काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सर्भरमा बारम्बार समस्या आउँदा देशकै जेठो अस्पताल, वीर अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले चरम सास्ती व्यहोर्नु परेको छ । सर्भर ‘डाउन’ हुने र चलेको समयमा पनि अत्यन्तै सुस्त हुँदा टिकट काट्नेदेखि औषधि लिनेसम्मका काममा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको बिरामीहरूले गुनासो गरेका छन् ।

बिहानैदेखि लाइनमा बसेका काभ्रे तेमालका ६५ वर्षीय प्रेम बहादुर तामाङले आक्रोश पोख्दै भने, “बिहान ७ बजे गाडी चढेर उपचार गर्न आइयो । यहाँ टिकट काट्ने लाइनमै दुई घण्टा बित्यो । बल्ल पालो आउँदा ‘सर्भर चलेन, पछि आउनुस्’ भनेर फर्काइदिए । पैसा बचाउन बीमा गरेको, यहाँ आउने-जाने गाडी भाडा र दिनभरको सास्तीले झन् बिरामी बनायो ।”
अस्पतालका अनुसार स्वास्थ्य बीमाको प्रणालीमा देखिने यस्तो समस्या दैनिकजस्तै बनेको छ । जसका कारण बिरामी र अस्पताल प्रशासन दुवै मारमा परेका छन् ।
अस्पतालका प्रवक्ता सुरेश खड्काले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित सर्भर दिनमा एक-दुई पटक ‘डाउन’ हुने र चल्दा पनि अत्यन्त सुस्त गतिमा चल्ने गरेको बताए । उनले भने, “पाँच जना सेवाग्राहीको काम सकिनुपर्ने समयमा मुस्किलले एक जनाको काम हुन्छ, यसले गर्दा बिरामीको लाइन लम्बिँदै गएको छ ।”

वीर अस्पतालमा दैनिक ओपीडीमा मात्रै २,८०० भन्दा बढी बिरामी आउने गर्छन् । तर, सर्भरको समस्याले टिकट काट्न र औषधिको भुक्तानी गर्न समेत लामो समय लाग्दा बिरामीहरू आक्रोशित बन्ने गरेका छन् ।
यस समस्याले सेवाग्राहीलाई मात्र नभई अस्पतालको आर्थिक व्यवस्थापनमा समेत गम्भीर असर पारेको छ । अस्पतालले बीमा गरेका बिरामीको उपचार गरेबापत बोर्डबाट समयमै भुक्तानी नपाएको प्रवक्ता खड्काले बताए ।
“गत वर्षदेखि नै बोर्डले ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ,” उनले भने, “यसले गर्दा अस्पतालको आर्थिक व्यवस्थापन र कर्मचारीलाई समयमा तलब खुवाउनसमेत समस्या भएको छ ।”
यता, स्वास्थ्य बीमा बोर्डले भने सर्भरको क्षमता बढाउने काम भइरहेकाले प्रणालीमा समस्या देखिएको स्वीकार गरेको छ । बोर्डका सूचना अधिकारी विवेक मल्लले वीर अस्पतालको समस्याबारे जानकारी प्राप्त भएको र समाधानको प्रयास भइरहेको बताए ।
“नेपालभरका ४७५ वटा प्रथम सेवा बिन्दुमा यही प्रणालीबाट काम हुन्छ । सर्भरको क्षमता अभिवृद्धि गर्ने काम चलिरहेकाले बेलाबेलामा प्रणाली सुस्त हुने समस्या आएको हो,” मल्लले भने,
“यसको मर्मतसम्भारका लागि हामीले कर्मचारी खटाइसकेका छौँ र छिट्टै समाधान गर्ने प्रयासमा छौँ ।”
पछिल्लो अध्यावधिक: असार २९, २०८२ १४:४५
सामाग्री श्रोत :
टेक पाना