२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

नेपालकै एउटा यस्तो कलेज, जहाँका कक्षा-कोठामा एआई प्रतिबन्ध नभई, उल्टै बढावा दिइन्छ

काठमाडौँ । जब इन्टरनेटको अस्तित्व नै थिएन, विद्यार्थीहरू केही कुरा सिक्न वा नयाँ कुरा थाहा पाउन शिक्षककै भर पर्नु पर्थ्यो । कक्षाकोठा बाहेकका ज्ञान लिन पुस्तकालयमा रहेका किताबका पाना पल्टाउनु पर्ने बाध्यता थियो । तर अहिले समय बदलिएको छ । शिक्षकलाई भन्दा बढि एआईलाई प्रश्न गर्छन् विद्यार्थी । गुगल, युट्युब भिडिओ, च्याटजीपीटी जस्ता कयौँ एआई टुलहरू छन् जसले विद्यार्थीलाई अध्ययनमा सघाइरहेको छ । 

च्याटजीपीटीलाई हजारौँ पीएचडीको भण्डार भन्न रुचाउँछन्, डियरवाक ग्रुपका संस्थापक रुद्र पाण्डे । तर, कुनै पनि नयाँ  कुरा आउँदा सुरुमा नकारात्मक टिप्पणी हुनु स्वभाविक भएको उनको बुझाइ छ । उनी भन्छन्, “पुस्तकालयको अवधारणा आउँदा त्यसलाई पनि स्वीकार्न गाह्रो भएको थियो । अब यिनीहरूले लाइब्रेरीमा गएर पढि हाल्छन् । शिक्षकको के काम भन्ने खालको प्रश्न आएको थियो ।”

अहिले एआईलाई लिएर पनि त्यस्तै त्रास सिर्जना भएको छ । यसले मानवको सिर्जनशील क्षमता नाश गर्ने हो की भन्ने प्रश्न उब्जिएका छन् । कतिपय शैक्षिक संस्थामा विद्यार्थीलाई एआईको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

तर एआईको आगमनले ज्ञानमाथिको पहुँचलाई असाधारण रूपले सहज बनाएको पाण्डेको बुझाई छ । उनी भन्छन्, “एआई यस्तो ‘सुनामी’ जस्तो गरी आएको छ कि अब ‘तपाईँको औँलाको छेउमै एक पीएचडी सरहको ज्ञान उपलब्ध छ’ । यसले तपाईँले सोधेका सबै प्रश्नको तत्कालै जवाफ दिन्छ ।” अब उक्त सुनामीसँगै अघि बढ्न भने स्कुल कलेज लगायतका शैक्षिक संस्थामा पनि एआई प्रयोगलाई जोड दिनुपर्ने उनले बताए । 

डियरवाक ग्रुपका संस्थापक रुद्र पाण्डे

त्यसैले उनले डियरवाक सिफल स्कुल र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका कक्षा कोठा, शिक्षक र विद्यार्थीहरूमा एआई प्रयोगको तयारी अघि बढाएका छन् । भर्खरै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एआईको प्रयोगको बारेमा सिकाउन सुरु भइसकेको छ ।

यसका लागि हाम्रो पात्रोको क्रियटिभ टिमले एआईको प्रयोग कसरी गर्ने भनेर विद्यार्थीहरूलाई सिकाउँदै छ । पाण्डे आफैँ हाम्रो पात्रोको सञ्चालक समिति अध्यक्ष समेत हुन् ।  

डियरवाक कलेजको कक्षा ११ मा भर्ना भएका ३५ बढी विद्यार्थीलाई एआई प्रयोग सम्बन्धी तालिम सुरु गरिएको हाम्रो पात्रोका क्रियटिभ म्यानेजर आनन्द महर्जनले बताए । जस अन्तर्गत विद्यार्थीहरूले विगत दुई हप्तादेखि कन्टेन्ट प्रोडक्सन र भिडिओ प्रोडक्सन लगायतका कुराहरू सिकिरहेका छन् । 

उनी भन्छन्, “अहिलेका पुस्ता हामीले सोचेभन्दा एआईमा निकै जानकार छन् । केही कुरा सिकायो भने छिट्टै बुझिहाल्छन् ।”  च्याटजीपीटी लगायतका एआईलाई प्रम्प्ट दिएर फरक-फरक फोटोहरू बनाउने तरिका, स्टोरी टेलिङ र मार्केटिङ सामग्री तयार पार्ने सीपहरू सिकाउने काम भइरहेको छ ।

फोटोबाट एआईबाट भिडिओ क्लिप तयार पार्न, भोइसओभर, पडकास्ट, एडिटिङ लगायतका कामहरू गर्ने तरिका पनि सिकाइरहेको उनले बताए । विद्यार्थीहरूलाई प्रमियम टुलहरू भन्दा नि:शुल्क टुलहरू प्रयोग गर्न सहज हुने भएकाले सोही अनुसार सिकाउने काम भइरहेको छ ।

हाम्रो पात्रोका क्रियटिभ म्यानेजर आनन्द महर्जन

तर विद्यार्थीले एआई टुलहरू प्रयोग गर्नुभन्दा पहिला शिक्षक पनि यस बारे जानकार हुनुपर्ने डियरवाक सिफल स्कुलका प्रधानाध्यापक उज्ज्वल पौडेल बताउँछन् । शिक्षकले एआईको सही प्रयोग गर्न जानेमा दैनिक पाठ योजना बनाउन, विद्यार्थीको ग्रेडिङ गर्नुका साथै समय बचाउन सकिने उनको भनाई छ । 

त्यसैले विद्यालयका शिक्षकहरूलाई पनि एआई टुलहरू कसरी प्रयोग गर्ने भनेर तालिम दिइँदैछ । यसबाट शिक्षकहरूलाई नियमित काममा लाग्ने समय बचाएर बढी सिर्जनात्मक काममा ध्यान केन्द्रित गर्न मद्दत गर्ने उनको विश्वास छ । 

यस्तै डियरवाक कलेजमा ‘एआई स्टुडियो’को काम समेत अन्तिम चरणमा पुगेको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्रधानाध्यापक सम्झना पोखरेल बताउँछिन् । जहाँ विद्यार्थीहरूले इन्टर्नको रूपमा काम गर्न र एआई सम्बन्धी थप सीप सिक्न सक्छन् । नेपाल बाहिरबाट आएका ट्युटरहरूले यो स्टुडियोको नेतृत्व गर्ने बताइएको छ । 

डियरवाक सिफल स्कुलका प्रधानाध्यापक उज्ज्वल पौडेल

एआईबाट पढाउन कस्टमाइज जीपीटी

डियरवाक स्कुल तथा कलेजका लागि कस्टमाइज च्याटजीपीटी प्रयोगमा ल्याउने योजना पनि अघि सारिएको छ । 

सामान्य च्याटजीपीटीले प्रश्नको जवाफ दिँदा त्यसलाई कुन स्तरमा वा कुन सन्दर्भमा प्रस्तुत गर्ने भन्ने तय गरिएको हुँदैन । उदाहरणका लागि, विज्ञान विषयमा बल (force) को बारेमा विद्यार्थीलाई प्राथमिक तहदेखि सिकाइन्छ । यो विषयमा पीएचडीमा पनि अध्यापन भइरहेको हुन्छ । 

यसमा कक्षा ६ मा पढ्ने विद्यार्थी र पीएचडी गरिरहेका विद्यार्थीले पढ्ने बलको विषयमा आकाश जमिनको फरक रहन्छ । च्याटजीपीटीसँग पीएडी तहसम्मका जानकारी हुन्छन् । तर कसलाई कति जानकारी दिने भन्ने बारेमा थाहा हुँदैन । यसको लागि डियरवाकले आफ्नै कस्टमाइजेसन सहितको च्याटजीपीटील्याउन लागेको हो । 

जहाँ डियरवाकका पाठ्यक्रम अनुसारका सन्दर्भ सामग्री र पाठ्यपुस्तक स्क्यान गरेर च्याटजीपीटीलाई उपलब्ध गराइनेछ । यसले गर्दा यदि कक्षा ११ को भौतिक विज्ञान पढ्ने विद्यार्थीले प्रश्न गर्दा विद्यार्थीले खोजेको र बुझ्न सक्ने स्तरकै जानकारी च्याटजीपीटीले दिनेछ ।

प्रश्नपत्र तयार गर्न एआईको प्रयोगमा जोड दिइने सहायक प्रधानाध्यापक पोखरेलले बताइन् । प्रश्नपत्र तयार पार्ने टोलीले एआई प्रयोग गरी प्रश्नहरू तय गर्नेछ । यसले शिक्षकहरूमा पुरानै प्रश्नहरू दोहोर्‍याउने वा प्रश्न बनाउन अल्छी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै क्रियटिभ प्रश्नहरू तयार पार्न सघाउने । यसमा पछि टोलीले ‘ह्युमन भेरिफिकेसन’ गर्नेछ । 

एआई प्रयोग गरेर यसअघि डियरवाक कलेजले फिजिक्सको परीक्षाका लागि कस्टम एआई मोडलबाट प्रश्न पत्र बनाएर प्रयोग गरिसकेको सुनाउँदै अन्य विषयमा पनि प्रयोग गर्ने योजना रहेको उनले बताइन् । 

डियरवाक इन्स्टिच्युटअफ टेक्नोलोजीकी सहायक प्रधानाध्यापक सम्झना पोखरेल

कस्ता काममा प्रयोग हुनेछ एआई ?

सिफलका कक्षा कोठामा विद्यार्थीहरूलाई कुनै पनि कार्य सुरुमा एआईको प्रयोग नगरी गर्न लगाइने छ । त्यसपछि, आफूले गरेको कार्य एआई प्रयोग गरी अझ राम्रो गर्न विद्यार्थीलाई असाइन गरिने पाण्डे बताउँछन् । उनी भन्छन्, “विद्यार्थी आफैँले एआई बिना र सही प्रम्प्ट दिएर एआईको प्रयोग गरेर थप कसरी कामलाई राम्रो बनाउन सकिने रहेछ भनेर सिक्नेछन् ।” 

परीक्षा पनि दुई चरणमा लिने तयारी गरिएको छ । १०० पूर्णाङ्कको परीक्षामा विद्यार्थीले ६० अङ्क भारको परीक्षा परम्परागत तरिकाले परीक्षा हलमा बसेर नै दिनेछन् । त्यसपछि ४० अङ्क भारको परीक्षामा भने पहिला परीक्षामा आफैँले लेखेको उत्तरलाई विद्यार्थीले एआई प्रयोग गरेर अझ राम्रो बनाउन अभ्यास गर्नेछन् । जसले विद्यार्थीहरूलाई आफ्नो कामलाई एआईको सहायताले कसरी सुधार गर्ने भनेर सिकाउने छ । विश्लेषणात्मक सीप विकासका लागि यस्तो शिक्षण सिकाई प्रणाली निकै प्रभावकारी हुने उनले बताए । 

 

डियरवाक सिफल स्कुल

त्यति मात्र नभएर दैनिक कक्षा कोठामा हुने शिक्षण सिकाईका क्रममा पनि  एआईको प्रत्यक्ष प्रयोग गर्न लागिएको छ । शिक्षकले एउटा पाठ पढाइसकेपछि विद्यार्थीहरूलाई एआईले सोही विषयमा के भन्छ भनेर जान्नका लागि एआई प्रयोग गर्न लगाउनेछन् । उदाहरण दिँदै पाण्डे भन्छन्, “कक्षा ७ का विद्यार्थीहरूलाई ‘एनिमल किङ्गडम’ बारे शिक्षकले पढाउनु भयो ।  त्यसपछि एआईलाई त्यही विषयमा छोटो व्याख्या दिन लगाइन्छ ।” शिक्षकले कक्षामा पढाएको विषयमा एआईले नयाँ दृष्टिकोण दिँदा विद्यार्थी कक्षामा ‘बोर’ हुनपनि नपर्नेउनको भनाई छ । 

“एआईबाट भाग्ने होइन, अपनाउन सिकौँ”

पछिल्लो समय फैलिदै गएको एआई र यसको प्रयोगले मानवीय सिर्जनशीलतालाई नाश गर्ने भन्दै आलोचना भइरहेको छ । तर, एआईले सिर्जनात्मकतालाई प्रतिस्थापन गर्ने भन्दा पनि बरु त्यसलाई निखार्न सघाउने उनको तर्क छ  । विद्यार्थीहरूले आफ्नो आइडिया र कन्सेप्टलाई एआई टुलको प्रयोगले मूर्त रूप दिन सक्ने पाण्डेको बुझाई छ ।  यसका लागि समयमा नै एआईलाई स्वीकार गरेर सदुपयोग गर्नमा ध्यान दिनुपर्ने उनले बताए । 

उनले भने, “कतिपय शैक्षिक संस्थामा विद्यार्थीलाई एआईको प्रयोग गर्न निषेध गरिएको छ । तर विद्यार्थीहरूले चोरी छिपी भएपनि यसको प्रयोग गरिरहेकै छन् ।”  एआईको आवश्यकतालाई नबुझेर हेलचेक्र्याइँ गर्दा प्लेजेरिजम (बौद्धिक चोरी) को मात्रा बढ्ने उनले बताए ।

डियारवाकले आफ्ना आन्तरिक परीक्षाहरूमा एआईको प्रयोगलाई प्रोत्साहन गरे पनि सरकारी निकायहरूबाट लिइने परीक्षामा भने परम्परागत तरिकाबाट नै परीक्षा दिन सक्ने गरी विद्यार्थीलाई तयार पार्ने छ । त्यसैले आफ्ना विद्यार्थीलाई परम्परागत शैलीमा परीक्षा दिनका लागि पनि तयारी अवस्थामा राख्ने उनले बताए । ‍तर, अन्य शैक्षिक संस्था हुँदै सरकारले पनि एआईको प्रयोगलाई स्वीकार गर्नुपर्ने उनको भनाई छ । “एआई नै भविष्य हो यसलाई स्वीकार नगर्नुको विकल्प छैन,” उनले भने । 

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी

पछिल्लो अध्यावधिक: साउन १, २०८२ २०:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट