काठमाडौँ । बुधबार गायक दुर्गेश थापाले सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा तयार पारेको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक गरे । बेलुका साढे ६ बजेतिर युट्युबमा सार्वजनिक भएको यो गीतले त्यसअघि नै व्यापक चर्चा पाइसकेको थियो । टिकटकमा एक पात्रको रूपमा चिनिएकी ‘गुराँस नानी’सँग कन्टेन्ट क्रिएटर सिसन बानियाँले कस्तो सहकार्य गर्न लागेका हुन् भन्नेमा धेरैलाई कौतूहलता थियो ।

खासगरी बानियाँले टिकटकमा गुराँस नानीलाई जोडेर धेरै भिडिओ ल्याइरहेका थिए । केहीले यसलाई ‘फ्लर्ट’ भने त केहीले टिकटकको लाइक, भ्युज र रिचको मोहबाट टाढा बस्न खोजेकी गुराँस नानीलाई बानियाँले चर्चामा ल्याउन खोजेको ‘फन्डा’ हो भन्ने अनुमान गरे । यसबाहेक बानियाँले सार्वजनिक गरेका गुराँस नानीसँगका छोटा भिडिओ र रमाइला तस्बिरले पनि चर्चालाई थप बढाएको थियो ।
गीत रिलिज भएको झन्डै एक घण्टामा ४२ हजार लाइक देखियो । तर भ्युज भने पाँच हजारको हाराहारीमा थियो । वास्तवमा युट्युब भिडिओ स्ट्रिमिङ प्लेटफर्म भएकाले लाइकभन्दा भ्युज बढी हुनु स्वाभाविक हो । तर, भिडिओ हेर्ने सबैले लाइक गर्छन् भन्ने हुँदैन । यदि कसैले भिडिओ राम्ररी नहेरी लाइक मात्रै गर्छ भने युट्युबको एल्गोरिदमले त्यस्तो लाइकलाई गणना नगर्न वा केही समयपछि हटाउन सक्छ । दुर्गेशको भिडिओमा भ्युजभन्दा लाइक बढी देखिएपछि धेरैले यसले ‘युट्युबको सिस्टम नै जाम पारिदियो’ भन्दै सामाजिक सञ्जालमा चर्चा गरे ।

भिडिओ रिलिज भएको केही समयमा भ्युजभन्दा लाइक बढी देखिने यस्ता घटना अरू पनि छन् । १० फेब्रुअरी २०२४ मा रिलिज भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को ‘नेपाल हाँसेको’ बोलको गीतमा पनि यस्तै अवस्था देखिएको थियो । चलचित्र ‘लाज शरणम्’को प्रचारका लागि तयार पारिएको यो गीत बालेनका कारण निकै चर्चित बन्यो । हुन त यो गीत बालेनले १० वर्षअघि नै गाइसकेका थिए । तर चलचित्रसँग जोडिएपछि यसले थप चर्चा पायो । यी त नेपालका केही उदाहरण मात्र हुन् । युट्युबमा रिलिज हुने र दर्शकले व्यग्र प्रतीक्षा गरेका चर्चित भिडिओमा यस्तो अवस्था बारम्बार देखिन्छ । आखिर यस्तो किन हुन्छ?
यस विषयमा युट्युबले आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्स मार्फत स्पष्ट पारेको छ ।
युट्युबका अनुसार यो अवस्था भनेको भ्युज वास्तविक हुन् भनी पुष्टि गर्ने प्रक्रियाको एक सामान्य हिस्सा हो । जब कुनै भिडिओमा धेरै छोटो समयमा अत्याधिक भ्युज आउँछ, त्यस्तो बेला युट्युबमा सार्वजनिक रूपमा देखिने भ्युज गणनाले युट्युबको आन्तरिक प्रणाली (जसले अमान्य भ्युजलाई प्रमाणीकरण र हटाउने काम गर्छ) लाई भेट्टाउन समय लाग्छ । यही कारणले गर्दा सुरुवाती लाइकको सङ्ख्या भ्युजभन्दा बढी देखिन सक्छ र पछि भ्युज सङ्ख्या समायोजन हुन्छ ।
युट्युबका इङ्गेजमेन्ट मापदण्ड जस्तै भ्युज, लाइक र सब्स्क्राइब वास्तविक मानिसबाट आएको हो, कम्प्युटर प्रोग्रामबाट होइन भन्ने सुनिश्चित गर्न प्रणालीलाई केही समय लाग्छ । विशेषगरी भिडिओ प्रसारित भएको पहिलो केही घण्टामा यी तथ्याङ्क प्रणालीमा देखिन समय लाग्ने गर्छ । वास्तविक इङ्गेजमेन्ट गणना भइसकेपछि तथ्याङ्क छिटो अद्यावधिक भए पनि कहिलेकाहीँ भ्युज वा लाइकको गणना रोकिएको जस्तो देखिन सक्छ । युट्युबले सही तथ्याङ्क सुनिश्चित गर्न र अमान्य गतिविधिलाई रोक्न अस्थायी रूपमा गणनालाई सुस्त बनाउने, रोक्ने वा परिवर्तन गर्ने गर्दछ ।
उदाहरणका लागि एउटै भिडिओ हेर्न धेरै डिभाइस प्रयोग गर्नु वा एउटै भिडिओलाई एकैपटक धेरै विन्डो र ट्याबमा चलाउनुलाई ‘कम-गुणस्तरको प्लेब्याक’ मानेर त्यस्ता भ्युजलाई युट्युबले खारेज गर्न सक्छ । त्यसैले कहिलेकाहीं भ्युज धेरै छ भने पछि घटिदिन सक्छ ।
यसबाहेक यदि भिडिओलाई विज्ञापनको रूपमा प्रयोग गरिएको छ भने त्यसबाट आएका भ्युज पनि गणना हुन्छन् । दर्शकले ११ देखि ३० सेकेन्डको विज्ञापन पूरा हेरेमा, ३० सेकेन्डभन्दा लामो विज्ञापन कम्तीमा ३० सेकेन्ड हेरेमा वा विज्ञापनमा क्लिक गरेर भिडिओ हेर्न सुरु गरेमा त्यस्ता भ्युजलाई आधिकारिक मानिन्छ ।
अर्थात् भिडिओ रिलिज हुनेबित्तिकै देखिने लाइक र भ्युजको असन्तुलन युट्युबको भ्युज प्रमाणीकरण प्रक्रियाको एक सामान्य र अस्थायी असर हो । यो पछि आफैँ सन्तुलन हुन्छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८२ ८:५९
सामाग्री श्रोत :
टेक पाना