२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

फेसबुक र ट्वीटरले जागिर दिन अस्वीकार गरेका यी दुई जनाले यसरी बनाए विश्वचर्चित मेसेजिङ एप

काठमाडौँ । ट्वीटरमा जागिरका लागि अन्तर्वार्ता दिइसकेका अमेरिकी सफ्टवेयर इन्जिनियर ब्रायन एक्टन काम पाउने विषयमा विश्वस्त थिए । एप्पलमा हार्डवेयर टेस्ट इन्जिनियरको एक वर्षे अनुभव, एडोबीको चार महिने क्यूए इन्जिनियरको अनुभव, एप्पलकै डेढ वर्षको सफ्टवेयर इन्जिनियरको अनुभव र सबैभन्दा महत्त्वपूर्ण याहुमा १० वर्षको अनुभवको आडमा उनलाई ट्वीटरमा जागिर पक्कापक्की हुने सोचेका थिए । तर, सधैँ सबै कुरा सोचे जस्तो कहाँ हुन्छ र ? उनलाई ट्वीटरले जागिर दिन अस्वीकार गर्छ भन्ने लागेकै थिएन । तर, जे नहोस् भन्ने चाह थियो, त्यही भइदियो । जागिर नपाएको झोकमा सन् २००९ मा उनले ट्वीटरमै लेखे, “Got denied by Twitter HQ. That’s ok. Would have been a long commute.” अर्थात “ट्वीटर मुख्यालयबाट अस्वीकृत भइयो । ठिकै छ, आउजाउ गर्न पनि लामो बाटो पर्थ्यो ।”

ट्वीटर मुख्यालयबाट अस्वीकृत भइयो । ठिकै छ, आउजाउ गर्न पनि लामो बाटो पर्थ्यो ।

चर्चित कम्पनीमा राम्रै स्थानमा रहेर काम गरेको अनुभव भएका एक्टनको लक्ष्य अब फेसबुकमा काम गर्ने थियो । तर, फेसबुकले पनि त्यसरी नै अस्वीकार गर्‍यो । फेसबुकले उनलाई जागिर दिन अस्वीकार गर्दै भन्यो, “तपाईँले देखाउनु भएको रुचिका लागि धन्यवाद । तर, तपाईँ हामीले खोजेको जागिरका लागि उपयुक्त हुनुहुन्न जस्तो लाग्यो ।”

यही झोकमा उनले यस्तो प्लेटफर्म बनाए, जसलाई चार वर्षपछि फेसबुकले नै १९ अर्ब डलरमा खरिद गर्नुपर्ने भयो । यो हो कर्मचारी नियुक्तिमा भएको सबैभन्दा ठुलो गल्तीको कथा । यो हो ब्रायन एक्टन, उनका दौँतरी जन कौम र उनीहरूले बनाएको मेसेजिङ एप ह्वाट्सएपको कथा ।


ब्रायन एक्टनको बाल्यका अनि त्यसैमा जोडिएका जन कौम


ब्रायन एक्टन सन् १९७२ मा अमेरिकाको मिशिगन सहरमा एक मध्यमवर्गीय परिवारमा जन्मिएका थिए । मिशिगन सहर विभिन्न किसिमका उद्योग र कलकारखानाले परिचित छ । त्यही प्रभाव एक्टनमा परेको देखिन्छ । सानैदेखि उनको रुचि प्रविधि र इन्जिनियरिङतर्फ हुँदै गयो ।

पछि उनको परिवार सेन्ट्रल फ्लोरिडामा सर्‍यो । तर पनि एक्टनको रुचि प्रविधि र इन्जिनियरिङ तर्फ उत्तिकै बढ्दै गइरहेको थियो । उनी सेन्ट्रल फ्लोरिडाकै लेक ह्वेल हाई स्कुलमा भर्ना भए र त्यहीँबाट पढाईलाई निरन्तरता दिए । हाई स्कुलपछि उनले इन्जिनियरिङ अध्ययनका लागि युनिभर्सिटी अफ पेन्सिलभेनियामा पूर्ण छात्रवृत्ति पाए र पढाई अघि बढाए । तर, त्यसको एक वर्षमै उनले उक्त कलेज छोडे र स्टान्डफोर्ड युनिभर्सिटीमा भर्ना भए । 

यही बीच उनले आफूलाई उपयुक्त हुने विभिन्न काम हर्न थालिसकेका थिए । पहिलो पटक सन् १९९२ मा रकवेल इन्टरनेसनलमा सिस्टम एड्मिनिस्ट्रेटरको रूपमा काम गर्न थाले । यता पढाईलाई निरन्तरता दिँदै उनले एक वर्षसम्म काम अगाडि बढाए । त्यही बेला अर्थात् सन् १९९३ मा उनले एप्पलमा हार्डवेयर टेस्ट इन्जिनियरको जागिर पाए । यति बेलासम्म पनि उनी पढाईलाई निरन्तरता दिइरहेका थिए । उनले सन् १९९४ मा स्ट्यानफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरे । 

त्यही वर्ष उनले एप्पलको ‘हार्डवेयर टेस्ट इन्जिनियर’को जागिर छोडेर एडोबीमा काम सुरु गरे । एडोबीमा उनले ‘क्यूए इन्जिनियर’को भूमिका निर्वाह गरे । एडोबीमा रहँदा उनले विशेषगरी ‘एडोबी एक्रोब्याट २.०’ का लागि योजना बनाउने, परीक्षण गर्ने र अटोमेसनसम्बन्धी काम गरे । एडोबीमा करिब एक वर्षको अनुभवपछि उनी मे १९९४ मा पुनः एप्पलमा ‘सफ्टवेयर इन्जिनियर’का रूपमा फर्किए र फेब्रुअरी १९९६ सम्म काम गरे ।

त्यसपछि एक्टन याहुमा आबद्ध भए । याहु त्यतिबेला प्रविधि क्षेत्रको एक दिग्गज कम्पनी थियो र त्यहाँ काम पाउनु निकै प्रतिस्पर्धात्मक थियो । यस्तो कडा प्रतिस्पर्धाका बाबजुद पनि उनी याहुमा प्रवेश गर्न सफल भए । सुरुमा उनले ‘याहु एड्भर्टाइजिङ एन्ड डेटा प्रोसेसिङ’ विभागमा काम गरे । दुई वर्षपछि उनी ‘सिनियर सफ्टवेयर इन्जिनियर’का रूपमा बढुवा भए । त्यसको एक वर्षमै उनले ‘याहु शपिङ’मा ‘प्रिन्सिपल सफ्टवेयर इन्जिनियर’को जिम्मेवारी पाए । उक्त भूमिकामा तीन वर्ष काम गरेपछि उनी ‘याहु शपिङ’कै ‘डाइरेक्टर अफ इन्जिनियरिङ’ पदमा बढुवा भए ।

याहुमा एक्टनको व्यावसायिक यात्रा निकै सफल र सुखद रह्यो । ‘सफ्टवेयर इन्जिनियर’बाट सुरु भएको उनको यात्रा ‘डाइरेक्टर अफ इन्जिनियरिङ’सम्म पुग्यो । यो अवधिमा उनले उत्पादनको अवधारणादेखि त्यसलाई मूर्त रूप दिएर व्यावसायिक रूपमा सफल बनाउनेसम्मको गहन अनुभव हासिल गरे ।

पछि ‘याहु शपिङ’का साथै ‘याहु ट्राभल’को जिम्मेवारी पनि उनको काँधमा आयो । यही प्रडक्टलाई भारतीय बजारमा विस्तार गर्न उनले महत्त्वपूर्ण भूमिका खेले । सन् २००४ मा उनी ‘याहु मार्केटप्लेस’को ‘सिनियर डाइरेक्टर अफ इन्जिनियरिङ’मा नियुक्त भए । त्यसपछि ‘याहु सर्च मार्केटिङ’ हुँदै अन्ततः सन् २००६ मा उनी ‘याहु इङ्क’को ‘भाइस प्रेसिडेन्ट अफ इन्जिनियरिङ’ बन्न सफल भए ।

बजारमा कडा प्रतिस्पर्धीको आगमनले याहुको व्यवसाय दिनानुदिन खस्किँदै थियो । यता गुगल, फेसबुक, ट्वीटर जस्ता कम्पनीले बजार आफ्नो कब्जामा लिइरहेका थिए । 

१० वर्षभन्दा लामो समयसम्म याहुमै रहेर काम गरेका एक्टनलाई त्यहाँ काम गर्नुभन्दा बजारमा आएका नयाँ खेलाडी कम्पनीमा नयाँ अनुभव हासिल गर्ने इच्छा जाग्यो । र, सन् २००७ मा याहुबाट राजीनामा दिए । 


सहकर्मी जन कौमसँग नयाँ व्यवसायमा काम 


याहुमा एक्टनसँगै काम गरेका जन पनि उस्तै अवस्थामा थिए । लगभग एक दशकसम्म उनीहरू केबल सहकर्मी मात्र नभई घनिष्ठ मित्र पनि भइसकेका थिए । सन् २००७ मा दुवैले कर्पोरेट जीवनबाट दिक्क भएर राजीनामा दिएपछि आफ्नो बचतको पैसाले दक्षिण अमेरिकाको यात्रामा निस्किए । यात्राबाट फर्केपछि उनीहरू नयाँ अवसरको खोजीमा थिए । जागिर छोडेको दुई वर्षपछि अर्थात् सन् २००९ मा एक्टन ३७ वर्ष पुगिसकेका थिए । एप्पल, एडोबी र याहु जस्ता कम्पनीमा १७ वर्ष काम गरेको अनुभव उनीसँग थियो । यति बेला उनी ट्वीटरमा आबद्ध हुन चाहन्थे । त्यसैका लागि आवदेन दिएका थिए । 

जागिर नपाउने भन्नेमा उनलाई कुनै शङ्का नै थिएन । इन्जिनियरिङको मजबुत पृष्ठभूमि, त्यसैमा प्रविधि कम्पनीमा काम गरेको १५ वर्षभन्दा बढीको अनुभव उनसँग थियो ।  सन् २००९ मा उनी अन्तर्वार्ताका लागि छनोट भए । र, क्यालिफोर्नियामा रहेको ट्वीटरको मुख्यालयमा अन्तर्वार्ता दिन पुगे । 

अन्तर्वार्ता एक्टनले सोचेकै जस्तै राम्रो भयो । यति भएपछि ट्वीटरमा जागिर पाउने सम्भवाना झनै बढेको जस्तो उनलाई लाग्यो । ट्वीटरको मुख्यालयबाट उनी २० मे २००९ मा फर्किए । त्यसको तीन दिनपछि ट्वीटरबाट उनलाई ईमेल आयो । जसमा लेखिएको थियो, “हामीले अरू आवेदककोमा जाने निर्णय गर्‍यौँ ।” अर्थात एक्टनले बडो आश गरेको जागिर ट्वीटरले अस्वीकार गरिदियो । त्यही झोँकमा उनले गरेको ट्वीट पछि एक्समा रिब्रान्ड भएबाट गायब छ । यसको डकुमेन्टेसन टाइम्स म्यागजिनले गरेको छ । जुन यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

ट्वीटर एक्टनले चाहेको एक मात्र कम्पनी थिएन । उनका लागि फेसबुक पनि विकल्पमा थियो । लोकप्रियताको चरम उत्कर्षमा पुगेको फेसबुकमा सफ्टवेयर इन्जिनियर बनेर जाने सङ्कल्प एक्टनले देखे । त्यसपछि एक्टन र जनले अगस्ट २००९ मा जागिरका लागि आवदेन दिए । तर, ट्वीटर जस्तै उनीहरू फेसबुकबाट पनि अस्वीकृत भए । त्यही आक्रोश एक्टनले ट्वीटरमा पोखे, “फेसबुकले मलाई अस्वीकृत गर्‍यो । त्यो केही अद्भुत व्यक्ति‍सँग जोडिने एउटा उत्कृष्ट अवसर थियो । अब जीवनको अर्को साहसिक यात्राको प्रतीक्षामा छु ।”

फेसबुकले मलाई अस्वीकृत गर्‍यो । त्यो केही अद्भुत व्यक्ति‍सँग जोडिने एउटा उत्कृष्ट अवसर थियो । अब जीवनको अर्को साहसिक यात्राको प्रतीक्षामा छु ।

यसरी सपनाको रूपमा हेरेका दुई कम्पनीबाट निराशा पाएका एक्टन र उनका साथी कौमलाई नयाँ यात्रा थाल्न निकै चुनौती थियो । उत्कृष्ट प्रविधि कम्पनीमा काम गरिसकेका उनीहरूको मन बजारमा भएका अरू कम्पनीमा गएन । जतिमा गयो, ती सबैबाट उनीहरू अस्वीकृत भए । अयोग्य ठहरिए ।

प्रविधि कम्पनीको १७ वर्षे अनुभवबाट उनीहरूले जोखिम लिनु नै अर्बपति (सफल) हुने एक मात्र विकल्प हो भन्ने बुझेका थिए ।


प्रविधि कम्पनीको १७ वर्षे अनुभवबाट उनीहरूले जोखिम लिनु नै अर्बपति (सफल) हुने एक मात्र विकल्प हो भन्ने बुझेका थिए ।

एक निराशाजनक सुरुवात र मित्रताको आड


सन् २००९ मा जन कौमले एउटा आईफोन किने । त्यही वर्ष एप्पलले ‘पुश नोटिफिकेसन’ सेवा लन्च गरेको थियो । जनलाई पहिलेदेखि नै यस्तो एप बनाउने चाहना थियो, जहाँ मान्छे आफ्नो स्टाटस राख्न सकुन् । यही आइडिया जनले एक्टनलाई सुनाए । र, सँगै काम गर्न चाहन्छौ भनेर सोधे । 

राम्रा कम्पनीमा जागिर नपाएको झोक, त्यसैमा रित्तिँदै गएको खर्चले एक्टनलाई नयाँ परियोजनामा काम गर्न प्रेरित गर्‍यो र उनले जनको प्रस्ताव स्वीकार गरे । त्यही परियोजनाको नाम जुर्‍यो – ‘ह्वाट्सएप’ जुन ‘ह्वाट्स अप ?’ (What’s up ?) को लवजमा थियो ।

तर, विचार जति राम्रो थियो, कार्यान्वयन त्यति नै कठिन र चुनौतिपूर्ण थियो । उनीहरू प्रयोगकर्ताको अनुभव खल्लो बनाउने विज्ञापन राख्न तयार थिएनन् । केबल साधारण डिजाइन र गोपनीयतामा केन्द्रित भएको एप त बन्यो । तर, पटक-पटक क्र्याश हुन्थ्यो  । एपकै कारण मोबाइलको ब्याट्री छिट्टै सकिन्थ्यो र सुरुवाती प्रयोगकर्ताहरू (जो उनीहरूका साथी थिए) खासै उत्साहित थिएनन् । चौतर्फी निराशाले घेरिएका कौम लगभग हार मान्ने अवस्थामा पुगेका थिए र फेरि जागिर खोज्ने सोच बनाउँदै थिए ।

जनको टेबलमा भएको नोट ।

यही अँध्यारो घडीमा एक्टन एक चट्टानझैँ उभिए । बेरोजगार भएर पनि अर्को असफल स्टार्टअपको प्रयास गरिरहेका एक्टनले ह्वाट्सएपको भविष्य देखेका थिए । उनले जनलाई भने, “अझै केही महिना धैर्य गरौँ ।” उनी जनलाई हौसला दिनुका साथै औपचारिक रूपमा सह-संस्थापक बनेर ह्वाट्सएपको यात्रामा सामेल भए ।

अब एक्टनको पहिलो र महत्त्वपूर्ण काम थियो – लगानी जुटाउनु । उनले आफ्नो सम्पर्क सूत्र प्रयोग गरेर याहुका पाँच पूर्व सहकर्मीबाट ढाई लाख डलरको लगानी जुटाए । यो रकम ह्वाट्सएपका लागि जीवनदान साबित भयो ।

एप्पलको ‘पुश नोटिफिकेसन’ सेवा‍ उनीहरूले आफ्नो एपमा पनि समावेश गरे । अर्थात् एपबाट नोटिफिकेसन जाने बनाए । यो फिचर राखेपछि कुनै प्रयोगकर्ताले आफ्नो स्टाटस परिवर्तन गर्दा उसका सबै कन्ट्याक्टलाई तुरुन्तै सूचना जान्थ्यो । त्यससँगै मेसेज गर्न सकिने फिचर पनि समावेश गरियो । यसबाट मानिसहरूले यसलाई एक-अर्कासँग कुराकानी गर्ने माध्यमको रूपमा प्रयोग गर्न थाले । र ह्वाट्सएप एउटा स्टाटस एपबाट मेसेजिङ एपमा परिणत भयो ।

डेभलपर टिमसँग दुई संस्थापक

सेप्टेम्बर २००९ मा मेसेजिङ सहितको ह्वाट्सएपको नयाँ भर्सन सार्वजनिक भयो र यो रातारात हिट भयो । केही महिनामै प्रयोगकर्ताको सङ्ख्या केही हजारबाट बढेर अढाई लाख पुग्यो । ह्वाट्सएपले महँगो एसएमएसको ठाउँ लियो । विशेषगरी अन्तर्राष्ट्रिय प्रयोगकर्ताका लागि यो वरदान बन्यो । विज्ञापनरहित, सरल र सुरक्षित प्लेटफर्मको रूपमा ह्वाट्सएपले आफ्नो परिचय बनायो ।


सफलतासँगै जोडिएको सङ्कट


एपले राम्रो चर्चा र लोकप्रियता पाइरहेको थियो । तर, एपमा आम्दानीको कुनै मोडेल नै थिएन । उनीहरू प्लेटफर्मको खर्च धान्नका लागि मरिमेटी काम गर्थे । एप राम्रो भए पनि त्यसबाट नाफा नहुने देखेपछि प्रमुख लगानीकर्ताहरू कम्पनीबाट बाहिरिए । धेरैलाई लाग्यो ‘मेसेजिङ एप ? यो कुनै व्यवसाय होइन’ । जनलाई पनि त्यस्तै लाग्यो । खर्चका लागि सङ्घर्ष गरिरहेका उनलाई समय खेर गइरहेको आभास भयो । र, उनले हार माने । अनि पुनः अर्कै कम्पनीमा काम गर्न थाले । 

ह्वाट्सएपको कार्यालयमा ब्रायन एक्टन (दायाँ) र जन कौम (बायाँ)

तर यहाँ एक्टन हार मान्ने पक्षमा थिएनन् । उनलाई मेसेजिङ एपको लोकप्रियतालाई कुनै न कुनै ढङ्गबाट आम्दानीमा परिणत गर्न सकिन्छ भन्ने विश्वास थियो । त्यही समयमा एक्टनको दिमागमा एउटा ‘गज्जबको आइडिया’ आयो । 

सुरुवातदेखि नै विज्ञापन नराख्ने पक्षमा रहेका एक्टनलाई त्यसको सट्टा प्रयोगकर्ताबाट वार्षिक एक डलर शुल्क लिनु उपयुक्त हुन्छ भन्ने लाग्यो । एक्टनलाई गज्जब लागेको आइडिया उनको सर्कलमा भएका कसैलाई मन परेन । धेरैले यसलाई ‘मुर्ख आइडिया’को दर्जा दिए । निःशुल्क एपको भिडमा यो जोखिमपूर्ण थियो । जस्तो भए पनि एपलाई निरन्तरता दिनु नै थियो । त्यसैले एक्टनले एप प्रयोग गर्न अनिवार्य वार्षिक १ डलर शुल्क तिर्नुपर्ने बनाए । तर, प्रयोगकर्ताले यसको मूल्य बुझेका थिए । प्रयोगकर्ताबाट उठेको यही सानो शुल्कले नै ह्वाट्सएपको सारा सञ्चालन खर्च धानेको थियो । 

सन् २०१० मा १० लाख प्रयोगकर्ताको आँकडा पार गरेको ह्वाट्सएको लोकप्रिया यसरी बढ्यो कि सन् २०११ सम्म एक करोड प्रयोगकर्ता पुगे । त्यतिबेला यो अमेरिकाको शीर्ष २० एपमा पर्न सफल भयो । यो सफलता देखेर भेन्चर क्यापिटल फर्म सेक्विया क्यापिटलका जिम गोजले उनलाई भेट्न आठ महिनासम्म प्रयास गरे । यतिबेला जन पनि कम्पनीमा फर्केर आफ्नो जिम्मेवारीको कामलाई अगाडि बढाइरहेका थिए । उक्त भेञ्चर क्यापिटल फर्मबाट उनीहरूले ८० लाख डलरको लगानी स्वीकार गरे र कम्पनीलाई अगाडि बढाए ।

उनीहरूको सफलतामा एउटा गोप्य सूत्र लुकेको थियो । बजारमा रहेका अन्य प्लेटफर्म अमेरिकामै केन्द्रित हुँदा ह्वाट्सएपले विश्वबजारमा प्रवेश गर्ने अठोट लियो । हुन त यो उनीहरूको सुरुवाती समयकै लक्ष्य थियो । त्यसैले पनि ह्वाट्सएपलाई १२ ओटा भाषा सपोर्ट गर्न सक्नेगरी डिजाइन गरेका थिए । 

एसएमएसको शुल्क महँगो भएका देशका लागि निःशुल्क उपलब्ध ह्वाट्सएप उपयुक्त माध्यम बन्यो । त्यसैले भारत, ब्राजिल जस्ता देशमा ह्वाट्सएपको लोकप्रियता ह्वात्तै बढ्यो । यसरी तीव्र रफ्तारमा अगाडि बढिरहेको ह्वाट्सएपमा २०१३ अन्त्यसम्ममा ४० करोड सक्रिय प्रयोगकर्ता पुगिसकेका थिए । यसरी ४० करोड सक्रिय प्रयोगकर्ता बनाउन ह्वाट्सएपले मार्केटिङमा धेरै नै खर्च गरेको थियो । उनीहरूलाई मार्केटिङ आवश्यता पनि थिएन । 


त्यो ऐतिहासिक सम्झौता 


बजारमा नयाँ खेलाडीको परिचय बनाएको ह्वाट्सएपको चर्चा उस्तै थियो । प्रयोगकर्ताको सङ्ख्या पनि बढिरहेको थियो । तर, उता सामाजिक सञ्जाल फेसबुकको वृद्धिमा भने ब्रेक लागेको थियो । जुन रफ्तारमा कम्पनी अगाडि बढिरहेको थियो, त्यसको गति सुस्तियो । ९ अप्रिल २०१२ मा आफ्नो निकटतम प्रतिद्वन्द्वी इन्स्टाग्राम खरिद गरेको भए पनि फेसबुकका अघि ह्वाट्सएप अर्को ठुलो प्रतिद्वन्द्वी बनेर देखा पर्‍यो । हुन त फेसबुक र ह्वाट्सएपको विशेषता छुट्टाछुट्टै थियो । तर, मेसेजिङ फिचर प्रयोग गरेर नै ह्वाट्सएपले एक दिन फेसबुकलाई विस्थापित गरिदिन सक्छ भन्ने डर जुकरबर्गकाई थियो ।  

यसबाट अत्तालिएका कम्पनीका संस्थापक मार्क जुकरबर्गलाई आफ्नो प्लेटफर्मलाई अगाडि ल्याउन ह्वाट्सएपका साढे ४० करोड प्रयोगकर्ता चाहिन्छन् भन्ने महसुस भयो । २०१२ मा जनलाई मार्क जुकरबर्गको ईमेल आयो । ईमेलको सब्जेक्टमा लेखिएको थियो, “गेट टुगेदर ?” मार्ज जुकरबर्ग जनलाई डिनरमा भेटेर कुरा गर्न चाहन्थे । तर, एक्टनले आफू सर्भरमा समस्या आएकाले बाहिर जान लागेको बताए । जुकरबर्गले जनलाई यात्रामा निस्किनुअघि नै भेट्ने प्रस्ताव पठाए । तर, जनले उक्त जवाफ आफ्ना सह-संस्थापक ब्रायन एक्टन र सिकोया क्यापिटलका साझेदार तथा एकमात्र लगानीकर्ता जिम गोएट्जलाई “दृढ !” (नछोड्ने) भन्ने शब्द थप्दै फर्वार्ड गरे ।

एक्टनले जनलाई भने, “भेट न । मार्क जस्तो व्यक्तिले सिधै सम्पर्क गर्छ भने त फोन उठाउनै पर्छ ।” त्यो महिनाको अन्त्यतिर जनले जुकरबर्गसँग एस्थर्स जर्मन बेकरीमा दिवाभोज गरे । उक्त ठाउँ फेसबुकको क्याम्पसबाट २० माइल टाढा थियो । साथै त्यसको पछाडि एकान्त आँगन पनि थियो । त्यसैले पनि उनीहरूको रोजाइमा यो ठाउँ परेको थियो ।

खाना खाने क्रममा जुकरबर्गले जनले बनाएको ह्वाट्सएपको प्रशंसा गरे र दुई कम्पनीलाई एक बनाउने आफ्नो इच्छा भएको सङ्केत पनि दिए । तर, कुरा त्यति अगाडि बढेन । त्यसपछि उनीहरूबीच निरन्तर सम्पर्क र संवाद भइरह्यो । 

यसरी प्रविधिको इतिहासमा सबैभन्दा लाभदायक दुई-वर्षे सम्बन्धको सुरुवात भयो । यही प्रशंसा मित्रतामा बदलियो र अन्त्यमा हतार-हतारमा एक अभूतपूर्व सम्पत्ति हस्तान्तरणमा टुङ्गियो । फेब्रुअरी २०१४ मा गोप्य मिटिङका लागि जुकरबर्ग एक्टनको घरमा गए । र, १९ अर्ब डलरमा कम्पनी अधिग्रहण गर्ने प्रस्ताव राखे । एक्टनलाई यो कुरा विश्वास नै लागेको थियो । उनको प्रडक्ट किन्न चाहने कम्पनी त्यही थियो जसले पाँच वर्षअघि जागिर दिन अस्वीकार गरेको थियो । जागिर दिन अस्वीकार गरेको उही कम्पनी प्रडक्ट किन्नका लागि १९ अर्ब डलर खर्चिन तयार थियो । 

मार्क जुकरबर्गले ह्वाट्सएप अधिग्रहण गरेको घोषणा गरेको फेसबुक पोस्ट

एक्टन र जनले सहमति जनाएपछि फेसबुकले चार अर्ब डलर नगद, १२ अर्ब डलर फेसबुकको शेयर र तीन अर्ब रेक्ट्रिक्सन शेयर दिनेगरी ह्वाट्सएप अधिग्रहण गर्‍यो ।

यसरी ह्वाट्सएप अधिग्रहणको डिल टुङ्गियो । जागिरकै लायक नठानेको फेसबुकले एक्टन र जनलाई बोर्डमा नियक्त गर्‍यो । कथा यतिमै सकिंदैन । फेसबुकको प्राथमिकता पैसा कमाउनु थियो जबकि एक्टन र जनको प्राथमिकता प्रयोगकर्ताको गोपनीयता थियो । फेसबुकले ह्वाट्सएपमा विज्ञापन राख्न र प्रयोगकर्ताको डेटा प्रयोग गर्न दबाब दिन थाल्यो । यो जन र एक्टनले कहिल्यै कल्पना नगरेको विषय थियो । यो उनीहरूको सिद्धान्त बिपरित थियो । 

फेसबुकले ह्वाट्सएपमा विज्ञापन राख्न र प्रयोगकर्ताको डेटा प्रयोग गर्न दबाब दिन थाल्यो । यो जन र एक्टनले कहिल्यै कल्पना नगरेको विषय थियो । यो उनीहरूको सिद्धान्त बिपरित थियो । 


सिद्धान्तप्रतिको अडिक

अन्ततः ब्रायन एक्टनले एउटा कठिन तर ऐतिहासिक निर्णय लिए । सेप्टेम्बर २०१७ मा उनले फेसबुक छोडे । यस निर्णयले उनले लगभग ८५० मिलियन डलरको स्टक गुमाए तर आफ्नो सिद्धान्तलाई हार्न दिएनन् । उनले पछि भने, “अन्ततः मैले मेरो कम्पनी बेचेँ । मैले मेरा प्रयोगकर्ताको गोपनीयतालाई ठूलो लाभका लागि बेचेँ । मैले एक छनौट र एक सम्झौता गरेँ । म त्योसँग हरेक दिन बाँच्छु ।” 

फेसबुकबाट बाहिरिएपछि उनी चुप लागेर बसेनन् । उनले आफ्नो मूल सिद्धान्तलाई जीवित राख्न र प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित राख्न १० जनवरी २०१८ मा सिग्नल फाउन्डेसन को सह-स्थापना गरे । उनले आफ्नै पैसाबाट ५० मिलियन डलर सिग्नलमा लगानी गरे । यसको मुख्य उद्देश्य ‘सामूहिक निगरानी रोक्न र सबैका लागि सुरक्षित सञ्चार प्रविधि’ बनाउनु थियो । अहिले एक्टनको सम्पत्ति कूल ३.४ अर्ब डलर रहेको छ ।

एक्टनले छोडेको एक वर्षपछि अर्थात अप्रिल २०१८ मा जनले पनि फेसबुक छोडे । उनी भने निजि जिन्दगीमा रमाउन थाले । युक्रेनमा जन्मिएका उनी आफूलाई उद्यमी भनेको पटक्कै मन पराउँदैनन् । राजनीति र परोपकारी काममा उनको सक्रियता बढ्दो छ । उनको सम्पत्ति भने १६.९ अर्ब अमेरिकी डलर रहेको छ । 

यता सन् २०१८ मा फेसबुक चर्चित क्याम्ब्रिज एनालिटिका काण्डमा मुछिएको घटना बाहिर आयो । अर्थात प्रयोगकर्ताको डेटा दुरुपयोग भयो । यस्तो प्रस्थितिको कल्पना ह्वाट्सएपका सहसंस्थापकले कहिल्यै पनि गरेका थिएनन् । यही विषयमा बदनाम भएको फेसबुकले सन् २०२१ मा आफ्नो माउ कम्पनीको नाम फेसबुकबाट मेटा राख्यो । ह्वाट्सएपबाट आम्दानी गर्नका लागि चेकमार्कको सुविधा ल्याइयो । पछिल्लो समय मेटाले ह्वाट्सएपमा विज्ञापन ल्याउने तयारी गरिरहेको भन्ने समाचार पनि आएका छन् । ​

ब्रायन एक्टन र जन कौमको कथा केवल सफलता र पैसाको होइन । यो दृढता, मित्रता र सबैभन्दा महत्त्वपूर्ण, सिद्धान्तप्रतिको अटल प्रतिबद्धताको कथा हो । उनीहरूले चुनौतीलाई अवसरमा बदले, एक सानो विचारलाई विश्वव्यापी क्रान्ति बनाए र जब मूल्यमान्यतामा सम्झौता गर्ने क्षण आयो उनीहरूले अर्बौंको सम्पत्ति त्यागेर इमानदारीको बाटो रोजे ।

एक्टनले आफू र जनको सम्बन्धलाई ‘यिन र यांग’ को रूपमा वर्णन गरेका छन् । अर्थात त्यहाँ एक्टन ‘आशावादी’ र जन ‘यथार्थवादी’ थिए । यही दुई फरक स्वभावको सङ्गमले प्रविधिको संसारमा एउटा यस्तो अध्याय लेख्यो जुन सधैँ प्रेरणाको स्रोत बनिरहनेछ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १४:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट