काठमाडौँ । नेपाली स्टार्टअप ‘वायुदृष्टि’ विश्वकै सबैभन्दा ठुलो मानिने विद्यार्थी स्टार्टअप प्रतियोगिता ‘हल्ट प्राइज’ को विश्वव्यापी प्रतिस्पर्धाका लागि छनोट भएको छ । १० लाख अमेरिकी डलर (करिब १३ करोड ७० लाख रुपैयाँ) पुरस्कार राशिको उक्त प्रतिष्ठित प्रतियोगिताको शीर्ष २० मा स्थान बनाउँदै वायुदृष्टिले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

यो सफलतासँगै वायुदृष्टि हल्ट प्राइजको विश्वस्तरीय अन्तिम चरणमा पुग्ने पहिलो नेपाली टोली बनेको छ । वायुदृष्टिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सक्रीय पाण्डेका अनुसार यस वर्ष १३० देशका १५ हजारभन्दा बढी स्टार्टअपहरू र दुई लाखभन्दा बढी प्रतिस्पर्धीहरूले प्रतियोगितामा भाग लिएका थिए ।
आगामी ३ सेप्टेम्बरमा बेलायतमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाअघि छनोट भएका टोलीहरूलाई ६ अगस्टदेखि एक महिना लामो विशेष इन्क्युबेसन कार्यक्रममा सहभागी गराइनेछ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कम्पनीका सीईओहरू तथा लगानीकर्ताहरूसँग सिक्ने र सहकार्य गर्ने अवसर मिल्ने पाण्डेले बताए ।
“अहिलेसम्म कुनै पनि नेपाली स्टार्टअप यो चरणसम्म पुग्न सकेको थिएन । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ,” उनले भने ।

विश्व मञ्चसम्मको यात्रा वायुदृष्टिको यो यात्रा सरस्वती बहुमुखी क्याम्पसको आन्तरिक प्रतिस्पर्धाबाट सुरु भएको थियो । क्याम्पस विजेता बनेपछि राष्ट्रिय स्तरमा पनि उत्कृष्ट हुँदै टोलीले क्षेत्रीय चरणमा स्थान बनाएको थियो । दक्षिण तथा मध्य एसियाका ५० प्रतिस्पर्धी स्टार्टअपलाई पछि पार्दै वायुदृष्टिले विश्वका शीर्ष २० टोलीमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
हल्ट प्राइजले फाइनलिस्ट टोलीको बेलायतमा भिसा, बसोबास र खानाको सम्पूर्ण खर्च बेहोर्नेछ भने हवाई टिकट खर्च टोली आफैँले व्यवस्था गर्नुपर्नेछ ।
के हो वायुदृष्टि ?
‘वायुदृष्टि’ वायु प्रदूषण मापन गर्ने सस्तो र बोक्न सजिलो उपकरण निर्माण गर्ने स्टार्टअप हो । यसले वास्तविक समयमा वायुको गुणस्तरको जानकारी दिनुका साथै एआईमार्फत सात दिनपछिको प्रदूषणको अवस्थाबारे भविष्यवाणी समेत गर्न सक्छ ।
१९ वर्षीय सक्रिय पाण्डे, २३ वर्षीया श्रीशा पाण्डे, २१ वर्षीया मञ्जिला पाण्डे र २५ वर्षीय विक्रम थापा सम्मिलित टोलीले यो उपकरण विकास गरेको हो । हाल बजारमा उपलब्ध ३० हजार डलर (करिब ४१ लाख रुपैयाँ) पर्ने महँगा उपकरणको तुलनामा वायुदृष्टिको उपकरणले मात्र २५० डलर (करिब ३५ हजार रुपैयाँ) मा नै भरपर्दो नतिजा दिने दाबी गरिएको छ ।
सम्बन्धित समाचार: नेपाली युवाले बनाए हातमै अट्ने वायु प्रदूषण मापन उपकरण, ४१ लाखको काम ३५ हजारमै
पछिल्लो अध्यावधिक: असार २९, २०८२ १८:४६
सामाग्री श्रोत :
टेक पाना