
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित एक जनप्रतिनिधि सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाको शिकार बनेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भ्रामक तस्बिरलाई पत्याएर आफूले पनि हस्ताक्षर गरेको सार्वजनिक गरेका छन् ।
अध्यक्ष त्रिपाठीले फेसबुकमा एक पोस्ट राख्दै लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै एक अभियानमा हस्ताक्षर गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले लेखेका छन्, “रवि लामिछानेका विरुद्ध राजनीतिक प्रतिशोध साधिएका कारण आज हामीले ७५३ पालिका मध्ये बढैयाताल गाउँपालिकाको जनप्रतिनिधि पालिका प्रमुखको हैसियतले पहिलो हस्ताक्षरकर्ता भएकै हो । आज म धेरै नै खुसी भएको छु ।” आफ्नो निर्णयलाई सही साबित गर्न उनले पार्टी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत हस्ताक्षर गरेको दाबी गरेका थिए । उनले सबैलाई राज्य संयन्त्रको दुरुपयोगविरुद्ध हस्ताक्षर अभियानमा जुट्न अपिलसमेत गरे ।

तर, अध्यक्ष त्रिपाठीले आफ्नो दाबीलाई बलियो बनाउन प्रयोग गरेको प्रचण्डको तस्बिर नै अर्कै प्रयोजनको भएको खुलेको छ । टेकपाना फ्याक्टचेकका अनुसार उक्त तस्बिर गत २४ मंसिर २०८१ मा माओवादी केन्द्रले काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको फरक कार्यक्रमको हो । सो कार्यक्रम इजरायलद्वारा प्यालेस्टिनीमाथि भइरहेको नरसंहारको विरुद्धमा थालिएको देशव्यापी हस्ताक्षर अभियान थियो । सामाजिक सञ्जालमा भ्रम फैलाउन उक्त फोटो फ्लिप गरी अक्षर नबुझिने गरी राखिएको थियो ।
यद्यपि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेको पक्षमा हस्ताक्षर गरेको कुरा भने सत्य हो । गाउँपालिका अध्यक्ष त्रिपाठीको पोस्टमा अधिकांशले ‘अरूले हस्ताक्षर गरे म पनि गर्छु भन्ने भन्दा पनि स्वविवेकले काम गर्नुपर्ने’ सुझाएका छन् । पोस्टमा कमेन्ट गर्दै सरोज पाठकले लेखेका छन्, “एआई र एडिट नचिन्ने के भन्ने अध्यक्ष ज्यू । त्यहाँ रविको फोटो एडिट गरेको प्रष्ट देखिन्छ । हजुर जस्तो जिम्मेवारी पदमा बसेको व्यक्तिबाट जनताले कस्तो सूचनाको आश राख्ने ?”
पछिल्लो अध्यावधिक: असार २८, २०८२ १४:६
सामाग्री श्रोत :
टेक पाना