काठमाडौँ । महानगर यातायात प्रालिले विद्युतीय बस सेवा सुरु गरेको छ । कम्पनीले चिनियाँ ब्रान्ड चेरी एन्ड वण्डाको १२ विद्युतीय सिटी बस भित्र्याएर आफ्नो सेवा सुरु गरेको हो ।

चेरी एन्ड वण्डाको नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले आज काठमाडौँमा आयोजित एक समारोहमा महानगर यातायातलाई बसको चाबी हस्तान्तरण गरेको छ ।
सो अवसरमा विद्युतीय बस सेवाको औपचारिक उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातमा पनि ईभीको युग सुरु भएको बताए । यस्तै महानगर यातायात प्रालिका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले विश्वव्यापी रूपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको व्यवहारिक पक्षको अध्ययन पश्चात् विद्युतीय बसहरू भित्र्याएको उल्लेख गरे ।
अहिले सेवा आरम्भ गरिएका विद्युतीय बसहरू नेपालको सडक पूर्वाधार सुहाउँदो भएको र निकट भविष्यमै यस्ता विद्युतीय बसहरूको संख्या बढाउने योजनामा रहेको अध्यक्ष खतिवडाको भनाइ थियो । विद्युतीय बसहरू वातावरणमैत्री र यात्रुमैत्री मात्रै नभई व्यवसायीका लागि समेत लाभदायी हुने उनले विश्वास व्यक्त गरे ।

आजदेखि सञ्चालनमा आएको उक्त विद्युतीय बस ८.६५ मिटर लम्बाइका छन् । जसमा ३२ जना यात्रुका लागि आरामदायी सिटका साथै ३५ जना सम्म यात्रु उभिएर जम्मा ६७ जना यात्रु क्षमताको रहेको छ । बसमा अत्याधुनिक फोल्डिङ एड्जस्टेवल आरामदायी सिट प्रदान गरिएको छ । चालक क्याबिनमा दिइएको स्क्रिनमा बसमा भएका सम्पूर्ण गतिविधिहरू सात ओटा सीसीटिभी क्यामरामार्फत नियाल्न सकिने कम्पनीले जनाएको छ ।
यी बसहरू चक्रपथ रुटमा नै प्रयोग गरिने कम्पनीको भनाइ छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १७:४८
सामाग्री श्रोत :
टेक पाना