काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न स्थानमा फेला परेका सयौं महत्त्वपूर्ण कागजात सम्बन्धित धनीलाई बुझ्नका लागि अनुरोध गरेको छ । सडक, सार्वजनिक यातायात तथा अन्य स्थानहरूमा सर्वसाधारणले छाडेका वा हराएका कागजातहरू सङ्कलन गरी परिसरको खोजतलास शाखामा सुरक्षित राखिएको प्रहरीले जनाएको हो ।

यी कागजातको विवरण गुगल शिटमा राखिएको छ । प्रहरीले उपलब्ध गराएको लिङ्कमार्फत यी कागजात फेला पार्न सकिन्छ । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ८२६ थान नागरिकताको प्रमाणपत्र, १३९ थान राहदानी, ४५ थान एटीएम कार्ड र २६ थान सवारी चालक अनुमति पत्र फेला परेका छन् । यसैगरी २९ थान मतदाता परिचय पत्र, १३ थान बचत पास बुक, १० थान स्थायी लेखा परिचयपत्र, ९ थान जेष्ठ नागरिक प्रमाणपत्र, ९ थान शैक्षिक प्रमाणपत्र र ४७ थान अन्य विभिन्न कागजात पनि भेटिएका छन् ।
आफ्नो वा आफन्त, साथीभाइको कुनै कागजात हराएको भए जिल्ला प्रहरी परिसर, काठमाडौंको आधिकारिक माध्यममार्फत विवरण हेरेर यकिन गर्न सकिनेछ । भेटिएका कागजातमा तपाईंको छ कि छन छैन भन्ने थाहा पाउन सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । कम्प्युटरमा लिङ्क खोल्दै हुनुहुन्छ भने ‘Ctrl+f’ थिचेर सर्चमा गई आफ्नो नाम खोज्नुहोस् ।
यदि यसरी सर्च बार फेला पार्नु भएन भने जिल्ला लेखिएको बक्सबाट आफ्नो जिल्ला, ‘कागजातको किसिम’को बक्सबाट कागजातको विवरण, त्यसपछि नाम र थर खोज्नुहोस् । यी सबै पुष्टि भइसकेपछि स्थानीय तह र आफ्नो वडा पुष्टि गर्नुहोस् । यसबाट भेटिएको कागजात तपाईंको हो भन्ने भएपछि जिल्ला प्रहरी परिसर, भद्रकालीमा रहेको खोजतलास शाखामा सम्पर्क गरी लिन सकिनेछ । थप जानकारीका लागि खोजतलास शाखाको फोन नम्बर ०१-४२५०८३७ मा वा प्रहरी कन्ट्रोलको हटलाइन १०० मा सम्पर्क गर्न सकिने परिसरले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८२ ९:९
सामाग्री श्रोत :
टेक पाना