काठमाडौँ । राइड हेलिङ कम्पनी पठाओ नेपालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बालबालिकाले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ कम्पनीले आर्थिक सहयोग गरेको हो ।

पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको हो । यसका लागि कम्पनीले ‘Ride for a Cause’ अभियान सञ्चालन गरेको थियो । यात्राबाट संकलित रकम काठमाडौँमा हालै आयोजित एक कार्यक्रमबिच किओचलाई हस्तान्तरण गरिएको हो ।
डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको किओच अस्पताललाई सहयोग गर्न पठाओ नेपालले २७ जेठदेखि २ असारसम्म उक्त अभियान सञ्चालन गरेको थियो । यस सहयोगले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका बालबालिकाको उपचारमा सहयोग पुग्ने पठाओको विश्वास छ ।
पठाओले प्रविधि र आफ्ना सञ्जाल प्रयोग गरी किओचको सामाजिक उद्देश्यमा साथ दिएको जनाएको छ । यस पहलबाट बाल स्वास्थ्य, जनचेतना वृद्धि र भविष्यमा दीर्घकालीन सहकार्यको सम्भावना पनि देखिएको पठाओको भनाइ छ ।

डा. कोइरालाको अगुवाइमा सातै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि बढाइएको छ । हालसम्म कोशी प्रदेशको झापामा एउटा बाल अस्पताल निर्माण भइसकेको छ भने अब काठमाडौँसहित अन्य बाँकी प्रदेशहरूमा पनि बाल अस्पताल निर्माणको योजना राखिएको छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ ९:२७
सामाग्री श्रोत :
टेक पाना