गरेको पोस्ट

एन्डीको घटना कुनै नौलो होइन । यो इन्टरनेटमा सामान्य मानिसहरूको नैतिक गल्तीलाई भाइरल बनाउने शृङ्खलाको पछिल्लो कडी मात्र हो । यसअघि पनि ठुला मञ्चबाट यस्ता घटना भएका छन् । क्यामेराको पक्षलाई ख्यालै नगरेर गरिएका गतिविधिका कारण भाइरल भएका अन्य थुप्रै घटना छन् ।

वर्क कल्चरका आलोचकका अनुसार इन्टरनेटले अहिले हरेक दिन हुने सामान्य गल्तीलाई पनि लाखौं मानिसका लागि मनोरञ्जनको खुराक बनाइदिएको छ । यसले नयाँ जोखिम र नैतिक प्रश्न खडा गरेको छ । किनकि अनलाइन भिडले गम्भीर अपराध र सामान्य व्यक्तिगत विवादबिचको भिन्नता छुट्याउँदैन ।

घरको ढोकामा राखिने डोरबेल क्यामेरा, पसल र सरकारी निगरानी प्रणाली तथा सबैको हातमा भएको स्मार्टफोनका कारण मानिस जतिबेला पनि रेकर्ड हुनसक्ने जोखिममा छन् । त्यस्तै इन्टरनेट प्रयोगकर्तालाई अरूको निजी जीवनमा के भइरहेको छ भनेर जान्ने उत्सुकता हुन्छ । उनीहरू आफूलाई न्यायाधीश सम्झेर सजाय दिन अग्रसर हुन्छन् ।

इन्टरनेट संस्कृति विश्लेषक रेनी फिशर-क्वानका अनुसार यो एक प्रकारको ‘अन्तरक्रियात्मक जासुसी खेल’ जस्तै भएको छ जहाँ दर्शकहरू आफैँ कथाको हिस्सा बन्न हतारिन्छन् ।

सार्वजनिक अपमानको असर र नैतिक प्रश्न

यो घटना ‘क्यान्सिल कल्चर’ (बहिष्कार संस्कृति) जस्तै देखिए पनि फरक छ । क्यान्सिल कल्चर भनेको चर्चित व्यक्तिलाई उनीहरूको पुरानो गल्ती (जस्तै: कार्यस्थलमा दुर्व्यवहार वा जातीय टिप्पणी) का कारण बहिष्कार गर्ने, आलोचना गर्ने गरिन्छ । तर, एन्डी जस्ता व्यक्ति सार्वजनिक व्यक्तित्व नभई सामान्य नागरिक हुन् ।

लेखक जोन रोनसनले आफ्नो पुस्तक ‘सो यु ह्याभ बीन पब्लिक्ली शेम्ड’ (So You’ve Been Publicly Shamed) मा वर्णन गरेअनुसार अनलाइन भिडको सिकार भएका सामान्य मानिसले आफ्नो जागिर गुमाएका छन् र लामो समयसम्म मानसिक स्वास्थ्य समस्या भोगेका छन् ।

यो प्रवृत्तिले सम्बन्धमा पनि असर गरिरहेको छ । थेरापिस्टका अनुसार युवा पुस्ताले आफ्ना पार्टनरको हरेक अनलाइन गतिविधिमाथि निगरानी राख्ने डिजिटल उपकरण प्रयोग गर्छन् । यसले गर्दा अविश्वास र शंकाको वातावरण सिर्जना हुन्छ ।

एन्डी, क्याबोट र उनीहरूको परिवारका लागि यो कथा कसरी टुङ्गिन्छ त्यो त भविष्यले नै बताउला । तर जबसम्म यो घटना साम्य हुन्छ इन्टरनेटले आफ्नो ध्यान अर्को घटनामा केन्द्रित भइसक्छ । धेरैले घटना बिर्सिन्छन् । तर, त्यसले परिवार, उनको कम्पनी र समाजमा पार्ने असरले भने दीर्घकालीन असर गरिरहन्छ । 

दुर्भाग्यवश सार्वजनिक स्थानमा गल्ती भयो र क्यामेरामा कैद भयो भने जिन्दगी नै तहसनहस हुने अवस्था आउँछ । आजको डिजिटल संसारमा निजी र सार्वजनिक जीवनबिचको रेखा धमिलो भइसकेको छ । र, एउटा सानो गल्तीको परिणाम भयानक हुन सक्छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट