काठमाडौँ । ०७२ सालमा नेपालमा विनाशकारी भूकम्प गयो । त्यसबेला भूकम्पमा पीडितहरूलाई सरकारले समयमा नै राहत दिन नसक्दा पीडितहरू धेरै रात खुला आकाशमुनि सुतेर र भोको पेट सुत्न बाध्य भए । कोभिड-१९ को महामारीमा पनि धेरै नागरिक समस्यामा परेको सुनियो । ढिला गरी दिइएको राहतमा पनि चामल जस्ता अत्यावश्यक खाद्यान्नमै घोटाला भएको समाचार आएका थिए ।

यस्ता समस्याको समाधान र समयमा नै पीडितहरूले राहत पाउन सक्ने उपाय नेपाली स्टार्टअप अलोईले ल्याएको छ । यस्ता किसिमको सेवा दिन अलोईले फिलिपिन्समा विपद् पूर्वानुमान गर्ने कम्पनी ‘कुमुनिडाड’ सँग सम्झौता समेत गरिसकेको छ ।
यस सम्झौताअनुसार विपद् आउनुभन्दा पहिले नै राहत उपलब्ध गराइने अलोईकी सहसंस्थापक एवम्र प्रमुख प्रविधि अधिकृत (सीटीओ) सोनिका मानन्धरले बताइन् ।
उनका अनुसार कुमुनिडाडले फिलिपिन्समा बाढी, तुफान जस्ता विपद् आउनुभन्दा पहिल्यै त्यसको पूर्वानुमान गर्छ । अब अलोईको प्रणाली प्रयोग गरेर कम्पनीले त्यहाँको स्थानीय तहसँग मिलेर विपद् आएपछि राहत वितरण गर्नुभन्दा विपद् आउनुभन्दा पहिल्यै राहत उपलब्ध गराउन सहयोग गर्नेछ ।

त्यहाँ स्थानीय सरकारले आफ्ना विपद्को लागि खर्च छुट्याएका हुन्छन् र नागरिकलाई कति राहत रकम दिने भनेर पूर्वयोजना बनाएका हुन्छन् । विपद्को पूर्वजानकारी पाउने बित्तिकै अलोईको प्रणालीमार्फत नागरिकलाई राहतका लागि आवश्यक सामान किन्न मोबाइलको मेसेज बक्समा एउटा टोकन पठाइने उनले बताइन् । उक्त टोकनलाई विपद्को समयमा पीडितहरूले पसलमा देखाएर खाद्यान्न, वासस्थानका लागि आवश्यक सामान खरीद गर्न सक्नेछन् ।
यो टोकनले बाढी, पहिरो, भूकम्प आएपछि नागरिकले राहत कुरेर धेरै समय भोकभोकै बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनले बताइन् । टोकनमार्फत उपलब्ध गराइएको रकम कहाँ खर्च भयो भनेर ट्र्याक समेत गर्न सकिने भएकाले कुनै भ्रष्टाचार हुने सम्भावना पनि नहुने उनको भनाइ छ ।
नेपालमा पनि आवश्यक
उक्त प्रणाली नेपालका लागि अत्यावश्यक रहेको मानन्धरको बुझाइ छ । तर, निजी क्षेत्रबाट भन्दा पनि सरकारी निकायले नै यसको आवश्यकतालाई बुझेर प्रयोगमा चासो देखाउनुपर्ने उनको भनाइ छ । नेपालका सरकारी निकाय इच्छुक रहेमा कुमुनिडाडसँग सहकार्य गरेर नेपालमा पनि यो प्रणाली सञ्चालनमा ल्याउन सकिने उनले बताइन् ।
यो प्रणालीले दूरदराजमा ढिलो राहत पुग्ने र पीडितलाई उपलब्ध गराउने सहयोगमा हुने घोटालाको अन्त्य हुने उनको विश्वास छ ।
के हो अलोई ?
सन् २०१९ मा स्थापना भएको नेपाली फिनटेक स्टार्टअप हो- अलोई । नेपालकी सोनिका मानन्धर र सिङ्गापुरकी टिफिनी टोङ मिलेर सञ्चालनमा ल्याइएको यस कम्पनीले सिङ्गापुरमा पनि सेवा उपलब्ध गराउँदै आएको छ ।
अलोईले किसान तथा ग्रीन फाइनान्स अन्तर्गत विद्युतीय गाडी चलाएर आत्मनिर्भर हुन चाहनेहरूका लागि ऋण उपलब्ध गराउन सहयोग गर्छ ।
बैङ्कले किसान तथा उद्यमीलाई ऋण दिनुअघि उपयुक्त हुन्छ कि हुँदैन, कर्जा फिर्ता हुन सक्ने सम्भावना कति रहन्छ लगायतका विषयवस्तुमा अध्ययन गर्छन् । यता किसान तथा उद्यमीले ऋण लिएपछि आवश्यक ठाउँमा खर्च नगरि अन्यन्त्रै खर्च गरेर ऋण सिध्याउने र पछि ऋण तिर्न नसक्ने अवस्थासमेत देखिएको मानन्धर बताउँछिन् । यसको समाधानमा अलोई बीचमा रहेर किसान र बैङ्कलाई एक-अर्कासँग जोड्ने काम गर्छ ।
मानन्धरका अनुसार बैङ्कले ऋणीलाई ऋण दिन मिल्छ वा मिल्दैन भनेर विश्लेषण गर्न अलोईले सफ्टवेयर उपलब्ध गराउँछ । यता बैङ्कले ऋण दिन उपयुक्त भएमा किसान तथा उद्यमीलाई अलोईको प्रणालीमार्फत टोकनमा ऋण दिन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, एनएमबी बैङ्क, नबिल बैङ्क, कुमारी बैङ्क, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैङ्कसँग अलोईले सहकार्य गरिसकेको छ ।
उनले भनिन्, “यसरी ऋण दिँदा किसान वा उद्यमीले सिधै नगदमा ऋण पाउने होइनन् । किसानलाई ऋण रकम बराबरको टोकन दिइने हो ।” यस्तो टोकन ऋणीको मोबाइलको मेसेजमा आउँछ ।
उक्त टोकन देखाएर अलोईको प्रणालीसँग जोडिएको पसलमा गएर किसानले बिउबिजन, मसिन लगायतका सामान खरिद गर्न सक्छन् । उनले भनिन्, “किसानहरूले सिधै हातमा पैसा पाउने होइनन् । किसानले सामान पाउँछन् । सामान बेच्ने पसलले बैङ्कबाट भुक्तानी पाउँछन् ।” आफूले सामान किने बराबरको रकम ऋण बैङ्कले तोकेको ब्याजदरमा किस्ताबन्दीमा तिर्न सक्नेछन् ।
अहिलेसम्म दुई हजारभन्दा धेरै ऋणीलाई ऋण उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । ३०० भन्दा बढी भेन्डरबाट उनीहरूले आफ्ना लागि आवश्यक सामग्री खरिद गर्दै आएका छन् ।
हालसम्म कृषि र ग्रीन फाइनान्समा मात्र आफ्नो प्रणाली प्रयोग गर्दै आएको कम्पनीले अब भने राहत वितरणका लागि पहिलो पटक प्रणाली प्रयोग गरेको हो । यसलाई नेपालमा पनि प्रयोगमा ल्याउन चाहेको उनले बताइन् ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १६:५५
सामाग्री श्रोत :
टेक पाना