२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

४ वर्षमा हराए १ लाख ७० हजारभन्दा बढी स्मार्टफोन, १० मध्ये २ मात्र भेटिन्छन्

काठमाडौँ । पछिल्लो करिब चार वर्षको अवधिमा नेपालभर एक लाख ७० हजारभन्दा बढी स्मार्टफोन हराएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा कूल एक लाख ७० हजार ६५८ थान स्मार्टफोन हराएको भनी प्रहरीमा निवेदन परेको हो ।

यो अवधिमा हराएकामध्ये जम्मा ३५ हजार १७६ थान अर्थात् करिब २०.६१ प्रतिशत मोबाइल मात्र फेला परेका छन् । यसको अर्थ नेपालमा औसतमा १० ओटा स्मार्टफोन हराउँदा जम्मा दुई ओटा मात्र भेटिने गरेका छन् । 

देशकै राजधानीमा पनि फोन हराउने, चोरी हुने र पकेटमारी तीव्र छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उपलब्ध गराएको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै काठमाडौँ जिल्लामा १४ हजार ५५० ओटा मोबाइल फोन खोजीका लागि निवेदन परेको छ ।

परिसरका अनुसार तीमध्ये सात हजार ६३ ओटा फोन चोरी भएको, चार हजार ७१७ ओटा हराएको र दुई हजार ७७० थान पकेटमारी भएको उजुरीमा उल्लेख छ ।

हराएका वा चोरी भएका यी मोबाइलमध्ये प्रहरीले चार हजार ९८ थान फेला पारेको छ । बाँकी १० हजार ४५२ फोनको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिए । काठमाडौँमा हराएका फोन भेटिने दर करिब २८ प्रतिशत देखिन्छ जुन राष्ट्रिय औसतभन्दा केही बढी हो । यद्यपि हराएका सबै फोनबारे पीडितले निवेदन दिन्छन् भन्ने हुँदैनन् । यहाँ उल्लेख भएका तथ्याङ्क औपचारिक रूपमा प्रहरी कार्यालयमा दिएका निवेदनमा आधारित छ ।

प्रहरीका अनुसार हराएका मोबाइलको खोजी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (एमडीएमएस) प्रणालीमार्फत गरिन्छ । सेवाग्राहीले प्राधिकरणको वेबसाइटमा ‘लस्ट/स्टोलन रजिस्ट्रेसन’ फाराम भरेपछि प्रहरीले अनुसन्धान अघि बढाउँछ ।

हराएको मोबाइलमा नयाँ सिम प्रयोग भएमा प्राधिकरणले सोको जानकारीसहितको विवरण प्रहरीलाई उपलब्ध गराउँछ । त्यही नम्बरका आधारमा प्रयोगकर्ता पहिचान गरी प्रहरीले थप अनुसन्धान गर्दछ । तर, प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल हराएमा भने खोजी गर्न नसकिने प्रहरीले स्पष्ट पारेको छ ।

फोन हराए के गर्ने ?

गुगलको फाइन्ड हबको प्रयोग 

गुगल फाइन्ड हबको प्रयोग फोन वा स्मार्ट डिभाइस हराउनासाथ प्रयोग गर्न सक्नुहुन्छ । घरमै कतै नदेखिने ठाउँमा परेको छ वा कता राखें भन्ने बेलादेखि हरायो भन्ने विश्वस्त हुनका लागि यो एप प्रयोग गर्न सकिन्छ । तर, पहिले नै तपाईंले एन्ड्रोइड डिभाइसमा विभिन्न सेटिङ सेट गर्नुपर्ने हुन्छ ।

गुगलको ‘फाइन्ड हब’ले एन्ड्रोइड डिभाइसको क्राउडसोर्स नेटवर्क प्रयोग गर्दछ । यस नेटवर्कमा तपाईँका एन्ड्रोइड डिभाइसले ब्लुटुथ प्रयोग गरी नजिकका वस्तु स्क्यान गर्छन् र पत्ता लागेका स्थानलाई इन्क्रिप्टेड रूपमा फाइन्ड हबमा पठाउँछन् ।

यसका लागि तपाईँको डिभाइसमा पिन, प्याटर्न वा पासवर्ड सेट गरिएको हुनुपर्छ । अफलाइन खोज्नका लागि विभिन्न सेटिङ उपलब्ध छन् । जसमा ‘With network in high-traffic areas only’ रहेको छ । डिफल्ट रूपमा उपलब्ध हुने यो सेटिङले एयरपोर्ट वा व्यस्त फुटपाथ जस्ता हाई-ट्राफिक भएका क्षेत्रहरूमा हराएको डिभाइस फेला पार्न मद्दत गर्छ ।

त्यस्तै ‘With network in all areas’ सेटिङले हाई-ट्राफिक र लो-ट्राफिक दुवै क्षेत्रमा हराएको डिभाइस पत्ता लगाउन मद्दत गर्छ । यो सुविधा सक्रिय राख्नका लागि फोन बन्द हुँदाको समयमा ब्लुटुथ र लोकेसन अन रहेको हुनुपर्छ । एन्ड्रोइड ८.० वा सोभन्दा तल्ला भर्सनका डिभाइसका लागि भने ‘Store recent location’ सेटिङ अन गर्नुपर्छ ।

फाइन्ड हबको सहयोगमा अब हेडफोन र ब्लुटुथ ट्र्याकर ट्यागहरू जस्ता सहायक उपकरणलाई पनि ट्र्याक गर्न सघाउनेछ । फास्ट पेयर (Fast Pair) प्रयोग गरेर हेडफोनहरू जोड्न सकिन्छ । जबकि ब्लुटुथ ट्र्याकर ट्याग पेयरिङ पूरा भएपछि स्वतः थपिन्छन् । ट्र्याकर ट्याग चाबी, झोला, साइकल जस्ता सामानहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।

फाइन्ड हब सेट अप गर्ने तरिका

तपाईँको मोबाइल डिभाइस हराउनु अघि फाइन्ड हब तयार राख्न निम्न कामहरू गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर एप इन्स्टल गर्नुहोस् ।

  • गुगल अकाउन्टमा साइन इन भएको सुनिश्चित गर्नुहोस् । 

  • लोकेसन सर्भिस अन राख्नुहोस् ।

  • फाइन्ड हब अन गर्नुहोस् ।

  • तपाईँको डिभाइस गुगल प्लेमा देखिने कुराको सुनिश्चित गर्नुहोस् ।

  • रिमोट्ली लक वा इरेज गर्नका लागि टु-स्टेप भेरिफिकेसन ब्याकअप कोड सिर्जना गर्नुपर्ने हुन्छ ।

हराएको डिभाइस पत्ता लगाउन र सुरक्षित गर्न:

फाइन्ड हब (फाइन्ड माई डिभाइस) को सहयोगमा आफ्नो हराएको फोन तथा अन्य एन्ड्रोइड डिभाइस फेला पार्न निम्न चरणहरू अपनाउनु पर्ने हुन्छ ।

  • android.com/find मा गएर वा फाइन्ड हब मोबाइल एप प्रयोग गरेर आफ्नो गुगल अकाउन्टमा साइन इन गर्नुहोस् । 

  • फाइन्ड हबले डिभाइसको हालको अनुमानित स्थान देखाउँछ ।

  • नजिकैको उपकरण पत्ता लगाउन ‘Play Sound’ (आवाज बजाउने) विकल्प प्रयोग गर्न सकिन्छ, जसले ५ मिनेटसम्म हराएको डिभाइसमा ठुलो आवाजमा घण्टी बजाउँछ ।

  • यदि उपकरण टाढा छ वा चोरी भएको शङ्का छ भने, ‘Secure Device’ (डिभाइस सुरक्षित गर्ने) विकल्प प्रयोग गरेर त्यसलाई तुरुन्तै लक गर्न सकिन्छ र लक स्क्रिनमा आफूले चाहेको मेसेज पनि थप्न सकिन्छ ।

  • अन्तिम उपायको रूपमा यदि उपकरण भेटिने सम्भावना छैन भने ‘Erase Device’ ( डिभाइस मेटाउने) विकल्प प्रयोग गरेर रिमोट्ली सबै डेटा डिलिट गर्न सकिन्छ । तर, यसो गर्दा उक्त डिभाइसमा रहेका तर ब्याकअप नगरिएका कुनै पनि डेटा सधैँका लागि गुमाउनु पर्ने हुन सक्छ । 

फाइन्ड हब बन्द गर्ने तरिका

यदि कुनै कारणले तपाईँ फाइन्ड हब सुविधा प्रयोग गर्न चाहनु हुन्न र एक्टिभ भएको अवस्थामा त्यसलाई बन्द गर्न चाहनु हुन्छ भने निम्न चरण अपनाउन सक्नु हुन्छ । 

  • सेटिङमा गएर ‘Security’ मा ट्याप गर्नुहोस् ।

  • ‘फाइन्ड हब’मा गएर टगल बन्द गर्नुहोस् ।

  • डिभाइसले आफ्नो स्थान शेयर गर्ने काम रोक्नका लागि लोकेसन ट्र्याकिङ पनि बन्द गर्नुपर्ने हुन्छ । यसका लागि सेटिङ हुँदै लोकेसनमा गएर त्यसलाई अफ गर्नुहोस् ।

चोरी भएको हो वा हराएकै हो भन्ने भएमा के के गर्ने ?

मोबाइल हराउनु वा चोरी हुनु सामान्य भए पनि फेला पर्ने सम्भावना कमै हुन्छ । तर, एमडीएमएस (MDMS) प्रणाली र अन्य प्रविधिको सही प्रयोगले हराएको फोन पत्ता लगाउन सकिन्छ ।

क) आईएमईआई नम्बरको महत्त्व

हरेक मोबाइलको एउटा छुट्टै पहिचान नम्बर हुन्छ जसलाई आईएमईआई (International Mobile Equipment Identity) भनिन्छ । हराएको वा चोरी भएको मोबाइल फेला पार्न यो नम्बर अत्यन्त महत्त्वपूर्ण छ । यो नम्बर मोबाइल किन्दाको बक्समा वा फोनको डायलप्याडमा *#06# डायल गरेर थाहा पाउन सकिन्छ । यो नम्बरलाई सधैँ लेखेर सुरक्षित राख्नुहोस् । फोन हराएपछि यहाँ उल्लेख भएको प्रक्रिया अपनाएर नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी दिनुहोस् । हराएको फोन रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर गरेर दूरसञ्चार प्राधिकरणको हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुहोस् ।

  • त्यसपछि त्यहाँ भनिएका सबै विवरण राख्नुहोस् । आईएमईआई नम्बर राख्नासाथ ब्रान्डको नाम र मोडे आफै देखिन्छ । 

  • अनि हराएको हो वा चोरी भएको हो भन्ने अप्सन छान्नुहोस् । त्यसभन्दा तल मिति राख्नुहोस् । 

  • यति गरेपछि फोन चोरी भएको वा हराएको जिल्ला, स्थानीय निकाय र वार्ड नम्बर राखेर ‘भ्यालिडेट आईएमईआई एन्ड कन्टिन्यु’ बटनमा ट्याप गर्नुहोस् । यसरी सबै विवरण राखिसकेपछि अर्को पेजमा पुगिन्छ । 

  • उक्त पेजमा ईमेल राख्नुहोस् र उक्त ईमेलमा आएको ओटीपी राख्नुहोस् ।

  • यति गरेपछि काठमाडौँमा भए जिल्ला प्रहरी परिसर भद्रकाली र अन्य जिल्लामा भए नजिकको प्रहरी कार्यालयमा निवेदन दिनुहोस् । 

  • यदि तपाईंको चोरी भएको वा हराएको फोनमा अरु कसैले सिम प्रयोग गर्‍यो भने त्यसको जानकारी प्रहरीलाई आउँछ र खोजीको काम अगाडि बढ्छ ।

ख) सामसङको फाइन्ड माई मोबाइल

सामसङ ग्यालेक्सी फोन प्रयोगकर्ताका लागि यो एक प्रभावकारी सुविधा हो।

  • यसले फोनको लोकेसन ट्र्याक गर्ने, डेटा ब्याकअप लिने र टाढैबाट फोन लक गर्ने सुविधा दिन्छ ।

  • यसको ‘SmartThings Find’ सुविधाले अन्य ग्यालेक्सी उपकरणको नेटवर्क प्रयोग गरी तपाईंको फोन अफलाइन भएको अवस्थामा पनि लोकेसन पत्ता लगाउन मद्दत गर्छ ।

फोन हराउनासाथ तुरुन्त गर्नुपर्ने काम

मोबाइल हराउँदा वा चोरी हुँदा ठूलो क्षति हुनबाट बच्न तत्काल निम्न उपायहरू अपनाउनुहोस्:

क) सिम कार्ड ब्लक गर्नुहोस्

आफ्नो मोबाइल सेवा प्रदायक (जस्तै: नेपाल टेलिकम, एनसेल) लाई तुरुन्त सम्पर्क गरी सिम कार्ड ब्लक गराउनुहोस् । यसले तपाईंको नम्बरबाट हुन सक्ने दुरुपयोग रोक्छ ।

  • नेपाल टेलिकमका लागि: कुनै पनि एनटीसी नम्बरबाट ‘1415’ डायल गरी निर्देशन अनुसार आफ्नो हराएको नम्बर र त्यसको ‘SCODE’ (सेक्युरिटी कोड) प्रविष्ट गरेर सिम ब्लक गर्न सकिन्छ ।

ख) महत्त्वपूर्ण एपको पासवर्ड बदल्नुहोस्

मोबाइल बैंकिङ, इमेल, सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम) जस्ता महत्त्वपूर्ण एपको पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् ताकि तपाईंका व्यक्तिगत विवरण दुरुपयोग हुनबाट बचून् ।

ग) बैंक तथा वित्तीय संस्थालाई खबर गर्नुहोस्

यदि मोबाइलमा बैंकिङ तथा वालेट एप थिए भने तुरुन्त आफ्नो बैंकमा सम्पर्क गरी मोबाइल बैंकिङ सेवा बन्द गर्न अनुरोध गर्नुहोस् । यसले अनाधिकृत कारोबार रोक्न मद्दत गर्छ । डिजिटल वालेट हो भने सिम ब्लक गरेर नयाँ सिम निकाल्नुहोस् अनि अर्को फोनमा वालेटको खाता खोल्नुहोस् । 

घ) परिवार र साथीभाइलाई जानकारी दिनुहोस्

आफ्नो फोन हराएको बारेमा परिवार र साथीलाई जानकारी दिनुहोस् । किनभने फोन भेट्टाउने व्यक्तिले तपाईंको नम्बर वा सामाजिक सञ्जाल प्रयोग गरी उनीहरूसँग पैसा वा व्यक्तिगत विवरण मागेर ठगी गर्न सक्छ ।

ङ) आफै फोन फिर्ता लिने प्रयास नगर्नुहोस्

यदि तपाईंले प्रविधिको मद्दतले फोनको लोकेसन पत्ता लगाउनुभयो भने पनि सुरक्षाका लागि आफैँ उक्त स्थानमा गएर फोन फिर्ता लिने प्रयास नगर्नुहोस् । प्रहरीलाई सो लोकेसनको जानकारी दिएर सहयोग माग्नुहोस् । खासगरी फोन फेला पार्ने व्यक्तिलाई उसको लोकेसन ट्रयाक गर्ने लिङ्क पठाएर लोकेसन फेला पार्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १९:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट