२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

मोही सेवनको फाइदाहरु एवं विभिन्न रोगको उपचारमा यसको प्रयोग

ताजा दुध, दुध जमाएर बनेको बाक्लो दही र दहीलाई मथेर बनाइएको मोही/मही मन नपर्ने नेपाली कमै होलान्। शहरी जीवनमा यसको प्रयोग कम भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुले नियमित रुपमा महीको सेवन गरेको पाइन्छ । मही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि मही उत्तम पेय मानिन्छ। आयुर्वेदमा महीलाई तक्र भनिन्छ। 

तक्र बनाउने तरिका एवं गुणको आधारमा यसको पाँच संस्कृत नाम छन्।

१.    घोल – मक्खन / नौनी सहितको मही (पानि नमिलाइ मथिएको)
२.    मथित – मक्खन / नौनी निकालिएको मही (पानि नमिलाइ मथिएको)
३.    तक्र – मक्खन/नौनी सहितको दही मथेर चौथाई भाग पानि मिलाएर मक्खन निकालेर बनाइएको मही
४.    उद्स्वित् – मक्खन/नौनी सहितको दही मथेर आधा भाग पानि मिलाएर मक्खन निकालेर बनाइएको मही 
५.    छच्छिका – मक्खन/नौनी सहितको दही मथेर मक्खन निकालेर प्रशस्त मात्रामा पानी मिलाएर बनाइएको मही । 

मही सेवनको फाइदाहरु 
१.    घोल – घोलमा सक्खर / चिनी / मिश्री मिलाएर खानाले रसायनको काम गर्छ । यसले आनन्द दिनुका साथै वात, पित्त शामक हुन्छ । 
२.    मथित – कफ, पित्त शामक हुन्छ । 
३.    तक्र – कषाय, अम्ल तथा मधुर रस युक्त हुन्छ ।  यसको विपाक मधुर हुन्छ । तक्र ग्राही, लघु, उष्ण विर्य प्रधान हुन्छ । यसले अग्निदीपन गर्नुका साथै वात नाशक हुन्छ । यो तृप्तिकारक एवं शुक्रवर्धक हुन्छ । 
४.    उद्स्वित् –बलबर्धक, कफनाशक, शुन्ठी मिलाएर पिउँदा आमनाशक ।
५.    छच्छिका – शीतल, लघु हुन्छ । वात, पित्त, श्रम, तथा तृषा नाशक एवं कफकारक हुन्छ । 

मही सेवन गर्ने तरिका
१.    ग्रहणी रोग – १ गिलास महीमा १/२ चिया चम्चा जीरा अथवा सौफ (मिठा सुप) को धुलो मिसाएर पिउने । 
२.    अर्श – दहीमा सुठो (सुठोको सट्टा अदुवाको प्रयोग नगर्ने) को धुलो मिलाएर मथेको मही । अथवा १ गिलास महीमा १/४ चिया चम्चा सुठोको धुलो मिलाएर पिउने ।
३.    वात दोष प्रकुपित भै शरीर दुख्ने, पेट दुख्ने, पेट फुल्ने आदि भएमा अम्ल रस युक्त महीमा सुठो एवं सिंधे नुन मिलाएको मही पिउने ।
४.    पित्त दोष प्रकुपित भएको अवस्थामा मधुर रस युक्त महीमा चिनी, मिश्री, सख्खर मिलाएर ।
५.    कफ दोष जन्य समस्यामा त्रिकटु (सुठो, मरिच, पिप्पलाको धुलो बराबर मात्रामा मिलाएर बनाइएको मिश्रण) अथवा यवक्षार मिलाएर । 

महीको प्रयोग विभिन्न द्रव्यको साथमा 
१.    मही, भुटेको हिंग र जीरा, सिंधे नुन मिलाएर सेवन गर्नाले अर्श, पखाला आदि रोगमा फाइदा गर्छ । साथै खाना रुचाउने, बलबर्धक तल्लो पेट दुख्ने समस्यामा फाइदा गर्छ । 
२.    मही र गुड मिलाएर खानाले पिसाबको रोगमा फाइदा गर्छ । 
३.    मही र चित्रक मिलाएर खानाले अर्श एवं पाण्डु (anemia) रोगमा फाइदा गर्छ । 

मही सेवन गर्न मिल्ने अवस्था 
१.    शितकाल, अग्निमान्ध्य, वात रोग, अरुचि, ग्रहणी, अर्श (rectal hemorrhoids), भगंदर (fistula in ano), परिकर्तिका (fissure in ano), पाण्डु, मेदोरोग (hyperlipidemia), मधुमेह, अतिसार, स्नायुदौर्वल्य आदिमा अमृत समान लाभदायक हुन्छ । 

मही सेवन गर्न नमिल्ने अवस्था 
ग्रिष्म ऋतु, दुर्बल व्यक्ति, मुर्छा, भ्रम, दाह तथा रक्तपित्त रोग भएका व्यक्तिले मही सेवन गर्नु हुँदैन । 

महीको औषधीय गुणको बारेमा गरिएका केहि अनुसन्धानहरु 
महीको सेवन एवं बस्ति (गुदामार्गबाट औषधि युक्त क्वाथ ठूलो आन्द्रामा पठाएर गरिने बिशेष उपचार पंचकर्म विधि) प्रयोग इरिटेबल बल सिन्ड्रम (आइबीएस) (जसको कारण, लक्षण र उपचार विधि आयुर्वेदमा वर्णित ग्रहणी रोग संग मिल्दोजुल्दो हुन्छ) को उपचारमा  प्रभावकारी पाइएको छ । त्यसै गरि तक्र धारा उच्च रक्तचाप, अनिद्रा र माइग्रेन (माइग्रेन हेडेक)को उपचारमा तेल धारा/ शिरोधारा समान प्रभावकारी पाइएको छ। 

निस्कर्ष 
वर्तमान परिप्रेक्ष्यमा खाद्यपदार्थ उत्त्पादन एवं संरक्षणका लागि प्रयोग गरिने किटनाशक विषादी एवं खाद्य सुरक्षा तत्त्व (preservatives) को अधिक प्रयोगबाट उत्पन्न विषाक्त तत्व शरीरमा जम्मा भएर रहेको हुन्छ, लामो समय पश्चात यस्ता विषाक्त तत्वले उच्चरक्तचाप, मुटुको रोग, मृगौलाको रोग, क्यान्सर जन्य रोगहरु हुने सम्भावना अधिक हुन्छ । नियमित रुपमा महीको सेवन गर्नाले शरीरको आमपाचन एवं शोधन भइ शरीरमा विषाक्त तत्व जम्मा हुन पाउँदैन, तसर्थ बिबिध किसिमका रोगहरु बाट बच्न मद्दत पुर्याउछ । विशेष गरि पाईल्स, ग्रहणी (बारबार पातलो दिसा आउने र कहिले काहीं दिसा कब्जियत भई अनियमित हुने अवस्था) आदि रोग हुने व्यक्तिले महीको नियमित प्रयोग गर्नु लाभदायक हुन्छ । गर्मि याममा तयारी जुसहरुको सेवन गर्नु भन्दा मही पिउनु धेरै राम्रो हुन्छ ।  

सन्दर्भ सामाग्रीहरु:
१.    भाव प्रकाश निघंटू
२.    चरक संहिता
३.    Recent research updates from google scholar 
(लेखक डा अधिकारी कन्सल्टेन्ट भेषज विज्ञ ((बीएएमएस, एमडी) हुन्, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवनमा कार्यरत छिन्)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट