काठमाडौँ । एउटा अनपेक्षित थप्पड एसएलसीको तयारी गरिरहेका किशोरको गालामा बज्रीयो । त्यो सामान्य थप्पडको चोट गालामा कम, उनको स्वाभिमान र पढ्ने रहरमाथि बढी लागेको थियो । गल्ती के थियो होला ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ पढ्ने व्यग्र चाहना । मध्यम वर्गीय परिवारका ती किशोरलाई पुस्तक किनेर आफ्नो चाहना पूरा गर्न खल्तीमा पैसा थिएन ।

विराटनगरको बजारमा, भुइँमा फिँजाइएका किताबको थुप्रोबाट सुटुक्क ‘मुना मदन’ चोर्नु उनको बाध्यता थियो । तर, पसलेको आँखा छल्न नसक्दा उनका कलिका गालाले कठोर हातको चोट सहन पर्यो । “पसलेले मलाई सबैका अगाडि ‘ए भाइ’ भन्दै बोलाएर पड्याङ एक थप्पड लगायो,” करिब दुई दशक पुरानो त्यो घटना सम्झिँदै पत्रकार तथा साहित्यकार अश्विनी कोइराला भन्छन्, “त्यो थप्पडको चोट शारीरिकभन्दा बढी मानसिक थियो । त्यही दिनदेखि मेरो मनमा एउटा प्रश्नले डेरा जमायो, आफूले चाहेको किताब सजिलै र सम्मानपूर्वक पढ्न कहिले र कसरी पाइन्छ होला ?”
त्यही अनपेक्षित थप्पडले उनलाई साहित्यमा लाग्न प्रेरित गर्यो । पत्रकार बन्न हौस्यायो । सबैभन्दा महत्त्वपूर्ण सबैलाई सर्वसुलभ मूल्यमा चाहेका पुस्तक सजिलै उपलब्ध गराउने ‘प्यासन’लाई पछ्याउन उत्प्रेरित गर्यो ।
त्यही प्यासन पछ्याउँदै जाने क्रममा उनै कोइरालाले सन् २०२० देखि सञ्चालन गर्दै आएको शब्द मिडिया प्रालिले अनलाइन लाइब्रेरी सार्वजनिक गरेको छ । साहित्यलाई मूल विधा बनाई सञ्चार माध्यमका रूपमा सञ्चालन हुँदै आएको साहित्यपोस्ट डटकमले ‘साहित्यपोस्ट एप’ मार्फत अनलाइन लाइब्रेरी सुरु गरेको हो ।

सपनाको बीजारोपण र पत्रकारिताको यात्रा
त्यो घटना कोइरालाको अचेतन मनमा यति गहिरोसँग बस्यो कि त्यसले उनको जीवनको बाटो नै तय गरी दियो । “सायद मेरो अचेतन मनमा किताब सर्वसुलभ हुनुपर्छ भन्ने कुरा परेको थियो होला,” उनी भन्छन् । विराटनगरमा छँदा पत्रकार बनेपछि सित्तैमा किताब र अरू उपहार पाइन्छ भन्ने सुनेकै भरमा उनी पत्रकारिता तर्फ आकर्षित भए ।
कान्तिपुर पब्लिकेसन्समा करिब २० वर्षको लामो कार्यकालले उनलाई पाठक र लेखक दुवैको मनोविज्ञान बुझ्न मद्दत गर्यो । ‘साप्ताहिक’ पत्रिकाको संयोजक हुँदा उनले युवा पाठकको रुचि बुझ्ने अवसर पाए । उनीहरू के पढ्न रुचाउँछन्, कस्ता विषयले उनीहरूलाई तान्छ भन्ने गहिरो ज्ञान हासिल गरे ।
कमजोर सामग्री हुँदा पत्रिकाको बिक्री ह्वात्तै घट्ने र गाली खानुपर्ने तीता अनुभवले उनलाई पठनीयताको महत्त्व सिकायो । ‘कोसेली’मा काम गर्न थालेपछि उनको भेटघाट देशका ठुला लेखक-कविसँग भयो । “मैले श्रद्धा गर्ने लेखक नै आफ्नो रचना छाप्न आउँदा मेरो सपना पूरा भएजस्तो लाग्थ्यो,” उनी सम्झिन्छन्, “त्यति बेलै म नारायण ढकाल दाइ जस्ता अग्रजलाई भन्थेँ, ‘साहित्यको मात्रै एउटा छुट्टै पत्रिका निकाल्ने कति रहर छ !’”
समयक्रममा नेपाली पत्रकारिता प्रिन्टबाट अनलाइनतर्फ मोडियो । उनका समकालीन साथीहरू धमाधम आफ्नै डिजिटल मिडिया खोल्न थाले । उनले पनि कान्तिपुर छोडेर साहित्यमा केन्द्रित अनलाइन खोल्न कम्मर कसे । तर, त्यसैबिच अनलाइनखबरबाट भाषा-साहित्य सम्पादकको प्रस्ताव आएपछि दुई वर्ष त्यहाँको अनुभव बटुले । प्रिन्ट र अनलाइन दुवै माध्यमको अनुभवले खारिएपछि उनले अन्ततः ‘साहित्यपोस्ट’ अनलाइन पत्रिका सुरु गरे । त्यही सञ्चार माध्यम अहिले साहित्यमा समर्पित नेपालको एक अग्रणी मञ्च बनेको छ ।
नेटफ्लिक्स र कुकु एफएमबाट प्रेरित ‘एप’को अवधारणा
साहित्यपोस्ट पत्रिका चलाउँदै गर्दा उनको मनमा त्यो पुरानो सपनाले फेरि आकार लिन थाल्यो । विश्व बजारमा भइरहेका परिवर्तनलाई उनले नजिकबाट नियालिरहेका थिए । भारतमा अडियो किताबको प्लेटफर्म ‘कुकु एफएम’ र भिडिओ स्ट्रिमिङ सेवा ‘नेटफ्लिक्स’को सफलताले उनलाई नयाँ बाटो देखायो ।
“मैले सोचेँ, यदि नेटफ्लिक्सले एउटै मासिक शुल्कमा सयौँ सिनेमा देखाउन सक्छ, कुकु एफएमले हजारौँ किताब सुनाउन सक्छ भने हामीले नेपाली साहित्यमा त्यस्तै किन गर्न नसक्ने ?” कोइरालाले आफ्नो अवधारणा प्रस्ट्याए, “त्यही अवधारणामा हामीले कमभन्दा कम मूल्यमा पाठकलाई हजारौँ किताबको डिजिटल लाइब्रेरी दिने योजना बनायौँ ।”
यो योजनालाई मूर्तरूप दिन भने सहज थिएन । ई-बुक र अडियो बुक भन्ने बित्तिकै प्रकाशन गृहमा ‘पाइरेसी’को डर र ‘अब छापिएको किताब कसले पढ्छ र ?’ भन्ने त्रास थियो । लेखकहरू पनि आफ्नो सिर्जनाको सुरक्षा र रोयल्टीबारे सशङ्कित थिए । तर, कोइरालाले लेखक तथा प्रकाशकलाई निरन्तर सम्झाउँदै, बुझाउँदै र विश्वासमा लिँदै किताबको डिजिटल अधिकार लिन थाले ।
कसरी काम गर्छ ‘साहित्यपोस्ट’ एपले ?
‘साहित्यपोस्ट’ एप एउटा डिजिटल लाइब्रेरी हो, जहाँ पाठकले वार्षिक शुल्क तिरेर उपलब्ध हजारौँ किताब पढ्न र सुन्न सक्छन् । सन् २०२१ मा पहिलो पटक रिलिज भएको एपले सुरुवाति समयमा साहित्यपोस्टले वेबसाइटमा राखेका सामग्री लिन्थ्यो । अर्थात् साहित्यपोस्टले जे सामग्री अनलाइनमा राख्यो, त्यही सामग्री वेबसाइटमा पनि पढ्न पाइन्थ्यो ।
पछि विस्तारै उक्त एपमा विभिन्न पुस्तक थपिँदै गए । चार वर्षको अवधिमा झन्डै २०० पुस्तकको अनलाइन तथा अडियो भर्सन राखेपछि गत आइतबार एप औपचारिक रूपमा सार्वजनिक भएको हो । कोइरालाका अनुसार एपमा हाल विभिन्न विधाका साहित्यिक पुस्तक राख्ने काम भइरहेको छ । “हामीले एक वर्षभित्रमा कम्तीमा हजार किताब पाठकलाई उपलब्ध गराउने लक्ष्य राखेका छौँ,” कोइराला दृढतापूर्वक भन्छन्, “पाठकले आज सदस्यता लिँदा जे देख्नुहुन्छ, भोलि त्योभन्दा धेरै किताब पाउनुहुन्छ । उहाँहरूको लाइब्रेरी दिनहुँ भरिँदै जान्छ ।”
साहित्यपोस्टले वेबसाइट मार्फत उपलब्ध गराउँदै आएका सामग्री पढ्न कुनै शुल्क तिर्नु पर्दैन । तर, भित्र भएका ई-बुक पढ्न र अडियोबुक सुन्नका लागि भने वार्षिक एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । “हामीले अहिले व्यक्तिगत रूपमा एक हजार रुपैयाँ र संस्थागत रूपमा ३६५ रुपैयाँमा मेम्बरशिपको सब्सक्रिप्सन दिइरहेका छौँ,” ई-बुक बारे कोइराला भन्छन्, “पुस्तक छन्, एक वर्षको अवधिमा एक हजार पुस्तक थप्ने लक्ष्यका साथ काम भइरहेको छ ।”
यस एपमा व्यक्तिगत (Personal) र कर्पोरेट (Corporate) गरी दुई किसिमका सदस्यता योजना छन् । जोकोहीले यी दुई मध्ये कुनै एक सदस्यता लिन सक्छन् ।
तर, कर्पोरेट सदस्यता लिनका लागि न्यूनतम ११ ओटा मेम्बरशिप खरिद गर्नुपर्ने हुन्छ । ११ वा सोभन्दा बढी जतिसुकै सदस्यता लिँदा प्रति सदस्यता शुल्क ३६५ रुपैयाँ लाग्छ । शुल्क भुक्तानी गरेपछि कम्पनीले खरिद गरिएको सङ्ख्या बराबरको ‘मेम्बरशिप कोड’ उपलब्ध गराउँछ। सोही कोड प्रयोग गरी कुनै पनि व्यक्तिको अकाउन्टमा यो सेवा एक्टिभ गर्न सकिन्छ ।
“हाम्रो लक्ष्य स्कुल, कलेज, निजामती सेवा, संस्थान र कर्पोरेट हाउस हुन् । जहाँका कर्मचारीले सस्तोमा पठन संस्कृतिको विकास गर्न सकून्,” कोइराला भन्छन् ।
कसरी गर्ने एक्टिभ ?
-
सबैभन्दा पहिले एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलोड गर्नुपर्ने हुन्छ । (ई-बुक र अडियोबुकको फिचर हाल एन्ड्रोइडमा मात्र उपलब्ध छ ।)
-
त्यसपछि आफ्नो नाम स्क्रिनमा देखिएको ‘स्किप’ वा ‘नेक्स्ट’ बटनमा ट्याप गरी होमपेजमा जानुहोस् ।
-
यति गरेपछि गेट स्टार्टेडको बटन ट्याप गर्नुहोस् ।
-
अब तपाईँको ईमेलमा ओटीपी कोड जान्छ । त्यही ओटीपी कोड राख्नुहोस् ।
-
त्यसभन्दा तलपट्टिको बक्समा आफ्नो नाम राख्नुहोस् र ‘सब्मिट एन्ड भेरिफाई’ (Submit & Verify) को बटनमा ट्याप गर्नुहोस् ।
-
सबै विवरण मिलेपछि होमपेज खुल्छ । होमपेजमा साहित्यपोस्ट डटकममा अपलोड भएका विभिन्न साहित्य सामग्री र समाचार पढ्न सकिन्छ । यसका लागि कुनै शुल्क लाग्दैन ।
-
अब त्यसको तल रहेको बटम बारमा साहित्यपोस्ट, पुस्तकहरू, श्रव्य पुस्तक र अन्य भन्ने अप्सन देखिन्छन् ।
-
त्यसमध्ये पुस्तकहरूको अप्सनमा जानुभयो भने विभिन्न पुस्तक देख्न सक्नुहुन्छ । त्यहाँ देखिएका पुस्तकमध्ये आफूलाई रुचि लागेको पुस्तक छानेर ‘पढ्नुहोस्’ भन्ने बटनमा ट्याप गर्नुहोस् । तर, पुस्तक पढ्न वा अडियोबुक सुन्न शुल्क तिर्नुपर्ने हुन्छ ।
कसरी तिर्ने शुल्क ?
-
यति भइसकेपछि उपलब्ध प्याकेजको सूचि देखिन्छ । नेपालमा भएका प्रयोगकर्ताले ‘वार्षिक ग्राहक’ र विदेशमा भएकाले ‘डायस्पोरा ग्राहक’ भन्ने अप्सन छान्नुपर्ने हुन्छ ।
-
नेपालमा हुनुहुन्छ र वार्षिक ग्राहक भन्ने अप्सन छान्नु भएको छ भने भुक्तानीका माध्यम देखिन्छन् । त्यहाँबाट खल्ती वा ईसेवामध्ये आफूलाई उपयुक्त हुने कुनै एक माध्यम छान्नुहोस् ।
-
यति गरेपछि तपाईँले छानेका भुक्तानीका माध्यममा भएको युजरनेम वा पासवर्ड मार्फत लगइन गरेर भुक्तानी गर्न सकिन्छ । विदेशमा भएका प्रयोगकर्ताले पनि यसरी नै पेपालबाट भुक्तानी गर्न सक्छन् । कम्पनीले अन्य भुक्तानीका विकल्प थप्ने काम पनि थालेको छ ।
लेखको रोयल्टी, पाइरेसी र कपीराइटको सवाल !
कोइरालाका अनुसार लेखकको सबैभन्दा ठुलो चिन्ताको रूपमा रहेको पाइरेसीलाई सम्बोधन गर्न एपमा कडा सुरक्षा प्रणाली अपनाइएको छ । यही सुरक्षालाई ध्यानमा राख्दै किताब डाउनलोड गर्न नमिल्ने र इन्टरनेटको पहुँचमा हुँदा मात्र पढ्न सकिने व्यवस्था मिलाइएको उनी बताउँछन् ।
एप हाल प्रारम्भिक चरणमा रहेकाले स्क्रिनशट लिन भने सकिन्छ । तर, यो समस्यालाई पनि छिट्टै समाधान गरिने उनको भनाइ छ । “यति धेरै सुरक्षाका तह पार गरेर किताब चोर्ने क्षमता भएको मान्छेले किताबभन्दा बैँक ह्याक गर्नतिर लाग्ला,” उनी ठट्टा गर्छन् ।
कुनै पाठकले एपबाट किताब पढेबापत लेखकले रोयल्टी पाउँछन् । यसको प्रणाली रोचक छ । “कुनै पाठकले निश्चित समय (जस्तै २० मिनेट) लगाएर किताबको निश्चित प्रतिशत (जस्तै २० पेज) पढेपछि मात्र त्यसलाई ‘पढिएको’ मानिन्छ र लेखकको खातामा रोयल्टी जम्मा हुन्छ । लेखकले आफ्नो ड्याशबोर्डबाट मेरो किताब कतिले पढे भनेर पारदर्शी रूपमा हेर्न सक्नुहुन्छ,” कोइराला प्रस्ट्याउँछन् ।
पुस्तकमा सबैभन्दा बढी झमेला र विवाद कपीराइटको विषयमा हुन्छ । यसका लागि लेखक र प्रकाशकसँग अनुमति लिनुपर्ने हुन्छ । ‘उनी’, ‘जुकरबर्ग क्याफे’ र ‘प्रेमालय’ पुस्तक लेखिसकेका अनुभवी स्रष्टा एवम् प्रधान सम्पादक समेत रहेका उनलाई धेरै लेखक र प्रकाशन गृहले पुस्तक राख्ने अनुमति दिए ।
“भौतिक रूपमा भन्दा अनलाइनमा पढ्ने पाठकको सङ्ख्या दिनानुदिन बढ्दै छ,” कोइराला भन्छन्, “हाम्रै नियमित पाठक पनि हजारौँ छन् । ती पाठकसम्म पुस्तक पुर्याउने जिम्मा हाम्रो भयो । यसरी पाठकको ग्यारेन्टी, नयाँ प्लेटफर्मको महत्त्व बुझाएपछि धेरै लेखक राजी हुनुभयो ।”
नयाँ लेखकलाई मञ्च
प्रकाशनमा हुने झन्झट र ठुलो लगानीबाट बच्न चाहने नयाँ लेखकका लागि ‘प्रिन्ट अन डिमान्ड’ ( मागअनुसार छपाइ) एक उत्तम सुविधा हो । कोइरालाका अनुसार लेखकले एपबाट सहजै करिब २०-२५ हजार रुपैयाँको न्यूनतम शुल्कमा आफ्नो ई-पुस्तक प्रकाशन गर्न सक्छन् र पुस्तक विमोचनका लागि १०-१५ प्रति मुद्रित किताब पनि प्राप्त गर्न सक्छन् ।
यसैगरी बजारमा सहजै उपलब्ध नहुने पुराना तथा दुर्लभ पुस्तक पनि एपबाटै अर्डर गर्न मिल्ने सुविधा थप्ने तयारी भइरहेको छ ।
चुनौती र भविष्यको बाटो
यो महत्त्वाकाङ्क्षी परियोजना चुनौती रहित भने छैन । पुराना किताबलाई डिजिटल बनाउन देवनागरी लिपि ‘टाइप’ नै गर्नुपर्ने बाध्यता छ । यो निकै समय लाग्ने र खर्चिलो काम हो । यसका लागि टाइपिस्ट, प्रुफरिडर र अडियो रेकर्डिङ गर्ने करिब २५ जनाको टोलीले निरन्तर काम गरिरहेको छ ।
भविष्यमा पाठकले किताबबारे समीक्षा लेख्ने, लेखकसँग सिधै एपबाटै अन्तरक्रिया गर्ने र भर्खरै बजारमा आएका नयाँ किताबलाई प्रिमियम शुल्क तिरेर किन्ने सुविधा पनि थपिने योजनामा छ । “यो त हाम्रो प्रारम्भिक मोडेल मात्र हो । हामी पनि समयसँगै परिष्कृत हुँदै जानेछौँ,” कोइराला भन्छन् ।
“लेखकले हजार प्रति किताब छाप्दा हजार पाठक खोज्नुपर्छ । तर हाम्रो प्लेटफर्ममा आउँदा हामी हजारौँ पाठकको ग्यारेन्टी दिन्छौँ । यो पैसा कमाउनेभन्दा पनि पठन संस्कृति फैलाउने हाम्रो रहर र अभियान हो ।” कोइरालाका अनुसार यो एप विशेषगरी पुस्तक खरिदका लागि आर्थिक रूपमा सहज नभएका, भौगोलिक रूपमा टाढा रहेका वा व्यस्त जीवनशैलीका कारण पुस्तकालयसम्म पुग्न नसक्ने पाठकका लागि अत्यन्तै उपयोगी छ ।
उनी थप्छन्, “जन्मदिन जस्ता अवसरमा भौतिक पुस्तक उपहार दिनुको सट्टा ‘साहित्यपोस्ट’को मेम्बरशिप कोड दिएर पूरै ई-लाइब्रेरी नै उपहारमा दिन सकिने अवधारणा हामीले ल्याएका छौँ ।”
बालबालिकाको पठन संस्कृतिबारे उनको तर्क छ, “उनीहरूलाई स्मार्टफोनबाट वञ्चित पठन संस्कृति विकास गर्न सकिँदैन । बरु, मोबाइलमै ई-लाइब्रेरी उपलब्ध गराएर उनीहरूलाई पढ्न प्रेरित गर्न सकिन्छ ।” उनले सबै वर्ग र उमेर समूहलाई उपयुक्त हुने पुस्तक निरन्तर थप्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ ११:२९
सामाग्री श्रोत :
टेक पाना