२०८२ श्रावण ४ शनिबार
LATEST NEWS
२०८२ श्रावण ४ शनिबार

फ्याक्टचेकः नेपालमा पहिलो ईकमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको ज्ञानेन्द्र शाहीको दाबी झुटो

काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले आफूले स्थापना गरेको ईकमर्स कम्पनी नेपालमै पहिलो वा दोस्रो भएको दाबी गरेका छन् । एक पडकास्टमा अन्तर्वार्ता दिँदै शाहीले सन् २०१७ मा साथीहरूसँग मिलेर सुरु गरेको ‘केटीएम बज’ नामक ईकमर्स प्लेटफर्म देशकै पुरानोमध्ये एक भएको बताएका छन् ।

तर, टेकपाना फ्याक्टचेकले सांसद शाहीको यो दाबी भ्रामक रहेको पुष्टि गरेको छ । उनले आफ्ना दुई साथीसँग मिलेर ईकमर्स प्लेटफर्म सुरु गरेको कुरा सत्य भएपनि त्यसअघि नै नेपालमा अन्य थुप्रै ईकमर्स प्लेटफर्महरू सञ्चालनमा आइसकेका थिए ।

दाबी

युट्युबर तथा कमेडियन सजन श्रेष्ठले ३० जुन २०२५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहेका सांसद् ज्ञानेन्द्र शाहीसँगको पडकास्ट सार्वजनिक गरे । एक घण्टा ५० मिनेट लामो पडकास्टमा शाहीले आफ्नो अध्ययन, आफ्नो पारिवारिक अवस्था, राजनीतितर्फको आकर्षण, उनको धारणा र अन्य विविध विषयमा गफगाफ गरेका छन् । त्यही गफगाफ गरेका क्लिपहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । भिडिओको ३७ औं सेकेन्डमा शाहीले व्यापारको सन्दर्भ उठाएका छन् । भिडिओको ३७ः०८ मिनेटमा उनी भन्छन्, “…हामी व्यापार गर्ने भन्यौं । तीन जना साथी आएर कम्पनी खोल्यौं । चामलका बोरा बोकेर…।”

सजन श्रेष्ठ सोध्छन्, “के थियो हजुरको बिजनेस ?”

जवाफमा शाही भन्छन्, “हामीले केटीएम बज डट कम खोल्या । पहिला सुरुमा हामीले खाद्यान्नबाट सुरु गर्यौं । अब के गर्ने त यार ? पैसा छैन । कति छ ५० हजार मैले, ५० हजार अर्काले गर्दाखेरि डेढ लाख रुपैयाँबाट सुरु गरेको बिजनेस हो ।”

“हामीले सुरुमा के बेच्ने है केही थाहा छैन । सबै दिल्ली पढेर आएको हैन केटाहरू । के गर्ने, के नगर्ने केही अत्तोपत्तो छैन । ठ्याक्क दिल्लीमा पस्दा खेरि चाहिँ फ्लिपकार्ट साह्रै खतरा थियो । अब त्यस्तै कम्पनी खोल्नु पर्छ भनेर केटीएम बज डट कम भन्ने अनलाइन कम्पनी खोलियो । एप पनि बनाइयो । एकजना मान्छे पनि अनलाइन अर्डर गर्दैन यार त्यहाँ ।”

“नेपालको हामी करिब फर्स्ट अनलाइनर हो । त्यो अनलाइन बिजनेसमा हामी सेकेन्ड फर्स्टै होला । केमो (Kaymo) हामी सँगसँगै हो । केमो अलिकति पुरानो थियो होला हैन ।”

अर्थात् उनले आफूले सञ्चालन गरेको केटीएम बज नेपालको दोस्रो ईकमर्स प्लेटफर्म हुन सक्ने संकेत गरे । सजनले राखेको उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्म दुई लाख ३१ हजार बढी भ्युज पुगेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ । 

अनुसन्धान

पडकास्टमा सांसद शाहीले आफ्नो व्यावसायिक यात्राबारे प्रस्तुत गरेका केही दाबीबारे टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच अगाडि बढायो । भिडिओको ३७:११ समयमा उनले तीन जनाको साझेदारीमा एक खाद्यान्न कम्पनी खोलेको दाबी गर्छन् । प्रतिव्यक्ति ५० हजारका दरले कुल डेढ लाख रुपैयाँको पुँजीमा व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

अन्तर्वार्ताको ३७:२५ मिनेटमा उनले आफ्नो उद्यमको सुरुवात खाद्यान्न व्यवसायबाट भएको उल्लेख गर्छन् । लगत्तै ३७:३७ मा भारतको सफल ईकमर्स ‘फ्लिपकार्ट’को उदाहरण दिँदै त्यसैको अवधारणामा नेपालमा ‘केटीएम बज डटकम’ नामक ईकमर्स प्लेटफर्म स्थापना गरेको बताउँछन् ।

उनले आफ्नो कम्पनीलाई ‘अनलाइन कम्पनी’को संज्ञा दिँदै एउटा एप समेत बनाएको, तर त्यसबाट व्यापार नभएको स्वीकारोक्ति गरेका छन् । रोचक त के छ भने उनी आफूलाई नेपालको ‘पहिलो अनलाइनर’का रूपमा प्रस्तुत गर्छन् । जबकि ‘अनलाइनर’ भन्ने शब्दको अस्तित्व नै छैन । उनको भनाइको आशय आफ्नो कम्पनी नेपालको प्रारम्भिक ईकमर्स कम्पनीमध्ये एक थियो भन्ने बुझिन्छ ।

तर, आफ्नो दाबीमा उनी आफैँ स्थिर देखिँदैनन् । सुरुमा पहिलो ईकमर्स कम्पनी भनेका शाहीले पछि आफ्नो भनाइ खण्डन गर्दै आफ्नो कम्पनी पहिलो वा दोस्रो हुनसक्ने बताउँछन् । उनले आफ्नो कम्पनी र ‘केमु’ (Kaymu) समकालीन भएको समेत उल्लेख गरेका छन् ।

अनलाइनमा खाद्यान्न बिक्री नभएपछि ‘घर-घर गएर बेच्न’ सुरु गरेको बताउँछन् । र, त्यही क्रममा आफूलाई एक ग्राहकले दुःख दिएको भन्दै संघर्ष सुनाउँछन् ।

कालिमाटी बजारबाट चामल खरिद गर्ने र गाडीमा चामल बोकेर घर-घरमा बिक्री गरेको बताउँछन् । त्यही व्यापार एक महिनासम्म गरेको र त्यसबाट व्यापार गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उल्लेख गर्छन् । त्यसपछि चामलको व्यवसाय छोडेर अनलाइन व्यापार गरेको बताउँछन् । याद गर्नुहोस् पहिले नै उनले केटीएमबज डटकम नामक ईकमर्स कम्पनी सञ्चालनमा ल्याइसकेको दाबी गर्छन् । फेरि अनलाइन व्यवसाय सफल नभएपछि खाद्यान्न बिक्री गर्न सुरु गरेको बताउँछन् । त्यो व्यवसाय सफल भएपछि अनलाइन व्यवसाय अगाडि बढाएको बताउँछन् । 

आफ्नो ईकमर्स यात्राको विवरण दिने क्रममा उनी त्यही प्लेटफर्मबाट फ्रिज, टिभी, राइस कुकर र ग्यास गिजरजस्ता विभिन्न घरेलु इलेक्ट्रोनिक्स उपकरणको बिक्री सुरु गरेको बताउँछन् ।

उनले आफ्नो व्यापारको सफलता पुष्टि गर्न एक महिनामै ५० देखि ६० ओटासम्म टिभी बेचेको र पछि आफैँले सामान एसेम्बल गर्न थालेको दाबीसमेत गरेका छन् । उनको सबैभन्दा उल्लेखनीय दाबी भने नाफासँग सम्बन्धित छ । चीनबाट आयातित पार्टपुर्जा एसेम्बल गरेर बिक्री गर्दा आफूले ६० प्रतिशतसम्म नाफा कमाएको उनको भनाइ छ ।

आफ्नो दाबीलाई बलियो बनाउन उनले हिसाबसमेत प्रस्तुत गरेका छन्, “साढे पाँच सय रुपैयाँको मोटर, साढे पाँच सय रुपैयाँको अन्य सामग्री र दुई सय रुपैयाँ फिटिङ खर्च गरेर १३०० देखि १४०० रुपैयाँमा तयार हुने सामान हामी ४५०० रुपैयाँसम्ममा बेचिन्छ,” उनी थप्छन्, “इलेक्ट्रोनिक्समा मार्जिन असाध्यै राम्रो छ ।”

तीन मिनेटमा उनले गरेका दाबीहरूलाई यसरी प्रस्तुत गर्न सकिन्छ:

१) सुरुमा आफ्नो ईकमर्स प्लेटफर्म नेपालकै पहिलो भएको दाबी गरे पनि तत्कालै त्यसलाई सच्याउँदै उनले ‘केटीएम बज डटकम’ अघि ‘केमु’ आएकाले आफ्नो प्लेटफर्म दोस्रो हुनसक्ने बताए ।

२) तीन जनाको साझेदारीमा जम्मा डेढ लाख रुपैयाँको लगानीमा अनलाइन व्यवसाय सुरु गरेको उनको भनाइ छ । 

३) पहिले अनलाइनबाट खाद्यान्न बिक्री गरेको, तर बिक्री नभएपछि घर घरमा गएर बिक्री गर्न थालेको । र, पछि त्यसैबाट इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्न थालेको ।

४) एकै महिनामा कम्तीमा ५० देखि ६० ओटासम्म टेलिभिजन अनलाइनमार्फत बिक्री हुने गर्थ्यो ।

५) त्यस समयमा इलेक्ट्रोनिक्सका सामान बिक्री गर्दा ६० प्रतिशतसम्म नाफा हुने गरेको पनि उनले दाबी गरे ।

ज्ञानेन्द्र शाहीले गरेका दाबीको यथार्थ पत्ता लगाउन टेकपाना फ्याक्टचेक डेस्कले विस्तृत तथ्य-जाँच सुरु गर्‍यो । अनुसन्धानको पहिलो चरणमा डेस्कले उनले चर्चा गरेको ईकमर्स प्लेटफर्म ‘केटीएम बज डटकम’ (ktmbuzz.com) को प्राविधिक अवस्था जाँच्यो । तर उक्त वेबसाइट हाल निष्क्रिय रहेको पाइयो । यद्यपि शाहीको फेसबुक प्रोफाइलको अनुसन्धान गर्दा २७ अगस्ट २०१७ मा उनले ‘केटीएम बज’सँग सम्बन्धित मिक्सरको तस्बिर राखेको भेटियो, जसले उनको दाबीलाई प्रारम्भिक आधार दियो । त्यसपछि गुगलमा ‘ktmbuzz.com’ सर्च गर्दा ‘नेपाल होलसेल मार्केट’ नामक फेसबुक पेज भेटियो । सोही पेजमा उपलब्ध गराइएको सम्पर्क नम्बरको आधारमा हामी कम्पनीका एक साझेदार भरत रिमालसम्म पुग्न सफल भयौँ ।

रिमालसँगको कुराकानीमा उनले सन् २०१७ मा कम्पनी स्थापना भएको पुष्टि गरे । उनले दिएको जानकारी अनुसार कम्पनीको शेयर संरचनामा उनको ४० प्रतिशत तथा ज्ञानेन्द्र शाही र ऋषिकेश घिमिरेको समान ३०/३० प्रतिशत हिस्सेदारी थियो ।

ज्ञानेन्द्र शाहीको लगानीसँग सम्बन्धित दाबी अर्थात् लगानीको रकमलाई भने उनका तत्कालीन साझेदार भरत रिमालले ठाडै अस्वीकार गरेका छन् । शाहीले प्रतिव्यक्ति ५० हजारका दरले कुल डेढ लाखको लगानीमा व्यवसाय सुरु गरेको बताए पनि रिमालले यो दाबी असत्य भएको स्पष्ट पारे ।

यद्यपि रिमालले शाहीसँग सीए अध्ययनका क्रममा भारतमा भेट भएको र फ्लिपकार्टबाट प्रेरित भएर २०७४ मंसिरमा ‘केटीएम बज डटकम’ सुरु गरेको कुरा भने सत्य भएको पुष्टि गरे ।

कम्पनीको लगानी र शेयर संरचनाबारे शाहीको भनाइमा विरोधाभास रहेको बताउँदै रिमाल भन्छन्, “कम्पनीमा मेरो ४० प्रतिशत तथा ज्ञानेन्द्र शाही र ऋषिकेश घिमिरेको ३०-३० प्रतिशत शेयर थियो । शाहीजीको मार्केटिङ शैली राम्रो भएकाले हामीले उहाँलाई शेयरको अनुपातभन्दा कम लगानी गर्न लगाएका थियौँ । तर, उहाँले गर्नुभएको त्यो लगानी पनि उहाँले भनेको ५० हजार रुपैयाँभन्दा धेरै नै बढी थियो ।”

यसैलाई थप आधार दिन उनले वेबसाइट एक लाख ३० हजार रुपैयाँमा निर्माण गरेको र एपका लागि झण्डै १० लाख रुपैयाँ लागेको उल्लेख गरे । “अहिलेको जस्तो डेभलपर त्यतिबेला थिएनन्,” उनले भने, “शाही जीले उल्लेख गरेको खर्चमा वेबसाइट बन्ने अवस्था थियो । एपका लागि १० लाख खर्च भयो ।”

शाहीले पहिले वेबसाइटबाट खाद्यान्न बिक्री गरेको र त्यसबाट ग्राहक नआएपछि भौतिक रूपमा घर घरमा पुगेर बिक्री गर्न थालेको दाबी गरेका छन् । भरत रिमाल यसलाई पनि अस्वीकार गर्छन् । “हामीले सुरुवातमै ‘केटीएमबज’मा इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्न थालेका थियौं । उहाँ हामीबाट छुट्टिएर गएपछि के व्यवसाय सुरु गर्नुभयो थाहा भएन तर हामी तीन जना सँगै हुँदा हामीले कहिल्यै खाद्यान्न सुरु गरेनौं,” रिमालले भने । 

वे ब्याक मसिनमा केटीएमबज वेबसाइट हेर्दा यो डोमेन पहिलो पटक सन् २०१३ मा दर्ता भएको देखिन्छ । तर, यो २०१४ सम्म मात्र सञ्चालित थियो । डोमेन दर्ता गरेर एक वर्षसम्म रिजर्भ गरेको देखिन्छ । पछि सन् २०१५ मा यस डोमेनमा केही गतिविधि हुँदैनन् ।

२५ मे २०१७ मा वेबसाइट आर्काइभ भएको देखिन्छ । उक्त प्लेटफर्ममा ज्योतिष परामर्श, पुस्तक, सङ्गीत, कम्प्युटर तथा एक्सेसरिज, कस्मेटिक तथा गिफ्ट, मेकअप, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस, फेसन, फर्निचर, हार्डवेयर, किचेनवेयर, मोबाइल, ट्याब्लेट, खेलौना र खाद्यान्न जस्ता सामग्री तथा सेवाहरू बिक्री गर्ने गरेको देखिन्छ । अर्थात् सुरुवातमै खाद्यान्न मात्र बिक्री गर्न थालेको नभई खाद्यान्न सहित अन्य सामग्री अनलाइनमा राखेको वे ब्याक मेसिनको डेटाबाट पुष्टि हुन्छ । खाद्यान्नका सन्दर्भमा पनि विभिन्न भेन्डरलाई यसमा आवद्ध गरेकाले भेन्डरले राखेको भरतले स्पष्ट पारे । अर्थात् ‘केटीएम बज’मा सुरुवातमा खाद्यान्न मात्र बिक्री गरेको दाबी भ्रामक छ । 

रिमालका अनुसार ज्ञानेन्द्र शाही मंसिर २०७४ देखि भदौ २०७५ सम्म अर्थात् करिब नौ महिना उक्त कम्पनीमा आबद्ध थिए । शाहीले मासिक कम्तीमा ५०-६० ओटा टेलिभिजन बेचेको दाबीलाई पनि रिमालले खण्डन गरेका छन् । उनका अनुसार सबैभन्दा बढी व्यापार हुने समय (पिक सिजन) अर्थात् आईपीएल चलिरहेको बेला पनि मासिक ३० ओटासम्म मात्र टिभी बिक्री भएको थियो । “उहाँ (शाही) ले मासिक ५०-६० ओटा टेलिभिजन बिक्री गरेको भन्नुभएछ, त्यो अतिरञ्जित हो । पिक सिजनमा पनि हाम्रो बिक्री ३० ओटासम्म मात्र थियो,” रिमाल भन्छन् ।

त्यसैगरी शाहीले दाबी गरेको ६० प्रतिशत नाफाको मार्जिनलाई पनि रिमालले गलत ठहर्‍याए । उनले भने, “ज्ञानेन्द्र शाहीले दाबी गरेजस्तो ६० प्रतिशतसम्म नाफा थिएन । इलेक्ट्रोनिक सामानमा सामान्यतया १५ देखि २३ प्रतिशतको मार्जिन हुन्थ्यो । त्यो बार्गेनिङ गर्ने कला, ग्राहकलाई कन्भिन्स गर्ने सीपमा निर्भर हुन्छ ।”

 

अब लागौं पहिले आफूलाई पहिलो ईकमर्स प्लेटफर्म दाबी गरेको सन्दर्भमा । रिमालका अनुसार कम्पनी ‘मार्केट हब प्रालि’ दर्ता भएर मंसिर २०७४ देखि सञ्चालनमा आएको थियो । अर्थात् यो सन् २०१७ तिरको कुरा हो । पछि यही भनाइलाई खण्डन गर्दै ‘केमु’ भन्ने ईकमर्स प्लेटफर्म आएकाले आफू नेपालकै दोस्रो हुन सक्ने उनले दाबी गरे ।

 

वेबसाइट आउटलुकमा केटीएमबज वेबसाइट ५ मे २०१६ मा दर्ता भएको र ५ मे २०२१ मा एक्सपायर भएको देखिन्छ । तर, साइट भने अप्रिल २०१७ देखि सञ्चालनमा आएको देखिन्छ । 

वास्तवमा केटीएमबज सुरु हुनुभन्दा करिब १७ वर्षअघि अर्थात् सन् २००० मा नै ठमेल डट कम (उपहार र चाडपर्वका सामग्री) र २००३ मा मुन्चा (उपहार, केक, इलेक्ट्रोनिक्स) जस्ता प्लेटफर्महरू सञ्चालनमा आइसकेका थिए ।

त्यसपछि सन् २००५ मा हाम्रो बजार डट कमले पुराना तथा नयाँ सामानको खरिदबिक्रीका लागि एउटा स्थापित बजारको रूप लिइसकेको थियो । केटीएमबज सञ्चालनमा आउनुअघि नै बजारमा नेपबे/ठूलो डट कम (सन् २००७), सस्तोडिल (सन् २०११), ओलिज स्टोर (सन् २०११), केमु (सन् २०१२, जसलाई पछि दराजले किन्यो), अर्बन गर्ल/युजी केक्स (सन् २०१२), मेरो शपिङ (२०१३) जस्ता कम्पनी विभिन्न क्षेत्रमा सक्रिय थिए । यी कम्पनीहरूले इलेक्ट्रोनिक्स, फेसन, घरायसी सामानदेखि दैनिक उपभोग्य वस्तुसम्मको अनलाइन बजारमा आफ्नो बलियो उपस्थिति बनाइसकेका थिए । सन् २०१७ मा केटीएमबज सुरु हुँदा नेपालमा ईकमर्सको बजार नयाँ नभएर स्थापित र प्रतिस्पर्धी भइसकेको थियो ।

अन्य ईकमर्स प्लेटफर्म जस्तो केटीएम बज खासै चर्चामा रहेको पनि देखिंदैन । सामाजिक सञ्जाल ट्वीटर (अहिलेको एक्स) र फेसबुकमा फलोअरको सङ्ख्या र पोस्ट सङ्ख्या निकै कम देखिन्छन् । अर्थात् प्लेटफर्म कति चर्चित थियो भन्ने विषय सामाजिक सञ्जालमा आउने रियाक्सन, त्यस विषयमा हुने पोस्ट, गफगाफ आदिमा निर्भर हुन्छ । केटीएमबजको फेसबुक पेजमा २०१७-१८ को बीचमा ३५ ओटा पोस्ट भएको देखिन्छ । एक्स (पहिलेको ट्वीटर) मा पनि १६ ओटा पोस्ट मात्र देखिन्छन् । 

 

अनलाइनबाट व्यापार सञ्चालन गर्ने र चर्चा पाएका कम्पनीलाई त्यसबेला सञ्चार माध्यमले पनि प्राथमिकताका साथ स्थान दिएको देखिन्छ । तर, केटीएमबजको कभरेज कुनै सञ्चार माध्यममा भएको देखिंदैन । यी विभिन्न तथ्यका आधारमा ज्ञानेन्द्र शाहीले गरेको बिक्रीको दाबी, पहिलो अनलाइन कम्पनी (उनकै भाषामा अनलाइनर) लगायतका दाबी भ्रामक पुष्टि हुन्छन् । 

दाबी

सांसद ज्ञानेन्द्र शाहीले एक पडकास्टमा निम्न दाबी गरेका थिए:

१) उनले सञ्चालन गरेको ई-कमर्श प्लेटफर्म ‘केटीएम बज डट कम’ (KTM Buzz) नेपालको पहिलो वा दोस्रो ई-कमर्श प्लेटफर्म हो ।

२) उनले दुई साथीसँग मिलेर प्रतिव्यक्ति ५० हजारका दरले कुल डेढ लाख रुपैयाँको लगानीमा अनलाइन व्यवसाय सुरु गरेका थिए ।

३) सुरुमा अनलाइनबाट खाद्यान्न बेच्न खोजेको तर बिक्री नभएपछि घर-घरमा गएर बेच्न थालेको र पछि इलेक्ट्रोनिक्स सामग्रीको व्यापार सुरु गरेको ।

४) अनलाइनमार्फत एकै महिनामा ५० देखि ६० ओटासम्म टेलिभिजन बिक्री हुन्थ्यो ।

५) इलेक्ट्रोनिक्स सामानको व्यापारमा ६० प्रतिशतसम्म नाफा हुन्थ्यो । नेपालका व्यापारीले त्यसरी नै नाफा कमाउँछन् !

दाबीकर्ता

ज्ञानेन्द्र शाही

तथ्य

‘केटीएम बज’का तत्कालिन सञ्चालक शाहीले आफ्नो व्यवसायबारे गरेका केही दाबीहरू तथ्यसँग मेल नखाने देखिन्छन् । शाहीले आफ्नो व्यवसायलाई नेपालको पहिलो वा दोस्रो ई-कमर्श भएको दाबी गरे पनि ‘केटीएम बज’ सन् २०१७ मा मात्र सञ्चालनमा आएको थियो । वास्तवमा त्यसभन्दा धेरै अघि नै नेपालमा ठमेल डट कम (सन् २०००), मुन्चा (सन् २००३), हाम्रो बजार (सन् २००५), सस्तोडिल (सन् २०११) र केमु (सन् २०१२) जस्ता दर्जनौं ई-कमर्श प्लेटफर्म स्थापित भइसकेका थिए । अनलाइनबाट आफ्नो व्यापार सञ्चालन गर्ने कम्पनीहरू पनि व्यापक रूपमा बढिसकेका थिए ।

त्यसैगरी लगानी रकमको विषयमा पनि उनको भनाइमा विरोधाभास छ । शाहीले डेढ लाखको लगानीमा व्यवसाय सुरु गरेको दाबीलाई उनका तत्कालीन व्यापार साझेदार भरत रिमालले असत्य भनेका छन् । रिमालका अनुसार वेबसाइट बनाउन मात्रै एक लाख ३० हजार र एप बनाउन झण्डै १० लाख रुपैयाँ लागेको थियो । यसले पनि शाहीको लगानी दाबी गरेभन्दा निकै बढी भएको देखाउँछ ।

व्यवसायको प्रकृतिबारे पनि शाहीको दाबी र वास्तविकता फरक पाइन्छ । साझेदार रिमालका अनुसार उनीहरूले सुरुदेखि नै खाद्यान्नका साथै इलेक्ट्रोनिक्स सामग्रीको पनि व्यापार गरेका थिए । यो कुरालाई इन्टरनेटको आर्काइभ ‘वे ब्याक मेसिन’ को डेटाले पनि पुष्टि गर्छ । त्यस अनुसार ‘केटीएम बज’ले सुरुवाती चरणमै खाद्यान्नका अतिरिक्त इलेक्ट्रोनिक्स, फेसन, र किताब जस्ता विविध सामग्री बिक्रीमा राखेको थियो ।

निष्कर्ष

टेकपाना फ्याक्टचेकको अनुसन्धान अनुसार सांसद ज्ञानेन्द्र शाहीले आफूले नेपालको पहिलो वा दोस्रो ई-कमर्श प्लेटफर्म सञ्चालन गरेको, लगानी रकम, व्यापारको प्रकृति, बिक्रीको आकार र नाफाको प्रतिशतबारे गरेका अधिकांश दाबी भ्रामक पुष्टि भएका छन् । यो एक घण्टा ५० मिनेटको भिडिओमध्ये बीचको तीन मिनेटको अंश (सामाजिक सञ्जालमा भाइरल)लाई तथ्यजाँच गरिएको हो । विभिन्न स्रोतबाट प्राप्त तथ्य, उनका पूर्व व्यापारिक साझेदारको भनाइ र वेबसाइटको अभिलेखले उनको कम्पनी सञ्चालनमा आउनुभन्दा धेरै अघि नै नेपालमा ई-कमर्श बजार स्थापित भइसकेको देखाउँछ र उनका अन्य व्यावसायिक दाबीलाई पनि भ्रामक पुष्टि गर्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १४:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट